बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पञ्चायतमा तहल्का, प्रजातन्त्रपछि बेवास्ता !

पञ्चायतमा तहल्का, प्रजातन्त्रपछि बेवास्ता !

भवनका दुईवटा कोठामा झण्डै ३ हजार पुस्तक राखिएका छन् । जुन बन्द कोठामा थुनिएको पनि ३० वर्ष नाघिसक्यो । यी पुस्तकहरु न कसैले खोजेर पढ्छन्, न त संरक्षण गर्न कोही कसैलाई नै जाँगर चल्छ ।


  • युवराज श्रेष्ठ
  • मंसिर १८ २०७८, शनिबार

पोखरा\तरेली पहाडको एउटा नेटोमा छ, लमजुङको समीभञ्ज्याङ । जुन भञ्ज्याङबाट पूर्वतर्फ लागे सदरमुकाम बेंसीशहर त पश्चिमतर्फ पोखरा पुगिन्छ भने दक्षिण लागे तनहुँ सदरमुकाम दमौली । यही भञ्ज्याङ भएर कयौं मानिस कहाँकहाँ पुगे, कोही त कहिल्यै फर्केनन् ।
समीभञ्ज्याङ अहिले जस्तो सुनसान कहिल्यै थिएन । जिल्लामै राजनीतिक र सामाजिक अभियानको नेतृत्व गरेको यो भञ्ज्याङमा पहाडको एउटा सानो खुला ठाउँ छ, जहाँ भलिबल कोर्ट बनाइएको छ । वरीपरी स–साना पसल छन् । भलिबल कोर्टमाथि एउटा ढुङ्गाले छाएको पुरानो भवन छ, जसको आँगनमा चौतारी छ ।
त्यो त्यही भवन हो, जसले गाउँमा मात्र होइन, जिल्लाकै राजनीतिमा प्रभाव जमाउँथ्यो, सामाजिक रुपान्तरण र पर्यावरण संरक्षणका अभियान चलाउँथ्यो । अहिले त्यो भवनको एउटा कोठामा मध्यनेपाल नगरपालिका ५ को वडा कार्यालय चलाइएको छ । भवनका बाँकी चारवटा कोठा र एउटा सेमिनार हल नखुलेको दुई दशक बढी बितिसकेको छ ।
भवनको दुइवटा कोठामा पुस्तकहरु छन् । कयौं पुस्तक धमिराले खाइसके । माकुराका जालो कोठाभरि छन् । भवनका दुईवटा कोठामा झण्डै ३ हजार पुस्तक राखिएका छन् । जुन बन्द कोठामा थुनिएको पनि ३० वर्ष नाघिसक्यो । यी पुस्तकहरु न कसैले खोजेर पढ्छन्, न त संरक्षण गर्न कोही कसैलाई नै जाँगर चल्छ ।
सदरमुकामदेखि टाढा समिभञ्ज्याङमा यत्तिका ठुलो भवन बनाएर पुस्तक जम्मा गर्न त्यो समय सजिलो थिएन । अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन आजभन्दा ५० वर्षअघि गाउँका ‘पढेलेखेका’ युवाहरुको सामुहिक प्रयत्नको प्रतिफल थियो त्यो भवन र पुस्तकहरु । जसलाई उनीहरुले ‘अन्नपूर्ण पुस्तकालय’ नामाकरण गरेका थिए ।
विक्रम संवत २०२८ सालमा स्थानीय युवाहरु जम्मा भए । समिभञ्ज्याङमै जन्मे हुर्केर जिल्लाको राजनीतिक नेतृत्वमा रहेका लेखनाथ अधिकारीले गाउँमा पुस्तकालय खोल्न प्रस्ताव गरे । गाउँका युवाहरुले सहमति जनाए ।
गाउँका पढेलेखेका युवाहरु बटुलेर लेखनाथले पुस्तकालय समिति बनाए । जसका संस्थापक अध्यक्ष थिए, जीवनाथ अधिकारी । त्यतिबेला २७ बर्षका जीवनाथ अहिले ७७ बर्षका भए । लेखनाथले नै पहिलो पटक पुस्तकालय समिति गठन गरिदिएका थिए ।
