चट्ट मिलेका सिँढीहरु, थकान मार्न ठाउँठाउँमा बिसौनीहरु अनि खाना बस्नका लागि सुविधासम्पन्न टि हाउसहरु, आजको दिनमा सब थोक छ– मर्दी पदमार्गमा । तर, यी सब एकै दिन वा एकै रातमा आएका परिवर्तनहरु भने हैनन् । कुनै समय भेंडा, गाईभैँसीको खर्क रहेको यस क्षेत्र कसरी पर्यटकहरुको हटस्पट बन्यो भन्ने बुझ्नलाई विगतमा फर्कनुपर्ने हुन्छ ।
स्थानीय रैथानेहरुसँग मर्दी चर्चित हुनुको कथन छ । सन् १९५६ताका एक स्वीस नागरिकले मर्दी पदयात्रा गरेका थिए । उनले खिचेको एउटा फोटोले सारा विश्वको ध्यान खिच्यो । माछापुच्छ«ेको अगाडि ओझेलमा परेको मर्दी हिमालले पर्यटकलाई यहाँसम्म डोहो¥यायो । त्यसपछि सन् १९८० देखि विदेशीहरु क्याम्पिङ ट्रेकका लागि मर्दी ओइरिन थाले । आज मर्दीको सुन्दरतामा हराउन बाँकी विश्वका कमै देशका पर्यटकहरु होलान् !
मर्दी काखमा बर्खा लागेसँगै सिदिङ, ल्वाङ गाउँका स्थानीयहरु भेंडा, गाईभैँसी लिएर खर्क उक्लन्थे । वर्खाभरि माथि बस्थे अनि जाडो पलाउनु अगावै तल गाउँ झर्थे । क्याम्पिङमा आएका पर्यटकहरु गोठालाहरुसँग कोक, पानी र चकलेटबारे सोध्थे । गोठमा के को चकलेट पाइनु ? के को कोक राख्नु ? विस्तारै पर्यटकहरु बाक्लिन थालेपछि भने यो माग झन् बढ्दै गयो । गोठ राख्नेमध्ये पुराना एक थिए –सुदीप गौतमका बुबा ।
सुदीप सिदिङ घरबाट दुई घण्टा पर सैंतीघट्टामा पढ्थे । कहिले छुट्टिमा त कहिले पढाई हापेरै उनी डोकाभरि सामान बोकेर बासँगै मर्दी उक्लन्थे । उतिबेला सडकले गाउँसम्म छोएको थिएन, हेम्जाबाटै हिड्नुपथ्र्यो । उनी सम्झन्छन्, ‘कोक, बियर, स्निकर, चुरोट आदि सामान बोकेर माथि उक्लँदा ज्यान पसिनाले निथु्रक्क रुझ्थ्यो । हामी ठाउँठाउँमा थकान मार्दै अबेर साँझ गोठसम्म आइपुग्थ्यौं । केही दिन लगाएर सामानहरु बेच्थ्यौं । अनि बिक्री नभएका बाँकी सामानहरु खाल्डो खनेर लुकाएर घर फर्कन्थ्यौं ।’
स्कुल सिध्याएर उनी पीएनमा शिक्षा संकायमा भर्ना भए । अनि बुने स्विट्जरल्यान्ड गएर हस्पिटालिटी म्यानेजमेन्ट पढ्ने सपना । कहिल्यै परीक्षामा दोस्रो नभएका उनी रिजल्टमा फेल भए। २०६२ साल मंसिर महिनामा फर्कंदै उनी भन्छन्, ‘परीक्षाफल बिग्रिएपछि मन भुलाउन म गाउँकै एकजना आफन्तलाई लिएर मर्दी उक्लिएँ । छ्याङ्ङ खुलेको आकाश अनि हिमाल । मर्दीको सुन्दरतामा म त हराइगएँ । लाग्यो, अब मर्दीकै काखमा केही फरक गर्नुपर्छ । बाले गोठ बनाउने ठाउँलाई मैले सम्याउन थालेँ । अनि त्यसैमा आजको टि हाउसको जग बसालँे ।’
यता दश दिनपछि रिजल्ट सुध्रेर पास भएको खबर आयो । तर, उनले आफ्नो निर्णय कहिल्यै सुधारेनन् । उनले पछि फर्केर हेरेनन् र आजको दिनसम्म उनले पछि फर्केर हेर्नु परेको छैन ।१६ सालदेखि आजको दिनसम्म उनी त मर्दी काखमै रमाइरहेका छन् । हराइरहेका छन् प्रकृतिको साथमा ।
