तनहुँ/कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिईरहदाँ बन्दीपुरको पर्यटन भने बौरिने प्रयास गर्दैैछ । अंग्रेजी नयाँ बर्षले बन्दीपुरे पर्यटनलाई बौरिन सघाएको छ ।
कोरोना कहरले थला परेर विस्तारै तंग्रिदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ बर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुँईचो लाग्यो । बन्दीपुर बजार र टुँडिखेलमा पर्यटक चहलपहल निकै भयो । सडक खाना महोत्सवको कारण शुक्रबार र शनिबार कठ्यांग्रिदो चिसोमा पनि आधा रातसम्म बन्दीपुर जागिरहेको थियो ।
नयाँ बर्षको कारण यहाँका अधिकांश होटल रेष्टुरेन्ट भरिभराउ भएका छन् । बन्दीपुरमा साना ठुला गरेर एक सयको हाराहारीमा होटल रेष्टुरेन्ट सञ्चालित छन् । शुक्रबार र शनिबार यहाँका होटलमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको क्षेत्रिय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । नयाँ बर्षमा पर्यटकको भिडले बन्दीपुरको पर्यटन उकालो लाग्ने सन्देश दिएको उनको भनाई छ । ‘यहीँ अवस्थामा बन्दीपुरको पर्यटन उकालो लागेमा कोरोना कहरले भोग्नुपरेको नोक्सानीको क्षतिपुर्ती उठाउन सक्छौ कि भन्ने विश्वासमा छौँ’,उनले भने ।
शुक्रबार र शनिबार गरिएको सडक खाना महोत्सवमा झण्डै आठ हजार पर्यटक बन्दीपुर उक्लिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । ‘नयाँ बर्षमा देखिएको पर्यटकको घुँईचो बन्दीपुरको पर्यटनका लागि सुखद हो’, उनी बताउँछन् ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ नाराका साथ बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनी खाना महोत्सव गरिएको हो । होटल रेष्टुरेन्टले सडकमै आ–आफ्नो स्वादका खानाका परिकार पाहुनालाई चखाएका थिए । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरेका हुन् । नयाँ बर्षमा गरिएको दुई दिने खाना महोत्सवले पर्यटकको संख्या बढेपछि अब हरेक महिना बन्दीपुरमा कुनै न कुनै कार्यक्रम गर्ने यहाँका पर्यटन व्यवसायी जनाएका छन् । पर्यटकलाई आकर्षित गर्नलाई होटल रेष्टुरेन्टले छुटको व्यवस्था दिने तयारी समेत हुदैँछ ।
बन्दीपुर उक्लिएका ९९ प्रतिशत आन्तरिक पर्यटक हुन्् । कोरोना कहर सुरु हुनु अगाडीसम्म बन्दीपुर आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बराबर थियो । होटल व्यवासायी बैँश गुरुङका अनुसार बसाईका हिसाबले बन्दीपुरमा अधिकांश विदेशी पर्यटकको बसाई हुन्थ्यो । ‘आन्तरिक पर्यटक त आउने घुम्ने जाने मात्रै थियो । अहिले त बन्दीपुर आउने बस्ने सबै पर्यटक आन्तरिक नै हुन् । विदेशी त शुन्य जस्तै भएको छ’, उनले अगाडी थप्दै भने, ‘कोरोनापछि व्यवसाय चलाउन आन्तरिक पर्यटकले भरथेग मिलेको छ ।’ आन्तरिक पाहुनको खर्च गर्ने वानीसँगै क्षमता बढेको उनले बताए । बन्दीपुरमा यतिबेला विदेशी पर्यटक छिटफुट देखिन्छ ।