‘पुस्तकालय खोल्यो भने केटाकेटीको उन्नति–प्रगति हुन्छ, विद्या आर्जन हुन्छ, ज्ञान आउँछ भनेर उहाँ (लेखनाथ अधिकारी)ले भन्नुभयो,’ पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथले भने, ‘शुरुमा नेवारको भीमसेनस्थानमा राखेर पुस्तकालय चलायौं, पछि भञ्ज्याङमा भवन बनाएर सा¥यौं ।’
देशमा निर्दलीय पञ्चायती निरंकुशता थियो । मानिसहरु संगठित हुन पाउँथेनन् । राजनीतिक दलहरु प्रतिवन्धित थिए । प्रजातन्त्र माग्नेहरु भित्रभित्रै लुकेर कार्यक्रम चलाउँथे, बाहिर नसुन्ने गरी प्रजातन्त्र चाहियो भन्थे ।
अन्नपूर्ण पुस्तकालय गाउँका प्रजातन्त्रप्रेमीहरु भेटघाट हुने थलो बन्यो । पुस्तकालयमा पुस्तक पढेर विभिन्न कार्यक्रम चलाउँथे । उनीहरु आफु मात्र पढ्थेनन्, गाउँका अरु युवालाई पनि पढ्न सिकाउँथे । निरक्षर गाउँलेलाई ‘रात्रीकालीन पाठशाला’का नाममा अक्षर चिनाएर पुस्तक पढ्न पाउने स्वतन्त्रता सरकारले हनन् गरेको बुझाउँथे ।
पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथका अनुसार पुस्तकालयमा कहिलेकाहीं राजनीतिक प्रवृत्तीका कार्यक्रम पनि हुन्थ्यो । नेपाली काँग्रेसको युवा संगठन तरुण दलको कार्यक्रम समेत त्यहीं संचालन गर्दा पक्राउ पर्ने निश्चित भएको थियो । जीवनाथसहित पुस्तकालय समितिका सदस्य र कार्यक्रम चलाउने युवाहरु हिरासतमा जान तयार भए । तर, उनीहरुलाई केही पनि भएन । किनकी, जिल्लाको राजनीतिको केन्द्रमा थिए, उही लेखनाथ अधिकारी ।
त्यतिबेला गाउँमा सामाजिक उत्थान र रुपान्तरण गर्न कुनै पनि संगठन थिएन । गाउँलेहरु संगठित हुन पाउँथेनन् । अरु संघसंस्था पनि अस्तित्वमा थिएनन् । गाउँ पञ्चायतको हालीमुहाली गाउँलेको निगरानीमै व्यतित थियो । समाजसेवा गर्न उक्सिएका युवाहरुले पुस्तकालयलाई भरपुर उपयोग गरे । पुस्तकालयका संस्थापक उपाध्यक्ष रामकृष्ण श्रेष्ठले पुस्तकालयको माध्यमबाट गाउँको चौतर्फी विकास र जागरण ल्याउन सफल भएको बताए ।
पुस्तकालय खोल्न हौस्याएका लेखनाथ जिल्ला पञ्चायत सदस्य हुँदै सभापति भए र पछि राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । उनकै आर्शीवादले पुस्तकालयले पञ्चायतविरोधी अभियान चलाउँदासमेत कोही पक्राउ परेनन्, उल्टै सहयोग पाइरहे । लेखनाथकै पहलमा पुस्तकालय भवन बनाउन जिल्ला विकास समितिबाट करिब ४५ हजार प्राप्त भयो । त्यही पैसा र श्रमदान जुटाएर बनेको त्यो भवन अहिले पनि उस्तै छ ।
पुस्तकालय चलाउन स्थानीय युवाहरुले केही पुस्तक खरिद गरे । धेरैजसो विभिन्न दातृसंस्था र व्यक्तिबाट संकलन गरे । केही पुस्तक भने भारतीय दूतावासले सहयोग गरेको संस्थापक उपाध्यक्ष श्रेष्ठले बताए ।
