‘समृद्ध नेपाल सुखी नेपाली’ विकासको भिजन बोकेर सरकार हिँडेको छ । समृद्धि नेपालको चाहना र जनताको आशा बनेको छ । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा बनेको छ । तर, समृद्धि र सुख के हो र कसरी प्राप्त गर्ने भन्ने विषय भने अझै अपरिभाषित छ ।
सुप्रसिद्ध अर्थशास्त्री माईकल टुडारोले ट्रिकल डाउन (माथिबाट चुहिएर) प्रभावबाट हुने विकास जनताको चाहना पूरा गर्न पर्याप्त हुँदैन भन्दै देशको निरपेक्ष गरिबी निर्मूल गर्न प्रत्यक्ष कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्छ भन्ने विचार राखेका छन् ।
समृद्धि विकास प्रयासको उच्चतम प्राप्ति हो । विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक पक्ष हो ।
विकासवादी टुडारो जनताका आधारभूत आवश्यकता पूरा गर्ने, जनतालाई सम्मानित जीवन यापन गर्ने वातावरण निर्माण गर्ने तथा वस्तु तथा सेवा छनौट गर्ने स्वतन्त्रता नै समृद्धि हो भन्दछन् ।
विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपुर्ण सम्पन्नतासहितको ‘समृद्धि निर्माण नै आजको आवश्यकता हो । जनताबीच आर्थिक सामाजिक समानता, सेवाप्रवाहमा समान पहुँच र जनताबीच सुमधुर सम्बन्ध नै ह्याप्पीनेस हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रबिन्दुमा राखी नागरिकलाई शान्ति पूर्णस्वतन्त्र, स्वशासित, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समृद्ध समाजको निर्माण गर्नु नै वास्तविक रुपमा समृद्धि हो ।
हाम्रो देशमा योजनावद्ध विकास र गरिबी निवारण केन्द्रीत विकास प्रयासले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेको देखिए पनि गरिब र धनीबीचको खाडल फराकिलो बनेको छ । देशको नब्बे प्रतिशत सम्पत्ति केवल १० प्रतिशत धनाढ्यहरुसँग छ भने नब्बे प्रतिशत जनतासँग केवल १० प्रतिशत मात्र धनसम्पति रहेको छ ।
शहरी तथा ग्रामीण एवम् विभिन्न भौगोलिक क्षेत्र, लैगिंक र सामाजिक समूहबीच धनको वितरण पनि असमान छ । पूर्वाधारको निर्माणमा पनि समानता छैन । देशमा गरिबी रहेसम्म, आवश्यक पूर्वाधारको विकास नभएसम्म, मानव संंशाधन असक्षम रहिरहेसम्म तथा रोजगारीका अवसर सिर्जना नभएसम्म विकास र समृद्धि प्राप्त हुन सक्दैन । समृद्धि प्राप्त नभएसम्म जनतामा खुसी र सुख (ह्याप्पिनेस) पनि आउँदैन ।
अझै पनि २१.६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि छन् । देशको वर्तमान वार्षिक औषत आर्थिक वृद्धिदर छ प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फिति ३.७ प्रतिशत रहेको छ, जुन एउटा सकारात्मक पक्ष हो । तर, निर्यातको तुलनामा आयात उच्चदरमा बढिरहेकाले व्यापार घाटा उच्च छ । उच्च व्यापार घाटाको कारण विदेशी विनिमयको सञ्चितिमाथि दबाव बढेको छ ।
तापनि विदेशी विनिमयको सञ्चिती ९ महिनाको आयात धान्न मात्रै पर्याप्त छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सकारात्मक भए पनि भूमिका नगन्य जस्तै छ ।
बैंकहरुमा लगानी गर्न सक्ने गरी तरलता छैन् । तरलताको अभावमा लगानी अवरुद्ध बनेको छ । आर्थिक नीतिमा देखिएको अस्थिरताले पूँजी बजार डग्मगाएको छ । दिगो विकासका लक्ष्यहरुलाई राष्ट्रिय नीति योजना तथा वार्षिक कार्यक्रममा समाहित गरी लक्ष्य प्राप्त गर्न वस्तुनिष्ठ सूचकहरु निर्माण गरी कार्यक्रम कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने रहर राष्ट्रिय योजना आयोगको छ ।
