मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गरिबीले आफ्नै चिहान खन्न खाडीको यात्रामा

गरिबीले आफ्नै चिहान खन्न खाडीको यात्रामा


  • दिल प्रसाद पौडेल
  • माघ ९ २०७८, आइतबार

लाग्छ यो समाजमा यदि गरीब भए म एक्लै छु होला ! गरिबकोे समाजमा कुनै स्थान हुँदैन । सबैले अपहेलित व्यवहार मात्र गर्छन् । सबैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिबलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले वास्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिदैन । गरिब भएकै कारण सामाजिक उत्पीडन र भेदभावको शिकार भई अपमानित जिवन बिताउन परिरहेको यहीं समाजमा मैले देखिरहेको छु ।

गरिब जीवनमा सास भएर पनि धेरै पटक मर्ने गर्छ । छोराछोरीलाई स्कूल पढाउँदा पैसा तिर्न नसकेर एक पटक मर्छ । बिरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भएपनि खानु प¥यो । बजारमा चामल, दाल, तेल, तरकारी आदी किन्न जाँदा फेरि मर्छ । लाज गाल ढाक्न मात्रै भएपनि लुगा त लगाउनै प¥यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरी मर्छ । यसरी गरिब जीवनमा पाइलैपिच्छे मर्दै बाँच्दै गर्दोरहेछ ।

गरिब बाँचेर पनि मरेतुल्य छ । देशमा महंगीले आकाश छोएको छ । कुनै पनि बस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिती छैन । गरिबले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिती छ । साँच्चै भन्ने हो भने आम नेपाली यहीं श्रेणीमा जीवन बिताईरहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जतिसुकै गफ गरेपनि खान र लगाउन नेपालीलाई पुगेकै छैन भन्दा पनि हुन्छ । आफुले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिब छु ? खान र लगाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्टसंग झल्किरहेको देखेको छु र पनि मान्छे पैसाकै घमण्ड किन गर्छ ?

गरिबको यो दुनियाँमा कोही भरपर्दो सहारा हुँदैन । सबै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सबैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिबलाई साथ दिने भगवान पनि हुँदैन । भगवानले पनि बढी दुःख दिएको जस्तो लाग्छ । तमाम दुःख, पिरमर्का, चोट, बेदना सहनुभन्दा अर्को विकल्प गरिबसंग छैन । खाने लगाउने हिंड्ने, डुल्ने चाहना सबै आफु मरेर जाँदा संगै मरेर जान्छ । गरिब भएर बाँच्नु पर्दाको पिडा केवल गरिबलाई मात्र थाहा हुन्छ । ठूला ठूला महलमा बस्ने र मंहगा गाडी चढनेलाई के थाहा ?
गरिबले हरेक रात खाने नभएर भोकै सुत्नु परिरहेको छ । लगाउने नभएर जाडोले मर्नु परिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनुपरेको छ ।

सपनाहरु त्यसै हराउँदै गएका छन् । मनभित्रका भावना र संवेदनालाई दबाउनु पर्ने अवस्था छ । यस्ता गरिबको पिडा र बेदना कस्ले बुझने ? अहिले त तीन तहका सरकार छन् । कुनै न कुनै सरकारले पनि सम्बोधन गर्न सकेका छैनन गरिबका मुद्दाहरु । गरिबहरु केवल नेताका भोट मात्र त रहेछन् नि ? के चुनाव जितेर राज्य सत्तामा पुगेपछि गरिबका आँसु पुछ्नु पर्दैन ? आखिर गरिबको भोटले राज्य सत्तामा पुग्ने र पुँजीपति वर्गको हितमा काम गर्ने देशका शासकहरु अलिकति पनि जिम्मेवार देखिदैनन् र उनीहरुको रबैयाको साक्षी बन्दै गरिब प्रत्येक ५ बर्षमा फेरि मर्छ ।

गरिबले निचोरिएको जस्तो अनुहार लिएर हिंडिरहनु परेको छ । संयोगले बाँचे बाँचिहाल्छ नत्र आफ्नो जीवन समाप्त पार्न बाध्य छ । गरिबको अभिभावक सरकार बन्नु पर्ने हो । तर सरकार त माफियाको चंगुलमा छ । सरकार नै माफियाको नोकर र दास भएको छ । माफियालाई मलजल गर्दै गरिबका मुद्दा ओझेलमा परेका छन् । सरकारका वरपरका आसेपासे लौरे घजेहरु लुटेर खान पल्केका छन् । सरकार त्यसैको वरपर घुमिरहेको छ । गरिबको बजारमा सहज पहुँच हुने पर्ने तर बजारको नियन्त्रणमा सरकार चलिरहेको छ । जसले गर्दा गरिबीले दुई पत्र छाला गएका गरिबहरु फेरी अर्कोपल्ट मर्नु परिरहेको छ ।

गरिबलाई खान, लगाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस् सास फेर्न पनि गाह्रो छ । मरी हाल्न पनि सक्दैन इच्जतदार र गुणस्तरीय जीवन बिताउन पनि सक्दैन । मर्नुभन्दा बहुलाउनु बेस भने जस्तो कयौं गरिब गरिबीकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिंडिरहेका पनि छन् । नेपाली समाजको गलत आचरण र व्यवहारका कारण गरिब अझ गरिब बन्दै गइरहेको छन् र यो हेर्दा अर्कोपल्ट मरिरहेको छ ।

यहाँ गरिबले काम गर्छु भनेर काम गर्न पनि पाउदैन । त्यसैले आफ्नो चिहान खन्न मरुभूमीमा जानु पर्ने विवशता छ । कोरोनाको कहरका बिचबाट जिन्दगीको पिसिआर आखिर पैसाले गर्दो रहेछ नेगेटिभ कि पोजेटिभ । म जस्ता गरिबहरु संसारमा धेरै छन अफसोच पीडा बेग्लै हुन सक्छ । करुणाको क्रन्धित आवाज र एक मुट्ठी प्राण बोकेर सपना सजाउँदै गरिब भएकै कारण आफ्नो चिहान आफै खन्न खाडीको मरुभूमिमा जाँदै छु । जदौ ।

(एकान्तबासबाट)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->