पोखरा – पोखरामा विद्यार्थी संगठनहरुले सडकमै भात पकाइ निस्तै खाएका छन् । देशमा मुल्य वृद्धि चरम रुपमा बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन स्वरुप सडकमा निस्तो भात खाएका हुन् ।
उनीहरुले जनताले अब निस्तो भात खानु बाहेकको विकल्प नरहेको भन्दै आन्दोलन गरेका हुन् । पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास सहित दैनिक उपभोग्य सामानमा समेत चरम मुल्य वृद्धि भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लागयतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन गरेका हुन् । (तस्वीर ÷विजय नेपाली)

उनीहरुले सडकमा भात पकाइ निस्तै खाएका थिए । तत्काल मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी समेत गरेका छन् ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले सरकारले मुल्य वृद्धि नघटाए थप आन्दोलनमा जाने बताए ।

आफूहरुले सांकेतिक रुपमा गरेको आन्दोलनलाई त्यसै जान दिए कडा आन्दोलन गर्ने बताए । ‘कोरोनाका कारण दैनिक ज्यालादारी र मजदुरी गरेर जिविकोपार्जन गर्ने जनताले यस्तो महंगो कहाँ किनेर खान सक्छ ? हरेक चिजमा मुल्य वृद्धि गरेर सरकारले के गर्न खोजेको हो ? हामी सत्ता पक्षको भयौँ भन्दैमा अन्याय सहन सक्दैनौ । जनताका लागि गर्न पठाएका हौँ जनताकै लागि गुर्नपर्छ ’उनले भने ।

अखिल क्रान्तिकारी (विप्लव) कास्की जिल्ला अध्यक्ष पुरन पुनले गठबन्धनको सरकारको पार्टीको निर्वाचन भएकाले विभिन्न धनाढ्य देखि व्यवसायीहरुसंग समेत रकम लिएको काराण उनीहरुकै मिलेमतोमा मुल्य वृद्धि गरेको आरोप लगाए ।
अनेरास्ववियु केन्द्रिय उपमहासचिव राजेन्द्रसर्मा पराजुलीले पेट्रोलियम र खाना पकाउने ग्यासँ बाहेक अन्य क्षेत्रमा समेत मुल्य वृद्धि भएको विरुद्धमा आन्दोलन गरेको बताए ।