मर्दी हाइ क्याम्पमा टि हाउस सञ्चालन गर्ने विचार अरुलाई सुनाउँदा उनी हाँसोका पात्र बनेका थिए । उनलाई पत्याउने कसले ? पत्याउनु पनि कसरी ? के आधारमा विश्वास गर्नु ? त्यस्तो अनकन्टार खर्कमा कहाँ पर्यटकहरु होटलमा बस्ने गरी आउँछन् र ? सबै उनको कुरामा असहमति त जनाउँथे जनाउँथे, सँगै उनलाई हतोत्साहित पनि बनाउँथे । उनलाई थाहा थियो, क्याम्पिङ ट्रेकभन्दा टि हाउस ट्रेकको भविष्यउज्ज्वल छ । त्यसैले टि हाउस बनाउन आँटिहाले ।
आँटे के हुँदैन र ?बुबाले मलेसियाबाट ल्याएको चवालिस हजार थियो ।बाँकी आफन्तसँग ऋण काढे । चौध महिनामा ८ कोठे टि हाउस नै तयार भयो । त्यतिबेलाको कुल लागत थियो २९ लाख ।त्यत्रो पैसा अनकन्टार ठाउँमा बेकारमा खन्याएको भन्दै उनलाई धेरैले नहकारेका हैनन् तर उनले ती यावत् कुराहरुलाई बेवास्ता गररे अघि लागिरहे । आम मानिस कुँद्ने बाटोभन्दा पृथक बाटोमा हिड्दायात्रा कठीन हुन्छ, तर ढिलो चाँडो गन्तव्य अवश्य पुगिन्छ भन्ने उनलाई थाहा थियो ।
पर्यटक पोखराबाटहाइ क्याम्प एकै दिनमा पुग्न सम्भव नै थिएन । बीच बाटोमा बास बस्नुपथ्र्यो । त्यसैले तिनताका फरेष्ट क्याम्पमा रहेका तीन गोठहरु र लो क्याम्पमा रहेका दुई गोठलाई दुई कोठे टि हाउस बनाउन उनले सल्लाह दिए । सुरुमा त उनीहरुले पनि आनाकानी गर्दै नकारेका थिए तर विस्तारै पर्यटकहरुको चहलपहल बाक्लिन थालेपछि उनीहरु पनि हौसिए । अनि विस्तारै पर्यटकहरु बढेसँगै फरेष्ट क्याम्प, लो क्याम्प र हाइ क्याम्पमा टि हाउसहरु थपिदै गए ।
न कसैले मर्दी हिमाल चिनेका थिए, न कोही माथि उक्लेका नै थिए । ऋण काढेर त्यत्रो संरचनाठडाएपछि पर्यटकहरु नै नआए के गर्ने ? अर्को चिन्ताले उनलाई दिनरात पिरोल्थ्यो तर उनी त्यति सजिलै हार्ने पक्षमा भने थिएनन् । अनि सुरु भयो– प्रचारप्रसारको भागदौड ।उनी आफैले मर्दी आसपासका राम्रा फोटाहरु खिचे । ब्रोसर र भिजिटिङ कार्ड रातारात आफ्नै पैसामा छपाए । ‘भोक निद्रा सबै त्यागेर म अहोरात्र लागि परेको थिएँ’,उनी विगतमा फर्कन्छन्, ‘त्यतिबेला टानको काठमाडौंमा एजिएम हुँदै थियो । रातारात म काठमाडौं पुगेर ब्रोसरहरु बाडेँ । प्रचारप्रसारका लागि हातहरु फैलाएँ । एकपटक मर्दी पदयात्रामा आइदिन सबैलाई अनुरोध पनि बिसाएँ । यता पोखरा र काठमाडौंका विभिन्न ट्रेकिङ कम्पनीहरुका अफिस अफिस चहारेर पर्यटकलाई मर्दी काखमा उकालेरै छाडँे ।’
अहिलेको जस्तो सुविधासम्पन्न सिढीँका बाटाहरु उतिबेला कहाँ थिए र ? जंगल फाँड्दै आफ्नो बाटो आफै बनाउँदै अघि बढ्नुपथ्र्यो ।बाटामा पर्याप्त सूचनाबोर्डहरु थिएनन् ।ठाउँठाउँमा अल्मलिने दोबाटामापर्यटकहरु हराउन सक्थे । त्यसैले उनी आफैरङका डिब्बा बोकेर ठाउँठाउँमा मार्किङ गर्दै हिड्थे । हरेक पल्ट सिदिङबाट माथि उक्लँदा बाटाका मेटिएकासंकेतहरु फेरि बनाएका क्षणहरु त्यति सजिलै मस्तिष्कबाट कहाँ मेटिन्छन् र उनको ?
