‘स्टोन भिलेज’ अर्थात ढुंगेनी गाउँ उपनामले तमागी गाउँलाई पर्यटकमाझ ब्रान्डिङ गर्न सकिन्छ । गुरुङ संस्कृति, जीवनशैली र रहनसहन झल्काउने घरहरु बनाएर हेरिटेज टुरिजम सुरुवात गर्न सकिन्छ ।
ढुंगाले छाएको चिटिक्क परेको घर । घरको धुरीमाथि फर्फराइरहेछ लुङ्दार (झण्डा) । अनि पेटीमा घारका मौरीहरु भुन्भुनाइरहेका छन् । आगनको कुनामा लस्करै सझाएकाफूलका गमलाहरु । पिढीँको बार्दलीमा झुण्डाइएका छन् मौलिकता झल्काउने हस्तकलाका सामानहरु । चौडा आँगन, अनि आगनमा राखिएका छन् पाहुना बस्नलाई काठको मुढा अनि काठकै टेबल । उत्तरतिर खुलेको हिमाल अनि पूर्वतिर फेवा र पोखराको लोभलाग्दो दृश्यपान गर्दै ब्रेकफास्ट इन्जोय गर्दै छन्,पाहुनाहरु । यो तमागी होमस्टेको बिहानीपखको दृश्य थियो ।
साल २०७४ । त्यतिबेला आगनमा फूलहरु फुलेका थिएनन् । बरु बनमाराले अधिपत्य जमाएको थियो जताततै । घरका भित्ताहरु लेउ लागेर हरिया देखिन्थे । घरको दलिन मक्किएर घरै कुप्रो परेको थियो । दिउसै जंगली जनावरले आक्रमण गर्ने हो कि भन्ने भय हुन्थ्यो । मान्छेहरु दिउसै यो बाटो हिँड्न समेत डराउँथे, गाउँ पस्ने त परको कुरा । तर आँटिला खुसीमान र रसिना गुरुङको जोडीले यो घर मात्र हैन, सिंगो तमागी गाउँलाई ब्यूँताइदिए । आज तमागी फेरि जुर्मुराएर पुरानै लयमा फर्किन कस्सिएको छ । तमागीको अनुहारमा नयाँ चमक पोतिएको छ ।
तमागी । गुरुङ भाषामा ‘तमा क्यु’ नामले बोलाइन्छ । ‘तमा’ को अर्थ घोडा र ‘क्यु’ कोे अर्थ पानी । भनिन्छ, उहिले घोडा चढेर पानीको खोजीमा गुरुङहरु यस ठाउँसम्म आइपुगेका थिए रे ! लमजुङ, रेबान, आँटीघर हुँदै तमागीसँग आएर यहीँ बस्ती बसाले उनीहरुले । अनि रहन गयो तमा क्यु अर्थात तमागी गाउँ ।
विश्वयुद्धसँगै मौलाएको लाहुरे संस्कृतिबाट यो गाउँ अछुतो हुने त कुरै भएन । गल्लावालहरु घरघर पसे । जवान ठिटाहरुका छाती नापे अनि भर्ती गराउन नौतुनासम्म पु¥याए ।विश्वयुद्धमा नामी मिलिटरी क्रस उपाधि पाएका मेजर हिरालाल गुरुङ तमागी कै थिए ।लाहुर गएकाहरुमध्ये धेरै लाहुरे भए, कोही ब्रिटिस त कोही मलायको । बाँकी इन्डियन लाहुरेमा भर्ती भए ।युद्ध रोकियो, विश्व शान्ति छायो तर तमागीमा खुसी छाएन । त्यो चमक फर्किएन । गएकाहरु कति यु.के, हङकङ त कति सिंगापुरतिरै घर बसाले । बाँकी गाउँ छाडेर पोखरा र काठमाडौं झरे । शहरमै रमाए । शहरमै हराए । गाउँ बिर्सिए ।
गाउँ कुर्नेहरु बूढापाका, आइमाइ र केटाकेटी मात्र थिए । माओवादी द्धन्दकालको त्रासमा बाँकी गाउँ कुर्नेहरु पनि शहर पसे । कति परिवार बालबालिकाका शिक्षाका लागि शहर झरे । माओवादी र सरकारको शान्ति सम्झौता भयो, देशमा शान्ति फर्कियो तर तमागीबासीहरु गाउँ फर्केनन् । हराभरा गाउँ गुल्जार बन्यो । ३५ देखि ४० घरधुरी रहेको सिंगो तमागी एक्लो बन्यो ।
समय बित्दै गयो । वर्षहरु थपिदै गए । अनि झन् झन् बिरानो बन्दै गयो गाउँ । रित्तिएका आगनमा न खेल्ने केटाकेटी थिए न उफ्रिने बाख्राका पाठाहरु । आँगन वनमाराले साम्राज्य जमायो । ढुंगाले छापेका बाटाहरु लेउले ढाकिए । मकै र कोदो फल्ने गराहरुजंगल बने । नजिकै गाउँका मान्छेहरु दिउसै यो बाटो हिड्न डराउँथे ।
यही बाटो हुँदै हिड्थे रसिना र खुसीमान गुरुङ । उनीहरुको घर चाहिँ दमदमे गाउँ । रसिनाको माइत चाहिँ भदौरे देउराली । तमागीको बाटो माइत घर ओहोरदोहोर गर्दा ताका नै यस ठाउँले दुवैको मन तानिसकेको थियो । तमागी मै बस्न पाए, उनीहरु सोच्थेतर यति सजिलै अर्काको गाउँमा आइहाल्ने आँट पनि कहाँ थियो र दुवैको?
