बिहेको दुई दिनअघि केटाको तर्फबाट बिहे रोकिएको खबर आयो ।घर परिवारका लागि यो भन्दा पीडादायी क्षण के होला र ?रातारात उनको विहे अन्यत्रै भयो ।
पोखरा आएपछि उनले पढेकी पहिलो पुस्तक हो– कर्णाली ब्लुज । यसले उनलाई धेरै ठाउँमा धरधरी रुवाएन मात्र अनायसै धेरैपटक आफ्नो बाल्यकालमा फर्काइदियो । उनको जन्म घर नै सुदूर पश्चिम । त्यही माटोमा जन्मिन्–हुर्किन अनि त्यहीँ बिताइन् ६ दशकभन्दा बढी समय । पुस्तकमा प्रयोग गरिएकासुदूर पश्चिमेली लवज, भाषा र बोलीचालीले उनलाई आफ्नो ठाउँको माटो र त्यहाँको आत्मीयतालाई फेरि सम्झाइदियो ।ठाउँठाउँमा उनी भक्कानिइन् ।मुस्कुराइन् पनि । विगतका ती दिनहरु सम्झेर!एउटा पुस्तकले यति धेरै भावहरु समेट्लान्भनेर उनले सोचेकी समेत थिइनन् । त्यसपछि उनलाई पुस्तक पढ्ने लत लाग्यो । अनि सुरु भयो पुस्तक मोह ।
गोमती देवी अवस्थी । उमेरले ६३ लागिन् । उमेर ढल्किएसँगै आँखाले अलिक मेसो पाउँदिनन् क्यारे। त्यसैलेचस्मा लगाएर दिनरात पुस्तकमा घोत्लिरहन्छिन् । रात कटेको थाहा पत्तो हुँदैन। नत दिन बितेको नै । उमेर छँदा र आँखाले राम्रोसँग मेसो पाउँदा त कहाँ पढ्न पाइन् र उनले ?पढ्ने र सिक्ने रहरनभएको कहाँ हो र ?तर, मात्र १ वर्ष विद्यालय टेक्न पाइन् । एक कक्षा पढेपछि कहिल्यै विद्यालयको मुखसम्म देख्न पाइनन् । त्यही रहर आज उनी बूढेसकालमा पुस्तकहरु पढेर पूरा गर्दैछिन् ।
डडेल्धुराको विकट गाउँ अजयमेरु (रोल्ली) । ८ जना सदस्यहरु रहेको ठूलो परिवारमा जन्मिएकी । ठुल्दिदी भने काका कै घरमा बसेर पढ्न पाइन् । त्यसपछिका उनका तीन दिदी बहिनीहरुले भने त्यति पढ्न पाएनन् । दुई दाजुभाइलाई भने परिवारले मज्जाले पढाए । भाइसँगै झोला बोकेर विद्यालय जाने रहर उनमा नभएको कहाँ थियो र ? तर,डोको बोकेर घास काट्न जानुपथ्र्यो । बा आमालाई मेलापातमा सघाउने र भाइबहिनी हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा सानैबाट थपियो । पढ्नमा सारै रुचि राख्ने उनी,मात्र एक वर्ष विद्यालय पढ्दा पनि उनले धेरै सिकिसकेकी थिइन् । पढ्ने रहर कहाँ त्यसै मेटिन्थ्यो र ? घरमा भाइलाई बाले पढाउँदा पनि उनी ध्यान दिएर सुन्थिन् अनि त्यहीँबाट धेरै कुराहरु सिक्थिन् ।
१५ वर्षको सानै उमेरमा उनको बिहे भयो। बिहेको पनि छुट्टै रोचक घटना घटेको रहेछ । विगतमा फर्कदै उनी सुनाउँछिन्, ‘२०३० साल असार १० गते घरकाले मेरो बिहे फिक्स गरिदिएका थिए । केटा चाहिँ दाईको कक्षाको साथी । तर, मैले भने दुलहालाई एकपल्ट पनि देखेकी थिइन् । उतिबेला डडेलधुरामा उति ठूला बजारहरु थिएनन् । बाले धनगढी पुगेर बिहेका सबै सरजाम किनेर ल्याएका थिए । बिहेको सबै तयारी पूरा भइसकेको थियो तर बिहेको दुई दिनअघि केटाको तर्फबाट बिहे रोकिएको खबर आयो ।’
