बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तंग्रिन नपाउँदै डर !

तंग्रिन नपाउँदै डर !


  • विनोद ढुंगाना
  • मंसिर २२ २०७८, बुधबार

होमस्टेमा विस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइदियो । कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेर पाहुनाविहीन भएपछि होमस्टे सञ्चालकहरु खेती किसानीमा फर्किएका छन् ।

तनहुँ/दोस्रो लहरको कोरोना सुरु भएपछि भानु नगरपालिका१३, मिर्लुङकोटमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो लहरको प्रभाव कम हुँदै जनजीवन सामान्य लयमा फर्किएपछि पछिल्लो साता बल्ल होमस्टेमा पाहुना राख्न थालिएको छ । १४ मंसिरदेखि होमस्टे पाहुनाका लागि खुला गरिएको हो ।

होमस्टे खुला गरेपछि पाहुना आउने क्रम सुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । ‘पाहुना आउो क्रम सुरु भएको छ । दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो छ,’ उनको आशंका छ,‘तर, अर्को भेरियन्टको कोरोना फैलन थालिसक्यो भन्छन् । त्यसले फेरी थला पार्ने हो कि !’

आर्थिक अवस्था उकास्नग्रामीण पर्यटनलाई माध्यम बनाएका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले सुनाए । पर्यटक बढेर लय समात्न नपाउदैँ फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता थपिएको उनले बताए ।
गुरुङ समुदायको बाहुल बस्ती टुटेपानीमा २०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । २०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै थियो । घरभरि पाहुना भरिभराउ हुँदा गाउँले उत्साहित भएका थिए ।

गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरु गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दैै पाहुनाको स्वागत सत्कारमा तल्लिन भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहीन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन बढी मार पारेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए । बामे सर्दै गरेको होमस्टेको पुर्वाधार विकासले पाहुनाविहीन हुँदा गति लिन नसकेको उनको भनाइछ ।

टुनेपानीको भन्दा फरक छैन, व्यास नगरपालिका–१३ मा सञ्चालन गरिएको आपस्वाँरा दलित सामुदायिक होमस्टेको व्यथा पनि । होमस्टेमा विस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइदियो । कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेर पाहुनाविहीन भएपछि होमस्टे सञ्चालकहरु खेती किसानीमा रमाएका छन् ।
विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकैआश लाग्दो थियो । २०७६ को चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन सकेको छैन।

अहिले कोरोनाको डर घटेपछि होमस्टे खुला गरिएको त छ । तर, छिटफुट आन्तरिक पाहुना बाहेक होमस्टेमा विदेशी पाहुना नआएको होमस्टे सञ्चालक रेशम विकले बताए । ‘हामीकहाँ आउने धेरैजसो पाहुना विदेशी हुन्थे । कोरोना सुरु भएपछि नेपाल घुम्न आउने विदेशी धेरै घटेका छन्,’ भन्छन्,‘त्यसैको प्रभाव हामीले चलाएको होमस्टेमा देखिन्छ । कहिलेकसो आन्तरिक पाहुना आउँछन्, उत्साहजनक आगमन छैन ।’होमस्टेमा पाहुना नभएर फुर्सदिला भएका सञ्चालकहरु महामारीको दुई वर्ष पूर्वाधार सुधार र ‘अर्गानिक’ उत्पादनमा लागेको विकले उल्लेख गरे ।

बन्दीपुर बजार आसपासमा सञ्चालित होमस्टे दसैँ पछाडि पाहुनाले भरिएका छन् । दसैँको घटस्थापनापछि सुनसान बन्दीपुर बजारमा पर्यटकको घुइँचो सुरु भएको थियो । बन्दीपुरमा पर्यटक बढेसँगै बजारसँगै रहेको बन्दीपुर सामुदायिक
होमस्टेमा दैनिक ५० देखि १५० जनासम्म पाहुना राख्ने गरेको होमस्टे सञ्चालक सीता विकले बताइन् ।
‘पाहुना बढेर कोरोना अगाडिकै अवस्थामा फर्किएला झै आशा पलाएको छ । दसैंदेखि पाहुनाको स्वागत सत्कारमा सञ्चालक दिदीबहिनीहरुको व्यस्तता बढाएको छ’, विकले भनिन्, ‘फेरि अर्को भेरियन्ट फैलन थालेको छ । होमस्टे सुनसान हुने चिन्ताले सताएकोे छ ।’

यो होमस्टे महिलाले मात्रै चलाएका हुन् । पहिलो र दोस्रो लहरको कोरोनाले होमस्टे बन्द भएपछि सञ्चालक महिलाको आयआर्जनको स्रोत बन्द भएको विकले बताइन् । ‘घर व्यवहार चलाउन मुस्किल भयो । पाहुना विहिन हुदाँ धेरै फुर्सदिला भयौं,’ उनले सुनाइन् ।

तनहुँमा कोरोना संक्रमण फैलनु अगाडीसम्म गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको थियो । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रबद्र्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । कति होमस्टेमा पाहुनाको संख्या शून्य छ । चल्तीका होमस्टे टुटेपानी, आपस्वाँरा, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् ।

चार वर्षअगाडि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भिœयाउन सफल भिमाद नगरपालिका९, भानुमतिको पाथर्दी सामुदायिक होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन सकेको छैन । व्यावसायिक बोयर बाख्रा पालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् । ‘कोरोना महामारीको समय पूर्वाधार विकास र सुधारमा सदुपयोग गरेका छौं,’ उनले भने । पूर्वाधारमा सुधार भएकाले नयाँ भेरियन्टको प्रभाव हेरेर होमस्टे प्रर्वद्धनको कार्यक्रम थाल्ने योजना रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->