तनहुँ/ व्यास नगरपालिका८, पुलिमराङ गाउँको सिरानमा शहीद पार्क बन्दैछ । पार्कको स्मारकमा शहीद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् ।
यी सबै शहिद पुलिमराङको माटोले जन्माएको हो । जो राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर शहादत प्राप्त गरेका थिए ।१ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गरे ।
राणा शासनको दमनविरुद्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा होमिएका जोशिलो पुलिमराङको ठिटोको रगतले बन्दीपुरे भूमि पोतियो । र,क्रान्तिमा होमिएको एउटा छोरापुलिमराङले गुमाउनुप¥यो । धर्मध्वजहरुले चाहेको जस्तै राणा शासन त त्यही वर्ष हट्यो र प्रजातन्त्र स्थापना पनि भयो देशमा ।|
फेरि२०१७ सालमा निर्दलीय पञ्चायती व्यवस्था लागू भयो। धर्मध्वजले देखेको सपना अधुरै हुने देखियो । र, धर्मध्वज गुमाएका माटो चुपचाप बस्न चाहेन ।देशको विकास र परिवर्तनका खातिर यहाँका युवाहरुमा क्रान्तिको ज्वाला झनै दन्कियो । निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको क्रान्तिमा लाग्न थाले ।
२०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो । त्यो लडाइँमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो । २०१८ सालमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले कोत्रेमा शहादात प्राप्त गरे । शमशेरबहादुर गुरुङ भरतपुरमा र भरत गुरुङ पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पुलिमराङ गाउँका ६ जना शहिद बने ।
व्यवस्था परिर्वतनकोलडाइँमा होमिएर ६ जना शहिद भएपनि पुलिमराङवासीले चाहेको जस्तो गाउँ विकास अझै भएको छैन। राजनीतिक खिचातानीले देशका लागि कुरबानी दिएका शहीदहरुको बलिदानीको उपेक्षा भएको बताउँछन् गाउँले । न राज्यले पुलिमराङलाई सम्झेको छ, न पार्टीले नै । राज्य र पार्टी दुवैको उपेक्षामा छ, शहीद गाउँ पुलिमराङ ।
गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुदा गुल्जार गाउँ रित्तिएको छ । बुढापाकाले मात्र घर रुँघेर बसेका छन् । बसाइँसराइले युवा पुस्ता गाउँमा देख्न मुस्किल हुन्छ । विद्यालयमा विद्यार्थी बर्सेनि घटेर कुनै दिन बन्द नहोला भन्न सकिने अवस्था छैन ।
‘एउटै गाउँका छ जना शहीदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको त मूल फुटाउनुपर्ने थियो,’पुलिमराङवासीको अपेक्षा थियो । तर, त्यो अपेक्षा दशकौंसम्म पनि पूरा भएन ।राज्यसत्ता र पार्टीले पुलिमराङलाई नदेखेको बताउँछन्, स्थानीय टेकबहादुर गुरुङ । ‘गाउँमा विकास गर्नलाई नेताजीहरुले कुरा बुझेनन् । आज सबै हानालुछमा व्यस्त छन् । राम्रो भन्ने छैन, हाम्रो भन्ने छ । यदि सबैले चाहेको भए यो गाउँमा नहुने कुरा के थियो र ?’ भन्छन्, ‘शहीद परिवारले र गाउँले केही त पाओस् न ।’
शहीद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उनको बुझाइछ । राज्यले शहीद गाउँको अपहेलना गरेको हो त ? टेकबहादुरको जवाफ छ, ‘अहिलेसम्म त अपहेलना नै गरेको हो । शहीद स्मारक बनाउन समेत धेरैदुख गर्नुप¥यो हामीले । अरु कुरा त के गर्ने !’
