पोखरा/नेपाली कांग्रेसमा वौद्धिक र वाचाल नेताको छवि बनाएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिको उम्देवारी घोषणा गरेका छन् ।
कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा बुधबार उनले सभापतिको दावेदारी पेश गरेका हुन् । २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति भएका देवराज २०७४ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को उम्मेदवार पनि रहेका थिए । नेपाली कांग्रेसको १४ औ. महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ बाट दोस्रो लोकप्रिय मत ल्याएर जितेका चालिसे पार्टीको केन्द्रीय प्रशिक्षक पनि हुन् ।
देश संघीय संरचनामा गएपछि कांग्रेसले अंगालेको प्रदेश सभापतिको अवधारणा १४ औं महाधिवेशनमा कार्यान्वयनमा आउँदैछ । देवराजले अहिलेको नेतृत्वबाट परिवर्तन सम्भव नभएकाले कांग्रेस परिवर्तनको लागि नै आफूले उम्मेदवारी दिएको जिकिर गरेका छन् ।
‘पार्टी निजी संगठन हैन, योग्यता र सम्भावनाको संगठन बन्नुपर्छ’,बुधबार पोखरामा पत्रकारमाझ उनले भने,‘मौजुदा नेतृत्वबाट पार्टीमा परिवर्तन सम्भव छैन भनेर नै मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ ।’
उनले पार्टीभित्रका परिवर्तन पक्षधरहरुले आफूलाई सघाउने विश्वास पनि व्यक्त गरे । नेपाली कांग्रेसको संस्थापन इतर समूहका देवराजले केन्द्रीय नेता वा गुट कसले सघाउने भन्ने स्पष्ट नपारे पनि उनले १४ औं महाधिवेशनमा सभापति दावी गरिरहेका कोइराला परिवारको सहयोग रहने संकेत गरे । त्यसो त, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पनि देवराजप्रति सकारात्मक छन् । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल–कोइराला समूहबाटै धेरैले प्रदेश सभापतिको आकांक्षा देखाइरहँदा देवराजले सहमतिमा उम्मेदवारी नछाड्ने पनि बताए ।
‘यो कसैलाई उछिन्नको लागि गरिएको घोषणा हैन’,उनले भने,‘यो आत्मविश्वासको घोषणा हो र जिल्लाका साथीहको समर्थनका आधारमा गरिएको हो ।’ २०७४ सालको संसदीय निर्वाचन लड्न त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजिनामा दिएका देवराज वौद्धिका छविका कारण लोकप्रिय छन् ।





