मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आत्तिए वा मात्तिए बैंक असफल हुनसक्छ

आत्तिए वा मात्तिए बैंक असफल हुनसक्छ


  • बुद्धि मल्ल
  • पुष १५ २०७८, बिहिबार

बैंकिङ्ग फर इन्टरनेशनल सेटलमेन्टको अध्ययनअनुसार ९८% बैंकहरु कमसल सम्पत्तीको गुणस्तरले असफल हुन्छन् भने खराब ब्यवस्थापनले ९०% बैंकहरु असफल हुन्छन् । त्यस्तै गरी प्रतिकूल आर्थिक वातावरणले ३५% बैंकहरु असफल हुन्छन् र जालसांजीबाट ११% बैंकहरु असफल हुन्छन् ।

फेडरल डिपोजिट ईन्सुरेन्स कर्पाेरेशनको तथ्यांकअनुसार २००९ देखी २०१८ सम्म कर्पाेरेशनमा आवद्ध बैंकहरुमध्ये ५०३ बैंकहरु असफल रहे जसबाट जम्मा ३३८,१८२ मिलियन डलर बराबरको नोक्शान भएको देखिन्छ । तथ्यांकअनुसार सबैभन्दा बढि २०१० मा १५७ वटा बैंकहरु, त्यसपछि २००९ मा १४० वटा बैंकहरु असफल भएको देखिन्छ भने त्यसपछि क्रमशः घटेर २०१८ सम्म आईपुग्दा शुन्यमा रहेको देखिन्छ ।

अमेरिकामा गरिएको एउटा अध्ययनमा २००८ देखि २०११ सम्म २९८ बैंकहरु असफल भएको पाइएको थियो । जसमध्ये कुल सम्पत्ती १ बिलियन डलरभन्दा कम भएका बैंकहरु २५७ अर्थात् ८६.२४%, भने कुल सम्पत्ती १० बिलियन डलरभन्दा बढि भएका ३६ बैंकहरु अर्थात् १२.०८% थिए र कुल सम्पत्ती १० बिलियन डलरभन्दा बढि भएका बैंकहरु ५ वटा अर्थात १.६८% थिए ।

असफल बैंकहरुको तथ्यांकबाट सानो बैंकहरु बढि प्रभावित भएको र मध्यम आकारको बैंक केहि कम प्रभावित भएको र ठुलो बैंक एकदम कम प्रभावित भएको देखिन्छ । यो तथ्यांकले ठुला बैंक तथा बित्तीय संस्थाहरुको प्रतिस्पर्धात्मक तथा जोखिम बहन क्षमता पनि ठुलो भई बैंकिङ्ग क्षेत्रमा आउने बिभिन्न समस्याहरुबाट हुनसक्ने ठुलो नोक्सानीबाट जोगाउन सक्छ भन्ने देखाउँछ ।

२०१७ को युक्रेनको बैंकहरुको औसत निष्क्रिय कर्जा ५४.५% रहेको थियो । यति धेरै निष्क्रिय कर्जा हुनुमा डोनबास क्षेत्रमा भएको सरकार बिरोधी समूहबाट भएको आन्दोलन र युद्ध प्रमुख कारण थियो । फेब्रुअरी २०१४ बाट शुरु भएको आन्दोलन र युद्धले अर्थतन्त्र अस्तब्यस्त भई बैंकहरु समस्यामा पर्न थाल्यो फलस्वरुप युक्रेनको केन्द्रिय बैंकले नोभेम्बर २०१५ सम्म ६२ वटा बैंकहरु टाट पल्टिएको घोषणा गर्नुपरेको थियो । प्रतिकूल राजनितीक वातावरणको कारणले अर्थतन्त्रमा नकरात्मक असर गरी बैंकहरु असफल भएको युक्रेन एउटा गतिलो उदाहरण हो ।

२००४ मा भारतको ग्लोबल ट्रष्ट बैंक असफल भयो । बैंकले शेयर बजारमा अत्याधिक लगानी गरेकोले थियो । एउटै क्षेत्रमा ठु्लो लगानी गरेको बैंकले कर्जाको राम्रो पोर्टफोलियो ब्यवस्थापन गर्न नसकी अत्याधिक जोखिम लिएको थियो । २००१ मा भारतीय शेयर बजारमा समस्या देखा परेपछि बैंक पनि एकाएक समस्यामा प¥यो जसको कारणले बैंक नै बन्द गर्नुपर्ने अवस्था आयो । तर, २००४ मा बैंकलाई ओरियण्टल बैंक अफ कमर्शसंग मर्ज गरेर उद्धार गरियो । २००७–८ को विश्वव्यापी आर्थिक संकट आउनुपूर्व विश्वमा धेरै बैंकहरुले रियल स्टेट क्षेत्रमा अधिक लगानी गरेको थियो जसको परिणमस्वरुप उक्त संकट आएको थियो । नेपालमा पनि रियल स्टेलमा अधिक लगानी गर्नाले भिवोर बिकास बैंक लिमिटेड, नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेड, किष्ट बैंक लिमिटेड लगायत अन्य संस्थाहरु असफल भएका थिए । यद्यपी यि संस्थाहरु असफल हुनुमा अन्य बिभिन्न कारणहरु पनि थिए ।

