पोखरा/नेपाल विद्यार्थी संघ कास्कीका नेता भानु ढकालले कांग्रेस जिल्ला सचिवमा उम्मेदवारी दिएका छन् । जिल्ला अधिवेशनका लागि बिहीबार उनले मनोनयन दर्ता गरेका हुन् । नेविसंघमा २०५७ सालदेखि आवद्ध भएका ढकाल कांग्रेसभित्र नेता गगन थापा समुहमा छन् ।
नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्यस इकाइमा तीन कार्यकाल काम गरेका ढकाल कास्कीका पूर्वउपसभापति र पूर्वकेन्द्रीय सदस्य हुन् । कांग्रेसको १३ औं महाधिवेशनमा ढकाल तत्कालीन कालिका गाविस समितिमा सर्वसम्मत सभापति चुनिएका थिए । त्यसपछि कास्कीको मादी गाउँपालिका वडा नं. ५ को सभापति र गाउँपालिका कार्यसमितिको सचिवको रुपमा पनि उनले काम गरे ।
कास्कीमा नेपाली कांग्रेस कमजोर भएको भन्दै पुरानो विरासत फर्काउन आफूले सचिवमा उम्मेदवारी दिएको ढकालले बताए । २०५६ सालमा कास्कीका सबैजसो स्थानीय तह र संसदीय निर्वाचनमा कांग्रेसले जितेको स्मरण गर्दैै ढकालले त्यसयताका निर्वाचनमा भने कास्कीमा कांग्रेस कमजोर देखिएको बताए । ‘कास्कीमा कांग्रेसलाई बलियो बनाउनुछ’, मतदातासँग मत माग्दै भने, ‘मलाई तपाईंको अमूल्य मत दिनोस्, म तपाईंलाई बलियो कांग्रेस दिन्छु ।’
कांग्रेसमा देखिएको युवा लहरलाई सही नेतृत्व प्रदान गर्नका लागि पनि आफुले उम्मेदवारी दिएको उनले बताए । ‘अब युवा मतदातालाई कांग्रेसमा आकर्षित गर्ने काम गर्छु’m उनले भने, ‘अग्रजबाट मार्गनिर्देशन लिएर युवालाई अघि बढाउन लाग्छु ।’
गगन थापा समुहबाट कास्कीमा प्यानल नदेखिएपनि सचिवमा भानुलाई उठाउन थापाकै जोडबल भएको उनी निकट नेताहरुले बताएका छन् । उनलाई जिताउन थापाले कास्कीका नेताहरुसँग लविङसमेत गरिरहेको कांग्रेस कास्कीका एक नेताले बताए । सभापतिमा ५ जना उम्मेदवार रहेपनि ढकाल अहिलेम्म कुनै पनि प्यानलमा बसेका छैनन् । सभापतिमा कसलाई सघाउने भनेर छलफल भइरहेको उनले बताए ।
ढकाल २०५९ सालमा राजाले शासन कब्जा गरेपछि सर्वाधिक सक्रिय कांग्रेस नेता कमलमणि ढकालका भाई हुन् । तत्कालीन राजा ज्ञानेन्द्रको पश्चिमाञ्चल भ्रमणका बेला पुत्लादहन गरेबापत कमलमणिसँगै भानु र अर्का नेता मोहन पण्डित एकैसाथ गिरफ्तार भएका थिए । दशैंको घटस्थापनाका दिन गिरफ्तार परेका उनीहरुलाई तत्कालिन सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । आन्दोलनका क्रममा ६५ पटक गिरफ्तार भएका भानुलाई ११ वटा सार्वजनिक मुद्दा लागेको थियो ।





