बागलुङ/जीवनशैली सुधारका लागि जिल्लाको ताराखोला गाउँपालिकामा जीवनशैली परिवर्तन तथा योगाभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । धौलागिरी आयुर्वेदिक औषधालय बागलुङ र ताराखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुईदिने जीवनशैली परिवर्तन तथा योगाभ्यास कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका सहभागीहरुलाई योगाभ्यास, ध्यान, नसर्ने रोग र स्वस्थ जीवनशैली सम्बन्धि प्रशिक्षण दिईएको थियो । औषधालयका प्रमुख, आर्युेवेद तथा योग चिकित्सक डा. सरोज कुमार राय र ताराखोला स्वास्थ्य शाखा प्रमुख उदित थापाले सहभागीलाई योगाभ्यास गराएका थिए । सहभागीहरुलाई स्वास्थ्य परिक्षण, उच्च रक्तचाप, मधुमेह लगायतको नसर्ने रोगहरुको जाँच तथा रोगानुसार प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने रसायन औषधी निःशुल्क वितरण गरिएको औषधालयका प्रमुख डा.रायले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले योग जीवनको महत्वपूर्ण पक्ष भएको बताए । स्वस्थ्य मानिसले मात्रै समाज परिवर्तनका लागि काम गर्नसक्ने भन्दै घर्तीले योग र प्राकृतिक चिकित्साको महत्व बढ्दै गएको बताए । कार्यक्रम औषधालयका प्रमुख डा. सरोज कुमार रायको अध्यक्षता, औषधालयका वैद्य निरीक्षक एकराज ढुंगानाले संचालनमा सम्पन्न भएको थियो ।