लगानीका क्षेत्रहरुको पहिचान गर्नुपर्ने र लगानीका लागि धनको अपर्याप्तता भएको स्वीकार दिगो विकास लक्ष्यहरुमा आयोगले नै गरेको छ । प्रदेशगत रुपमा तुलना गर्दा पनि गरिबी र विकासमा देखिने गरि असमानता छ ।
समृद्धि विकासबाट मात्र प्राप्त हुन्छ । विगतको विकासको समिक्षा गर्ने हो भने टिठलाग्दो अवस्था देखिन्छ । हाम्रो देशमा विकास तर्दथवादमा आधारित भएर गरियो । शासकका ईच्छा तत्काल के बाट पूरा हुन्छ, त्यसको मात्रै विकास गरियो, जुन दिगो भएन र जनसंख्या बृद्धिको भारलाई थेग्न पनि सकेन । विकासको नारा दिएर सरकारले अरबौ रुपैयाँ खर्च ग¥यो । विकास पनि धेरथोर हासिल ग¥यो । तर त्यसको समान वितरण हुन सकेन । थोरै हुनेखानेले मात्र उपभोग गर्न पाए । धनी र गरिबबीचको खाडल झन फराकिलो बन्यो ।
विकासका नाममा प्राकृतिक स्रोतहरुको अवैज्ञानिक उपयोग गरियो । पहाडी गाउँहरुमा बाटो बनाउन भन्दै विचारै नगरी जताततै डोजर जोतियो, वनजंगल फाँडियो । पानीका सबै मुहानहरु सुके । पहाडका हरिया डाँडाहरु खैरा बने । शहरमा ठूला ठूला भवनहरु बने ।
शहरमा पनि परम्परादेखि पानी खाइरहेका धाराहरु सुके । जलस्रोतको धनी देशमा अहिले खानेपानीको हाहाकार गाउँ शहर दुवैतिर छ । पानी र आधुनिक सुविधाको खोजीमा गाउँलेहरु गाउँ छोडेर हिँड्न बाध्य छन् । तराईका शहर बजारमा मान्छे थुप्रिएका छन् । शहर बजार र तराईलाई जनसंख्या धान्न नसक्ने अवस्थामा पु¥याएको छ ।
यो अवस्थामा पहाडमा डोजरले खनेको बाटोको के काम ? विकासको नाममा स्थानीय मौलिक संस्कृतिमाथि पनि चरम शोषण भयो । स्थानीय संस्कृतिहरु हराएर गए । यस प्रकारको निष्ठुरी विकासले सुख होइन, तनाव मात्र दिएको छ । समृद्धिको त कल्पनासम्म गर्न सकिँदैन ।
समृद्धि र सुखी नेपाली विकासको एक दीर्घकालीन लक्ष्य हो । समृद्धि र सुखीको लक्ष्य हासिल गर्न सजिलो छैन, तर नसकिने भने होइन । आफ्नो कमजोरी पहिचान नगरेसम्म विकास गर्न र समाज परिर्वतन गर्न सकिँदैन । सरकारले लक्ष्य राम्रो लिने तर लक्ष्य प्राप्तिको लागि लिईएका रणनीतिहरुको कार्यान्वयनमा चुक्ने सरकारको पूर्ववत बानी हो । न्यून आर्थिक वृद्धि, गरिबी न्यूनीकरणका कार्यक्रम कार्यान्वयनमा सुस्तता, धनी र गरिब, शहरी तथा ग्रामीण क्षेत्र एवं विभिन्न भौगोलिक क्षेत्र र समुदायहरूबीच रहेको गरिबीको खाडल, सीप, पुँजी र प्रविधिमा बहुसंख्यक जनताको पहुँच कम, लगानीमैत्री वातावरणको निर्माण तथा औपचारिक वा संगठित क्षेत्रमा संयुक्त लगानीमा आधारित उद्योगको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारीका अवसरहरू उपलब्ध गराउनु नसक्नु समृद्धि प्राप्तिका प्रमुख बाधक हुन् ।
अनौपचारिक क्षेत्रमा अत्यधिक रूपमा केन्द्रित विद्यमान अदृश्य बेरोजगारीलाई घटाउनु, कृषिमा आश्रित आवश्यकताभन्दा बढी जनसंख्यालाई क्रमिक रूपले गैरकृषि क्षेत्रमा स्थानान्तरण गराउनु, स्थानीय सीप, पुँजी र प्रविधिमा पहुँच भएका स्वदेशी उद्यमीहरूको निमित्त स्वरोजगार प्रवद्र्धन गर्नु तथा प्रतिस्पर्धाका आधारमा सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्नु समृद्धिका चुनौतीका रूपमा रहेका छन् ।
कर्मचारीतन्त्रको सम्बन्धमा जतिसुकै नकारात्मक कुरा र सो सम्बन्धमा जे जस्तो प्रश्न उठाएता पनि यसको खास विकल्प पहिचान गर्न सकिएको छैन र सायद कुनै अन्तिम विकल्प पनि छैन । लोकतान्त्रिक शासन प्रणालीमा शासन र