ठूलो परिवार थियो खुसीमानको । बा आमा, पाँच दाजुभाई र तीन बहिनीहरु । परिवारको जेठो भएको नाताले उनको काँधमा घरको सबै जिम्मेवारी थपिएको थियो । विहे गरेपछि उनी पैसा कमाउन विदेश हानिए । दश वर्ष साउदी बसे । अनि मलेसिया ७ वर्ष । उनलाई लाग्यो, १७ वर्ष अर्काको देशमा हाड छाला घोटेर जति पसिना बगाएर पैसा कमाए, त्यति नै दुःख र मिहिनेत गरे देशमै केही गर्न सकिन्छ । अनि उनी देश फर्के ।
यता रसिना गुरुङले बाल्यकालमा त्यति पढ्न पाइनन् तर उनी कम उमेरदेखि नै हठी र कडा स्वभावकी थिइन् । गाउँमै होमस्टे सञ्चालन गरेर पाहुना गुहार्न कसिनन् कि गाउँमै अर्गानिक खेतीपाती उत्पादन गरेर बजारसम्म बेच्न पुगिनन् । तर, पनि आलो उमेरको भन्दै परिवारकाले नै उनलाई साथ दिँदैनथे ।
गाउँमा राम्रो विद्यालय थिएन । छोराछोरी पढाउन भनेर गुरुङ दम्पती पोखरा झरे । छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गराए । रत्नचोकमा सानो चिया पसल चलाए । लगानी पनि धेरै भए पो व्यापार पनि ठूलो हुन्थ्यो, रसिना गुरुङ भन्छिन्, ‘चिया र खाजामात्र बेचेर जेनतेन छोराछोरीलाई पढाएँ । तर यतिले मात्र परिवार चल्नेवाला थिएन । ठूलै व्यापार गर्नलाई पर्याप्त लगानी पनि त थिएन हामीसँग ।’
पाँच वर्ष पोखरा बसेर उनीहरु भदौरे देउराली फर्के । माइती गाउँ फर्किनुको पनि कारण थियो, गाउँमा १२ कक्षासम्म पढाइ सुरु भएको थियो । पढाईमा अब्बल छोराछोरीले गाउँकै विद्यालयमा छात्रवृत्ति पनि पाए । जोडीले देउराली हुलाक घरमा होटल चलाए । चिया, खाजा र खाना बेच्थे । उति धेरै आम्दानी नभएपनि जेनतेन गुजारा चल्थ्यो । विद्यालय भ्याएर उच्च शिक्षाका लागि छोराछोरी शहर पठाउने बेला आयो तर गुरुङ दम्पती शहर पस्ने मनस्थितिमा थिएनन् । शहरसँग अघाइसकेका थिए उनीहरु । आफ्नै गाउँ फर्किने रहर पनि थिएन । अनि फु¥यो–तमागी पुग्ने योजना ।
तमागीले हामीलाई पहिले नै मोहनी लगाइसकेको थियो, खुसीमान गुरुङ सम्झन्छन्,‘हामी देउरालीदेखि दमदमे ओहोरदोहोर गर्दा नै तमागीले हाम्रो मन चोरिसकेको थियो । तमागीमा सबथोक थियो । बिहान आगनबाटै देखिने हिमश्रृंखलाको प्यानारोमिक भ्यु, फेवा ताल र पोखरा नियाल्दै एक कप चिया पिउँदै आनन्द लिन पाए, म कल्पना गर्दै हराउँथे । खेतीपाती उब्जनी मज्जाले हुन्थ्यो । गर्न सके पर्यटकहरु अडिने चिजहरु थिए यहाँ । स्वर्गको टुक्रा हैन तमागी, सिंगो स्वर्ग हो । तमागीमा सब थोक भएर पनि यी सबको महत्व बुझिदिने कोही थिएन । न यहाँबाट हिमाल हेरिदिने कोही थिए, न सुन्दरतामा हराइदिने कोही । न उर्भर भूमिमा पाखुरा चलाउने कोही थिए । हामीले धेरै ढिला गरिसक्यौं, लागेको थियो तर, पनि हामीलाई तमागीले डो¥याएर यहाँसम्म ल्याइपु¥यायो ।’