पुस्तकालयमा राजनीति, साहित्य, स्वास्थ्य, पर्यावरण लगायत विविध विषयका पुस्तक थिए । धमिराले खाएको अवस्थामा जुन अहिले पनि छ । कतिपय प्रतिवन्धित पुस्तक समेत अन्नपूर्ण पुस्तकालयमा सहज पहुँचमा थियो । डाण्मण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास ‘सेतो बाघ’देखि विपी कोइरालाका साहित्यिक र राजनीतिक प्रवृत्तिका पुस्तक र प्रतिवन्धित पत्रिकासमेत पुस्तकालयमा पाइन्थ्यो । कहिलेकाहीं त्यस्ता पुस्तक र पत्रिका भने भित्रभित्रै लुकाएर अध्यन गर्नुपरेको श्रेष्ठले संझिए ।
‘प्रतिवन्ध लागेको किताब र पत्रिका हामी भित्रभित्रै बाँडीचुडी पढ्थ्यौं,’ श्रेष्ठले भने, ‘लेखनाथ जीको प्रभावले भनौं, पुस्तकालयमा राख्दा समेत प्रशासनको खासै निगरानी थिएन ।’
पुस्तकालयमा आवद्ध गाउँका युवाहरु प्रतिवन्धित नेपाली कांग्रेसका कार्यकर्ता थिए । उनीहरु पार्टीको बैठक बस्न रातीराती ३ घण्टासम्म हिडेर जाने गरेको श्रेष्ठले बताए । समिभञ्ज्याङका युवाहरुलाई पार्टी सदस्य बनाएर हाल कांग्रेस केन्द्रीय सदस्य रहेका दिलबहादुर घर्तीले संगठित गरेका थिए । त्यतिबेला उनको सबैभन्दा सुरक्षित राजनीतिक आश्रय नै नै त्यहीं भञ्ज्याङ थियो ।
पुस्तकालयमा बसेर गाउँका युवाहरु पुस्तक र पत्रिकामात्र पढ्थेनन्, त्यहाँ लेखिएका विषयमा विमर्श पनि गर्थे । त्यतिबेला पुस्तकालयमा कर्मचारी राख्ने विचार नै थिएन । समितिका सदस्यहरु नै पालैपालो पुस्तकालयमा बस्ने, पढ्न आउनेलाई पुस्तक दिने र घर लगेर पढ्न चाहनेको रेकर्ड राख्ने गर्दथे । त्यतिबेला पुस्तक घरमा लैजाने केहीले फिर्ता गर्थेनन् । २, ३ पटक ताकेता गरेपछि फिर्ता गर्ने गरेका थिए ।
पुस्तकालयमा भेला भएकाहरु देशमा प्रजातन्त्र आउनेबारे छलफल गर्थे । आन्दोलनका कार्यक्रमका बारेमा कुरा गर्थे । कहिलेकाहीं विशेष कार्यक्रम गर्नुप¥यो भने रातिराति छुट्टै घरमा बसेर सल्लाह गरेको उपाध्यक्ष श्रेष्ठले बताए । पुस्तकालयका तर्फबाट आयोजना गरिने अरु सामाजिक कार्यका बारेमा भने पुस्तकालयमै बसेर योजना बुन्थे ।
जिल्लाकै पुरानो पुस्तकालय समितिले आफूहरु पनि केही प्रकाशन गर्ने सोच बनायो । सधैं अरुका समाचार, विचार, साहित्य मात्र कति पढ्ने ? पुस्तकालयले गाउँमा भित्तेपत्रिका प्रकाशन गर्न थाल्यो । जहाँ स्थानीय गतिविधि र कार्यक्रमहरुका समाचार समेटिएका हुन्थे । प्रजातन्त्रको पक्षमा लेखिएका कविता र अन्य सामाग्री भित्तेपत्रिकामा प्रकाशन गर्न थाले ।
