तनहुँ/ मालपोत कार्यालय तनहुँले आइतबारदेखी एक साता सेवा स्थगित गरेको छ । कार्यालयका कर्मचारीमा ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएकाले आईतबारदेखि शुक्रबारसम्म सेवा स्थगित गरिएको मालपोत प्रमुख चिरञ्जीवी पौडेलले बताए ।
कार्यालयमा सेवाग्राहीको भीड हुने भएकाले कर्मचारी र सेवाग्राहीको हितलाई ध्यानमा राखेर कार्यालयको सेवा बन्द गरेको उनको भनाई छ । संक्रमणको जोखिम कम गर्नलाई कार्यालयबाट प्रदान गरिने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशोधन सेवाहरु स्थगित गरिएको प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले बताए ।
शनिबार पछिल्लो २४ घण्टामा जिल्लाका ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ७८ जनाको पिसिआर र एन्टिजेन परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार ४२ पुरुष र २९ महिलालाई कोरोना पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय १ पुगेको छ । जिल्लामा वैशाख यता मात्रै छ हजार २२६ जनालाई कोरोना पुष्टि भएको छ । तीमध्ये पाँच हजार २९४ जना निको भएका छन् । १३१ जना कोरोना संक्रमितको बैशाखदेखि हालसम्म मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।