उनीहरु अहिले बस्दै आएका घरकाघरधनी हुन् रामकाजी गुरुङ । उनको परिवार गाउँ छाडेर शहर पसेको पनि वर्षौं भइसकेको थियो । गुरुङ जोडीले रामकाजीलाई अनुरोध बिसाए । आफ्नो घरमा बसिदिने कोही भेटेपछि उनीहरु खुसी नहुने कुरै भएन । तर बसिहाल्न लायकको पनि कहाँ थियो र घर ? यहाँ बस्नलाई पहिला पनि धेरै मानिसहरु नआएका हैनन्, रसिना गुरुङ भन्छिन्, ‘दिउसै तर्साउने मसानघाट भन्दा कम थिएन यो ठाउँ । आउने आँट कमै गर्थे । जो जो आए, उनीहरु पनि धेरै समय टिकेनन् यहाँ । आगन, पिढीँ र बाटो सफा गर्नै हामीलाई महिनौं लागेको थियो । घर लितपोत मात्र गरेनौं, रंगायौं । मक्किएका घरका दलिनहरु फे¥यौं । नजिकको जंगल परेको खेतहरु फाडेर खेतीपाती गर्न त १ वर्ष नै लाग्यो ।’
गुरुङ दम्पतीले हार खाएनन् । अहोरात्र खटिरहे, गुल्जार बनेको तमागी ब्युताउन ।आफू बस्ने घरमात्र हैन, बाटाघाटा, कुवा अनि गोरेटोहरु सफा गरे । बनमारा मासेर वरपर फूलहरु रोपे। अनि घरको पेटीमा फूलमा रमाउने मौरीका लागिघारहरु बनाइदिए । झाडी फाँडेर तरकारी र फलफूल खेती गरे । बिहान बिहान तमागी गाउँमा कुखुराको भाले बास्न थाल्यो । गाउँ उज्यालियो ।गोठमा भैसीँ, गाई र बाख्राहरु भरिँदै गए । अनि सँगै भरिँदै गएदुवैमा खुसीका रंगहरु पनि ।
तमागीबासीहरु पूजाआजा र चाडपर्वमा गाउँ आउथे । पहिला त आफ्नै गाउँ आउँदासमेत ओत लाग्ने ठाउँसम्म हुन्थेन । अब खाना बस्ने ठाउँ पाउँदा उनीहरु पनि खुसी थिए । विस्तारै उनीहरुसँगै आउने विदेशी पाहुनाहरु पनि यहीँ बस्थ आउँथे । गुरुङ दम्पतीले घरको रंगरोगन र सफासुग्घर बढाए । नजिकैको अर्को घरमा पाहुनालाई छुट्टै सुत्ने चिटिक्क कोठाहरु व्यवस्था गरे । ट्वाइलेट र बाथरुम छुट्टै बनाइदिए । अर्गानिक खान्की र आतिथ्यतामा पाहुनाहरु हुरुक्कै हुन्थे । विस्तारै नेपाली पाहुनाहरु पनि तमागी आउन थाले । यहीँ बस्ने, खाने र रमाउने गर्न थाले । अनि सुरु भयो तमागी होमस्टे । होमस्टे आधिकारिक रुपमा दर्ता गरेका छैनन् उनीहरुले तर पनि होमस्टेमा हुनुपर्ने हर स्वाद यहाँ भेटिन्छन् ।
कति पञ्चासे घुम्न आएका विदेशीहरु यही बाटो हिँड्दै आउँथे । कति बाटो बिराएकाहरु यहीँ रात कटाउँथे । तमागीले यति लोभ्याउथ्यो कि उनीहरुलाई, एक रात हैन हप्तौं तमागीको सेरोफेरोमा हराउँथे । अर्को साल फर्केर आउँछु भनेर गएकाहरु अर्को हप्ता नै तमागीको मायाले उनीहरुलाई तमागीसम्मडोहो¥याउँथ्यो। कति त कोसेली र उपहार नै बोकेर आउँथे ।