पुस्तकालय समितिमा रहेर काम गरेकाहरु अधिकांश स्थानीय विद्यालयका शिक्षकहरु थिए । भित्तेपत्रिका मात्रै उनीहरुलाई सानो लाग्यो । अब म्यागजिन पत्रिका निकाल्ने सोच बनाए । पुस्तकालय समितिले ‘भञ्ज्याङ’ नामक म्यागजिन पत्रिका निकाल्न थाले । जहाँ अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गतिविधि, समाचार, विचार र साहित्य प्रकाशन गर्न थाले ।
त्यतिबेला पत्रिका प्रकाशन गर्न सजिलो थिएन । पञ्चायती राज्यले प्रतिवन्ध लगाएको थियो । उनीहरु पनि निवन्ध र साहित्यमा मात्र होइन, समाचार र विचारमा पनि स्वतन्त्रताको वकालत गरिरहन्थे । पत्रिका प्रकाशन आफंैमा स्वतन्त्रताको अभ्यास थियो, उनीहरुले त्यही अभ्यास गरिरहे ।
पत्रिका छाप्न पनि उत्तिकै आपत् थियो । सामाग्री जुटाएर तनहुँ सदरमुकाम दमौलीसम्म हिँडेर जानुपर्ने अवस्था थियो । गाउँबाट एकदिन हिँडेर उनीहरु दमौली पुग्थे, पत्रिका छाप्न दिन्थे र छापिएपछि फेरी लिन जान्थे । यसरी छापिएका पत्रिका जिल्लाकै राजनीतिक नेतृत्वदेखि गाउँका अक्षर चिनेका नागरिकसम्म पुग्थ्यो ।
पुस्तकालयका तर्फबाट गाउँमा कविता, निबन्ध, वादविवाद, हिज्जे लगायतका प्रतियोगिता आयोजना हुन्थे । गाउँका अधिकाँश महिला निरक्षर थिए । उनीहरुलाई साक्षर बनाउन शिक्षक पनि महिला नै चाहिने पुस्तकालय समितिले निक्र्यौल ग¥यो । कांग्रेस नेता घर्तीकै गाउँ जीताबाट भूमि श्रेष्ठलाई शिक्षिका बनाएर गाउँ ल्याएको उपाध्यक्ष श्रेष्ठले बताए ।
शिक्षिका भूमिले दिउँसो समिभञ्ज्याङकै तत्कालिन सम्झना प्रावि (हाल मावि)मा र राति निरक्षर महिलालाई पढाउन रात्रीकालीन पाठशालामा पढाउन थालिन् । निरक्षर नागरिकलाई साक्षर बनाउन त्यतिबेला राज्यले सोचेको पनि थिएन । पुस्तकालय समितिले नै गाउँमा रात्रीकालिन पाठशाला चलाउन आवश्यक मट्टितेल र लालटिन आँफै पैसा उठाएर खरिद गरे ।
२०४१ सालमा महेन्द्र प्रकृति संरक्षण कोषले पुस्तकालयसँग मिलेर पर्यावरण संरक्षणका अभियान चलाउन हातेमालो गर्न चाह्यो । पुस्तकालय समिति पनि यसका लागि तयार भयो । कोषसँग मिलेर पुस्तकालयले गाउँमा मात्र होइन, जिल्लाभर नै पर्यावरण संरक्षणको अभियान चलायो ।
जिल्लाव्यापी अभियान चलाएर फर्किएका युवाहरुले पुस्तकालयको स्थापना दिवस मनाउने तयारी गरे । स्थापना दिवसमा राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरियो । सम्मेलनमा तत्कालीन वनमन्त्री गगन जंगबहादुर शाह प्रमुख अतिथिका रुपमा समिभञ्याङ आएको उपाध्यक्ष श्रेष्ठले सम्झिए ।
त्यतिबेला रेडियो नेपालका पत्रकार कृष्ण ताम्राकार र नेपाल टेलिभिजनका प्रतिनिधि समेत समिभञ्ज्याङ पुगे । मोटरबाटो सकिएपछि २ घण्टा बढी हिँडेर नै उनीहरु गाउँ पुगेका थिए । पुस्तकालयको उक्त साहित्यिक कार्यक्रममा जनकवि केसरी धर्मराज थापा समेत समिभञ्ज्याङ पुगेका थिए ।
