शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

‘शक्ति आर्जन’ अभियानमा वरिष्ठ नेता रामचन्द्र !

‘शक्ति आर्जन’ अभियानमा वरिष्ठ नेता रामचन्द्र !


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७८, आइतबार

पोखरा/ १४औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित गोरखाकी कमला पन्तलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको ‘टिकट’ दियो । सत्ता गठबन्धनबाट टिकट पाउनु भनेको सोझै राष्ट्रिय सभा सदस्य बन्नु नै थियो । पन्त राष्ट्रिय सभा सदस्य भइसकेकी छन् । वर्तमान सभापति शेरबहादुर देउवा इतर प्यानलबाट चुनाव लडेकी पन्तलाई ‘टिकट’ दिलाउनुमा वरिष्ठ नेता रामचन्द्र पौडेलको हात थियो ।

नेपाली कांग्रेसको सभापतिको दौडबाट अश्रुपूर्ण बहिर्गमनपछि अस्ताउँदो उपक्रममा रहेका पौडेलले पन्तलाई ‘टिकट’ दिलाएर आफू अझै शक्तिमा रहेको सन्देश प्रवाह गरे । रामचन्द्र पौडेलसँग यतिबेला वरिष्ठको ‘फुर्को’,केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्य पदमात्रै बाँकी छ । त्यसो त उनी, गएको कात्तिकमा सत्ता साझेदार दलहरुले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयोजन समितिका संयोजक पनि हुन् । तर, त्यो समितिको भूमिका यतिबेला खुम्चिएको छ ।

सक्रिय राजनीति र भाग खोज्ने अभियानमा रहेका रामचन्द्रको पुरानो समूह छिन्नभिन्न भइसकेको छ । बरु, १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवालाई अप्रत्यक्ष सघाएका पौडेल सभापतिकै ‘निगाह’मा पाउने नेतामा दरिन पुगे्का छन् । कम्तिम पनि गण्डकीमा उनी आफ्नो प्रवाह कामयै राख्ने सुरमा देखिएका छन् । गण्डकी कांग्रेसमा हिजो रामचन्द्र समूहमा रहेका व्यक्तिहरुको उपस्थिति कमजोर छ । तर, गण्डकी सभापतिमा निर्वाचित शुक्रराज शर्मा भने अहिले पनि रामचन्द्रसँगै छन् । रामचन्द्रले नै सभापतिको दौडमा रहेका अन्यलाई पाखा लगाएर शुक्रराजलाई टिकट दिलाएका थिए । एकातिर सभापति देउवासँग नजिकको सम्बन्ध र अर्कोतिर आफूलाई सभापति बनाएको गुन ! गुनको भार तिर्न शुक्रराजले प्रदेश कार्यालय उद्घाटनको प्रमुख अतिथि नै रामचन्द्रलाई बनाएका छन् ।
कांग्रेस गण्डकी प्रदेशको कार्यालय आइतबार उद्घाटन हुँदैछ । भाडामा लिइएको सो कार्यालय उद्घाटनमा सभापति शुक्रराजले उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार,गोपलामान श्रेष्ठ,डा.शशांक कोइरालासहितका नेताहरुलाई बोलाएका छन् तर केन्द्रमा रामचन्द्रलाई राखेका छन् । ‘हामीले हाम्रो परिवारका सदस्य सबैलाई निमन्त्रणा गरेका छौँ । प्रदेशको तर्फबाट केन्द्रमा नेतृत्व गर्नुभएका सम्पूर्ण नेतागणहरुलाई पनि आमन्त्रण गरेका छौँ, सबैजनाको उपस्थिति यहाँ रहनेछ’, उनले शनिबार पत्रकार सम्मेलनमा भने,‘हाम्रो परिवार ठूलो भएकाले यसलाई विशाल तरिकाले गर्नुपर्ने थियो । तर, कोरोना महामारीका परिस्थितिले हामीले त्यसो गर्न सकैनौँ ।’

शर्मा इतरकाले चाहिँ औपचारिकताको लागि सबैलाई निम्त्याए पनि रामचन्द्र र डा. शशांकसँगको निकटतालाई विशेष महत्व दिन खोजेको रुपमा यो कार्यक्रमलाई बुझेका छन् ।
‘कार्यालय उद्घाटन उपसभापति वा अन्य पदाधिकारीबाट गराएको भए पनि हुन्थ्यो तर शुक्रराज दाइले रामचन्द्र दाईलाई नै फोरम दिन खोज्नुभयो’,कास्की कांग्रेसका एक पदाधिकारीले भने,‘रामचन्द्र दाईलाई सक्रिय बनाउनु राम्रो हो तर शेखर समूहलाई पाखा लगाउने र टिकट बाँड्ने भान्छे चाहिँ बनाउनु भएन भन्ने हो ।’ उनले रामचन्द्रलाई बढी भाउ दिँदा शेखर कोइराला समूहबाट पदाधिकारी बनेकाहरुलाई अवमूल्यन गर्न नहुनेतर्फ सचेत हुनुपर्नेमा पनि जोड दिए ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चाहिँ कार्यालय खोलेर प्रदेश संरचना बलियो बनाउने अभियान थालिएको बताए । ११ जिल्लामा एकरुपताका साथ कांग्रेसको नीति नियम, कानून, विद्यमान परिस्थिति र परम्पराअन्तर्गत पार्टी संचालनका लागि कार्यालयको स्थापना गरिएको उनको भनाइ छ । उद्घाटन कार्यक्रमलाई उनले आउँदो निर्वाचन तयारीसमेत भएको बताए । उनले प्रदेशमा कांग्रेसलाई बलियो बनाउँदै आगामी निर्वाचनमा शक्तिशाली पार्टीको रुपमा चिनाउने जिम्मा प्रदेश कार्यसमितिको काँधमा आएको जिकिर पनि गरे ।
उनले पहिला कास्की जिल्लाको पार्टी कार्यालय रहेको चिप्लेढुङ्गामा राख्ने योजना रहेपनि पछि छुट्टै हुनुपर्छ भन्ने सोचले नै नयाँ स्थानमा राखिएको सुनाए । ‘हाम्रो विवाद केही पनि छैन् ।प्रदेशको कार्यालय नभएको हुनाले त्यहीँ राख्नपाए हुन्थ्यो भन्ने मात्रै थियो, अन्यथा केही छैन’, उनले भने,‘हामीले यहाँ पनि २ वर्षका लागि मात्रै सम्झौता गरेका हौँ । यो कार्यकालमा नै प्रदेशको कार्यालयलाई स्थायित्व दिनेछौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->