बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेषलाल श्रेष्ठले पूर्वाधार विकाससँगै सामाजिक विकास आवस्यक भएको बताएका छन् । उनले घर, सडक र अन्य पूर्वाधारभन्दा सामाजिक सद्भाव र समुदायनै विकासमा सक्रिय बन्ने काम बढी महत्वपूर्ण हुने बताएका छन् ।
सोमबार बागलुङ नगरपालिका–३ स्थित गुठीको बसपार्क नजिकै निर्माण गर्न लागिएको समुदायिक प्रहरी सेवा केन्द्रको भवन शिलान्यास गर्दै मन्त्री श्रेष्ठले समुदायको सहयोगबाट प्रहरीले सुरक्षा दिन सक्ने समेत बताए । उनले समुदायको सहयोग बिना प्रहरीको सेवा समेत ठप्प हुने भन्दै अब हरेक नागरिकले पनि प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
‘सामाजिक सदभाव कायम गर्नपनि प्रहरीको एकोहोरो अभियान भन्दा समुदायको साथ आवस्यक छ’ उनले भने, ‘सामुदायिक प्रहरीको विकासमा सरकारले लगानी बढाउनु पर्छ ।’ गण्डकी प्रदेश सरकार र स्थानीय लगानीमा गुठीमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माण थालिएको हो ।
३५ लाख रुपैयाँ लागतमा बन्ने दुइतले भवनको सोमबार उनले शिलान्यास गरेका थिए । भवन निर्माणका लागि चालु बर्ष गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उक्त बजेटमा समुदायबाट पनि लगानी हुनेछ । यसअघि केन्द्रको कार्यालय अस्थायी छाप्रोमा संचालित थियो । समुदायमा हुने बिभिन्न अपराध नियन्त्रणमा केन्द्रले काम गर्दै आएको छ ।
भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका सभापति जीतबहादुर शेरचन, नेकपा एसका संयोजक लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्मबहादुर कुँवर, सहायक प्रजिअ गणेश पौडेल, प्रहरी उपरिक्षक कृष्णबहाुदर पल्लीमगर, सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यष सहदेव राजभण्डारी लगायतले बोलेका थिए । सामुदायिक सेवा केन्द्र गुठीकी अध्यक्ष लीला खड्काको अध्यक्षता, पत्रकार राम थापा अविरलको संचालन र केन्द्रकी प्रतिनिधि सुमन बास्कोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