दूरदराजका एउटा गाउँमा भएको कार्यक्रमको समाचार रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण भयो । उनीहरुले देशव्यापी वाहवाही पाए । पुस्तकालय समिति झनै हौसिए । सरकार पञ्चायती थियो, उनीहरुले त्यो उत्साह प्रजातन्त्र ल्याउनतिर खर्चिए । भूमिगत गतिविधिलाई जोड दिए ।
प्रजातन्त्रका लागि लडिरहेका बेसी दुईपिप्लेका तारानाथ कोइराला, कांग्रेसका हालका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुसँग सम्पर्क बढाए । पौडेलको पुरानो घर तनहुँको रिस्तीबाट समिभञ्ज्याङ नजिकै थियो । तारनाथ तिनै व्यक्ति थिए, जसले स्याङ्जामा विपी कोइराला आउँदा प्रहरीले चलाएको गोली खाएका थिए ।
यस्तै, नेताहरु रामचन्द्र अधिकारी र सानुमाया गुरुङ पनि राजनीतिक अभियानका क्रममा समिभञ्ज्याङ आउजाउ बढ्न थाल्यो । रामचन्द्र अधिकारी पछि काँग्रेस प्रतिनिधि सभा सांसद र मन्त्री बने । सानुमाया काँग्रेस लमजुङको राजनीतिमा लामो समय रहिन् ।
पुस्तकालयले स्वतस्फुर्त गरिरहेका कामका बारेमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि मूल्यांकन गरेका रहेछन् । निशुल्क सामाजिक अभियानमा लागेका पुस्तकालय समितिका युवाहरुले ‘रेड वर्ण नेपाल’ नामक संस्थाले ‘सुरक्षित मातृत्व कार्यक्रम’ सञ्चालन गर्न प्रस्ताव ग¥यो, पुस्तकालयले स्वीका¥यो ।
त्यो समय गाउँमा स्वास्थ्य चौकी थिएन । सामान्य हात काट्यो वा घाउ खटिरा आयो भने पनि उपचारका विधि थिएनन् । डाक्टर नभएमा नामक पुस्तकमा यस्ता समस्याका स्थानीय स्तरमा समाधानका विधि सिकाइएका थिए । सुरक्षित मातृत्व, प्रसूति, ज्वरो लगायतका स्वास्थ्य समस्यामा पनि गाउँमा बसेर गर्न सकिने समाधान पुस्तकमा समावेश थियो ।
पुस्तकालयले गाउँमा बेलाबखत स्वास्थ्य शिविर आयोजना गर्थे । जहाँ गाउँलेले निशुल्क स्वास्थ्य परिक्षण र औषधी पाउँथे । यसका लागि पुस्तकालय समितिले विभिन्न संस्था र अस्पतालसँग सहकार्य गर्दथ्यो ।
पुस्तकालय यतिमा मात्र सीमित भएन । गाउँमा घर, आँगन, टोल, बाटोघाटो, पँधेर लगायत घरदेखि सार्वजनिक स्थलसम्म सरसफाइका अभियान चलाउन थाल्यो । पुस्तकालय समितिको निर्णय गाउँका सबै गाउँलेले शीरोधार्य गरे । श्रेष्ठका अनुसार उक्त अभियान पनि गाउँका कसैले अवज्ञा गरेनन् ।
अन्नपूर्ण पुस्तकालयको नाम जिल्लामा मात्र नभई देशभर फैलिन थाल्यो । २०४५ सालतिर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषले पुस्तकालयसँग सहकार्य गरेर ‘लमजुङ नमुना वातावरण योजना’ सञ्चालन गर्न चाह्यो । पुस्तकालय समिति पनि तयार भयो । उक्त परियोजना अनुसार जिल्लाका ५ वटा गाविसको ‘भिलेज प्रोफाइल’ बनाउनुपर्ने भयो ।
