मर्दी हिमालको काखसम्म पुग्ने स्वर्गको बाटो खन्ने अवसर अक्सर कहाँ जो कोहीलाई मिल्छ र ? यसैमा गर्व मान्छन् लक्ष्मणहरु । आफैलाई भाग्यमानी ठान्छन् अनि मनमनै खुसी हुन्छन् ।
साढें ६ बजेको हुँदो हो बिहानको । डाँडाबाट भर्खर मास्तिर घाम झुल्कदै थियो । पारि अन्नपूर्ण र हिमचुलीमा घामको किरणहरु परेसँगै सुन्तला रंगहरु हिमालभरि पोखिएको भान हुँदै थियो । लाग्थ्यो, कुनै चित्रकारले क्यान्भासमा सुन्दर आकृति बुन्दै छ । त्यो स्वर्णीम क्षम म मोबाइलमा टाइम ल्याप्स बनाइ कैद गर्दै थिएँ । १ घण्टाको समय अवधिमा राम्रै नजिता पनि आयो । म थिएँ– होटल ट्रेकर्स प्याराडाइसको आँगनमा । आँगनबाटै हातैले छोइदिऊँ लाग्ने हिमालहरु । हत्केलामै राखिदिऊँ लाग्ने माछापुच्छे«लाई त झन्!
३५५० मिटरमा अवस्थित छ मर्दी हाइ क्याम्प । यहाँबाट भ्यू पोइन्ट वा मर्दी बेस क्याम्प उक्लनेहरु त बिहानै ३ बजे माथि उक्लिसकेका थिए । त्यसैले होटलमा पर्यटकहरुको चहलपहल त्यति थिएन । होटल पछाडि सानो टहरा छ । त्यहीँ बस्छन् ६ जना नुवाकोटबासीहरु । उनीहरुको मुहार प्रष्ट थकान भेटिन्थ्यो । भर्खर आङ तानेर उनीहरु बिहानको नित्यकर्ममा व्यस्त देखिन्थे । उनीहरु को र के कामका लागि यहाँसम्म आएका थिए, मनमा कौतुहलता जाग्यो । अनि म लागेँ मनको जिज्ञासा मेटाउन ।
सानो टहरा । भुइँमा ओछ्यानहरु लगाइएका छन् । वरपर असरल्ल छन्–सामानै सामानका पोकाहरु । अनि छेवैमा छुटाइएको छ भान्छाका लागि ठाउँ । चुलोमा बिहानको चिया उम्लिँदै छ । अर्को चुलोमा कराइभरि चना र आलु पाक्दै छ । छेउमा उसिनिएका अण्डाहरु तम्तयार भएका बसेका छन् । ५५ वर्षीय मीनबहादुर तामाङको जिम्मा हो –पकाउने । उनी त्यहाँ भएकाहरुमध्ये सबैभन्दा पाका उमेरले । त्यसैले पकाउने, खुवाउने र दिउँसोको खाना भ्यू पोइन्टसम्म पु¥याउने, उनको दैनिकी ।
बिहानै जति सबेरै काम सुरु उति नै धेरै जाति, उनीहरु ठान्छन् । किनकि ४००० मिटरको यो उचाईमा दिउसै चिसिन्छ । चिसो सिरेटोले हात खुट्टा कठ्याङ्गिन्छन् । दिउँसै रात पर्छ । तरm बिहानै तातिन पनि त्यति सजिलो कहाँ छ र ? जाडो औधी छ । काखिमुनि हात च्याप्दै उनीहरु हतारहतार चिया सुरुप्प पिउँदै नास्ता खाना थाले । अनि सुरु भयो उहीँ दैनिकी । उही चटारो ।