समयसँगै विस्तारै मर्दी काखमा पर्यटकहरु ओइरिन थाले । उनले व्यवसाय थालनी गर्दा उनलाई निरुत्साहित गर्नेहरु नैव्यवसायका लागि पर्यटकभन्दा पहिलाउक्लिन थाले । ठाउँठाउँमा नयाँनयाँ संरचनाहरु थपिँदै गए । उनले पनि टि हाउस सञ्चालन अवैधानिक रुपमै बनाएका थिए । पछि एक्यापले उनीलगायत अन्य नौ व्यवसायीहरुका संरचनालाई आधिकारिक मान्यता दिए । सबैले वार्षिक रुपमा सम्बन्धित निकायलाई कर पनि तिरे ।
पहिला एक्यापको एकलौटी शासन थियो,यो क्षेत्रमा । स्थानीय संरचनालागू भएसँगै धेरै कठिनाइहरु आइलागे, उनी थप्छन्, ‘एक्यापको स्वामित्वमा रहँदा मर्दी पर्यटन क्षेत्र धेरै व्यवस्थित थियो । पछि स्थानीय सरकार र एक्यापबीच स्वामित्वको द्वन्द्व सृजना भयो । न एक्याप पछि हट्न चाहन्थ्यो, न स्थानीय सरकारले छाड्न सक्थ्यो । यहीँ पछिल्लो पाँच वर्षको अवधिमा धेरै अवैधानिक संरचनाहरु बनेका छन् र यो क्रमअझै रोकिएको छैन । सम्म परेको डाँडा देख्नासाथ रातारात सम्याएर टि हाउस बनाउने क्रम अझै जारी छ । तिनीहरुलाई नियम र कानूनको दायरामा ल्याउन कुनै ठोस कदम नै चालिएको छैन । यसले त कालान्तरमा मर्दी पर्यटनकै भविष्य धरासायी बन्ने निश्चित देखिन्छ ।’
हालको मितिसम्म मर्दी क्षेत्रमा टि हाउस र होटलको संख्या पचास नाघिसकेका छन् । सम्भवतः यति संख्या यस क्षेत्रको क्षमता वा थ्रेसहोल्डभन्दा बढी नै हो । संरचना खडा गर्नु पूर्व न कुनै वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ न प्रारम्भिकवातावरणीय परिक्षण नै । पर्यावरणीय अनुकूलता कसैको चासोको विषय बनेको छैन । व्यवसायीलाई होटल र टि हाउस सञ्चालन गरेर रातारात कमाउनमा मात्र ध्याउन्न छ ।यता सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन् ।
मर्दी पर्यटनलाई व्यवस्थित गर्नका लागि उनकै पहलमा गठन भएको थियो, मर्दी पर्यटन व्यवसाय तथा विकास समिति । उनी आफैँ संस्थापक अध्यक्ष हुन् संस्थाका । नौ वर्ष उनी एक्लैले संस्था हाँके । संस्था दर्ताको त्यो कठीन समयलाई उनी यसरी सम्झन्छन्, ‘संस्था दर्ताका लागि सात सदस्य समिति चाहिने। कसैले संस्थामा आवद्ध हुन रुचि नै देखाएनन् । समितिका लागि सदस्य नपुगेर घरघर पुगेर नागरिकता र फोटो बटुलें अनि जिल्लामा संस्था दर्ता गराएको थिएँ । आज यो संस्था सम्पूर्ण मर्दी पर्यटन व्यवसायीका लागि अभिभावक बनेकोमा गर्व लाग्छ ।’
