पोखरा/ रुसले युक्रेनमाथि शैन्य आक्रमण गरेपछि त्यहाँको अवस्था दयनीय बनेको छ । थुप्रै युक्रेनी नागरिक हताहत भएका छन् । विश्वका विभिन्न देशहरुले आक्रमण रोक्न गरेको आग्रहलाई रुसले अस्वीकार गरेको छ । रुस र युक्रेनबीचको द्वन्द्वले सिंगो विश्व प्रभावित भएको छ । सुन र इन्धनको मूल्य बढेको छ । युक्रेनमा रहेका नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको बताइएको छ तर त्यहाँ कति नेपाली रहेका छन् भन्ने स्पष्ट भएको छैन । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । बिहीबार नेपालमा सुनको मूल्य बढेको छ । आक्रमणको खबरसँगै बुधबार ९६ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य एक्कासी ९९ हजार रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि आकासिएको छ ।
युक्रेन नेपालको व्यापार साझेदार पनि हो । भन्सार विभागले आर्थिक वर्ष २०७७÷७८ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार युक्रेन नेपालले निकासी गर्ने प्रमुख १० वटा देशमध्ये छैटौं हो । सो आर्थिक वर्षमा युक्रेनमा नेपालले १७ अर्ब १८ करोडको सामान निकासी गरेको छ । नेपालले उनी गलैंचालगायतका सामान युक्रेन निर्यात गर्दै आएको छ । नेपालले निर्यातभन्दा युक्रेनबाट आयात गर्ने सामग्रीको सूची लामो छ । युक्रेनबाट नेपालले भटमास,सनफ्लावर र पाम तेलको कच्चा पदार्थ आयात गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा युक्रेनबाट १० अर्ब ३४ करोड ८७ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल आएको छ । गत आर्थिक वर्षमा १५ अर्ब ९३ करोड २० लाखको आयात भएको थियो । गत आर्थिक वर्ष २०७७्७८ मा १६ अर्ब ९३ करोड २० लाख ६ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल युक्रेनबाट नेपाल भित्रिएको थियो । नेपालका व्यवसायीहरुले तेस्रो मुलुकबाट सनफ्लावर,पाम र भटमास ल्याउँछन् र प्रशोधन गर्छन् । त्योमध्ये ठूलो परिणामको तेल भारत निर्यात हुन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ६० अर्ब ९४ करोड ३३ लाख ६७ हजार रुपैयाँको प्रशोधित भटमास, सनफ्लावर र पाम तेल भारतमा निर्यात भएको छ । युक्रेनमा तनाव हुँदा आयात रोकिने र नेपालमा खानेतेलको मूल्य बढ्ने सम्भावना बढेर गएको छ ।





