पोखरा/गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानुन व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री थापाले लेखापढी कानुन व्यवसायीहरुले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे । ‘लेखापढी कानून व्यवसायीहरु निष्ठावान भएको खण्डमा जनताले प्राप्त गर्ने सुविधा पारदर्शी हुन्छ,’ उनले भने, ‘जनता पहिले सिधै लेखापढी कानुन व्यवसायीहरुसँग ठोकिने हुँदा आर्थिक लोभ बिनानै सेवा गर्नुपर्ने आवश्यकता छ ।’
मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुका पिरमर्कासँग आफू नजिक भएकाले सोही बमोजिमको नीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पु¥याउने विश्वास दिलाए । उनले भने, ‘तपाईंहरुको अप्ठ्याराहरुसँग म नजिक छु । यहाँहरुको पेशागत सुरक्षाका लागि प्रदेशमा सहज कानून बनाउन प्रतिबद्ध छु ।’
मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले गैरकानूनी व्यवसायी हुन् भन्ने भावनालाई चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भूसेवा केन्द्रका नाममा भएका गलत निर्णयहरुलाई सच्याउँदै व्यवसायीहरुका हित बमोजिम काम गर्ने प्रणका साथ आफू लाग्ने प्रतिपद्धता जनाए ।
प्रदेशले विगत चार वर्षमा ५० वटा ऐन बनाएको जानकारी गराउँदै मन्त्री थापाले आफु मन्त्री भएर आइसकेपछि ऐनको संशोधन र कार्यान्वयनमा ध्यान दिएको जानकारी दिए ।कानुन निर्माणमा प्रदेश सरकारमा देखिएका समस्याहरुलाई समाधान गर्दै नागरिकको हित बमोजिम नीति बनाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।





