पोखरा\बलात्कार आरोपित नायक पल शाह (पूर्ण विक्रम शाह) प्रकरणमा नेपाल प्रहरीको पीडकमैत्री मनोदशा पटाक्षेप भएको छ । नाबालिग गायिकाले पटक पटक बलात्कारको उजुरी दिँदासमेत नलिनेदेखि आरोपितलाई पक्राउ गर्न नसक्नु र पीडितको संरक्षणमा समेत प्रहरीले बेवास्ता देखाइरहेको छ ।
कास्की घर भएकी पीडित परिवारले करिब एक महिनाअघि आफ्नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए । घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी नै लिएन । तनहुँ गएर उजुरी दिन सल्लाह दिएर फर्कायो ।
बलात्कार जस्तो जघन्य अपराधमा पीडितले शान्ति सुरक्षाका लागि खटिएका जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन् । पीडित परिवार न्याय खोज्न जहाँ सुरक्षित र न्याय पाउने ठान्छ, त्यहाँ जान सक्ने अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले बतउँछिन् ।
कास्की प्रहरीले उजुरी नलिँदा पीडित परिवार एक महिनासम्म प्रहरीसमक्ष जान सकेनन् । बलात्कार जस्तो जघन्य अपराधमा पीडकले थप पीडा दिन र बार्गेनिङ गर्ने समय पायो । कास्की प्रहरीले तनहुँ पठाएका पीडितका बारेमा सोधखोजसमेत गरेन ।
विभिन्न माध्यमबाट पीडितलाई झनै पीडा दिने खालका गतिविधि पीडकका तर्फबाट भयो । आरोपित पलले विभिन्न अडिओ सार्वजनिक गरे । सामाजिक सञ्जालमा पीडितलाई झनै पीडा दिने खालका गतिविधी बढाए ।
विभिन्न संचार माध्यम र सामाजिक संजालमा १७ बर्षका नाबालिगमाथि यौन सम्पर्क भएको र गर्भवती नभएकाले विवाहका लागि स्विकार गर्न आवश्यक नभएकोसम्म पलले भन्न भ्याए । प्रेममा यस्तो हुने तर्क दिए ।
नेपालको कानुनले भने यस्तो तर्कलाई गैरकानुनी मानेको छ । १८ बर्षभन्दा कम उमेरका नाबालिगलाई सहमति, प्रेम, विवाह लगायत कुनै पनि बहानामा राखिएको यौन सम्पर्क बलात्कार हुने भनिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले यसरी बलात्कार गर्नेलाई १० बर्षदेखि १२ बर्षसम्म कैद सँजायको व्यवस्था गरेको छ ।
कानुनले नै बलात्कार परिभाषित गरेको घटना सामाजिक सञ्जालमा भाइरल भइरहँदा पनि सरकारको ध्यान गएन । कानुनले बलात्कार ठानेको घटनाका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चर्चा चलिरह्यो । कानुन विपरित पीडितको नाम, थर, ठेगाना र फोटोसमेत सार्वजनिक गरिए ।
बलात्कार जस्तो जघन्य अपराधका विषयमा फोन रेकर्ड सार्वजनिकदेखि पक्षविपक्षमा संजाल तातिरहँदा प्रहरीले ध्यान दिन सकेन । जघन्य अपराधका घटनाका विषयमा चर्चा चुलिँदा उजुरी नै नआएपनि प्रहरीले छानविन गर्नुपथ्र्यो ।
गायिकासँग प्रेममा रहँदा सहमतिमा यौन सम्पर्क गरेको पलले फोन रेकर्डमा बताएका छन् । उनको यही अभिव्यक्तीका आधारमा पनि उनलाई प्रहरीले बलात्कार अभियोगमा प्रक्राउ गरेर अनुसन्धान अघि बढाउन सक्थ्यो ।
बलात्कारमा किटानीसहित लिखित उजुरी नलिएर फर्काएको प्रहरीले सामाजिक संजालमा भएको चर्चाकै आधारमा घटनाको छानविन गरेन । अपराध अनुसन्धान गर्ने कर्तव्यबाट प्रहरी विमुख भयो । पीडितले न्याय पाएनन् ।