कर्मचारीतन्त्रबिच सन्निकट र सोझा अन्तर सम्बन्ध हुन्छ । कर्मचारीतन्त्रले नै शासनका ‘वम्ब टु टम्ब’, ‘किचेन टु क्राइसिस’, ‘गाउँदेखि यु.एन.ओसम्म’ जस्ता बृहत् क्षेत्रहरूलाई यथार्थमा परिणत गर्न सक्दछ । कर्मचारीतन्त्रको अनुपस्थितिमा राज्य व्यवस्था सञ्चालन गर्न सकिने अवस्था पनि रहन्न त्यसैले भनिन्छ, ‘जहाँसम्म र जब्बसम्म शासन प्रणाली रहन्छ त्यहाँ सधैँ कर्मचारीतन्त्र रहन्छ ।’ अर्थात् ‘कर्मचारीतन्त्र चारैतिर, सधैँको लागी र सबैका लागि हुन्छ ।’
कर्मचारीतन्त्रको दुर्बल पक्षको कारण यसको विकल्प खोज्ने प्रयास भएको हो र विकल्पको खोजी धेरै पहिला पनि भयो । एक पटक त विद्धानको भनाई ‘कर्मचारीतन्त्र मृत हो’ सम्म पुगे तर यसको खास र भरपर्दो विकल्पको पहिचान गर्न सकेन र पछि विद्धानहरूले ‘कर्मचारीतन्त्र मृत भएता पनि यो सदैव बाँचिरहन्छ ।’ भन्ने कुरामा एकमत भए । तसर्थ कर्मचारीतन्त्रको विकल्प यसको भित्रबाट खोज्नु पर्दछ, बाहिरबाट होइन । त्यस्तो कर्मचारीतन्त्र, जहाँ नयाँ व्यवस्थापनका सबै गुण र क्षमता छन्, जहाँ ‘ब्युरोप्याथोलोजी’ मुक्त छन् र जसमा सुधारिएको पुन निर्मित र पुनः अविस्कृत चरित्र छ, त्यो नै कर्मचारीतन्त्रको सर्वोत्तम विकल्प हो ।
यसको निमित्त कर्मचारीतन्त्रको स्वरूप, शैली र चरित्रमा सुधार गर्नु आवश्यक छ र यसलाई यथास्थितिबाट मुक्तगरि पुनः जन्म दिनु आवश्यक छ । यसरी पुर्नजन्म पाएको कर्मचारीतन्त्रबाट सही अर्थमा सेवा प्रवाहलाई प्रवाहकारी रूपमा प्रवाह गर्न सकिन्छ, सुशासनयुक्त शासन स्थापित गर्न सकिन्छ र शासकीय सुधारमा ठोस योगदान पु¥याउन सकिन्छ ।
सेवा प्रवाहका विभिन्न पक्षहरूलाई पारदर्शी र उद्देश्यमूलक बनाएर, कर्मचारीतन्त्रको वृत्ति विकास योजना लागु गरेर, भर्ना लगायत हरेक ठाउँमा योग्यता प्रणाली लागु गरेर, कर्मचारीको कार्यक्षेत्र स्पष्ट हुने गरी कार्य विवरण बनाई लागु गरेर, राजनीति र प्रशासनको स्पष्ट सीमा हुने गरी कानुन बनाएर, राजनीति र प्रशासन बिचको विश्वासको वातावरण स्थापित गरेर, आचरण र अनुशासनमा आधारित दण्ड र पुरस्कार प्रणाली लागु गरेर, सुशासनको ऐनको प्रभावकारी कार्यान्वयन गरेर, कर्मचारी संगठनको काम कारबाही नियमन गरेर र साथै पारदर्शी र उद्देश्यमूलक निजामती सेवा बनाएर कर्मचारीतन्त्रलाई तटस्थ कायम गर्न सक्नुपर्दछ । कर्मचारीले सर्वप्रथम विद्यमान ऐन, नियम, परिपत्र नजिर र पुराना फाइलहरू पढ्ने र अध्ययन गर्ने बानी बसाल्नै पर्छ ।
आजको कर्मचारीतन्त्र गतिशील, सृजनशील, फुर्तिलो, लोकतन्त्र मानव अधिकार र सुशासनको हिमायती, जनताका अधिकारका पहरेदार, विकासको उत्प्रेरक राजनीतिप्रति सचेत तर दलीय राजनीति नगर्ने साथै आग्रह पूर्वाग्रह नराख्ने, राजनीतिक दलप्रति तटस्थ तर निर्वाचित राजनैतिक दलले निर्माण गरेको सरकारको नीतिप्रति प्रतिबद्ध हुनु पर्दछ । जनमुखी, जनतासँग काम गर्ने, अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो आफ्नै मूल्य मान्यता, सोच, अठोट, प्रतिबद्धता भएको कर्मचारीतन्त्र आजको आवश्यकता र माग पनि हो । कर्मचारीतन्त्र राजनीतिदेखि अलग तर राष्ट्र निर्माण परिवर्तन र विकासमा राजनीतिसँग सम्मान आधारमा जान सक्ने हुनु पर्दछ ।अ नि मात्र समृद्धि सम्भव देखिन्छ ।