टोलीका नाइके थिए लक्ष्मण तामाङ । उमेरले उनी ३५ लागे । घर उनको नुवाकोटको दुधसुर गाउँ । उनी यस्तै बाटाघाटा निमार्णमा लागेका पनि वर्षले १० लागे । नेपालका विभिन्न ठाउँमा पहाड, चट्टान अनि भीर पाखालाई फोरेर उनी र उनको टोलीले धेरै बाटाहरु बनाए । ढुंगा र माटासँग खेल्दाखेल्दै उस्तै जब्बर बन्यो होला ज्यान पनि । पहाड नफोरी कहाँ भान्छामा चुलो बल्छ र ? कहाँ जहान परिवारका मुखमा माड लाग्छ र ? यी यावत यथार्थ उनको मलिन अनुहारले प्रष्ट बोल्दै थियो ।
मर्दी क्षेत्रमा आउनु अघि उनीहरु थिए पञ्चासे क्षेत्रमा । त्यहाँ पनि उहीँ ढुंगामाटा कै काम । त्यहाँ उनी कामदार थिए । नाइके अर्कै थिए । सधैं कामदार नै भएर खटिरहन उनलाई मनले मानेन । त्यता काम सिद्धिने बित्तिकै उनी काठमाडौं अफिसमा पुगेका थिए । उनी र अर्का एक जनाले यहाँको कामको जिम्मा पाए । अनि सुरु भयो मर्दीको काखमा बसाइ ।
साल २०७७ चैत महिना । सारा विश्व कोरोना महामारीले आक्रान्त बनेको थियो । चैतताका केही खुकुलो भएको थियो लकडाउन । त्यहीँ मौका छोपी उनीहरुको ११ जनाको टोली मर्दी काखमा आइपुगेका थिएनुवाकोटबाट । अर्का पाँच जनाका टोली पनि केही समयपछिनुवाकोटबाटै आइपुगेका थिए ।अनि कामको बाडफाड भयो । अनि त्यही महिनाबाटै काम सुरु भयो, चट्टान फोर्ने काम, अजंगको भीरमा पर्खाल लगाउने काम अनि घुम्न आउनेहरुलाई स्वर्ग अर्थात् मर्दी काख पु¥याउने बाटो खन्ने काम ।
काम त्यति सहज त कहाँ थियो र ? अजंगको भीर पहरालाई फोडेर, सम्याएर पर्खाल उठाउनुपथ्र्यो, सानो गल्ती भए ज्यानै जान पनि सक्थ्यो । उनै लक्ष्मण तामाङ भन्छन्, ‘यतिको उचाईमा काम गर्न कठिनाइँ नहुने कुरै थिएन । सँगै यहाँ बजारबाट खाद्यान्न, सिमेन्ट, बालुवाको ढुवानीका लागि पनि राम्रै मिहिनेत गर्नु परेको थियो । पानी ग्यालनमा घण्टौं लगाएर बोक्नु पथ्र्यो । भीर पाखामा ज्यानकै बाजी लगाएर पर्खाल उठाउनु पथ्र्यो । तर, हामीले कहिल्यै हार मानेनौं ।’
पहिला लो क्याम्प, बादल डाँडा, हाइ क्याम्प हुँदै मर्दी बेस क्याम्पसम्म पुग्ने पदमार्ग निकै अफ्ठ्यारो थियो । मर्दी पदमार्ग निर्माणका अगुवा एवं होटल व्यवसायी सुदीप गौतम सम्झन्छन्, ‘उहिले यो क्षेत्र हाम्रा हजुरबा र गाउँ घरका बुढापाकाले गोठ गर्ने भेँडी गोठ र गाईभैँसी गोठ गर्ने क्षेत्र थियो । मेरै बुबासँगै गाईभैँसी लिएर हाइ क्याम्पमा गोठ ल्याएको सम्झना छ मलाई । त्यतिबेला त यहाँको बाटो एकदमै चुनौतिपूर्ण थियो । भीरपाखा छिचोलेर आफै बाटो बनाएर आउनु पर्ने बाध्यता थियो । विस्तारै क्याम्पिक ट्रेक सुरु भएपछि भने यहाँको पूर्वाधारहरु बल्ल विकास हुन थालेको हो । यो पदमार्ग चर्चामा आएको त केही वर्षहरु मात्र भएको छ । समयसँगै पूर्वाधारहरुमा धेरै सुधारहरु भएकै हुन् तर सात महिना अघिसम्म पनि ठाउँठाउँमा पदमार्गहरु कठीन नै थिए ।’