घर परिवारका लागि यो भन्दा पीडादायी क्षण केहोला र ?एक पटक आँटिसकेको छोरीको बिहे जसै उम्क्याउने घरपरिवारको मनसाय थियो । इज्जतको सवाल पनि त थियो गाउँघरमा । पहिला नै अन्यन्त्र पनि बिहेका कुराहरु उठेका थिए । त्यसैले हतारहतार अन्त पनि फेरि बिहेको पहल भयो । बिहेको कुरा पनि छिनोफानो भयो । रातारात सबै सरजाम मिलाइयो । अनि दश गते नै बिहे सम्पन्न भयो ।
पढ्ने रहर बिहेपछि पनि बाँकी नै थियो । झन् बिहेपछि पढ्ने कुरा त परको कुरा । देवर उनीभन्दा ८ वर्षले कान्छा थिए । देवरसँगै घरमा उनले पनि धेरै कुराहरु पढे । तर, मज्जाले धीतमरुन्जेल पढ्ने उनको रहर भने कायमै रह्यो ।
पहाडबाट तराईको बसाइँः
तराईमा उनका मामा ससुरा बस्थे । श्रीमानलाई टिसिएन अर्थात टिम्बर कर्पोरेशन अफ नेपालमा जागिर मामा ससुराले नै मिलाइदिए । असारमा बिहे, असोजमा कञ्चनपुर पुनर्वास झरे श्रीमान ।३२ सालमा उनी पनि तराई झरिन् । छ वर्ष कर्पोरेशनकै क्वाटरमै बसे दुवै । यहाँको बसाइँले उनको जीवनमा धेरै सिकायो । पूर्वतिरका धेरै परिवारहरु क्वाटरमै बस्थे । हामी छोटो समयमै उनीहरुसँग घुलमिलिएका थियौं, उनले थपिन्, ‘पूर्वका मान्छेहरु पश्चिमका भन्दा धेरै अगाडि थिए । रुढीवादी र पिछडिएको समाजमा हुर्किएकी मलाई यो समय धेरै सिक्ने र बुझ्ने अवसर मिल्यो । अन्धविश्वास, छुवाछुत, विभेद र रुढीवादी सोचबाट धेरै पर थिए उनीहरु । हामीभन्दा धेरै अगाडि । मैले पढेरभन्दा परेर त्यहाँ धेरै सिकेँ ।’
४० सालमा सरकारले दिएको ऐलानी जग्गा उनीहरुले पनि पाए । त्यहीँ घर बसाए । दुई वर्षपछि श्रीमानको हेटौडामा सरुवा हुने सुचना आयो । दोधारमा परे दुबै । पुनर्वास छाड्ने कि हेटौंडा रोज्ने । त्यसबेला श्रीमानको मासिक तलब जम्मा ९ सय । यतिले तीन सन्तान पढाउन, हुर्काउन र खुवाउन पुग्ने कुरै थिएन । त्यसैले जागिरको मोह त्यागिदिए श्रीमानले । अनि सुरु भयो संघर्षको यात्रा ।
संघर्षको अध्यायः
श्रीमानले जागिर छाडेपछि दुई चारपैसा कमाउने स्रोत नै बन्द भयो । श्रीमानले जागिरमा छँदै औषधि विभागका कामहरु पनि हेर्ने गर्थे । विस्तारै यसैमा पोख्त हुँदै गए उनी । ४३ सालमा प्रशिक्षण लिएर औषधि विभागबाटै लाइसेन्स पनि पाए । अनि आफ्नै सानो फार्मेसी सुरु गरे । उनी फुर्सदमा श्रीमानलाई काममा सघाउँथिन् ।श्रीमतीले पनि औषधिका नामहरु सिकून, सामान्य उपचार गर्न सिकून, श्रीमानलाई लाग्दो हो । तर, प्रायः घरकै कामकाजमा व्यस्त हुन्थिन् उनी ।
तीनतीन जना सन्तानहरुलाई हुर्काउन र पढाउनको संघर्ष उनी यसरी सुनाउँछिन्, ‘हामीले चाहेर पनि उतिबेला पढ्न पाएनौँ । पढ्न त कति हो कति रहरउबेला । त्यसैले छोराछोरी सबैलाई बराबर पढाउने हाम्रो सपना थियो । उनीहरुले रहर गरुन्जेल पढाउने । मेरो पढ्ने रहर छोराछोरीलाई धेरै पढाएर पूरा गर्नु थियो । त्यसैले हामीले आफ्ना रहर र चाहनाहरुलाई दबाएर भएपनि उनीहरुलाई कहिल्यै केही कमी हुन दिएनौं । पूर्ण रुपमा फक्रिन दियौं सबैलाई ।’
