बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेपत्ता पारिएका परिवारको गुनासो : ‘नेतालाई सत्तामा पुग्ने भ¥याङ मात्रै भइयो’

बेपत्ता पारिएका परिवारको गुनासो : ‘नेतालाई सत्तामा पुग्ने भ¥याङ मात्रै भइयो’


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

तनहुँ – ९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फूलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराउ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फूलबारी ब्यारेकबाट क्याप्टेन उत्तम थापा क्षेत्री नेतृत्वमा आएको टोलीले टंकप्रसादसहित सुकुम्बासी वस्तीबाट नौ जनालाई हातखुट्टा बाँधेर आँखामा कालोपट्टी लगाएर कुट्दै लगे ।

पक्राउ परेको केही दिन अगाडी गगनगौँडामा रहेको प्रहरी बिटमा तत्कालीन विद्रोही पार्टी माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा संग्लन भएको आंशकामा सकुम्बासी वस्ती छिरेर सोधपुछका लागि नौ जनालाई सेनाले पक्रिएको थियो । पक्राउ परेका अरु आठ जनालाई सेनाले छाडिदियो र घर फर्किए । सोधपुछ गरेर पठाईदिन्छौँ भनेर सेनाको टोलीले लगेको टंकप्रसादलाई २० वर्षदेखि फिर्ता गरेको छैन् । उनी अझै वेपत्ता छन् । न उनको लास भेटिएको छ नत सास नै ।

‘फूलबारी ब्यारेकमा लगेछ भन्ने थाहा भएपछि दिनदिनैजसो ब्यारेकको गेटमा पुगेर सोधपुछ गर्थे उहाँको अवस्था के छ भनेर । यहाँ ल्याएको छैन भनेर जवाफ दिन्थे’, श्रीमति आरती शर्मा सम्झन्छिन् । आरतीले १० वर्षे सशस्त्र जनयुद्धका बेला वेपत्ता पारिएका श्रीमान खोज्दा खोज्दै २० वर्ष बिताएकी छन् । पुग्नपर्ने ठाउँ पुगिन्, भेट्नुपर्ने मान्छे भेटिन– उनले । तर, अझैपनि श्रीमानको केही पत्तो पाएकी छैनन् । टंकलाई पक्रेर लग्ने सुरक्षाकर्मीविरुद्ध आरतीले पटक पटक जाहेरी दिन खोज्छिन्,प्रहरीले इन्कार गर्छ । न्याय माग्दै अदालतको ढोका ढक्ढक्याउँदा पनि उनको चित्कार सुनिँदैन् ।

जतिबेला टंकप्रसाद पक्राउ परेका थिए त्यतिबेला नेकपा माओवादी सशस्त्र द्वन्द्वमा होमिरहेको थियो । ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरी १० वर्षे द्वन्दकालको समापन गर्दै माओवादीले हतियार बिसाएको थियो । हतियारको राजनीति छाडेर माओवादीले शान्ति सम्झौता रोजेको आइतबार १५ वर्ष पुगेको छ ।

यो अवधीमा माओवादी केन्द्रले पटक–पटक सत्ताको स्वाद चाख्यो । जुन पार्टीमा लागेको आशंकामा टंकप्रसाद वेपत्ता भए त्यही पार्टी सत्ताको भ¥याङ चढ्दा अपेक्षा गरेजस्तो आफ्नो घाउमा मल्हम लगाउने काम नगरेको आरती बताउँछन् । वेपत्ताको स्थिति सार्वजनिक गर्नलाई पहल नभएको उनको गुनासो छ । २० औँ बर्षसम्म वेपत्ताको स्थिती सार्वजनिक नहुदाँ चर्किरहने आलो घाउ बनरे बिझाइरहेको छ । घाउलाई निको पार्ने मल्हम लागउने भुमिका राज्य र पार्टी दुवैले नखेलेको उनको भनाई छ । ‘हामीले गर्दा नै नेता सत्तामा पुगे । हामी नेतालाई सत्तामा पु¥याउने भ¥याङ मात्र भइयो । सबै पार्टीका नेता मिलेर वेपत्ताको खोजि गर्ने हो भने समय लाग्दैन् । वेपत्ताको स्थिती पत्ता लगाउन सकिहाल्छन् नि’, उनले भनिन् ।

बेपत्ता छानविन आयोगले केही गर्ला भनेर आशा पलाएको थियो रे उनलाई । तर आयोगले पनि गर्न केही सकेन् सोधपुछबाहेक । ‘आयोग बनेपनि पनि काम गर्दा गदै समय सकिन्छ, थप हुदैन् । आयोगसँग आश लागेको थियो हामीले चाहेको होला भनेर । त्यत्तिकै भयो’, आखाँबाट आसु खसाल्दै उनी भन्छिन्, ‘कम्तीमा भए सास, नभए लास मात्रै दिए पनि ढुक्क हुन्थ्यो । काजकिरिया गर्न त पाइन्थो ।’