कास्कीमा उजुरी दर्ता नभएपछि करिब १ महिनापछि पीडित परिवार तनहुँ प्रहरीमा उजुरी दिन पुगे । तनहुँ प्रहरीमा उजुरी दर्ता हुँदै गर्दा बलात्कार अभियुक्त पल भने काठमाडौंमा खुल्लमखुल्ला थिए । पीडित नाबालिगका विरुद्ध सामाजिक सञ्जालमा बोलिरहेका थिए ।
उजुरी दर्ता पश्चात प्रहरीले पलको खोजी बढायो । पल रातारात गायब भए । प्रहरीको आँखाबाट उनी यसरी गायब भए कि, सामाजिक सञ्जाल चलाइरहेका थिए, विभिन्न युट्युबमा अन्तवार्ता दिइरहेका थिए ।
सामाजिक सञ्जालमा छाइरहेका पललाई पक्राउ गर्न प्रहरीले खोजविन गरिरहेको देखाउन देशभरका सम्पूर्ण प्रहरी कार्यालयमा सर्कुलर गरेको बतायो । प्रहरीले विभिन्न टोली गठन गरेर उनको खोजी थालेको जनायो । नेपाल प्रहरीमा गम्भिर अपराध अनुसन्धानको जिम्मा पाउने केन्द्रिय अनुसन्धान ब्युरो समेत पलको खोजीमा लागिपरेको प्रचार प्रहरीले ग¥यो ।
बलात्कार उजुरी परेको ५ दिनसम्म प्रहरी पलको नजिकसम्म पुग्न सकेन । पल आँफै तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरे । उक्त घटनाले नेपाल प्रहरीको वास्तविक क्षमता देखाइदिएको प्यासीले बताइन् ।
एडभोकेसी फोरम गण्डकीका संयोजक समेत रहेकी उनले पल शाह प्रकरणमा नेपाल प्रहरीले पीडक प्रति नरम देखिएको बताइन् ।
‘उजुरी पर्दासम्म सम्पर्कमै भएको अभियुक्त फरार भएपछि पनि सामाजिक सञ्जाल चलाइराख्छ,’ उनले भनिन्, ‘प्रहरीले सम्पूर्ण शक्ति लगाउँदासमेत पक्रन नसकेको होइन, नचाहेको देखिन्छ ।’
कास्की प्रहरीले बलात्कार उजुरीका विषयमा जुन व्यवहार देखायो, नेपाल प्रहरीका केन्द्रिय कार्यालयले पनि उस्तै व्यवहार देखाएको उनको भनाई छ ।
कास्की प्रहरीले गायिका बलात्कारमा मात्र होइन, यसअघि अर्को मुद्धामा पनि राम्ररी अनुसन्धान नगर्दा बलात्कार पीडितलाई नै थुनामा पु¥याएको छ । लमजुङकी बलात्कार पीडित मस्र्याङ्दी (नाम परिवर्तन) आफ्नै कार्यालयमा बलात्कारको शिकार बनिन् । उक्त घटनामा जिल्ला अदालत कास्कीले पीडकलाई दोषी ठहर गरेर काराबार चलान गरिसकेको छ ।
बलात्कार पीडक पक्षले कार्यालयको आफ्नो टेबल घर्रामा सही गरेर राखेको खाली चेक भेटाए । त्यसैमा ५३ लाख रुपैयाँ भरेर चेक आफुले लिन भएको भन्दै पीडित मस्र्याङ्दी विरुद्ध चेक बाउन्सको मुद्धा लगाए ।
पीडकले बलात्कार मुद्धामा बयान फेरेर आफुलाई उन्मुक्ती दिन नमाने चेक बाउन्सको मुद्धा लगाइदिने धम्की दिएपछि पीडित मस्र्याङ्दी प्रहरीको शरणमा पुगेकी थिइन् । उनले बलात्कारको घटना भएपछि आफु कार्यालय जान नसकेको र कार्यालयमा राखेको चेक देखाएर धम्की आएको भन्दै चेक फिर्ता गराइदिन प्रहरीलाई उजुरी दिएकी थिइन् ।
मस्र्याङ्दीले दिएको उक्त उजुरी उपर प्रहरीले छानविनसम्म गरेन । अदालतले दोषी ठह¥याएका पीडकले बलात्कारको घटना हुँदा आफुले लिन भएको रकम गत असार ३० गते कार्यालयमा लिन बोलाएर आक्रमण गरेको दाबी गरेका छन् ।