१९९२ मा पाकिस्तानको बैंक अफ क्रेडिट एण्ड कमर्श ईन्टरनेशनल (बिसिसिआई) असफल भयो । यो बैंक असफल हुनुको मुख्य कारण जालसांजी तथा सम्पत्ती शुद्धिकरण रह्यो । सद्धाम हुसैन तथा उनी जस्ता अन्य ब्यक्तिहरुको खाता खोलिएकोले बैंकलाई सम्पत्ती शुद्धिकरणको मुद्धा खेप्नुपरेको थियो भने बैंकका कर्मचारीको अपराधीहरुसंगको सांठगाठले बित्तीय अपराधको मुद्धा समेत खेप्नुपरेको थियोे । नेपालमा हालसम्म सम्पत्ती शुद्धिकरणको कारणले बैंक तथा बित्तीय संस्थाहरु असफल नभएको भएतापनि युनाईटेड विकास बैंक लिमिटेड, सम्झाना फाईनान्स लिमिटेड, नेपाल विकास बैंक लिमिटेड, हिमालयन फाईनान्स लिमिटेड, नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स लिमिटेड, किष्ट बैंकलगायत अन्य केही संस्थाहरु जालसांजीको कारणले असफल भएका थिए ।

विश्वका बिभिन्न बैंकहरु बिभिन्न समयमा बिभिन्न कारणले असफल भएका छन् । बैंकहरु असफल हुनु भनेको अर्थतन्त्र असफल हुनु हो, त्यसैले अर्थतन्त्र सफल बनाउन बैंकहरु सफल हुन जरुरी हुन्छ । बैंकहरु असफल हुनुभन्दा पहिला उनीहरुले एक फरक खालको संकेत दिईरहेको हुन्छ र तिनीहरुको लक्षणमा पनि परिवर्तन हुन थाल्छ जुन यसप्रकार छन् :

१. अत्याधिक कर्जा तथा सम्पत्तीमा बृद्धि हुनु
२. एकै क्षेत्रका अत्याधिक कर्जा लगानी गर्नु
३. लामो समयसम्म कमजोर बित्तीय सूचांकहरु रहनु
४. बढ्दो निष्क्रिय कर्जा
५. लामो समयसम्म बजारको भन्दा निक्षेपको ब्याजदर बढि हुनु
६. वासलात बाहिरको दायित्वमा दाबी बढ्नु
७. सृजनात्मक लेखा राखेर बास्तविकता छल्नु
८. वित्तीय विवरण प्रकाशनमा ढिलाई हुनु
९. बारम्बार लेखापरिक्षकको परिवर्तन गर्नु
१०. बारम्बार सञ्चालक समिति तथा व्यवस्थापनमा परिवर्तन हुनु
११. राजनितीक प्रभाव पार्नु
१२. वित्तीय बजारमा नकारात्मक हल्ला चल्नु
१३. शेयरको मूल्यमा अधिक उतारचढाव हुनु
१४. आर्थिक मन्दी आउनु आदी ।
१९९२ मा फ्रान्सको क्रेडिट लियोन्नेल्स बैंक असफल भयो । यो बैंक खराब ब्यवस्थापन र अत्याधिक शाखा तथा अधिक क्षेत्रमा ब्यवसाय विस्तारको कारणले असफल भएको थियो, जसको कारणले १९८८ मा यो बैंक बिभिन्न वित्तीय अपराधमा समेत फसेको थियो । बैंकमा दक्ष कर्मचारीको अभाव भएको कारणले सम्पत्तीहरुको चरम दुरुपयोग भएको थियो । हालसम्म नेपालमा अत्याधिक शाखा तथा अधिक क्षेत्रमा व्यवसाय विस्तारको कारणले बैंक तथा वित्तीय संस्थाहरु असफल नभएको भएतापनि खराब व्यवस्थापनको कारणले गर्दा केही असफल भएका छन् ।

तरलता अभावको कारणले पनि बैंकहरु असफल भएका छन् । २००७–८ को विश्वव्यापी आर्थिक संकटको समयमा विश्वका बिभिन्न देशका बैंकहरुमा तरलता अभाव भएकोले असफल भएका थिए । नेपालमा पनि समय समयमा बैंक तथा बित्तीय संस्थाहरुमा तरलता अभाव हुने गरेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले बिभिन्न उपकरणहरु प्रयोग गरेर समस्या समाधान गर्दै आईरहेको छ तर, यि समाधानहरुले अस्थायी समाधान भएकोले स्थायी समाधानको लागि बैंकरहरुले सोंच्नु जरुरी छ ।