भिलेज प्रोफाइलमा गाविसका प्राकृतिक विपत्तिका सम्भावनादेखि बनजंगल, गाविसमा रहेका घरधुरी र उनीहरुको अवस्था, खानेपानीको स्रोत सबै संकलन गर्नुपथ्र्यो । उक्त योजना अनुसार जिल्लामा रहेका ६१ गाविस मध्ये सुदुरपूर्व, उत्तर, दक्षिण र पश्चिमका गाविस छनोट गरिएका थिए ।
भिलेज प्रोफाइल बनाउन छनोट भएका मनाङसँग सीमा जोडिएको उत्तरी गाविस घेर्मुको जिम्मा ताघृङका रामबहादुर गुरुङले पाए । शिक्षणमा लागेका गुरुङ प्रजातन्त्र स्थापना पश्चात राजनीतिमा होमिए । लगातार ३ पटक प्रतिनिधि सभाका सांसद भए, एक पटक जलस्रोत राज्यमन्त्री बने ।
यस्तै, पूर्वतर्फको गाविस प्यारजुङको भिलेज प्रोफाइल बनाउने काम तार्कुका कृष्णराज ओलियाले पाए । उनी अहिले पनि सामाजिक अभियानमा सक्रिय छन् । उनको नेतृत्वमा लमजुङको तार्कुघाटमा वृद्धाश्रम संचालनमा छ ।
यस्तै, सुन्दरबजारमा भोजराज र भोर्लेटारमा तिर्थराज पराजुलीले जिम्मा पाए । उनीहरु पनि शौक्षिक र सामाजिक क्षेत्रमा उत्तिकै खटिएका व्यक्ती थिए । समिभञ्ज्याङ गाविसको भिलेज प्रोफाइल भने पुस्तकालय समितिमै आवद्ध युवाहरुले बनाए ।
पुस्तकालयले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको उक्त योजना निरिक्षण र निर्देशनका लागि दुराडाँडाका हरिभक्त अधिकारीलाई निर्देशक चयन ग¥यो । हरिभक्तले प्रजातन्त्र पुनस्र्थापना पश्चात कांग्रेसबाट प्रतिनिधि सभाका सांसद जिते । कुनै समय अन्नपूर्ण पुस्तकालयका कर्मचारी बनेकाहरु नै जिल्लाबाट सांसद र मन्त्रीसम्म बने ।
पुस्तकालयले आफ्नो नियमित कार्यक्रमका दौरान खाली ठाउँमा वृक्षारोपण गर्दथ्यो । पर्यावरण जोगाउन विभिन्न संस्थासँग मिलेर गरेको कामले होस् या आफ्नो नियमित कार्यक्रमले । पुस्तकालयको बन तथा वातावरणसम्बन्धी कामले गाउँकै पुरानोहटिया सामुदायिक बनलाई ‘जराजुरी’ नामक संस्थाले राष्ट्रिय पुरस्कार प्रदान ग¥यो ।
पुस्तकालय आफंैले नियमित संचालन गर्ने खुला भलिबल, निबन्ध, हाजिरीजवाफ लगायतका रनिङ शिल्ड प्रतियोगिता संचालन गर्थे । जसले गाउँका युवा र विद्यार्थीलाई समेट्थ्यो । यी सबैका आयोजक पुस्तकालय हुन्थ्यो, पुरस्कार पुस्तकालयले जुटाउँथ्यो ।
गाउँमा पुस्तकालय खोलेर अनेक अभियानमा कस्सिएका युवा किसानका हितमा काम गर्न घोत्लिए । पुस्तकालय पढेलेखेका फुर्सदिलाका लागि मात्र नभई दिनरात काम गरेर पनि खान नपुग्ने किसानको पनि बनाउन चाहन्थे उनीहरु । किसानलाई पुस्तकालयको तर्फबाट कसरी सहयोग गर्न सकिएला ?