पीडकले चेक बाउन्सको मुद्धामा उक्त दाबीसँग समेत मेल खाँदैन । चेक बाउन्स मुद्धामा पीडकले असार २९ गते चेक दिएको मिति राखेका छन् । रकम फिर्ताको चेक दिएको भोलिपल्ट कार्यालयमा पैसा लिन बोलाएर आक्रमण गरेको पीडकपक्षले मस्र्याङ्दी विरुद्ध दिएको चेक बाउन्स मुद्धामा उल्लेख छ । यसरी कास्की प्रहरीले अघिल्लो दिन चेक दिएको भए भोलिपल्ट कसरी कार्यालयमा रकम फिर्ता गरिदिन बोलाउँछ ? भनेर पीडकलाई प्रश्न समेत गरेन ।
कास्की प्रहरीले मस्र्याङ्दी विरुद्ध चेक बाउन्सको घटना छानविन गर्दा बलात्कार अभियोग जिल्ला अदालतबाट प्रमाणित भएको, पीडित पक्षले आप्mनो चेक कार्यालयबाट फिर्ता गराइ पाउँ भनेर दिएको निवेदन, पीडकले दाबी गरे अनुसार पैसा फिर्ता गर्न दिएको चेक र पैसा लिन बोलाएको मितिको समेत हेक्का राखेन ।
बलात्कार पीडित युवतीलाई उच्च अदालत कास्कीले धरौटी तिर्न नसकेपछि मस्र्याङ्दीलाई थुनामा पठाएको छ । ५० लाख रुपैया धरौटी बुझाउन भनिएपनि पीडित मस्र्याङ्दीका परिवारले धरौटी बुझाउन नसक्दा मस्र्याङ्दी जेल परेकी हुन् । पीडकले चेक बाउन्स मुद्धा लगाउँदा ५३ लाख रुपैया नगदै दिएको समेत दाबी गरेका छन् ।
पल शाह प्रकरणमा नेपाल प्रहरीले अर्को मौनता साँधेर पीडितलाई झन् पीडा दिएको छ । बलात्कारका पीडित नाबालिगका विरुद्ध प्रहरीले आफ्नै कार्यालय अगाडी नाराबाजी गर्न दिएको छ । सामाजिक सञ्जाल र कतिपय संचार माध्यममा पनि पीडितलाई नै पीडा दिने गरी अभिव्यक्तीहरु आइरहेका छन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलसँगै नायिकाको भूमिका खेलेकी पुजा शाह भने पल निर्दोष भएको फैसला गरिरहेकी छिन् । बलात्कार आरोपितका पक्षमा उनले दिएको अभिव्यक्तीले अनुसन्धान प्रभावित गर्ने र पीडितको संरक्षणको हक उल्लङ्घन गरेको छ ।
चलचित्र म यस्तो गीत गाउँछु २ को शुक्रबार भएको रिलिजका क्रममा पुजाले भनिन्, ‘पललाई कसैले केही गर्न सक्दैन, मेरो शत प्रतिशत विश्वास छ, आज नराम्रो मान्छेहरुले खेदो खनेको होला, पलका लागि पुजा शर्माको टिम जहिले पनि स्वागत गर्छ ।’
उनले केही दिनमै पल फर्केर आउने समेत विश्वास गरिन् । बलात्कार अभियोगका फरार अभियुक्त पल बिना उनले आफुलाई अपुरो महशुष गरेको बताइन् । बलात्कार अभियोगमा अनुसन्धानलाई सघाउनुका सट्टा पुजाले पल निर्दोष भएको भन्दै थपिन्, ‘मलाई केही डाउट नै छैन किनभने जहिले पनि सत्यले जितेको लाष्टमै हुन्छ, हिरोको इन्ट्री लाष्टमै हुन्छ ।’
पुजाले मात्र होइन, पलका पक्षमा रहेका केही व्यक्तीले सामाजिक सञ्जालमार्फत पललाई निर्दोष भएको दाबी गरिरहेका छन् । उनीहरुले बलात्कारका उजुरी दिएकी नाबालिग गायिकाको चरित्रमा प्रश्न उठाउँदै पीडितलाई झन् पीडा दिइरहेका छन् ।