म्याथ्यु ब्यारोन र विजिओंङ्गले २०१७ मा गरेको अध्ययनले अर्थतन्त्र सवल छ भनेर बढी आशावादी भई अध्याधिक कर्जा लगानी गरेमा बैंकमा समस्या आउने बताएका छन् । लेखकले १९२० देखि २०१२ सम्म विकसित देशहरुको अर्थतन्त्र अध्ययनमा बैंकहरुले कर्जा लगानी गर्दा सवल अर्थतन्त्रलाई मात्र ख्याल राखेर भविष्यमा आउन सक्ने जोखिमलाई बेवास्ता गरेको पाएका थिए ।

२०७३ सालमा नेपालमा पनि बैंकरहरु हौसिएर आक्रमक कर्जा लगानी गरेका थिए । लामो समयसम्म भुकम्पबाट थलिएर प्रतिकूल बातावरणको कारणले निराश भएका बैंकरहरु एकाएक स्थानीय चुनावको घोषणासंगै देशको आर्थिक क्षेत्रमा देखापरेको सकरात्मक बातावरणको कारणले हौसिएका थिए । यसरी आक्रमक लगानीको कारणले छिट्टै नै २०७३ पौष मसान्तपछि बैंकिङ्ग क्षेत्रमा कर्जा संकुचन देखा प¥यो । कर्जा संकुचनको कारणले बैंक तथा बित्तीय संस्थाहरुले कर्जाको ब्याजदर बृद्धि गरे जसको असर अहिलेसम्म पनि परिरहेको छ र अहिले पनि समय समयमा कर्जा संकुचन भईरहेको अवस्था छ ।

लामो समयसम्म कमजोर बित्तीय सूचांकहरु र निष्क्रिय कर्जा बढ्ने क्रम रहिरह्यो भने बैंक असफलको बाटोमा जाँदैछ भन्ने संकेत बुझ्नुपर्छ । बित्तीय सूचांक सवल बनाउन बैंक व्यवस्थापनको मुख्य ध्यान हुनुपर्छ । लामो समय निक्षेपको ब्याजदर बजारको भन्दा अधिक भएमा, वासलात बाहिरको दायित्वमा बढ्दो दाबी भएमा पनि बैंक असफलको बाटोमा गईरहेको बुझ्नुपर्छ । बैंकलाई आवश्यक कुनै परियोजना तथा तरलता व्यवस्थापनको लागि निश्चित समयको लागि अधिक ब्याज दिने रणनीति भने सकारात्मक हुन्छ तर, कुनै संस्थाले जुनसुकै बेला पनि अधिक ब्याज दिन्छ भने संस्था असफल हुने बाटोमा छ भन्ने बुझ्नुपर्छ । सृजनात्मक लेखा राखेर बास्तविकता छल्नु, बित्तीय विवरण प्रकाशनमा ढिलाई गर्ने, बारम्बार लेखा परिक्षकको परिवर्तन गर्नु, बारम्बार सञ्चालक समिति तथा ब्यवस्थापनमा परिवर्तन हुनु, राजनीति प्रभावमा पर्नु, बित्तीय बजारमा संस्थाको नकारात्मक हल्लाचल्नु, शेयरको मूल्यमा अधिक उतारचढाव हुनु र आर्थिक मन्दी आउनु आदि बैंक असफल हुने संकेतहरु हुन् ।

नेपाल विश्वमा नै अधिक सम्भावना भएको देशहरुमध्ये एक भएकोले बैंकरहरु उक्त सम्भावनाको साथसाथै आईपर्ने जोखिमहरुको बिश्लेषणलाई मध्यनजर गरेर रणनीति बनाउनुर्छ । सम्भावना भएको देशमा वातावरण अनुकुल भएमा कर्जा लगानीको माग ओईरिनसक्छ र यस्तो अवस्थामा बैंकरहरुले संयम नगुमाई काम गर्नुपर्छ । अनुकुल हुँदा मात्तिनु र प्रतिकूल हुँदा आत्तिनु हुँदैन संयम राख्नु जरुरी हुन्छ । अल्पकालिन फाईदाको लागि दिर्घकालिन संकट निम्त्याउनु हुंदैन । आत्तिने, मात्तिने कार्यबाट सजग रही अगाडी बढ्नु बैंकहरुको आजको आवश्यकता हो । आत्तिए वा मात्तिए बैंक असफल हुन सक्छ ।
(लेखक मल्ल ओम डेभलपमेन्ट बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->