पुस्तकालय समितिका युवाहरुले मन्थन गरे र उपाय निकाले । कविता प्रतियोगिताजस्तै कृषि प्रतियोगिता संचालन गर्ने उनीहरुले निर्णय लिए । गाउँमा कृषि प्रदर्शनीको आयोजना गरियो । कृषि तथा पशुपंक्षी प्रतियोगिता चलाएर सबैभन्दा राम्रो फसल तथा पशुपंक्षी पालेका किसानलाई प्रोत्साहन दिन पुरस्कारको व्यवस्था मिलाए ।
गाउँमा कुखुरा, खशी, बोका, गाई, भैंसी पाल्ने उत्कृष्ठ उद्यमी किसान पुरस्कृत भए । यस्तै, तरकारी खेती र अन्नपातमा पनि किसानलाई पुरस्कारको व्यवस्था मिलाए । राम्रोसँग कृषिकर्ममा लागेर धेरै र ठुलो परिणाम दिने किसान पुरस्कृत हुँदा अरु किसानले पनि त्यसरी नै हौसला पाउने उनीहरुको विश्वास थियो । राज्य नपुगेको किसानको खेतबारीमा विज्ञ लिएर पुस्तकालय पुग्यो ।
गाउँमा गरिबी व्याप्त थियो । केही धनिमानीले गरिबलाई चर्को ब्याजमा ऋण दिन्थे । ऋण तिर्ने भाकल पुरा नभए साँवामा ब्याज जोड्थे, ब्याजको पनि ब्याज लिन्थे । पुस्तकालय भवनकै एउटा कोठामा सस्तो व्याजमा ऋण दिने व्यवस्था मिलाउन ‘कृषि कल्याण कोष’ सञ्चालन गरियो । कोषले बैंकबाट पैसा ल्याएर सस्तो ब्याजमा गाउँका किसानलाई कर्जा दिए ।
पञ्चायतकालको प्रतिबन्धमा प्रजातन्त्रका पक्षधर संगठित हुन मात्र होइन, नागरिकसँग जोडिन पनि पुस्तकालयले भूमिका खेल्यो । समिभञ्ज्याङस्थित अन्नपूर्ण पुस्तकालयबाट करिब २ किलोमिटरकै दूरीमा अर्को पुस्तकालय पनि स्थापना भयो–जनचेतना पुस्तकालय ।
अन्नपूर्णसँगै खुलेको जनचेतना पुस्तकालयले राजनीतिक गतिविधि धेरै गर्न थालेपछि तत्कालिन प्रशासनले बन्द गर्न आदेश दिएको थियो । अन्नपूर्ण पुस्तकालय कांग्रेस पक्षधरले चलाएको थियो भने कम्युनिस्ट पक्षधरले जनचेतना पुस्तकालय । अन्नपूर्ण पुस्तकालय समितिलाई प्रशासनको नजरबाट अन्तिमसम्मै राष्ट्रिय पञ्चायत सदस्य बनेका लेखनाथले जोगाइदिएका थिए ।
पञ्चायतकालमा खुलेर यसरी जिल्लाकै एउटा केन्द्र बनेको अन्नपूर्ण पुस्तकालय प्रजातन्त्र पुनस्र्थापना पश्चात सुस्ताउँदै गयो । २०४७ सालपछि पुस्तकालयमा समितिकै सदस्य विस्तारै जान छाडे । जागिरका शिलशिलामा पुस्तकालय समितिमा रहेकाहरु बाहिरिन थाले । नयाँ पुस्ताले पनि पुस्तकालय सञ्चालनबारे सोच्न सकेनन् ।