पोखराबाट सबैभन्दा छोटो समयमा हिमालको काखमा लडीबुडी खेलेर पोखरा फर्कन सकिने पदमार्ग मर्दीबाहेक अरु को नै बन्न सक्छ र ? तर, पनि यो पदमार्ग अति नै चुनौतिमय थियो । कतै साघुरो भीर पाखालाई छिचोल्दै अघिबढ्नु पथ्र्यो त कतै हागाँबिगालाई समातेर ओरालो झर्नुपथ्र्यो । कतै बाटो ठम्याउनै नसकिने दोबाटाहरु थिए ।
सन् २०११ पछि चर्चामा रहेको यस पदमार्ग जति रोमाञ्चक थियो, त्यति नै खतरनाक । २०७३ सालमा मर्दी आधार शिविरबाटै इजरायली नागरिक अमित रचिम्यान हराए । २०७४ साल फाल्गुन महिनामा डच नागरिकभ्यान भेगल पनि यही पदमार्गमा हराए । उनको त न सास भेटियो न लास नै । यता पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबीबीएसकी छात्रा विपना उप्रेती पनि भ्यू पोइन्टबाट खसेर ज्यान गुमाएकी थिइन् । यी त केही घटनाहरु मात्र थिए, यस्ता धेरै कहाली लाग्दा घटनाहरु यस पदमार्गमा घटिरहन्थे । कारण, ठाउँठाउँमा सूचनासहितको बोर्ड नहुनु, अल्मलिने दोबाटोहरु हुनु र छिनभरमै परिवर्तन हुने मौसम । त्यसैले यस पदमार्गलाई अझ स्तरोन्नति गर्नु अत्यन्त आवश्यक थियो ।
त्यसैले पछिल्लो समय मात्र मर्दी पदमार्ग सुधार र स्तरोन्नतिको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तगर्त पर्यटन विभागले बजेट छुट्टयाएको थियो र जसको नियमन र अनुगमन भने मर्दी हिमाल पर्यटन समितिले गरेका थिए ।
करिब ५ देखि ६ महिनाको अवधिमा पदमार्गमा धेरै सुधारहरु भएका छन् । ठाउँठाउँमा विश्राम स्थलहरु बनेका छन्, त कतै थकान बिसाउने चौतारीहरु । छ्याङ्ग देखिने भीर पाखाहरुमा रेलिङ राखेका छन् । चिटिक्क परेका ढुंगाका सिँढीहरु चढ्दै मर्दी आधार शिविरसम्म पुग्न पर्यटकहरु लालायित हुन्छन् । दोस्रो पटक मर्दी पदयात्रामा आएका बुटवलका आर्यन पोखरेल यसरी उत्साहित हुँदै खुसी साट्छन्, ‘पहिलोपल्ट म ३ वर्षअघि मर्दी पदयात्रामा आएको थिएँ । यसपालि दोस्रोपटक आउँदा त आकाश जमिनकै सुधार भइसकेछ पदमार्गमा । अझ ठाउँठाउँमा म्याप, सूचना चिन्हहरुलगायत अल्मलिने बाटाहरुलाई हटाए पदयात्रीहरुलाई धेरै सहज मिल्नेछ ।’
