विश्वमा ईसापूर्व ७ हजार वर्ष पहिलादेखि नै मदिराको प्रयोग हुने गरेको विभिन्न तथ्यले देखाउँछ । यसको प्रयोग एसिया महाद्धिपमा सर्वप्रथमचीनबाट सुरुवात भएको मानिन्छ । आधुनिक विश्वमा मदिरा, संस्कृति र सभ्यताको रुपमा विकास हुँदै गएको छ । मदिरा सेवन नगर्नेहरु पाखे,परम्परावादी सोच भएका र समाजमा मिल्ने नसक्ने हुन्छन् भन्ने सोचाइ छ । हाम्रो संस्कृति र समाज नै मदिरामय बन्दै गएको तथ्याङ्कले देखाउँछ । सन् २०१९ मा गरिएको एक सर्वेक्षण अनुसार ७२.२ प्रतिशत १९ वर्षमाथिका व्यक्तिले नियमित मदिरा खाएको अनुभव भएको बताएका थिए । त्यस्तैगरी प्रत्येक ८ जना पुरुषमध्ये १ जना पुरुषले दैनिक मदिरा खाने गरेको बताएका थिए । सबैभन्दा बढि ५०.९ प्रतिशतले घरेलु रक्सी खाने गरेको पाइयो । घरेलु मदिरा सेवन गर्नेको संख्या पनि प्रसस्तै छ । घरेलु मदिराको उत्पादन र बिक्रीले केही महिलाहरुको जीवन चलेको पनि देखिन्छ । मदिराको कारण घरेलु हिंसाबाट पीडित बनेका र एकल जिवन चलाइरहेका महिलाहरु स्वंले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको पाइन्छ । भन्नुको अर्थ के हो भने,नेपाली समाजमा महिलाहरुले परम्परागत रुपमा गरिआएको र जानेको काम पनि मदिरा उत्पादन हो । जसको बिक्रीबाट केही आयआर्जन गर्न सकिन्छ पनि । त्यसैले घरेलु मदिराको ब्राण्डिङ गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । घरेलु मदिरालाई उद्योगको रुपमा विकास नगरेका कारण राजस्व खेर गइरहेको भन्ने भनाई पनि छ । अर्कोतर्फ, हानीकारक घरेलु मदिराको सहज उत्पादनले मानव जिवनमा ठूलो क्षति पुगेको छ । जे होस्, घरेलु मदिराको गुणस्तरीयता मापन गर्ने र यसलाई व्यवस्थितगर्नुपर्ने देखिन्छ । ताकि, कम गुणस्तरीय मदिराको बढी प्रयोगले मानवस्वास्थ्य र जीवनको क्षति हुन नपाओस् ।
मदिरा आधुनिकताको परिचय दिने सभ्रान्त र विलासी जीवनको उपयोगी बस्तुको रुपमा दर्ज हँुदै गएको छ । जुनसुकै सभा–समारोहमा मदिरा बेगरको भोजलाई खल्लो भन्ने गरिएको छ । राज्यका निकायमा बस्ने अधिकारीहरु, प्रहरी प्रशासन, नेता, पत्रकार, बुद्धिजिवी,शिक्षक, स्वास्थ्योपचार गर्ने डाक्टर, कानुन् व्यवसायी न्याय सम्पादनकर्ता, न्यायका पीडित र स्वयं मदिरा पीडितहरुले समेत दःुख भुलाउन आफ्नो आफ्नो हैसियत अनुसारको मदिरा सेवन गरेको पाइन्छ । भन्नुको मतलव नेपालमा ठूलो संख्यामा मदिरा सेवन गर्नेहरु छन् । सबै नागरिकको जीवनको अभिन्न पेय पदार्थ बनेको मदिराको गुणस्तरीयता मापन भने धेरै कम र प्रभावहीन छ ।
नेपाल विविध संस्कृति भएकोले विभिन्न धर्म संस्कृति र सम्प्रदायका नागरिकहरु बसोबास गर्ने देश हो । विशेष गरी मंगोल समुदायको धर्म संस्कृति र परम्परामा वा सांस्कृतिक कार्य (पूजा, चार्डपर्व, र पितृ कार्य ) मासमेत मदिरा अनिर्वाय हुने गरेको छ । मंगोल समुदाय बाहेकका खस आर्य समुदायले पनि चार्डपर्वहरुमा मदिराको प्रसस्तै प्रयोग गरेको पाइन्छ । मदिराको सेवन मात्रा मिलाएर गर्दा कुनै हानी नपुग्ने तरबढी सेवन गरेमाहानी पुग्ने कुरा स्वास्थकर्मीहरु बताउँछन् । जनस्वास्थ्य संगठनको एक आँकडाले के देखाउछ भने मदिराको कारणबाट २०० भन्दा बढी रोगहरु लाग्न सक्छ । मदिराको उपभोगले संसारभर हुने रोगको कारकहरु मध्ये ५.१ प्रतिशत हिस्सा ओगट्छ । यो हिस्सा पुरुषमा ७.१प्रतिशत र महिलामा २.