सामाजिक संजालमा कतिपयले त छोरीलाई सार्वजनिक मञ्च वा अन्यत्र एक्लै गीत गाउँदै नाच्दै हिड्न दिन नहुने तर्क गरेका छन् । नाबालिग गायिकाको नाम र तस्वीरसमेत प्रयोग गरेर अझै पनि सामाजिक संजाल, युट्युब लगायतका सार्वजनिक स्थानमा पीडितको आलोचना गरिरहेका छन् ।
यस्ता आलोचना देशको कानुन विपरित रहेको प्यासीले बताइन् । अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत यस्ता गतिविधीमा लाग्नेलाई कारबाही हुनुपर्ने उनको माग छ ।
‘सरकारले पीडितको संरक्षण गर्न सकेन,’ उनले भनिन्, ‘यो प्रकरणले आगामी दिनमा बलात्कारका घटना बाहिर ल्याउन र बलात्कार विरुद्धको लडाई अझै कमजोर भएको देखाउँछ ।
बलात्कार हुन सक्ने आशंकामा बालबालिकादेखि वृद्धसम्म कोही पनि एक्लै हिँडडुल र नाचगान गर्न पाउने अधिकारबाट वञ्चित हुने कुरा सोच्न पनि नसकिने प्यासीले बताइन् । अपराध पीडित संरक्षण ऐन अनुसार सरकारले पीडितलाई झन् पीडा दिने अभिव्यक्ती दिनेहरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताइन् ।
‘गायिकालाई एक्लै गीत गाउँदै नाच्दै हिड्न दिनु परिवारको गल्ती हो भन्नुको अर्थ अभियुक्तलाई सिधै चोख्याउन खोज्नु हो, अपराध पीडित संरक्षण ऐन विरुद्धको कार्य हो,’ प्यासी भन्छिन्, ‘सरकारले पीडितलाई न्याय दिन चाहन्छ भने त्यस्ता अभिव्यक्ती दिनेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ यसका लागि प्रहरीले उजुरी पर्खेर बस्न नहुने उनको सुझाव छ ।
तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । अपराध पीडित संरक्षण ऐन उल्लङ्घन गर्नेहरुलाई कारबाही हुन्छ कि हुँदैन ? प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् ।
पल प्रकरणमा प्रहरीले पीडितलाई दिनुपर्ने संरक्षण गुमाएको मात्र होइन, न्यायालयको स्वतन्त्रतामा समेत हस्तक्षेप गरेको प्यासीको दाबी छ ।
‘पीडितलाई मानसिक यातना दिएको छ, सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा अदालत खडा गरेर फैसला आइरहेको छ,’ उनले भनिन्, ‘अभियुक्तले न्यायलयमा पेश गर्नुपर्ने प्रमाण फेसबुकमा ल्याएर न्यायालयको गरिमा र स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेका छन् ।’
अभियुक्तले नै पेश गरेको प्रमाणका आधारमा नाबालिग बलात्कार भएको पुष्टी हुन सक्ने प्यासीको दाबी छ । सरकारले पीडित संरक्षण गर्न नसक्दा बलात्कारीलाई प्रोत्साहन हुन पुगेको उनले बताइन् ।
‘अपराध घटनाका पीडितलाई संरक्षण गर्न कानुन बनेका छन्, तर यस घटनामा पीडित संरक्षणमा सरकार चुकेको छ,’ प्यासीले भनिन्, ‘गायिकालाई उल्टै आरोप लगाएर उम्किन खोजेको देखिन्छ, बलात्कार मतियारलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ ।’
गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा पलले माया प्रेमको जालमा फसाएर पटक पटक बलात्कार गरेको उल्लेख छ । म्युजिक भिडिओ सुटिङका क्रममा पलले पोखरा, चितवन, बागलुङ लगायतका स्थानमा बास बस्दा पटक पटक बलात्कार र यौन दुव्र्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।





