मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

निष्ठा भित्रको अनुहार

निष्ठा भित्रको अनुहार


  • माधव शर्मा
  • फाल्गुन २४ २०७८, मंगलबार

मोदीबेनीको पवित्रता एवं कृष्णगण्डकीको स्पर्शले छरेको सुन्दरतामा जैमुनी ऋषिको तपोभुमी र कालभैरवको सान्निध्यपुर्ण निश्छलताले सुन्दरता थपेको गाउँ अमलाचौर जहाँ सहयोग, सद्भाव र परोपकारी कार्यहरुले दिनानुदिन मानवीय कार्य र मानव जीवन अर्थपरक रहेका छन् । यो प्रक्रिया जीवन्त रहोस् भन्ने मनोकामना लिएर हिंड्ने व्यक्ति सर्वत्र नपाइने हुन्छन् । मानिसमा हुने दया, माया, करुणा र क्षमाको भावनाले परिपुरक बनेर मानव जीवनको दुख, पिडा, सामाजिक शोषण, दमन, अन्याय, अत्याचार र दुर्भावनालाई दुरताको बाटो देखाउने नैष्ठिक अनुहार एवं प्रजातान्त्रिक योद्धाको नाम हो कोपिलामणी शर्मा, उनको जन्म बागलुङ जिल्लाको दक्षिण भेगमा रहेको सुन्दर गाउँ बा.न.पा.–१२ अमलाचौर थाराघर भन्ने ठाउँमा पिता नन्दलाल पाध्या र माता अयोध्याको कोखबाट वि.सं. २००९ साल आषाढ ९ गते भएको हो । नन्दलालका चारभाई छोरा मध्येमा प्रथम सन्तानका रुपमा जन्मिएका शर्माले जन्मकालमै उमेरले ५ दशक नाघेका बाबू र परिवारजनमा खुशी तुल्याएका थिए । बुढेसकालको सहारा मात्रै नभएर खुशीका रुपमा जन्मिएका शर्माले तत्कालिन धार्मिक समाजमा कुलपितृहरुको उद्धार र वंश परम्पराको जगमा नन्दलालको लठ्ठी बनेका थिए । फलस्वरुप सामान्य किसान परिवारमा जन्मिएका शर्माको समय र परिवेश अनुसार बाल्यकाल सुखमय नै बित्यो ।

शिक्षाले मानिसलाई उज्यालो बाटो देखाउँदै पुर्णताको मार्गमा डोर्याउँछ । पृथ्वीमा अवतरित मानव मात्रका लागि शिक्षा महत्वपुर्ण र जीवनलाई सार्थक तुल्याउने अत्यावश्यक साधन एवं साध्य पनि हो । प्रत्येक व्यक्तिको प्रथम गुरुआमा र पाठशाला उनैको काख एवं घरायसी वातावरण नै हो । शर्माको परिवार वैदिक वंश परम्परा र धार्मिक आस्थामा आधारित भएकाले सानै उमेरदेखि वैदिक कर्मकाण्ड एवं मानिसका जन्मदेखि मृत्युपर्यन्त गर्नुपर्ने सोह्र संस्कारको बारेमा अध्ययन गर्न उनको कुशाग्र बुद्वि र विवेकले भ्याएको थियो । शिक्षा प्राप्तिको प्रमुख गुरु आमापछि उनले प्रारम्भिक रुपमा संस्कृत शिक्षाको श्रीगणेश त्यसै क्षेत्रका प्रख्यात गुरुहरु पं. नारायण ढकाल र पं. हरि प्रसाद उपाध्यायबाट ग्रहण गरेका थिए भने औपचारिक शिक्षा आफ्नै गाँउले परिवेशमा खोलिएको पृथ्वी प्राइमरी स्कुल अमलाचौरमा गुरु बलराम पाध्याको सान्निध्यमा आरम्भ गरेर पं. कृष्ण प्रसाद पौडेल र चुडामणि शर्माबाट बिस्तारै अघि बढाएका थिए । उनले २०२३ सालमा सोही स्कुलबाट पाँच कक्षा उत्तीर्ण गरे । तत्कालीन समयमा बाबाआमा पढालेखा नभए पनि छोराले पढ्नुपर्छ भनेर शैक्षिक वातावरण सिर्जना गर्नु बुबाको उदाहरणीय कार्य मानिन्छ । त्यसैगरी उनले छिमेकी गुरु डिल्ली प्र. पौडेलको सहयोगमा त्रिभुवन मा. वि पैयुपाटाबाट २०२७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि घरको समस्या, पारिवारिक जिम्मेवारी र वैवाहिक जीवनको खुशीका लागि पढाईलाई बिच्चैमा छाडी रोजगारीको लागि भारत पसे तर छोटो समयमै भारतको बसाई टुङ्याउन बाध्य भएका शर्माले आफ्नो पुख्र्याैली पेशालाई अंगाल्न पुगेका थिए । भने एसएलसी उत्तीर्ण गरेको छोरालाई कुनै पदिय जिम्मेवारीमा देख्ने बाबुको चाहनालाई नहेरी उनी घरायसी कामधन्दा र समाजवादको नारा बोकेर सामन्त विरोधी आन्दोलनमा होमिएका थिए ।