प्रजातन्त्र नहुँदा फस्टाएको पुस्तकालय प्रजातन्त्र आएपछि बन्द हुन पुग्यो । २०५० सालमा आइपुग्दा पुस्तकालय लगभग बन्द भइसकेको संस्थापक उपाध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार पुस्तकालय भवन र जग्गा पुस्तकालयकै नाममा लालपूर्जा बनेको छ ।
पुस्तकालयको पुस्तक राखिएको ढोका अहिले पनि बन्द छ । ढोकामा लगाइएको चाबी कसैसँग छैन, हराइसकेको छ । चाबी फोडेर मात्र पुस्तकालय कोठाभित्र छिर्न सकिन्छ । ५० वर्षअघि स्थापना भएर २५ वर्ष काम गरेको पुस्तकालय बन्द भएको पनि ३० बर्ष पुगिसकेको छ ।
पुस्तकालयका संस्थापक उपाध्यक्ष श्रेष्ठले प्रजातन्त्र स्थापना भएपछि राजनीतिक पार्टीभित्र देखिएका विभाजन र गुटबन्दीले पनि असर पारेको बताए । उनका अनुसार, पुस्तकालयका अभियानमा सँगसँगै हिडेकाहरु पनि विभाजित भए । पुस्तकालय समितिका पुराना पदाधिकारी र सदस्य आ–आफ्नो बाटो लागे ।
त्यही अन्नपूर्ण पुस्तकालयका कर्मचारी बनेका व्यक्तिहरु प्रजातन्त्र पुनस्र्थापना पश्चात जिल्लाको राजनीतिक नेतृत्वमा रहे । सांसद र मन्त्री बने । उनीहरुले पनि पुस्तकालयको हालचाल सोधखोज गरेनन् । खोला तरेपछि लौरो बिर्सिए ।
अन्नपूर्ण नजिकै रम्घाको दोपहरेमा खुलेको जनचेतना पुस्तकालय बेसी दुइपिप्लेमा सारेर संचालनको जमर्को भएको छ । दुईवटा कोठा भाडामा लिएर पुस्तकालय ब्युँताउन रम्घाका स्थानीय लागेका छन् ।
जिल्लामा मात्र नभई देशमै चर्चा कमाएको अन्नपूर्ण पुस्तकालय सञ्चालनमा भने अझै पनि कसैले चासो जनाएका छैनन् । पुस्तकालय भवनमै वडा कार्यालय राखेका वडा अध्यक्ष बालकुमार जोशीले गाउँमा युवा पुस्ता नहुँदा चाहेर पनि पुस्तकालय ब्युँताउन नसकेको बताए ।
वडाअध्यक्ष निर्वाचित भएपछि पुस्तकालयका लागि उनले बजेट विनियोजन समेत गरेका थिए । तर त्यो बजेट कार्यान्वयन हुन पाएन । ‘गाउँका धेरै युवाहरु विदेशिए, गाउँलेहरु शहर झरे, बसाइसराई रोक्न सकिएन,’ वडा अध्यक्ष जोशीले भने, ‘गाउँ रित्तिएकाले पुस्तकालय ब्युँताउन चाहेर पनि सकेका छैनौं ।’ पुस्तकालयका संस्थापक अध्यक्ष जीवनाथ भने युवा पुस्ताले पुस्तकालय ब्युँताउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->