एजेन्सी/ अमेरिकाले उत्पादन हुने खानेकुराको एकतिहाइ फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षणसम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यान्न फोहर अाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो ।
खाद्यान्न हिनामिना गर्दा लाखौं डलर नोक्सान हुने र यसले जलवायु परिवर्तनमा समेत असर गर्छ । ठूलो परिणाममा खाद्यान्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अाएका छन् ।
‘सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अावश्यक छ’, प्रतिवेदनमा भनिएको छ, ‘जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवृत्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन ।’
अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यान्न खेर जाने गरेको भन्दै यो खाद्यान्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ ।
सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यान्नलाई सन् २०३० सम्म अाधाले घटाउने घोषणाा गरेका थिए । तर पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यान्नको ३१ प्रतिशत खाद्यान्न खेरा जाने गरेको थियो ।





