शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

‘पब्लिक हेल्थका धेरै बिषय जानकारी गराउन हिँडेका हौं, संयोगले कोरोनाको महामारी आएकोले विषय केन्द्रीत भएका हौं । अन्य समस्याका बारेमा पनि जनतालाई सचेतना गराउनेछौं ।’


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

बागलुङ/कोरोना संक्रमण बढिरहेकाबेला पोखरा विश्वविद्यालयका विद्यार्थीहरु सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।
विद्यार्थीले सार्वजनिक स्थानमा व्यानर टाँगेका छन् भने सार्वजनिक यातायातमा यात्री र चालकलाई सचेतनामूलक सन्देश दिने, मास्क वितरण र कोरोनाबाट बच्न अपनाउनुपर्ने दूरीबारे सिकाएका छन् ।
उनीहरुले यात्रीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । ‘हामीले जानेको सेवा प्रवाह र सन्देश दिन खोजेका हौं,’ टिम लिडर अभिनाश अधिकारीले भने, ‘स्वास्थ्य कार्यालयको अनुमति र मापदण्डअनुसार मात्रै काम गरेका हौं ।’ उनीहरुले चोकमा अनावश्यक बसेकालाई सुरक्षित रहन आग्रह गरेका थिए ।
व्यक्तिगत खर्चमा आएका उनीहरुलाई कार्यक्रम गर्ने स्थानको बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले सघाएका थिए । बसपार्क, जिपपार्क, विद्यालय, जिम हल तथा कफी सपहरुमा भिड हुन सक्ने भन्दै ती स्थानमा पनि पुगेर सचेतना बढाउने र मास्क लगाउन प्रेरित गराउन लगाएको घिमिरेले जानकारी दिए ।
‘पब्लिक हेल्थका धेरै बिषय जानकारी गराउन हिँडेका हौं, संयोगले कोरोनाको महामारी आएकोले विषय केन्द्रीत भएका हौं,’ अधिकारीले भने, ‘अन्य समस्याका बारेमा पनि जनतालाई सचेतना गराउनेछौं ।’ केही दिन बागलुङमा सचेतना अभियान चलाएपछि अन्य क्षेत्रमा पनि पुग्ने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पनि सचेतनाका अभियान चलाएको छ । चोक चोकमा बसेर लाइसेन्स परीक्षण गर्ने ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले मास्कसमेत वितरण गरेका छन् । उनले मास्क नलगाई हिँडेकालाई सम्झाउने काम गरेका छन् ।
३ दिनदेखि उनले चोक चोकमा यो अभियान सुरु गरिरहेका हुन् । ‘कतिले भुलेका होलान्, कतिले लापरवाही गरेका होलान्, सम्झाएर अनिवार्य मस्क लगाउन भनेको छु,’ उनले भने, ‘नभएकालाई वितरण गरेका छौं ।’
गृहमन्त्रालयले पनि केही मास्क जिल्ला तहमा पठाएकोले जिल्ला प्रहरीको समेत प्रतिनिधित्व गरेर ट्राफिक प्रहरीमार्फत मास्क वितरण भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
त्यसबाहेक सामुदायिक सेवा प्रहरी समेतको सहभागितामा कालीका मन्दिर परिसर, बसपार्क जस्ता स्थानमा पनि सचेतनाका क्रियाकलापहरु सञ्चालन हुन थालेका छन् । भीड नगर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, निस्कनुपर्दा अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुनेजस्ता सन्देश प्रहरी र स्वंसेवकमार्फत प्रवाह गरिएको सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले बताए ।
जिल्ला प्रशासन र प्रहरीले मालढुंगामा पनि केही सचेतना अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । ‘विशेषगरी भारत र अन्य देशबाट आएका नागरिक छन् भने सोझै उनीहरुको वडाध्यक्षमार्फत सम्पर्क गराएर केही दिन होम क्वारेन्टाइन बस्न लगाएका छौं,’ ढकालले भने, ‘हेल्प डेक्स र होल्डिङ सेन्टर बनाउने विषयमा पनि छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->