आमाको कोमल मनः
समयसँगै छोराछोरी पखेटा पलाएर उड्न थाले । आ–आफ्नो बाटो लागे । छोरी बिहे गरेर बझाङ पुगिन् । ठूला छोरा फार्मेसी पढ्न राजधानी लागे । सानो छोरो पढ्न दिदीसँगै बझाङ लागे । उतै प्रहरीमा भर्ती हुने रहन पनि थियो उनमा । यता श्रीमान घरबाट आधा घण्टा पर औषधि पसल थापेका थिए ।
द्वन्द्वकालको चरम समय । तिनताका पुनर्वास झन् माओवादी र सेनाको हट स्पट नै थियो । सबै सदस्यहरु घरमै भइदिएको भए बरु मन ढुक्क हुँदो हो । मन जताततै डुल्यो, उनी विगतमा फर्किन्छिन्, ‘आमाको मन न हो । राम्रो त केही नि नसोच्ने । उल्टो–उल्टो मात्र कल्पिने । बझाङमा छोरी ज्वाइँलाई माओवादीले केही पो गर्यो कि ? कान्छो छोरो पुलिसमा भर्ती हुन पो गयो कि ? राजधानीमा ठूला छोरा जुलुसमा गएर घाइते पो भयो कि ? यता श्रीमानलाई केही दुःख पो दिए कि ? मैले चैनले सास फेर्न पाइन । मन चारैतिर डुल्यो । धेरै अनिदो रातहरु काटेँ । म भित्रैभित्र गलिसकेकी थिएँ । मानसिक रुपमा कमजोर भइसकेकी थिएँ । अनि म नमज्जाले विरामी परें ।’
त्यहाँ रहेका अस्पतालहरुमा चेकजाँच गराइन् उनले । अहँ, केही पत्ता लागेन । अनि उपचारकै लागि काठमाडौंसम्म पुगिन् । डाक्टरसँगको लामो परामर्शबाट निश्कर्ष निस्कियो, उनको मानसिक अवस्था कमजोर भइसकेछ । अनि सुरु गरिन् नियमित औषधि सेवन । जति नै कमजोर भएपनि उनले पढ्न र सिक्न भने कहिल्यै छोडिनन् । काठमाडौं तीर्थयात्रामा जाँदा होस् या भारतसम्म पुग्दा, उनी विभिन्न धार्मिक ग्रन्थहरु किनेर ल्याउँथिन् । अनि पढ्थिन् । मन भुलाउथिन् ।
श्रीमानको ६९ साल चैत्र १७ मा हृदयघातबाट मृत्यु भएपछि झन् विक्षिप्त भइन् । झन् गलिन् शारीरिक र मानसिक रुपमा । पुस्तकहरु मन भुलाउने माध्यम बन्न थाले । पीडा बिसाउने चक्की बन्यो । छोराले पोखराबाट विभिन्न नेपाली साहित्यिक किताबहरु घरमा पठाइदिन्थे । उनी दोहो¥याइ तेह¥याइ पढ्थिन् । किताब नै उनको साथी बन्यो सुख दुःखका ।
जेठा छोरा बुहारी पोखरामै बस्छन् । साउनबाट उनी यतै पोखरामा छिन् । आमाको किताब मोह देखेर नै छोराले थुप्रै किताबहरु ल्याइदिएका छन् । पुस्तक पढ्नु समयको उपयोग मात्र लाग्दैन उनलाई, साथमा धेरै नयाँ नयाँ विषयका ज्ञानहरु पनि हासिल गर्न सकिन्छ । देश बुझ्न सकिन्छ, विश्व चियाउन सकिन्छ ।
किताब पढ्दाको अनुभवः