२ प्रतिशत रहेको छ । त्यसैगरी अत्यधिक मदिरा सेवनले फोक्सो, मुटु, कलेजो र मृगौला खराब बनाउने गर्दछ । मांसपेशी र पाचन प्रणाली कमजोर बनाउने गर्दछ। महिलाहरुलाई स्तन क्यान्सर हुन सक्ने देखिन्छ । यति धेरै खराबी हुँदा पनि रक्सी खाने र खुवाउने कुरा प्रतिष्ठाको विषय मात्रै बन्दैनन् । राजनैतिक दलहरुको औपचारिक समारोहमा सहमतिको बिन्दु खोज्ने साधनसमेत बन्ने गरेको छ । मदिरा निर्वाचनमा भोटको राजनीति गर्ने,मत खरिद बिक्री गर्ने साधनसमेत बन्ने गरेको छ । धेरै पिउँदा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने, मानिसको मति बिगार्ने, दुर्घटना निम्त्याउने, तथा घरेलु हिंसा र अपराधको जड मानिएको मदिराको व्यवस्थापन गर्न धेरै ढिलाई भइसक्यो । अधिक मदिरा सेवनले आकस्मिक दुर्घटना हुने, अंगभंग हुने र ज्यान जाने गरेको छ । अधिक मदिराको सेवनबाटबाट वर्षेनी संसारभर ३० लाख मानिसको दुर्घटना भई मृत्यु भएको एक तथ्याङ्कले देखाउछ । मदिरा १५ देखि ४९ वर्ष उमेर समूहमा अकाल मृत्यु र दुर्घटनाको मुख्य कारक हो भने १० प्रतिशत मृत्युको कारण पनि मदिराको उपभोग नै हो । खासगरी संसारभर कम विकसित मुलुकका नागरिक, सिमान्तकृत, जोखिम समूहहरुमा मदिराको कारण हुने मृत्यु र अस्पताल भर्ना हुने दर बढि रहेको देखिन्छ । मदिरामा धेरै पैसा खर्च गर्ने गरेका कारण धेरैको घरबास नै उठिबास भएको देखिन्छ । आर्थिक अवस्था कमजोर भएका मजदुरहरुले न्यून गुणस्तरीय मदिरामा खर्च धेरै गर्ने गरेकोले एकातिर पैसा खर्च र अर्कोतिर स्वास्थ्य बिग्रिरहेको अवस्था छ । कुलतमा फसिसकेपछि ऋण गरेर भएपनि रक्सी पिउनु पर्ने अवस्था देखिएको छ । यस्तो खराव आदतले झनै आर्थिक तथा स्वास्थ्यमा क्षति पुगेको छ । यसरी युवाहरु पहिला मदिराको कुलतमा फस्ने र अधिक रक्सी सेवन गरेर जीवन नै बर्वाद पार्ने गरेको अवस्था छ ।
मदिराको अधिक प्रयोग बारे जनचेतना जगाउने खालका कार्यक्रमहरु पनि कमै मात्र हुने गरेका छन् । पहिलोपटक पोखरामा उपभोक्ता हित संरक्षण मंचले मदिराको नकारात्क असर र नियमनको आवश्यक्ता बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको थियो । यस्ता कार्यक्रमले मदिरा नियन्त्रणमा सघाउ पुग्ने देखिन्छ । मदिरालाई व्यवस्थित गर्न विभिन्न कानुन्हरु बनेका छन् । तर कानूनको प्रभावकारी कार्यान्वयन हुन भने सकेको छैन । संविधानको धारा ५१ ज (५) राज्यका निर्देशक सिद्धान्तभित्र‘नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दे लैजाने ’ भन्ने व्यवस्था छ । सोही अनुसार राज्यले जनस्वास्थ्य नीति समेत बनाएको छ । तर, राज्यले मदिरालाई अनियन्त्रित छोड्दा नागरिकको पैसा पनि सकिने र जीवन पनि सकिने अवस्था छ । मदिरामा वर्षैपिच्छे कर वृद्धि भए पनि बिक्री बितरणमा कमी भने आएको छैन । अनुमान गरौं कि, मदिराबाट मुलुकको पैसा कति धेरै बाहिरिएको होला त ? राज्यले केवल राजस्वमात्रै देख्ने गरेको छ । होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ ले नाबालक र मदिराले मातेको व्यक्तिलाई मदिरा बेच्न खुवाउन नहुने खास खास होटेल वा पसल र क्षेत्रमा मदिरा बेच्न र खुवाउन नहुने मदिरा खाई मातेको ग्राहकलाई प्रवेश निषेध भन्ने प्रावधान छ । के यस्को प्रभावकारी अनुमन भएको छ त?त्यसैगरी जनस्वास्थ्य ऐन २०७५को दफा ४५ (१) मा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै विज्ञापन सामग्री, उत्पादन बितरण र प्रचारप्रसार गर्न नपाइने भन्ने छ । उपदफा २ मा मानशिक तथा शारीरिक स्वास्थ्यलाइृ असर गर्ने खालका सामग्री तथा सेवा आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी बिज्ञापन उत्पादन वितरण र प्रचारप्रसार गर्न पाइने छैन भन्ने व्यवस्था छ । त्यसैगरी सर्वोच्च अदालतले मदिराको बिज्ञापनमा महिलाको प्रयोग नगर्नु भन्ने आदेशसमेत गरेको छ । तर, सबै कानून आदेशहरुलाई सिद्धान्तमा मात्र सीमित पारिएको छ । कानूनको प्रभावकारी कार्यान्वयन गरेर स्वस्थ्य समाज, राष्ट्र निर्माण गर्नु नै सबै नागरिकको कर्तव्य हो भन्ने कुरालाइृ आत्मसाथ गरौं ।