तर,यस पदमार्ग स्तरोन्नतिको कथा भने पोखरेलले सुनाए जति वाहवाही भने थिएन । लक्ष्मण तामाङहरुले राम्रै पापड पेल्नु परेको थियो । वर्खाको झरी, जुका अनि अत्यासलाग्दो त्यो समय सम्झन चाहन्नन् लक्ष्मणहरु । उनका एक जना साथी त झरीमा विरामी नै परेका थिए । अनकन्टार ठाउँ । न इन्टरनेटको सुविधा थियो न फोन नै राम्ररी लाग्ने । घरपरिवारसँग कहिलेकाहीँ हप्तौं कुराकानी हुन्थेन । त्यही पनि उनीहरु दिनरात पहाड फोड्न लागिपरे । कहिल्यै हार मानेनन् ।
घरमा आमा, श्रीमती र दुई छोराहर छन् उनका । घरको न्यास्रो औधी लाग्छ उनलाई । दसैंमा केही दिन सँगै खुसी साटेर आएका थिए उनीहरु । तिहारमा भने उनीहरु यतै थिए । अबको दुई हप्तामा त सबै काम पनि भ्याइन्छ, अनि केही समय घरतिरै जहानसँग बस्ने रहर छ, लक्ष्मण तामाङले थपे, ‘काम सकिएपछि अनुगमनका लागि टोली पोखराबाट आउनेछन् । उनीहरुले नै कामको चेकजाँच र नापचाप गर्नेछन्, अनि त्यही अनुसार हाम्रो हिसाबकिताब मिलेपछि हामी पनि घर फर्कने योजनामा छौं ।’
घुम्न आउनेहरु उनीहरुलाई बाटा बाटामै धन्यवाद दिन्छन्, कति खुसी साट्दै फोटा पनि खिचेर जान्छन् । दोस्रो, तेस्रो पटक आउनेहरु त फुरुङ्गै हुन्छन् पदमार्गको स्तर देखेर । अझ नुवाकोटबाट यहाँसम्म आएर महिनौं खटिएका थाहा पाउँदा कोही चिया पिउनु भनेर केही सयका नोट समेत दिन्छन् । त्यो वर्खाको झरी, चिसोले कठ्याङ्गिँ्रदाको अत्यासलाग्दो समय अनि महिनौं यस अनकन्टार ठाउँमा बिताएका दुःखका क्षणहरु छिनभरमै भुलिदिन्छन् । अनि घुम्न आउनेहरुसँगै खुसी भइदिन्छन्,उनीहरु पनि । मर्दी हिमालको काखसम्म पुग्ने स्वर्गको बाटो खन्ने अवसर अक्सर कहाँ जो कोहीलाई मिल्छ र, यसैमा गर्व मान्छन् उनीहरु । भाग्यमानी ठान्छन् आफैलाई । अनि मनमनै खुसी हुन्छन् ।
माथि भ्यु पोइन्टमा दुई वटा विश्राम स्थलहरु बन्दै थिए । प्लास्टर गर्नु छ भुइँ र भित्तामा । सिमेन्ट र बालुवा त पहिला नै ओसारिसकेछन् उनीहरुले । अब पालो थियो पानी ओसार्ने । चिसो औधी थियो, त्यसैले हाइ क्याम्पमा पानी जमेको थियो । त्यसलाई फुटालेर उनीहरु आ–आफ्ना ४० लिटरको ग्यालनमा भरे । नाम्लो लगाए । थाप्लोमा भिरे अनि तताए आ–आफ्ना बाटा । अर्थात भ्यू पोइन्टसम्मको डेढ घण्टाको उकालो यात्रा ।
उनीहरु त आफ्ना प्रोजेक्ट भ्याएर पनि घर फर्किसके होलान् । उनीहरु फर्केर गए पनि यस पर्दमार्ग स्तरोन्नतिका लागि उनीहरुको पसिना, मिहिनेत र कठोर त्यागको मूल्यांकन सदैव भइनै रहनेछ । मनमनै आधार शिविर पुगेर फर्केकाहरुले धन्यवाद देलान्, दुई शब्द मुक्तकन्ठले प्रशंसाले गर्दै भन्लान्, ‘यस्तो अजंगको भीरहरुमा यति गतिला बाटो बनाउने उनीहरु कति गतिला थिए होलान् है !’