आरती आफ्ना श्रीमान एक दिन अवश्य फर्की आउने आशा बोकेर बाँचिरहेकी छन्, खोजिरहेकी छन् । श्रीमानलाई सेनाले पक्रेर लगेको खुदीखोलाको सकुम्बासी वस्तीबाट आरती हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बसाइँ सरेकी छन् । सरकारले बेपत्ता परिवारलाई दिएको १० लाख रुपैयाँ राहतमा थपथाप गरेर पृथ्वी राजमार्गको छेउैमा घर बनाएकी छन् । गुजरा चलाउनलाई घरमै किराना पसल चलाउछिन् । दिनभर जसो उनी पसलमै भेटिन्छन् । जतिबेला उनको नजर घर अगाडीको पृथ्वी राजमार्गमा हुइँकिएका सवारीतिर परिरहन्छ । ‘कुनै दिन यहीँ बाटो गुडिरहेको गाडीबाट झरेर आरती म आए भन्दै टंक आउनेछन्’, उनीसँग यही आशाको त्यान्द्रो साहारा बनेको छ ।
शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका श्रीराम घिमिरे पनि २२ वर्षदेखि बेपत्ता छन् । माओवादीको जनयुद्धमा होमिएका उनलाई १ बैशाख २०५६ मा दंगा प्रहरीले तनहुँको वरभञ्जयाङ नागनागिनीबाट नियन्त्रणमा लिएर वेपत्ता बनाएको हो । वेपत्ता भएको २२ वर्षसम्म श्रीमति सर्वदा खनाल श्रीमानको अवस्था सार्वजनिक गर्न माग गर्दै नपुगेको निकाय सायदै होला ।

सर्वोच्चको शरणमा पनि पुगिछन् एकपटक । सर्वोच्चले उनलाई लाजमर्दो जवाफ दिएछ, ‘आफ्नो मान्छे आफैँ खोज्नुहोला’, भनेर । ‘त्यतिबेलाको सरकारले नबोलेपछि सधैँभरी घाउ आलो भइरहेको छ । सास रहुन्जेल आश हुन्छ भने झैँ भइरहेको छ । वेपत्ताको अवस्था सार्वजनिक गर्न पार्टीले पनि राम्रो भुमिका खेलेन् । सरकारमा गएपछि एउटा पोल खुल्दा अर्को पोल पनि खुल्छ भनेर हो कि !’, उनको आशंका छ ।

श्रीमान कहाँ होलान ? अवस्था के होला ? उनलाई सधैँभरी छट्पटि भईरहन्छ । अवस्था सार्वजनिक गरेर पिडितलाई राहत र पिडकलाई कारवाही नभएसम्म सन्तोष नमिल्ने उनको भनाई छ । ‘कसले गिरफ्तार ग¥यो ? कहाँ लगियो सबै प्रमाण दिएका पनि छौँ । वेपत्ता छानविन आयोगले पनि काम गर्न सकेन् । सत्य तथ्य वाहिर आएन । कहाँनेर के अड्कियो बुझ्न सकेका छैनौँ’, उनले भनिन् ।

१० वर्षे सशस्त्र जनयुद्धमा तनहुँका ६६ जना शहिद बने । १७ जना विद्रोही र राज्यपक्षबाट वेपत्ता भएका छन् । चार जना जिल्ला वाहिरका तनहुँबाट वेपत्ता भएको तथ्याङ्क छ । विद्रोही पार्टी नेकपा माओवादी र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएर विद्रोही पार्टीले सत्तारोहण गर्दा शहिद, वेपत्ता र द्वन्द पिडित परिवारमा आशा पलाएको थियो वेपत्ताको खोजविन र अवस्था सार्वजनिक होला भनेर । आशा अहिले निराशामा बद्लिएको छ ।

शहिद, बेपत्ता नागरिक, पुर्व लडाकु, द्वन्द्वमा घाइते भएकाको समस्या जस्ताको तस्तै छ अझैपनि । केवल उनीहरु नेता सत्तारोहणको भ¥याङ मात्र सावित भएका छन् । राज्यले वेपत्ता नागरिकको लागि काम गर्नै नसकेको बताउँछन् वेपत्ता परिवारका सदस्य भानु नगरपालिका–१ भन्सारका रामचन्द्र मिश्र। ।‘वेपत्ता परिवारको अपेक्षा अनुसार काम भएन् । राहत दिने काम भयो । खोजविन गर्ने काम धिमा गतिमा भएको छ । यो १५ वर्षमा त अवस्था के छ पत्ता लगाई दोषीलाई कारवाही गर्नुपर्ने थियो । यदि राज्यले चाहेको भए यो काम गर्न सक्थ्यो पनि । पार्टीले पनि राज्यलाई झक्झकाई रहनुपर्ने । त्यसो हुन सकेन’, मिश्रले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->