आजभोलिका विज्ञापनमा महिलाको बढी नै अंग प्रदर्शन गरिएको देख्न पाइन्छ ।नग्नताको प्रदर्शन नगरी कुनै वस्तुको बिक्री नै हुँदैन भने जसरी सामाजिक संजाल र आमसंचारमा भिडियो र फोटो देखाइन्छ । टेलिभिजन इन्टरनेटमा आधारित टिभी र युट्युब च्यानलहरुमा विज्ञापनको माध्यमबाट देहको भर्चुअल व्यापार गरिन्छ । विज्ञापनसँग सम्वन्धित पुरानो उखान छ– बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । हुन त सबै खानेकुराहरुको आ–आफ्नै ठाउँमा महत्व छ । त्यतिबेलाको अवधारण अनुसार नराम्रो र कमसल चिजको प्रचार ग¥यो भने पनि बिक्री हुन्छ । तर, असल चिजको प्रचार भएन भने व्यापार बढ्न नसक्ने भनेर विज्ञापनको महत्वलाई दर्साएको छ । विज्ञापनले उपभोक्ता र उद्योगीबीचमा पुलको कम गर्छ । उपभोक्तालाई बस्तुको बारेमा बिस्तृत जानकारी दिएर उत्पादक कम्पनीको व्यापार बढाउनमा समन्वयकारी भूमिका खेल्ने काम गर्छ । त्यसकारण विज्ञापन जरुरी छ तर कस्ता विज्ञापन भन्ने प्रश्न छ ।
बहुराष्ट्रिय कम्पनीहरुले विज्ञापनका लागि करोडौं अर्बौ रुपैयाँ/डलर खर्च गरिहेका छन् ।
उनीहरुले विज्ञापनकै लागि आफ्नै संचारमाध्यम बनाउने र ब्राण्ड एम्बास्डर समेत राख्ने गरेको पाइन्छ । त्यस्ता ब्राण्डका बस्तुहरु राम्रा र स्तरीय छन् भनेर उपभोक्तालाई खरिद गर्नका लागि लालायीत बनाउने काम पनि बिज्ञापनले गरेको हुन्छ । बिभिन्न ब्राण्डका उत्पादनहरुको विज्ञापन गर्दा आजभोलि महिलाको अर्धनग्न शरीर देखाएर आर्कशित गर्न खोजिएको देखिन्छ । वस्तुहरुको विज्ञापनमा महिलाको नग्नता प्रदर्शन गरेर ग्राहकको ध्यान खिच्न खोजिन्छ । उत्पादित वस्तुको प्याकेटमा देखिने महिलाका अर्धनग्न तस्वीर या टेलिभिजन युट्युवमा आउने भर्चुअल दृष्यका कारण पक्कै पनि ग्राहकले घरीघरी खोजिखोजी हेर्लान तर उक्त उत्पादन किन्न आवश्यक छ कि छैन विचार गर्नेछ । धेरै पटक हेर्दा उक्त उत्पादन र कम्पनीको नाम पनि जानकारी होला तर खरिद गर्नुपर्ने नहुन पनि सक्छ । महिलासँग सरोकार राख्ने उत्पादनहरु सबै नै हुन्छन् । महिलासँग सम्वन्धित या असवन्धित उत्पादनको विज्ञापनमा पनि महिलाको अर्धनग्न शरीर देखाउँदा विक्री बढ्छ भन्ने मान्यता राख्नु गलत सोच हो । यसले त महिलाको शरीरको गलत प्रयोग गरेको देखिन्छ ।
विभिन्न आमसंचारका माध्यमहरुमा आउने विज्ञापन जुन पुरुषको भित्री पोशाक हुन्छ त्यसमा पनि महिला र पुरुषका अर्धनग्न शरीर देखाएर अस्लिलता प्रदर्शन गरिएको हुन्छ । सेभिङ क्रीम, अत्तर्, टुथपेष्ट, चुइगमलगायतका वस्तुहरुको विज्ञापनमा पनि पुरुषसँग अर्धनग्न अवस्थाकी महिला झुम्मिएको वा धेरै युवतीहरु आकर्शित भएको देखाएर समाजलाई गलत सन्देश दिन खोजिएको देखिन्छ । विज्ञापन भनेको बस्तुको बारेमा सही जानकारी दिनु हो । तर वस्तुसँग असम्बन्धित अस्लिलता प्रदर्शन गरिएको पाइन्छ । एउटा पिरो चाउचाउको विज्ञापनको दृष्य त्यस्तै देख्न पाइन्छ । विज्ञापनको दृष्यमा देखाइएको हाउभाउ हेर्दा कण्डमको विज्ञापन हो कि जस्तो लाग्छ । जबकि चाउचाउको प्रयोगकर्ता सबै हुन्छन् । विशेष गरी बालबालिकाहरुले खाने गर्दछन् । त्यो बाल मस्तिष्क यसले के बुझाउँछ भन्ने महत्व राख्छ । नेपाल सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको विज्ञापन ऐन २०७२ मा क्लिन फिडको व्यवस्था गरेको छ । अर्थात् नेपालका केबुलबाट प्रशारण हुने विभिन्न विदेशी च्यानलहरुमा उनीहरुको बिज्ञापन प्रशारण गर्न नपाउने अर्थात विज्ञापनरहित समग्री प्रशारण गर्नुपर्ने छ । सो कुरा विज्ञापनलाई नियमन गर्ने ऐनको दफा ६ मा उल्लेख छ । तर,इन्टरनेटको माध्यमबाट युट्युबमा आउने अस्लिल सामग्रीलाई कसैले पनि रोक्न सक्ने अवस्था देखिँदैन । अहिलेसम्म कुनै एक–दुुईवटा च्यानलमात्रै बन्द गराउने प्रविधिको बिकास हालसम्म नभएको बुझिएको छ । त्यसो भए पछि बहुराष्ट्रिय कम्पनीका अस्लिल विज्ञापन र भिडियोहरु प्रशारणमा कानुनले जतिसुकै प्रतिबन्ध लगाए पनि प्रविधिले बन्द नगराउने अवस्था देखिएको छ ।