एक्यापको म्याद गुज्रेको वर्ष दिन हुन आँट्यो । एक्याप र स्थानीय सरकारबीचको टकरावले मर्कामा होटल व्यवसायीहरु परेका छन् । अन्योलताका बीच पनि व्यवसायीहरु करोडौं लगानी मर्दी काखमा खनाएका छन् । उनीहरु सबै आधिकारिक रुपमा दर्ता भएर सरकार र सम्बन्धित निकायलाई कर तिर्न तम्तयार छन् । नियम कानूनको दायरामा रहेर व्यवसाय गर्न चाहँदा चाहँदै पनि सहज वातावरण बन्न सकेको छैन ।
एक्यापले एक वर्षअघि मर्दी क्षेत्रमा टि हाउस तथा होटल व्यवस्थापन सम्बन्धी कार्यविधि पनि तयार नपारेको हैन तर कार्यान्वयन हुन सकेन । हरेक ठाउँमा निश्चित मात्रामा होटलहरु संञ्चालन गराउने र छिट्टै होटलहरुलाई मर्ज गराएर अघि बढाउनु पर्ने जस्ता प्रस्तावहरु समेटिएका थिए । यसो गर्दा व्यवसायहरु बीच स्वच्छ प्रतिस्पर्धापनि हुने र प्रदान गर्ने सुविधाहरुको गुणस्तरमा शुद्धता कायम रहन सक्थ्यो तर यस कार्यविधिमा स्थानीय सरकारको फिडब्याक त्यति राम्रो रहेन । त्यसै टुङ्गियो ।
अव्यवस्थित रुपमा बनेका संरचना, कमजोर फोहोर व्यवस्थापन र जंगल फडानीले त्यहाँको पर्यायवरणमा त असर पु¥याउँछ नै, यसले सिंगो मर्दी पर्यटनलाई नै धरासयी बनाएको छ । यस विषयलाई छिट्टै निचोड निकाल्न नितान्त आवश्यक देखिन्छ । जति संरचनाहरु बनिसके, त्यसको व्यवस्थापनलाई चुस्त बनाई नयाँ संरचना निमार्णमा रोक लगाइनुपर्छ । होटलहरुबाट वार्षिक रुपमा लाखौं राजस्व उठाउन सकिन्छ । जुन रकम मर्दी पदमार्गको स्तरोन्नति, रेस्कयु र उद्धार ट्रस्ट एवं पर्यटकहरुलाई स्कुलिङको लागि प्रयोग गर्न सकिन्छ ।
पदयात्राले मात्र अब नेपालको पर्यटन उभो लाग्न सक्दैन, उनलाई लाग्छ । मर्दी क्षेत्रमा ट्रेकिङमात्रा नभई अन्य टुरिजम प्रोडक्टहरु विविधिकरण गरिनु पर्नेमा उनको जोड छ ।त्यसमध्ये एक हो, मर्दी हिमाल आरोहण । मर्दी हिमाल आरोहण अन्य हिमाल आरोहणभन्दा सजिलो, सहज एवं सुलभ हुनेमा उनी बताउँछन् । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, माउन्टेन साइकलिङ, नोम्याडिक ट्रेक जस्ता नयाँ प्रोडक्टहरुले मर्दी पर्यटनमा नयाँ आयम थप्नेमा उनी विश्वस्त छन् ।
मर्दी पर्यटन क्षेत्रमा उनी केवल एक व्यक्ति मात्र हैनन्, अभिभावक हुन् । मर्दी पर्यटनको उत्थान, प्रवद्धन र दिगो विकासमा उनको योगदान सदैव अतुलनीय रहनेछ । उनीजस्ता उर्जाशील अहोरात्र खटिने युवाको जमातले नै मर्दी पर्यटनको दिगो भविष्य कोरिनेछ ।