पाहुनालाई आउने बित्तिकै मह पानीले स्वागत गर्छन् । दुध÷चियासँग कोदाको रोटी वा भुटेको मकै भटमास पाहुनालाई खाजा स्वरुप टक्राउँछन् । बेलुकाको खानाको सेट पनि पूरै अर्गानिक ः बेसीको धानको चामल, सिमीको दाल, सिताके च्याउको तरकारी र बारीकै साग । अंगुर, आरु वा कोदाको रक्सीसमेत पाहुनालाई चखाउँछन् । रातभर मादल र खैंजडी बजाएर पाहुनाहरु क्याम्प फायर गरेर नाच्छन् । अनि अबेर रात तमागीसँगै निदाउँछन् ।
बिहान ब्रेकफास्ट खाएर कति पाहुनाहरु पञ्चासेतिर उक्लन्छन् त कति पैदलमा भदौरे देउराली हुँदै पोखरा झर्छन् । तमागीमै तमागी भिलेज म्युजियम सञ्चालनमा आएको छ । विगतको तमागी नियाल्न म्युजियम पस्न छुटाउनै हुँदैन । गाउँबाट एक घण्टा माथि उक्लिए बराह मन्दिर पुगिन्छ । त्यहाँबाट देखिने दृश्य झन् विशेष खालको छ ।
तमागी सम्भावना नै सम्भावना बोकेको गाउँ हो । ‘स्टोन भिलेज’ अर्थात ढुंगेनी गाउँ उपनामले यस गाउँलाई पर्यटकमाझ ब्रान्डिङ गर्न सकिन्छ । गुरुङ संस्कृति, जीवनशैली र रहनसहन झल्काउने घरहरु बनाएर हेरिटेज टुरिजम सुरुवात गर्न सकिन्छ ।हिमाल, ताल अनि शहर नियाल्दै कला, संगीत र साहित्यका सर्जकहरुका लागि तमागी उत्कृष्ट स्पट बन्न सक्छ । तमागी वरपरका वनजंगलहरु जैविक विविधतामा धनी छ । विभिन्न जीवजन्तु र वनस्पति अध्ययनका लागि यो क्षेत्र प्रयोगशाला नै बन्न सक्छ ।
अहिले गुरुङ दम्पतीलाई पछ्याउँदै तमागीबासीहरु आफ्नो थातथलो ब्युताउन जुर्मुराएका छन् । पुराना घरहरुका पूर्नः निमार्ण कार्य सुरु गरिसकेका छन् ।कति घरमा कुरुवा राखेर घरको रेखदेखको जिम्मा दिएका छन् । कतै फूल बगैँचा बनाउन कस्सिएका छन् त कति इको रिसोर्ट बनाउन लगानी गर्दै छन् । डाँडामा पिक्निक स्पट र भ्यु पोइन्टहरु बन्दै छन् । अर्को अर्थमा तमागी जुर्मुराइरहेको छ ।
यता गुरुङ दम्पती तमागीमा रमाइरहेका छन् । खेतीपाती, गाइवस्तु पालनसँगै दिगो होमस्टे प्रवद्र्धन गर्न कस्सिएका छन् । सुखदुख गरेर तीन छोराछोरीलाई शहर पढाएका छन्, यत गाउँमा बुढाबुढी आनन्दले आफ्नै पौरखमा रमाएका छन् ।खेतबारीको अर्गानिक खान्की चखाउँदै पाहुनालाई तमागी आमन्त्रण गर्न आतुर छन् उनीहरु । यति लामो समय तमागीकै काखमा रमाएका उनीहरु तमागी आफ्नै ठान्छन् । तमागीबासीहरुले गाउँ सम्झिएर पुरानो तमागीमै फर्किए, गाउँ कति हराभरा हुन्थ्यो,उनीहरुको मात्र चाहना यति छ । अरुले उनीहरुको त्याग, समर्पण र तमागीप्रतिको गुण सम्झिए÷नसम्झिए पनि जरुर तमागीको माटोले सम्झिने छ । यहाँको खोलानाला, वनपाखा अनि भञ्ज्याङ देउरालीले जरुर उनीहरुलाई सम्झनेछन् । अनि गुन्गुनाइरहेका छन्–उनीहरुका संघर्षका कथाहरु ।