विशेषगरी हाम्रोजस्तो समाजमा यो खालको समस्या जटिल बनेको छ । र महिलाको शरीरलाई कति हदसम्म व्यापारमा लगाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ । अस्लिल सामग्री वा विज्ञापन हेर्ने पूर्वीय संस्कृति बोकेका देशहरु, जहाँ यस्ता समग्रीलाई आपत्तजनक मानिन्छ । समाजमा नकारात्मक असर पर्छ । बालमनोविज्ञान र भावीपुस्तालाई असर परेको छ । विज्ञापनमा अस्लिलताको प्रदर्शन त बढी भएकै हो तर अस्लीलतासँगै संस्कृति माथि पनि प्रहार गरेको पाइन्छ । मन्त्रा भन्ने अनलाइन सपको विज्ञापन, जसमा एकातिर दुर्योधनको पुत्लाले द्रौपदीको सारी तान्दै गरेको देख्न पाइन्छ भने अर्कोतर्फ त्यहीँ बसेर श्रीकृष्णको पुत्ला (डमी) ले मन्त्रा अनलाइनमा सारी अर्डर गरेको देख्न पाइन्छ । जुन विज्ञापनका कारण उत्पादित वस्तुको ब्यापार बढ्नेभन्दा पनि अति हिन्दुवादीहरुले सपिङ सेन्टरलाई नै चुनौति दिने खालका हर्कत नगर्लान भन्न सक्ने अवस्था रहँदैन । विज्ञापनको कन्सेप्ट फरक र आकर्षक बनाउने बहानामा महिलाको अर्ध नग्न शरीरको बढी प्रयोग गर्ने र अस्लिलता प्रर्दशन गर्ने हाउभाउ बढी भएको देखिन्छ । विज्ञापनमा युवतीका अर्धनग्न तस्वीर, भिडियो देखेर पुरुष उपभोक्ताहरु लोभिने गरेको देखिन्छ । त्यति मात्रै होइन, पुरुषको शरीरप्रति महिला पात्र लोभिएको दृष्य पनि देख्न पाइन्छ । एउटा बहुराष्ट्रिय कम्पनीको पर्फ्युमको विज्ञापनमा छोरीको ब्याइफ्रेण्ड्ले लगाएको पफर््युम सुघेर मलाई ‘अन्टी नभन्नु मेरै नामले बोलाऊ’ भन्नेजस्ता सम्बन्ध नै असहज हुने जस्ता सम्वाद र दृष्यले सभ्यता र संस्कृति नाश गर्ने अनि भ्रष्ट बनाउने देखिन्छ ।
यस्तैगरी कतिपय सौन्दर्य प्रसाधनका सामाग्री, पहिरन वा गहनाका विज्ञापनले मध्यम वर्गीय परिवारकाव्यक्तिहरुमा खरिद गर्न नसक्ने भए पनि, पहिरनमा आधुनिकता झल्काउने होड चल्ने र पैसा नभए पनि किनुँ–किनुँ लाग्ने बनाउँछ । यी कुरा घर झगडा समेत निम्त्याउन सक्छ । अझ भन्नुपर्दा विज्ञापनले उपभोक्ताको विचारमाथि पनि कब्जा जमाउने काम गर्छ । विज्ञापनको कारण, कसैको खल्तीको पैसा रिमोट कन्ट्रोलको सहाराले आफ्नो एकाउन्टमा जम्मा गर्न सफल हुन्छन्,वस्तु उत्पादक कम्पनीहरु । जस्तो डिजाइनm जस्तो गुणस्तर भए पनि किनाउनु मात्रै उद्देश्य हुन्छ । विज्ञापनले अस्लिलतासँगै मानव सभ्यता, संस्कृति र भाषा समेतलाई नष्ट गरिदिएको अवस्था छ । भाषा संस्कृति र सभ्यता मौलिकता बिगार्ने विज्ञापनले केवल बस्तु उत्पादक कम्पनीको अर्थतन्त्रलाई मात्रै सपारेको छ । विज्ञापनमा अस्लिलताको प्रदर्शन र महिला शरीरको दुरुपयोग भयो भनेर सर्वोच्च अदालतले बियर र रक्सी उत्पादनको विज्ञापनमा महिलाको प्रयोगमा रोक लगाउने आदेशसमेत गरेको छ तर बिज्ञापनको कन्सेप्ट बनाउनेहरुको दिमागमा अस्लिलताबाहेक अरु केही पनि सृजना नहुने देखिएको छ । यसरी विज्ञापनमा महिलाको अर्धनग्न शरीरको प्रयोगले बस्तु उत्पादक कम्पनीको व्यापार बढाएको भन्ने भानमात्रै हो । विज्ञापनमा नयाँनयाँ सृजना हुन जरुरी छ ।





