पोखरा/ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो । हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन । बरु पर्लका प्रशिक्षक मोहन पुन डराए । प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे । मोहनभन्दा पर्ल सुरो देखियो ।
पहिलो पटक प्याराग्लाइडिङमा कुकुर उँडाउन पाइलट हरि गिरी पनि डराएका थिए । तालिम प्राप्त कुकुरलाई प्याराग्लाइडिङमा उड्न र जमिनमा झर्ने तरिका सिकाए । पाइलट गिरीले १५ दिन पर्ललाई प्याराग्लाइडिङबारे अभ्यास गराए ।
निख्खर सेतो भुवाले ढाकिएको पर्ल जम्मा ७ महिनाका भए । १ महिनाको हुँदा पर्ललाई पोखराका रेष्टुरेण्ट व्यवसायी सन्तोष गुरुङले काठमाडौंबाट १ लाख १० हजारमा किनेका थिए । सानैदेखि कुकुरप्रेमी गुरुङसँग अहिले विभिन्न जातका १२ वटा कुकुर छन् ।
सन्तोषको कुकुर प्रेम यस्तो छ कि, पोखराका चोकचोकमा उनलाई सडक कुकुरले घेरा हाल्छन् । पुच्छर हल्लाएर स्वागत गर्छन् । सडक कुकुरको उपचार गरिदिने र खाना खुवाउँदै हिडेकाले सडक कुकुरले उनलाई चिनेको हो । उनीसँग रहेका कुकुरहरु मध्ये अरु भन्दा ठूलो पर्ल नै थियो । अरुले भन्दा छिटो छिटो पर्लले सिकिरहेको थियो ।
एकदिन सन्तोषले युट्युबमा कुकुरले प्याराग्लाइडिङ गरेको देखे । उनलाई पोखरामा पनि कुकुरलाई प्याराग्लाइडिङ गराउन मन लाग्यो । पर्ललाई तालिम गराएर प्याराग्लाइडिङ गराउने प्रस्ताव प्रशिक्षक मोहनलाई सुनाए ।
भारतीय सेनामा १७ बर्ष कुकुर प्रशिक्षक थिए, मोहन । कुकुरलाई तालिम दिएर लडाकु बनाउने उनको काम थियो । सैनिक तालिम पाएका कुकुरले विष्फोटक पदार्थ पत्ता लगाउने मात्र होइन, बिराएको बाटो सुँघेरै पत्ता लगाइदिएको उनको अनुभव छ ।
सेनाबाट अवकाश लिएर पोखरा फर्केपछि मोहनले कुकुर फार्म खोले । कुकुरलाई तालिम दिने, कुकुरको मद्धतबाट उद्धार लगायतका काम गरे । अहिले भने पोखराका विभिन्न ठाउँमा घरघरै पुगेर कुकर तालिम दिइरहेका छन् । उनका श्रीमती परिवारसँग हङकङ छिन् भने छोरा कलकत्तामा पढ्छन् । कुकुरसँग खेल्नकै लागि मोहन एक्लै पोखरा बस्छन् ।
‘आर्मीमा आदेश अनुसार मात्रै कुकुरलाई तालिम दिन पाइन्थ्यो, यहाँ जे मन लाग्यो त्यही सिकाउन पाइन्छ’, मोहनले भने, ‘मलाई एक्लै भएपनि यहीं बस्न ठीक लाग्यो, के गर्छस् भन्यो भने ‘डग कोच’ गर्छु भने भैगो ।’
पर्ललाई तालिम दिँदा बोकेर दौडिनेदेखि आफूसँगै दौडाउने, उठ्न, बस्न, खान, नमस्ते गर्नलगायत सिकाए । जे गर् भन्यो, त्यही मान्ने बनाए ।
मोहनले सडक कुकुरलाई समेत तालिम दिएर कुकुर पाल्न चाहने परिवारलाई दिने गरेका छन् । उनी अहिले दैनिक १३ घरमा कुकुरलाई तालिम दिन जान्छन् । जुनसुकै जात र उमेर समुहका कुकुरलाई तालिम दिन सकिने मोहनको भनाई छ ।
‘सानो उमेरका कुकुरलाई छिटो तालिम दिन सकिन्छ, ठूलो उमेरका र रिसाहा स्वभावका कुकुरलाई तालिम दिन धेरै समय लाग्छ’, उनले भने, जुनसुकै कुकुरलाई पनि तालिम दिएर भनेको मान्ने बनाउन सकिन्छ ।’
पर्लको परम्परा प्याराग्लाइडिङ जस्तो हावामा साहसिक खेल खेल्ने होइन । यो जाति विशेषगरी साइबेरियाको रैथाने रहेको गुरुङले बताए । उनका अनुसार साइबेरियामा हस्की जातको कुकुर रठ तान्न प्रयोग गरिन्छ । पर्लका आमा र बा भने थाइल्याण्ड बस्छन् ।