पारिवारिक स्थिति र बैवाहिक सम्बन्धको कुरा गर्दा बाबुको वृद्ध अवस्थामा जन्मिएको छोरा भएका कारण शर्मा पारिवारिक परिवेश र तत्कालिन सामाजिक मान्यता अनुरुप त्यसै वार्डको सतिपखरा बस्ने बाबू चिन्तामणी पाध्याकी जेठी छोरी खगेश्वरीसंग २०१९ सालमा १० वर्षको कलिलो उमेरमा नै वैदिक परम्परा अनुसार विवाह बन्धनमा बाँधिन पुगे । वैवाहिक सम्बन्ध र पारिवारिक गतिविधी समय अनुकुल राम्रै चल्यो, २०२९ सालमा जेठी छोरीको जन्म पश्चात् शर्मा क्रमशः तीन छोरी र दुई छोराको बुबा बनेका थिए ।
दैवको विडम्बना २०४९ सालमा विद्यमान समयमा समेत महान उपलब्धी ठानिने एसएलसी उत्तीर्ण गरेको जेठो छोराको असामयिक निधनले परिवारमा ठुलो क्षति पुर्याएको थियो भने जीवन निकै कष्टकर, धमिलिएको र निराशताले भरिएको कुरा अहिलेसम्म पनि महशुस हुन्छ उनले भने त्यतिबेलाको आफैमा परेको दुखद घटनाले गर्दा कसैलाई दुख, पिर पर्यो भने नजिकबाट हेर्न बाध्य बनाउथ्यो भने सहानुभूतिका स्वरहरु अप्रत्यासित रुपमा प्रस्फुटन हुन्थे । जस्का कारण समाजको पीडा त दुर गर्थे तर छोराको विछोडले आफ्नो मनमा गाँठो पथ्र्याे । यसरी आफ्ना हजारौ समस्याका बाबजुद समाजमा रहेका अन्याय, अत्याचार, शोषण, दमनको भावलाई नजिकबाट नियाल्न पुगेका उनको मानस्पटलमा विद्यार्थीकालदेखि नै राजनैतिक चेतना जागृत भएको पाइन्छ । फलतः निडर र आँटिला स्वभावका उनले समाजका पिडित वर्गको समसाथमा रहेर उनिहरुको पीडा दुर गर्ने कार्यमा तल्लिन रहे । परिवार र छोराछोरीको आधारभुत समस्या पूरा गर्न र आफ्नो पारिवारिक स्थिति सुधार गर्न भन्दा पनि उनको ध्यान राजनैतिक गतिविधि र सामाजिक कार्यमा उद्वत रहेपनि आफु सामान्य परिवारको व्यक्ति भएको र घरमा कुनै रोजगारी नभएको हुनाले कृषि पेसालाई अङ्गाली पारिवारको गास, बाँस र कपासको व्यवस्थामा लागिपरे जस्का कारण आफ्नो शैक्षिक जीवनलाई बिट मार्न पुगे ।

राजनैतिक प्रेरणाको हकमा विद्यार्थी कालमा कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनमा लागेर हिंडेका शर्मा घरायसी काम, व्यवहार र नुनतेलको जोरजामको लागि स्याङ्जा गएर बागलुङ फर्किने क्रममा २०२५ सालतिर प्रजातान्त्रिक मुलधारका व्यक्तित्व बागलुङ गल्कोट निवासी कुलराज शर्मासंगको केही समयको सामिप्यताबाट प्रभाव ग्रहण गरि नेपाली कांग्रेसको सिद्धान्तसंग नजिकिन पुगेका थिए, भने त्यति बेलै देखि ने.काको सदस्यता लिई विपिको विचारलाई आत्मसाथ गर्दै आजसम्म संगठनमा लागेका छन् ।
२०३४÷३५ सालमा बिपि कोइराला पाल्पा तानसेन आई जिल्ला जिल्लाका कार्यकर्तासंग अन्तरक्रिया गरि पन्चायतमा भाग लिने वा नलिनेमा व्यापक छलफल गरि आफ्नो ठाँउको अनुकुलता हेरि भाग लिने वा नलिने आफै निर्णय गर्ने पक्षमा गएकाले २०३५ सालमा पन्चायतमा भाग लिई, यसै अमलाचौर वार्ड नं ६ मा निर्विरोध निर्वाचित भई वडाध्यक्षको जिम्मेवारी लिएका थिए । त्यसैगरि २०३६ सालमा बहुदलीय व्यवस्थाको चुनाव गर्ने कार्यमा सक्रिय भएर लागेका उनी २०४६ सालमा बहुदल आएपछि पनि पुनः अध्यक्षको जिम्मेवारी साथ नेपाली कांग्रेस अमलाचौरको प्रमुख भएर पार्टीको कार्य संचालन गरेका थिए । तत्कालीन समयमै जिल्लाका ने. का. पार्टी सभापति गोविन्द प्रसाद शर्मा कँडेलको सक्रिय भुमिकामा गाउँ पन्चायत पार्टी गठन गर्ने क्रममा उनकै नेतृत्वमा गाउँ पन्चायतको जिम्मेवारी सुम्पेका थिए । त्यसपछि निरन्तर रुपमा पार्टी र संगठनको पदिय जिम्मेवारी लिएर ३३ वर्षे कार्यकाल सन्चालन गरिरहेका छन् ।

