मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

समृद्व नेपाल निर्माणमा विकासको लहर

समृद्व नेपाल निर्माणमा विकासको लहर

जनताले आजको जस्तो सोच राखेर दरिद्रतामा जीवन गुजारा गर्दै कष्टमा सपना देख्दैमा जादुसरी समृद्धि प्राप्त हुँदैन । त्यसो भए के चाहिन्छ त समृद्धिको निम्ति ? भन्ने कुरा बुझ्नु जरुरी छ ।


  • प्रकाश गैरे
  • मंसिर १९ २०७८, आइतबार

‘समृद्ध र सुखी’ व्यापक अर्थ लाग्ने शब्द हुन् । त्यसैले पहिला यी दुई शब्दको शाब्दिक अर्थ बुझ्नु पर्छ । ‘समृद्धको अर्थ नेपाली बृहत शब्दकोशका अनुसार ‘धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतीशील, उन्नत हुन्छ भने ‘सुखी’को अर्थ धन, परिवार र इष्टमित्र चारैतिरबाट सन्तोष पाएको, आनन्दी हुन्छ । यसरी समृद्ध भन्नाले सम्पूर्ण सुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था बुझे पनि हुन्छ र सुखीको अर्थ दुःखको कुनै भाव नभएको, शारीरिक, मानसिक कुनै प्रकारको दुःखको बोध नभएको अवस्था बुझे पनि हुन्छ ।
समृद्धि एक उन्नत अवस्था हो जहाँ बुद्धि र विवेकको उच्चतम् अभ्यास भएको हुन्छ, सबैलाइ रोजगार उपलब्ध हुन्छ, हरेक ब्यक्तिले आफ्नो आत्मसम्मान महसुस गरेको हुन्छ र अनुसन्धानले नयाँ प्रबिधी सृजना गरी जनतालाई धनी र सुखी बनाएको हुन्छ । समृद्धि मानिसको बुद्धि, सिर्जना, मेहनत, काम र उत्पादनको उपज हो ।
समृद्धिको माध्यमः एउटा लेखकले पैसाको पछि नलागी जिबनमा चाहिने सबै प्राप्त गर्ने उद्देश्य राखेर उत्कृष्ट लेखन गरे समृद्धि प्राप्त हुने सपना देख्न सक्छ । एउटा प्रेमीले धेरै प्रेम बाँडेपछि समृद्धि प्राप्त हुने महसुस गर्न सक्छ । महभारतका मुख्यपात्र कृष्णको एक अनुयायीले सफा पानी जातजाति, धनी, गरिब नछुट्याई सबैलाई पिउन दिने र घरमा श्रीखण्ड, सरस्वतीको मुर्ति, मह र शुद्ध गाइको घिउ राखे समृद्धिको ढोका खुल्ने कल्पना गर्न सक्छ । एउटा व्यापारीले धन र मनको सकारात्मक सम्बन्ध बनाई ज्ञानमा आधारित व्यावसायिक रणनीति बनाउने, निर्दिष्ट दिशा तय गरेर लगातार काम गर्ने र उच्च मनोबलका साथ व्यवसायी क्षमता प्रदर्शन गरे समृद्धि प्राप्त हुने बाटो देखेको हुनसक्छ । एउटा राजनीतिज्ञले सस्ता र राम्रा सामाजिक सेवाहरु प्रदान गर्ने, सम्पुर्ण श्रम बलको लागि रोजगार सृजना गर्ने, सबै नागरिकको सुरक्षा प्रत्याभुती गर्ने र आर्थिक बजारमा प्रतिसपर्धा गर्न नवविचारको बढवा दिनाले समृद्धि प्राप्त हुने सोचेको हुनसक्छ । समृद्धि प्राप्त गर्नेबारे अमेरिकाका पूर्ब राष्ट्रपति बाराक ओबामाले भनेका थिए– ‘मैले धाराशयी हुन लागेका बैंकमा ८२५ खरब (ट्रिलियन) डलरको उत्तेजना प्याकेज लागु गरे र अमेरिकी अर्थतन्त्रलाई समृद्धिको बाटो देखाए ।’ बंगालादेशकी प्रधानमन्त्री सेख हसिनाले समृद्धिबारे भन्नुएको थियो– ‘बंगालादेश एक आधुनिक सफलताको कहानी भएको देश हो । यो अहिले मध्य आय भएका देशको समुहमा सामेल भएको छ । सन् १९९१ देखि २०१० को बिचमै हामीले दुई करोड पाँच लाख गरिबको जिबनस्तर माथि उठायौ । अब हामीले नयाँ रोजगारको सृजना र निर्यात बृद्धिको अर्को चरणबाट समृद्धि प्राप्त गर्नेछौ । मलेशियाका प्रधानमन्त्री महाथिरले भन्नुभएको थियो– ‘सन् २०२० सम्ममा मलेशिया एकताबद्ध, उच्च नैतिकमुल्य, लोकतान्त्रिक, उदारवादी, प्रगतिशिल र सहनशील समाज र गतिशिल अर्थतन्त्र भएको विकसित र समृद्ध देश हुनेछ ।’ समृद्धिबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् १९१८ मा भन्नुभएको थियो– ‘सन २०१८ को संघीय बजेट भारत समृद्धिको एक टेलर हो । यसले १२ करोड किसान, तीन करोड मध्यम वर्ग र ४० करोड अनौपचारीक क्षेत्रमा काम गर्ने कामदारको समृद्धिको सपना बोकेको छ ।’
समृद्धि के हो ? भौतिक र आर्थिक विकास हो समृद्धि ? अथवा राजनीतिक स्थिरता र लोकतन्त्र वा गणतन्त्र हो समृद्धि अर्थात् राजनीतिक परिवर्तन हुनेबित्तिकै प्राप्त हुने चिज हो समृद्धि ? वा कुनै अमूक राजनीतिक दलले सत्ता सम्हाल्नेबित्तिकै फुत्त जादूको छडीझैँ आइहाल्ने हो समृद्धि ?
माथि भनिएका कुनै पनि एक वा दुई कारणले मात्र आउने होइन समृद्धि । र, समृद्धि हामीले भनेको भौतिक र आर्थिक विकास मात्र पनि होइन । समृद्धि विकासभन्दा धेरै माथि अनि विकासको उच्चतम अवस्थामा प्राप्त हुने आनन्द हो । यस्तो अवस्थामा प्राप्त हुने सुख हो र त्यस्तो वास्तविकता अनुभूत हुने अवस्था हो । यसर्थ समृद्धि भौतिक रूपमा सँगै नागरिकको भावनात्मक, चेतनाको तह र अनुहारमा देखिने उमङ्ग, खुसी र उत्साह हो ।
जबसम्म कुनै समाज वा मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर, खुसी र सुखको स्तर पनि उकासिँदैन, तबसम्म उक्त समाज र राज्य समृद्ध भएको मानिँदैन । यी कुरामध्ये कुनै मात्र पूरा हुनु भनेको विकासको गतिमा अगाडि बढ्नु मात्र हो भन्ने विकास विश्लेषकहरूको मत छ । समृद्धिका सूचकका बारेमा निकै धेरै छलफल र बहस भइरहेका छन् । यसका सूचकहरूमा जीडीपी अर्थात् कुल गार्हस्थ उत्पादनलाई एउटा प्रमुख आधार बनाइएको छ । जीडीपीलाई आज पनि मुलुकको आर्थिक वृद्धि र समृद्धिको महत्वपूर्ण सूचक मानिएको छ ।
समृद्धिका प्रमुख विशेषता र गुणहरूमा आर्थिक सूचकमा उच्चस्तरको अवस्था पनि हो । यसरी नै सामाजिक, स्वास्थ्य, शिक्षा, घरबास, शान्ति–सुरक्षा आदि पनि समृद्धिका लागि महत्वपूर्ण पक्ष मानिन्छन् ।
वातावरणीय सूचकहरू, जसले वातावरणको गुणस्तर र प्राकृतिक स्रोतको संरक्षणमा भूमिका खेलेका हुन्छन्, ती पनि समृद्धिसँगै जोडिएर आउने विषय हुन् ।
मुलुकका ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरूको अवस्था पनि समृद्धिका सूचकका रूपमा लिने गरिएको छ ।
राज्यका नीति, नियम र कानुनहरु विकास र समृद्धिमैत्री हुनु अर्को सूचक मानिन्छ । यसले विकास र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिन्छ ।
गरिबी र बेरोजगारीमा न्यूनीकरण वा रोजगारीको बढ्दो अवसर पनि समृद्धिको सूचकमा पर्छ ।
उपभोक्ताको क्रयशक्ति र व्यापार सन्तुलनलाई पनि समृद्धिको सूचकका रूपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय लगानीको वातावरण र आफ्नो मुलुकको अन्तर्राष्ट्रिय लगानी क्षमता पनि समृद्धिलाई मापन गर्ने आधार हो ।
विश्वव्यापीकरणको अवस्थामा विश्वमा प्रतिस्पर्धी बन्न सक्ने हैसियतलाई पनि समृद्धिको सूचक मानिएको छ ।
