मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

डोल्पा चियाउने आँखीझ्याल : कोग्ले

डोल्पा चियाउने आँखीझ्याल : कोग्ले

गणतन्त्र छायो, संघीयता लागू भयो, घरघरमा सिंहदरबार पुग्यो भन्छन् तर यतिका समय बितिसक्दा पनि डोल्पालीहरु अझै धेरै पछि परेका छन् । जति धेरै परिवर्तनका लहरहरु डोल्पामा छाउनुपथ्र्यो, त्यो नहुँदा उनी अझै दुखेसो पोख्छन् ।


  • दिवस गुरुङ
  • माघ ३ २०७८, सोमबार

कोग्ले । किताबको नाम पढ्दै मनका कौतुहलता जाग्छ, नामैले । जब पढ्दै गइन्छ तब कोग्लेको अर्थ मात्र हैन, केही हदसम्म डोल्पाको वास्तविकता अक्षरहरुमार्फत चित्रण हुन्छ । डोल्पाबारे थुप्रै विदेशी तथा स्वदेशी लेखकहरुका नामी पुस्तकहरु छन्, तर डोल्पाकै काखमा हुर्केर आफ्नै माटोबारे यति मज्जाले बहेर लेख्ने थोरै नै छन् ।
कोग्लेका लेखक हुन्, प्रेमबहादुर बोहरा । यो उनको पहिलो संस्मरणात्मक कृति हो । डोल्पाको माझफाल भन्ने विकट गाउँमा जर्मे हुर्केका उनको यस कृतिमा बाल्यकालका रमाइला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एसएलसीपछि सहरमा रुमलिएका क्षणहर मात्र हैन, सहरबाट उनले नियालेको सिंगो कर्णाली र त्यो भित्र गहिराइमा उनले चिहाएको संसार र अथ्र्याएको कर्णाली समावेश छन् ।
उनी जन्मेको गाउँ माझफालमा धान फल्दैनथ्यो । मकै भने औधी हुने । त्यसैले गाउँलेहरु प्रायः मकैको च्याँख्लाको भात खान्थे । स्थानीय भाषामा यसैलाई कोग्लो भनिन्थ्यो । चामलको भात त कहिलेकाहीं मात्र । त्यसैले अन्य गाउँका भात खानेहरु उनीहरुलाई होच्याएर, हेपेर कोग्ले उपनामले बोलाउँथे । त्यही होच्याएर बोलाउने शब्दलाई उनले कृतिको नाम दिएका छन् । अहिले त उनमा गर्व लाग्छ, कोग्ले शब्दप्रति । अनि पहिचान बनेको छ तमाम माझखालबासीहरुको ।
उनी त्यस्ता गाउँमा हुर्केका थिए कि नयाँ किताब त शैक्षिक सत्रको अन्त्यसम्म मात्र आइपुग्थ्यो । सानामा त अर्काका किताबहरु नै पढेर ४ कक्षासम्म उक्लिए । नयाँ किताबको भोक उनमा यति चढेको थियो कि उनले हर रात सपनामा नयाँ किताब पाएको देखिरहन्थे तर त्यो सपना पूरा हुन उनले धेरै सपनाहरु देख्न पर्यो । अनि कटाउनु पर्यो कैयौं वर्षहरु ।
नयाँ किताब बजारमा आएको खबर पाउनेवित्तिकै उनी गाउँका दाइहरुसँग दुनै बजार झरे । दुखद कुरा, दाइहरु सबैले पुस्तक पाए तर उनले पाएनन् । उनले साहुजीसँग अनुनय विनय गर्दा साहुजीले भनेका थिए, ‘सरकारले पठाए पो दिने त, भाइ !’