पार्टी सशक्तिकरण र सुदृढीकरणको मुल मुद्दालाई लिएर समाज परिवर्तनमा लागेका शर्माले प्रजातान्त्रिक आन्दोलनमा सरिक भइरहँदा प्रहरीद्वारा हुने गिरफ्तारी, कुटपिट, कायलनामा जस्ता विभिन्न किसिमका यातना भोग्नुपरेको थियो । आन्दोलनकै शिलशिलामा विविध आरोह अवरोह भोग्दै संगठनलाई निरन्तरता दिन निडर भएर लागेका शर्मालाई २०५८ सालदेखि माओवादी कार्यकर्ताहरुले दुख दिन थालेको कुरा स्मरण गर्छन् । समाजवाद र समतामूलक समाज निर्माणको नारा लिएर देशप्रेम र राष्ट्रवादको आवाज उठाएको, माओवादी पार्टीका कार्यकर्ताहरुले पार्टीको नीति र मर्मविपरित कार्य गर्नु निन्दनीय नै थियो तर माओवादी कार्यकर्ताहरुले समाजमा रहेका सर्वसाधारण जनतालाई तर्साउने र जनजीवन प्रभावित गराउने कार्य गरिरहेका थिए । त्यसै क्रममा उनीमाथी पनि पार्टी परित्याग गर्नुपर्ने, आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने र घरबाट बाहिर निस्कन नपाइने, आफुहरुले माग गरेको रकम दिनुपर्ने जस्ता माग राखी निर्ममतापुर्वक अमानवीय व्यवहार गर्ने गरेको कुरा अहिले पनि ताजै छ भन्दै उनले भने– घरमा आएर सबै परिवारलाई मार्ने धम्की आउथ्यो, कुटपिट त कति गरे गरे, घरबाहिर निस्किन नदिने, स्वतन्त्र रुपमा बोले वा हाम्रो विपक्षमा बोलेमा मार्ने धम्की दिन्थे, घरमा ससाना छोराछोरी, परिवार र छरछिमेकका मानिसहरूले बाँच्ने प्रेरणास्वरुप पार्टी छोडेर स्वतन्त्र जीवन ज्युन आग्रह गर्दथे, तर उनी प्रजातान्त्रिक समाजवाद र विपिको चिन्तनलाई अनुसरण गर्दै अगाडि बढि नै रहे कहिल्यै विचलित भएनन् र आफ्नो साङ्गठनिक चिन्तन परम्परालाई अगाडि बढाए ।

शर्माले आफ्नो जीवनको ३ दशक बढी समय नेकामा आवद्ध भएर निष्ठाको राजनीतिमा सक्रिय रहेका छन्भने २०३४ सालदेखि पार्टीको संगठनमा लागि गाउँ पन्चायतको निर्विरोध वडा अध्यक्ष पदमा तीन वर्षे कार्यकालमा रहेर कार्य सन्चालन गरे, केही समय कार्यवाहक प्रधानपन्चको काम सम्हालेका थिए । त्यसैगरी २०४२ सालदेखि जिल्ला शिक्षा कार्यालयबाट अध्यक्ष पदमा सिफारिस एवं नियुक्त भई अमलाचौरमा अवस्थित श्री पृथ्वी नि.मा.वि र मा.वि अमलाचौरको शैक्षिक परिवर्तन र समाज विकासमा दत्तचित्त भएर लागिपरे । शैक्षिक गतिविधि सुधार र विद्यालयको भौतिक स्थिती सुधारको अभियानमा सक्रिय भुमिका खेलेका उनले आफ्नो १५ वर्षे वि.व्या.स.को कार्यकालमा पुरानो परम्परागत संरचना र शैक्षिक पद्धतिलाई नवीन रुप प्रदान गर्दै जग्गा र श्रम दानको अभियान चलाई विद्यालयको भौतिक अवस्थामा परिमार्जन गराएका थिए । उक्त विद्यालयलाई अहिले उद्योगपति चन्द्र ढकाल र पुर्व विद्यार्थीहरुको (एल्मुनाइ)को सहयोग कार्यक्रमद्वारा आधुनिक प्रविधियुक्त विद्यालय निर्माण गरि श्री पृथ्वी हिरण्य उच्च मा.वि नामले जिल्लामै प्रतिष्ठित विद्यालयका रुपमा संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->