टेकबहादुरका अनुसार शहीद पार्क बनाउनस्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदापहल गरेका थिए । २९ चैत २०५१ मा पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएको बेला कोइरालाको तदारुकतामासमिति बनेको थियो । ‘समितिमा कोही कहाँका कोही कहाँका मान्छे राखियो । भागबण्डामा बैठक समेत बस्न नसक्ने गरेर मान्छे राखियो । बैठक त बस्न नसक्ने समितिले कसरी पार्क बनाउथ्यो र?’ उनले भने ।
२०६६ सालमा बल्ल गाउँमा शहीद स्मारक बनाएर ६ जना शहिदको अर्धकदको सालिक ठडियो । ती शालिकको झन्डै एक दशकसम्म त अनावरण नै भएन् । अनवारण मात्रै नभएको होइन, त्यो अवधिमा शहिदका शालिकले ओत समेत पाएनन् । २०७५ सालमा शहीद दिवसको दिन शालिक अनावरण गरिएको हो । अनावरणसँगै शहिद स्मारक भवनले पूर्णता पनि पाएको छ ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको शहीद पार्कलाई आकर्षक बनाउन ८ करोड ६७ लाख रुपैयाँको बृहत गुरुयोजना तयार पारेको शहीद स्मारक पार्क संरक्षण तथा निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । गुरुयोजना अनुसार काम गर्नलाई बजेटको अभाव भएको उनले बताए ।
‘व्यास नगरपालिकाले बर्सेनि १० देखि २५ लाख रुपैयाँसम्म बजेट दिएको छ । तर त्यो रकम पर्याप्त हुँदैन,’ उनले भने,‘पर्खाल लगाउने, जग्गा सम्याउने, ट्रष्ट भवन र शौचालय बनाउने काम भइरहेको छ ।’
संघीय सरकारले चालु आर्थिक बर्षमा तीन करोड रुपैयाँ बजेट दिने प्रतिवद्धता जनाएको गुरुङले उल्लेख गरे । ‘यो बजेट आयो भने गुरुयोजना अनुुसार काम गर्न शुरुआत हुन्छ होला,’ उनले भने ।
०००
‘सुन हे साथी अमर धर्मध्वजको कहानी
देशका लागि कुर्वानी भयो कलिलो जवानी
जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा ….’
स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी कविताका हरफले भनेजस्तै धर्मध्वजहरुको कहानी केवल कहानीमै सिमित बनेको छ । धर्मध्वजहरुको वलिदानीलाई सार्थक बनाउन जुट्नुपर्नेहरु सत्ताको मातमा लिप्त भएका छन् । परिवर्तनको नारा बिर्सिएका छन् ।
‘नेताहरु स्वार्थी भइदिए । यहाँ कुनै कार्यक्रममा भयो भने आएर शहीदहरुको नाम जप्छन् । यहाँबाट गएपछि फर्केर आउँदैनन् । टुलुक्क हेर्दैनन्,’ शहीद परिवारका सदस्य भुपालजंग गुरुङ भन्छन्, ‘चुनाव आएपछि मात्र शहीदहरुलाई सम्झिँदै नेताहरुले ‘इमोस्लनल ब्ल्याकमेल’ गर्ने गर्छन् ।’
१६ माघ अर्थात शहिद दिवसको दिन मात्रै राज्यपक्ष पुलिमराङ पुगेर शहिदको शालिकमा माल्यार्पण गर्ने र उनीहरुको योगदानलाई स्मरण गर्ने काम हुन्छ । वर्षमा एक दिन मात्र शहीदको योगदानलाई स्मरण गरेर राज्य पन्छिन् नमिल्ने शहीद धर्म आधारभूत विद्यालयका प्रधानाध्यापक खड्ग गुरुङले बताए ।
‘परिवर्तनका निम्ति आफ्नो ज्यानको आहुति दिएका उहाँहरुलाई सदैभर सम्झने र सम्मान गर्नुपर्ने हो,’ गुरुङ भन्छन्,‘तर, माघ १६ गते मात्रै सम्झने भइरहेको छ । अरु दिनमा वास्ता गरिँदैन।’ शहीद गाउँ भएर पनि ओझेलमा परेको उनको दुखेसो छ ।