कर्णाली ब्लुजपछि उनको फेबरेट किताब हो ‘सेतो धर्ती’ । उपन्यासले यति तान्यो कि उनले बिहान दुई बजेसम्म पढेर सिध्याएकी थिइन् । पन्ध्र वर्षमै बिहे भएर लोग्नेका घरमा आएकी थिइन् उनी । त्यसैले सेतो धर्ती गाउँठाउँकै विषयवस्तुलाई लेखकले टपक्क टिपेर उपन्यासमा उनिधिएको झैं लाग्छ उनलाई । ठाउँठाउँमा उनलाई नमज्जाले रुवायो । उनी बाल्यकालका साथीसंगी सम्झेर सुक्सुकाइन् । श्रीमती बितेपछि श्रीमानले बाजा बजाएर अर्को बिहे गर्न मिल्छ भने विधवा श्रीमतीले किन नमिल्ने, उनलाई लाग्छ । यति राम्रो उपन्यास लेखिदिने लेखकलाई एकपल्ट भेट्न पाए, मनको सानो रहर सुनाउँछिन् उनी ।
झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’ । नपढेका त कमै होलान् । हो, उनलाई पनि जीवन्त लाग्यो यो किताब । हामी सवालाङ्ग भएर केही गर्न सकेका छैनौं भने अपाङ्ग भनेर किन छिःछि र दुर्दुर गर्ने, उनलाई लाग्छ । झमक जस्तै कैयौं उज्याला नक्षत्रहरु घरघरमा अझै बन्दक बनाएर राखिएका छन् ।
पुस्तक पढ्दै गर्दाउनी सम्झिन पुगिन् आफ्नै नातिनीलाई, ‘जन्मिएकी डेढ वर्ष हुँदा पनि मेरी नातिनी (छोरीकी छोरी) बोल्न सकिनन् । पछि डाक्टरले उनले कहिल्यै सुन्न र बोल्न नसक्ने बताए । तर, राम्रोसँग शिक्षादिक्षा दिएमा राम्रो बौद्धिक क्षमतावन बन्न सक्ने समेत डाक्टरले बताएका थिए । सुरुमा यो सुन्दा त हामी छाँगाबाट खसेझै भएका थियौं । तर, सम्हालिएर छोरी र ज्वाइँले एउटा बोल्ड निर्णय लिए, अब कुनै सन्तान नपाउने । अर्को सन्तान पाउनु भनेको छोरीमाथि अन्याय गर्नु पो हो कि ? दुवैलाई लाग्यो । बझाङजस्तो ठाउँमा जन्मे हुर्केर पनि नातिनीलाई कुनै अवसरबाट वञ्चित गरिएन । काठमाडौंमा सानैबाट विशेष शिक्षाको व्यवस्था गरियो । पोहोर साल एस.इ.ई राम्रै अंक ल्याएर उतीर्ण मात्र गरिनन् उनले, विभिन्न प्रतिस्पर्धाहरुमा पनि उस्तै अब्बल नतिजा ल्याइन । आज आम सवालङ्गभन्दा कमजोर छैनन् उनी । त्यसैलाई उनलाई लाग्छ, कमजोर अपाङ्गहरु हैनन्, कमजोर छ त हाम्रो मानसिकता । हाम्रो सामाजिक संरचना ।’
उनले दर्जनौं किताबहरु पढिन्। श्रीमदभागवत् गीता, अन्तर्दृष्टि, आदि उस्तै प्रिय लागे उनलाई । कति पात्रहरु अझै मनमा जीवन्त पात्र बनी गडिरहेका छन् । मनमनै कुराहरु खेल्ने उनको समय पुस्तकमा खर्चिएको छ । हाम्रो सोच, कल्पना र ज्ञानको दायरालाई शब्दहरुले कहाँ कहाँ पु¥याउँदो रहेछ, उनलाई लाग्छ ।
बाल्यकालमा पढ्ने र सिक्ने रहर कति छोराछोरीलाई पढाएर पूरा गरिन् त कति बुढेसकालमा किताबहरु अध्ययन गरेर । आजकल त किताबहरु उनका बुढेसकालको सहयात्री नै बनिसकेका छन् । लामो समय औषधि सेवनले सामान्य सुधार भएपनि६३ वर्षको उमेरमा पुस्तक मोहले पुरानै खुसी ल्याएको आभास भएको छ उनमा । आत्मबल बढेको छ, मुहारमा चमक थपिएको छ । न्यास्रोपन कमी भएको छ । नयाँ नयाँ किताबहरु पढ्न पाए, रहरहरु थपिनै रहेका छन् । नयाँ कुरा सिक्ने र पढ्ने रहर कहाँ उमेरले छेक्न सक्छ र, उनी जीवन्त उदाहरण बनेकी छिन् ।
पठनपाठनको प्यास मेटाउँदै धेरै सिक्दै जाऊन, अनगिन्ती शुभकामना आमालाई !