दिवस गुरुङ
उनको मनमा नराम्ररी बिझ्यो अनि मनमनै भन्छन्, ‘यो सरकार भन्ने को रहेछ ? हामीसँग लिनुपर्ने शुल्क त समयमै लिने तर किताबचाहिँ किन समयमै पठाउँदैनन ? सोध्न मन थियो । तर कोसँग सोध्नु ?’ उनले थपेका छन्, मलाई जसरी किताबको अभाव हुन्थ्यो, त्यसैगरी गाउँलेहरुलाई चामलको । तर यी दुवै कुरा कोसौ पर सरकारले कहिल्यै सुनेन ।
उनको फेबरेट थियो चामलको भात । एकदिन बुबाले बजारबाट चामलसँगै उनलाई नयाँ रंगीन किताबहरु र नयाँ कापीहरु उनले बाल्यकालकी साथी सम्झनालाई धेरै ठाउँमा जोडेका छन् । छोरी मान्छेलाई पढाउनु हुँदैन भन्ने मान्यता त्यसबेला त्यस्तो विगत ठाउँमा व्याप्त नहुने कुरै थिएन ।
घरछेउको मिल्ने साथीसँगै साथी बनेर स्कुल गैदिए, उनी सम्झिन्थे । तर उनको यो सपना कहिल्यै पूरा भएन । विडम्बना, सम्झना त केवल एक पात्र मात्र थिइन्, उनीजस्तै कैयौं छोरी चेलीहरुको पढ्ने रहर कहिल्यै पूरा भएन । यो नियति नै थियो डोल्पाको ।
डोल्पाबाट बाहिरी संसार नियाल्दा :
उनी गाउँबाट धेरै पर सुगम ठाउँ पुगेको भनेकै दुनै बजार । न सडकले जोडिएको थियो डोल्पा न सरकारले नै । त्यसैले उनलाई सारा संसार नै डोल्पा लाग्थ्यो । डोल्पा बाहिरको संसार उनले सानोमा न कल्पेका थिए न त चित्र नै कोरिएको थियो बाहिरी संसारको ।
उमेर हुर्केसँगै सादा पुस्तकमा देखिएका सादा चित्रहरु हेरेर उनी सादा स्क्रिनमा बाहिरी दुनिया कल्पन्थे । नेपालगन्ज, पोखरा अनि काठमाडौं पुग्न पाए, उनलाई लाग्थ्यो । तर डोल्पाबाहिर पुग्न उनलाई एसएलसी कुर्नु प¥यो । पढाइमा राम्रा थिए उनी, त्यसैले विद्यालयको पढाइ सकेर उनी शहर झरे । अनि सुरु भयो उनको जीवनको अर्को अध्याय । अनि चियाउन थाले सहरबाट डोल्पा ।
गाउँबाट सहर पुग्दा :
एस.एल.सी.को नजिता आयो । उनी राम्रै अंक ल्याएर पास भएछन् । राम्रै अंक ल्याएपछि शहरमा राम्रै कलेजमा पढाउन धेरैको सुझाव थियो । जहाजमा नेपालगन्ज अनि बसमा पोखरा पुग्ने भए उनी । तर त्यति सजिलो कहाँ थियो र ? एक हप्ता जुफालमै रोकिए उनी, टिकट नपाएर । टिकट काटेरै नेपालगञ्ज पुग्न पनि पापड पेल्नुपर्छ, उनले थाहा पाए । बिचौलियाहरुको बिगबिगीले यात्रुहरु कति सम्म अलपत्र पर्छन्, उनले पहिलो पल्ट भोगे ।
बल्ल सातौं दिनमा उनी नेपालगन्ज पुगे । पोखरा पुग्दा १० दिन लागेछ । तीन वर्षे डिप्लोमा तहको इन्जिनियरिङ पढ्ने उनको सपना तब तुहियो, जब पश्चिमाञ्चल क्याम्पस पुग्दा प्रवेश परीक्षाको नतिजा आइसकेको सूचना पाए । अनि उनी पिएनमा शिक्षा संकायमा गणित लिएर पढे ।
देशमा राजतन्त्रविरुद्ध आवाजहरु उठिरहेका थिए । शिक्षित विद्यार्थी र सभ्य नागरिकका हैसियतले उनी पनि आवाजमा आवाज थप्दै आन्दोलनका हिस्सा बनेका थिए । नभन्दै देशबाट जनयुद्ध समाप्त भयो, राजतन्त्र हट्यो । गणतन्त्र छायो, संघीयता लागू भयो, घरघरमा सिंहदरबार पुग्यो भन्छन् तर यतिका समय बितिसक्दा पनि डोल्पालीहरु अझै धेरै पछि परेका छन् । जति धेरै परिवर्तनका लहरहरु डोल्पामा छाउनुपथ्र्यो, त्यो नहुँदा उनी अझै दुखेसो पोख्छन् ।