ऊर्जामा आत्मनिर्भरता, उत्पादनमा आत्मनिर्भरता, मानव विकास सूचकांक, बहुआयामिक गरिबी निवारणको अवस्था, लैङ्गिक समानता र समतामूलक समाजको स्थिति, मानव पुँजी, भ्रष्टाचारको अवस्था आदि समृद्धिमा असर गर्ने सूचकहरू हुन् ।
बेलायतको लण्डनमा रहेको ‘थिङ्क ट्याङ्क’ लेगटम इन्स्टिच्युटले निम्न सूचकका आधारमा समृद्धिलाई मापन गर्ने गरेको छ ।
आर्थिक गुणस्तर, व्यापारिक वातावरण, सुशासन, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी, सुरक्षा, शिक्षा, स्वास्थ्य र प्राकृतिक वातावरण ।
गत वर्ष अर्थात् सन् २०१९ मा विश्वमा सबैभन्दा समृद्ध मुलुक नर्वे रहेको सूचकहरूले देखाएका थिए । यसरी नै न्यूजिल्याण्ड, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, डेनमार्क, स्विडेन, बेलायत, क्यानडा, नेदरल्याण्डस् र आयरल्याण्ड क्रमशः दशौँ नम्बरसम्म परेका थिए । संयुक्त राज्य अमेरिका १७ औँ नम्बरमा परेको थियो ।
यस वर्ष भने नर्वेलाई दोस्रो बनाउँदै डेनमार्क सबैभन्दा समृद्ध मुलुक बनेको छ । यसपछि स्वीट्जरल्याण्ड, स्विडेन, फिनल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेका छन् । अमेरिका यस वर्ष एक खुड्किलो तल अर्थात् १८ औँ मा झरेको छ ।
विश्वका अत्यन्तै कम समृद्ध मुलुकहरूमा यस वर्ष दक्षिणी सुडान, यमन, अफ्रिकी गणतन्त्र, चाड, अफगानिस्तान, कङ्गो, सोमालिया, एरिट्रिया, बुरुन्डी, सुडान, सिरिया, हैटी आदि परेका छन् ।
सबैभन्दा बढी भने नागरिकको खुसी र सुख अनि सन्तुष्टि नै समृद्धिको खास मापक हुन आउँछ किनभने जब माथिका सबैजसो कुराहरू पूरा हुन्छन् तब स्वाभाविक रूपमा मानिसका आवश्यकता र असन्तुष्टिको सम्बोधन भएको हुन्छ । यसले गर्दा उक्त मुलुक र समाज पक्कै पनि सुखी र खुसी बन्छ ।
समृद्धिलाई ‘अत्यधिक सम्पन्नता’ भनिएको पाइन्छ । सम्पन्नतालाई हामीले आर्थिक हिसाबले मात्र हेर्ने गरेका छौँ । सम्पन्नता आर्थिक सूचकलाई हेरेर मात्र मापन गर्नु उपयुक्त हुँदैन । आर्थिक सम्पन्नता एउटा साधन मात्र हो समृद्धिका लागि, साध्य होइन । साध्य त फेरि पनि जनतामा सुख, खुसी, शान्ति, सन्तुष्टि र अमनचयन नै हो । र, यसका निम्ति सक्दो प्रयास नै समृद्धितर्फको यात्राको सुरुवात हो ।
साँच्चै भन्ने हो भने हामी अर्थात् तेस्रो मुलुकका देशहरू अहिले भर्खर विकासको बाटोमा मात्र घिसिपिटी गरिरहेका छौँ, समृद्धिको यात्रा सुरु गर्न हामीलाई अझै धेरै वर्ष लाग्छ ।
विकास, उन्नति या समृद्धि त्यसै हुँदैन । त्यसका पनि विश्वमा विभिन्न प्रकारका मोडेल, मान्यता, र सूत्र हुन्छन् । समृद्धि निरपेक्ष हुनै सक्दैन । एकदुइटा सुरुङमार्ग, फास्टट्र्याक, रेल, उद्योग कलकारखाना व्यापार, उत्पादन, विद्युत्गृह, अग्ला भवन निर्माण गर्दै या अहिले राजनीतिक दलहरूले आश्वासन दिने स्मार्ट सिटीको सपनाले मात्रै पुग्दैन । जनताको दैनिक जीवनस्तर, जनजीविका रहनसहन, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, बास, सुरक्षा, न्याय, समानता, सम्मानजस्ता सवालमा बद्लाव आउनैपर्छ । जनताले आजको जस्तो सोच राखेर दरिद्रतामा जीवन गुजारा गर्दै कष्टमा सपना देख्दैमा जादुसरी समृद्धि प्राप्त हुँदैन । त्यसो भए के चाहिन्छ त समृद्धिको निम्ति ? भन्ने कुरा बुझ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->