पर्ललाई प्याराग्लाइडिङसम्मको कोष दिँदा ३ महिना भन्दा बढी समय लागेको प्रशिक्षक मोहन बताउँछन् । प्याराग्लाइडिङ उँड्नुअघि भिरालोमा दौडिनेदेखि अवतरण गर्दा अपनाउनुपर्ने उपाय सिकाए । त्यसपछि पर्ल प्याराग्लाइडिङ गर्न तयार भए ।
पर्लको प्याराग्लाइडिङ सुरक्षित बनाउनु थियो । यसका लागि गुरुङले जर्मनबाट सुरक्षा सामाग्री मगाए । उक्त सामग्री लगाएर कुकुर प्याराग्लाइडिङमा बस्यो । पर्ललाई समाएर प्रशिक्षक मोहन बसे । मोहन र पर्ललाई एकैचोटी उडाएका थिए, पाइलट हरिले ।
प्रशिक्षक मोहनले यसअघि प्याराग्लाइडिङ गरेका रहेनछन् । पर्लले नै उनलाई प्याराग्लाइडिङको अवसर जुराइदियो । पर्ललाई तालिम दिँदा बढ्ता दुख पाएको मोहनको अनुभव छ । तालिममा देखाएको मायाले होला, मोहनसँग पर्ल नजिकिएका थिए । मोहनका अगाडी पर्लले जहिल्यै सुरक्षित ठान्थे । ‘कुकुरलाई तालिम दिनुअघि नै साथीजस्तै नजिकको व्यवहार गर्नुपर्छ,’ मोहनले भने, ‘कुकुरले सुरक्षित महशुष गराउनुपर्छ, तबमात्र कुकुरले भनेको मान्न थाल्छ ।’
सराङकोटबाट उँडेपछि प्याराग्लाइडिङ झन्झन् माथि गयो । आकाशबाटै हेमजा फाँट र फेवाताल नियाले । जति माथि लगे पनि कुकुर कत्ति पनि डराएन । हलचल नगरी चुपचाप बसिरह्यो । टाउको हल्लाएर यता उता हेरिरहे । त्यतिबेला पनि प्रशिक्षक मोहनले डरको अनुभूति गरेको बताए ।
‘मसँग पर्लले सुरक्षित महशुष ग¥यो, डर मान्ने वा आक्रामक व्यवहार देखिएन’, उनले भने, ‘बरु मलाई पो डर फिल भयो ।’
पर्ललाई प्याराग्लाइडिङ गराउने सल्लाह गर्दै डराएर टोक्ने, झम्टिने वा आत्तिएर चलमलाउने हो कि भन्ने डर पाइलट हरिले पालेका थिए । त्यही भएर प्याग्लाइडिङ तालिम दिँदा पर्ललाई दौडाउनेदेखि प्याराग्लाइडिङमा पर्ल बस्ने ठाउँमा बसाएर हावामा खेलाएका थिए । तालिम लिँदा नै शान्त पर्लले कुनै आक्रामक गतिविधि देखाएन, जे सिकायो, त्यही सिकेको हरिको अनुभव छ ।
पोखरामा ‘फ्लाइङ बुद्ध’ प्याराग्लाइडिङ कम्पनी चलाउँदै आएका हरिसँग १० बर्ष हावामा उँडेको अनुभव छ । पर्लसँग डराएकै कारण उनले प्रशिक्षक मोहनलाई पनि प्याराग्लाइडिङ गर्न लगाएका थिए । पर्ललाई प्याराग्लाइडिङ गराउन नेपाल हवाई खेलकुद संस्था (ना)सँग अनुमति लिएको पाइलट हरिको भनाई छ । यसअघि पोखरामा कुकुरले प्याराग्लाइडिङ नगरेको उनले बताए ।
माघ ७ गते पर्ललाई लिएर गुरुङ, पाइलट हरि र प्रशिक्षक मोहन सराङकोटतर्फ गए । विहान ११ बजेतिर पर्लले धर्ती छाड्यो । पर्ललाई प्याराग्लाइडिङ गराउँदै हरि ३२ मिनेट आकाशमै उडे । हावामा खेले । आकाशमै रोकिनेदेखि फनफनी घुमाइयो ।
सराङकोटमाथि १७ सय मिटर उचाइसम्म पुग्यो । पोखरा बजार हुँदै फेवाताल, विश्व शान्त स्तुपमाथि प्याराग्लाइडिङ पुग्यो । त्यतिबेला पनि पर्लले कुनै प्रतिक्रिया नदिएको हरिले बताए ।
खपौंदीमा फेवातालसँग जोडिएको चौरमा प्याराग्लाइडिङ ल्याण्ड गरियो । ल्याण्ड गर्दा यसअघि सिकाएको विधी अनुसार नै पर्ल मैदानमा ओर्लियो । प्याराग्लाइडिङ गर्दा लगाएको सेफ्टी फुकालेर पर्ल खुशीयाली मनाउन थालेको हरिले बताए ।
‘प्याराग्लाइडिङबाट झरेपछि पर्ल चौरमा उफ्रिन थाल्यो, यता उता दौडिएर फेरी हामीसँग खेल्न थाल्यो’, पाइलट हरिले भने, ‘पर्लले प्याराग्लाइडिङ सेलिब्रेसन ग¥यो, त्यो दृश्य अझै पनि मेरो मनमा आइराख्छ ।’
सबै तस्वीर सौजन्य– हरि गिरी र सन्तोष गुरुङ ।