सहरबाट गाउँ नियाल्दा :
एसएलसी भ्याएर नेपालगन्ज, पोखरा हुँदै उनी काठमाडौं पुगे । गाउँबाट जसरी शहर नियाल्थे उनी, त्यो भन्दा धेरै भिन्न थियो शहरबाट गाउँ चियाउँदा । कति मिठा त कति तिता अनुभवहरु बटुले उनले । विकट डोल्पाबाट आएकाले उनले कलेजमा आफ्नो परिचय लुकाउन समेत बाध्य भएका थिए ।
आफ्नो वास्तविक भाषा, संस्कृति र आफ्नोपन देखाउन के को लाज ? उनलाई लाग्थ्यो । तर सबैको हेराइ उस्तै नहुँदो रहेछ । अनकन्टार डोल्पा कतिले त स्वर्ग ठान्दा रहेछन् । जीवनमा एकपल्ट डोल्पा घुम्न पाए, त्यहाँको सुन्दरतामा हराउन पाए, धेरैका चाहना हुँदा रहेछन् । गरिब, विकट र अनकन्टार डोल्पामा धेरै सम्भावनाहरु पनि रहेछ त उनलाई लाग्यो । पछिल्लो समयमा त डोल्पा युवाहरुको घुमघामको पहिलो रोजाइमा परेको छ । आवश्यक पुर्वाधारहरु भए, कति डोल्पा पुग्थे, कति माझफाल घुम्थे होला, डोल्पाको पनि मुहार फेरिन्थ्यो होला, उनलाई लाग्छ ।
डोल्पा रुपान्तरणमा उनको यात्रा :
शहरबाट गाउँलाई फर्केर हेर्दा उनलाई लाग्यो, गाउँलाई केही न केही योगदान दिन सके, तर यो यात्रा त्यति सहज त कहाँ थियो र ? हर घरधुरीबाट न्युनतम पैसा उठाउने र बाँकी राजधानीका विभिन्न संघसंस्थाबाट सहयोग मागेर गाउँमा सानो पुस्तकालय बनाउने उनको सपना पूरा हुन उनले राम्रै पापड पेल्नु परेको थियो ।
अनेकौं राजनीतिक झमेलाहरु बेहोर्नुपरेको थियो तर उनले हार मानेनन् । उनी पढेको विद्यालयमा उनले पुस्तकालय मात्र खोलेनन्, शिक्षा नेपाल नामक संस्था खोलेर नेपालका विभिन्न विद्यालयहरुमा पुस्तकहरु पु¥याए । धेरै बालबालिकाको शिक्षाको ढोका उघारिदिए ।
जति समाजसेवामा लाग्दै गए, उनलाई लाग्यो यसलाई निरन्तरता दिनुपर्छ । नेपालभर परिवर्तन ल्याउन एक्लैले सम्भव हुने कुरै भएन । यसमा त राज्यको पो ठुलो कर्तव्य हुन्छ । राज्यलाई झकझकाउन कुशल नेता चाहिन्छ, उनलाई लाग्यो । अनि सुरु भयो उनको राजनीतिक यात्रा । जनता समाजजादी पार्टीका जिल्ला अध्यक्षका रुपमा उनी डेढ वर्षयता कार्यरत छन् । आफ्नो ठाउँको परिवर्तन सुरुवात आफैंबाट गर्नुपर्छ भनेर उनी राजनीतिका लागि गाउँ फर्के ।
अन्त्यमा,
कोग्ले सरल भाषामा सरल शब्दहरु मिलेर बनेको सरल संस्मरण हो । उनले डोल्पाको पीडा, अभाव र समस्याहरुलाई मात्र देखाएका छैनन्, सगैँ उजागर गरेका छन् डोल्पा रुपान्तरणका ढोकाहरु । एक जना युवाले चाहेमा कतिसम्म परिवर्तन गर्न सकिन्छ, पुस्तक पढ्दा प्रष्ट हुन्छ । पढ्न छुटाएको भए, एक पटक पढ्न सुझावसहित ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->