मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उन्मुक्तिको बाटो : आध्यात्मिक यात्रा

उन्मुक्तिको बाटो : आध्यात्मिक यात्रा


  • दिवस गुरुङ
  • फाल्गुन ३० २०७८, सोमबार

कथन नै छ, सोचेजस्तो हुन्न जीवन । सोचेजस्तै बनाउनु जो छ । हो, जीवनबाट भागेर कहिल्यै उन्मुक्ति पाइदैन । बरु जो जीवनका सुखदुख, उतारचढाव र गाह्रो अफ्ट्यारो समयसँग जुध्न सक्छ, उसले नै अस्ली जीवन जिउँछ । देखेको अरुको जस्तै खास जिन्दगीको आशमा पछि दौडदा आफ्नै सुखहरु बिर्सिसकेको हुन्छ मानवले, अनि थुप्रिन्छन् असन्तुष्टि र वितृष्णाहरु मनमा । जीवनको हरेक रंगसँग जो घोलिन सक्छ, उसले नै जीवन रङ्ग्याउन सक्छ । जति धेरै जीवनसँग गुनासो पोख्यो, त्यति नै असन्तुष्टिले मनलाई पिरोल्छ । जे छैन, त्यसमा दुखेसो किन पोख्ने ? जे छ, त्यसैमा रमाउन सके जीवन कति सुन्दर बन्दो हो । आफैँभित्र खुसीको मुहान पैल्याउदै लामो समय आध्यात्मिक चिन्तनमा लागिरहेकी सावित्री आमाको कथा यसपालि ।

सावित्री बराल । उमेरले ८७ लागिन् उनी । बाहिरी शरीरमा गेरु बस्त्र मात्र लगाउँदिनन् उनी, मनभित्र पनि उस्तै धर्मकर्म, ध्यान, तपस्या र योगका कञ्चन मन बोकेर सधैँ हिड्छिन् । जीवनमा उनले जति उतारचढाव कसले भोगे होलान् र ? दुःखपीडाले छट्पटिएर ननिदाएका कैयौं रातहरु थिए । अभाव, बेसाहरा र एक्लोपनले ग्रसित जिन्दगीका कैयौं दिनहरु नहाँसी कटाइन् । तर उनी जीवनबाट कहिल्यै हारिनन् । अनि उनले रोजिन् उन्मुक्तिको बाटो : आध्यात्मिक यात्रा ।

जन्म घर उनको बितारी चौतारा, स्याङ्जा । अनि उनी हुर्किन् फुर्सेखोलामा तर उनमा जन्मघर र बाल्यकालका त्यति धेरै स्मृतिहरु सम्झनामा छैनन् । उनी त सानै थिइन्, आमाको दुध खान छोडेकी थिइनन् तर उनले जन्मघर छाड्नु पर्याे किनकि उनको बिहे भयो पाँच वर्षकै कलिलो उमेरमा । बिहे भएर पनि थप दुई वर्ष उनले आमाकै दुध चुसेको सम्झना छ उनमा तर बिहे भएको क्षण भने कत्ति पनि सम्झना छैन । सम्झना होस् पनि कसरी ?

उनलाई बिहे गराइदिए १६ वर्षका अल्लारे केटासँग । केटाको घर थियो पुम्दीकोट कास्कीमा । हाल विशाल महादेवको मूर्ति निमार्ण स्थलमै । ७ वर्षमा उनका बा बितेपछि आमा पनि पुम्दीकोटमै आएर बस्न थालिन् । न बिहे भन्ने थाहा थियो, न श्रीमानश्रीमती नै । उनी त दाई भनेरै सम्बोधन गर्थिन् श्रीमानलाई । यति सानी बालिकासँग बिहे गराइदिएकोमा न उनका श्रीमान परिवारसँग खुसी थिए न उनीसँग ।

बोलचाल नै हुँदैनथ्यो भने पनि हुन्छ श्रीमानसँग त, उनी विगतमा फर्किन्छिन्, ‘म त सानी थिए, आमासँगै सुत्थे । श्रीमानसँग त खासै कुराकानी र बोलचाल पनि हुँदैनथ्यो । एक त श्रीमान श्रीमती र बिहे भन्ने बुझ्ने उमेरकी पनि भएकी थिइन् म, अर्को उहाँ मबाट सधैँ टाढा टाढा नै भाग्नुहुन्थ्यो । त्यसैले पनि उहाँप्रति ममा कुनै माया, भावना र आफ्नोपनको आभाष नै भएन ।’

उनी उमेरले भर्खर सात वर्ष लाग्दै थिइन् । बा बितेको तेह्र दिनमै श्रीमान घर छाडेर भागे । कहाँ पुगे, कसैलाई अत्तोपत्तो थिएन । उनलाई त दाई कतै गएछन् भन्ने लाग्दो हो । उमेर बढ्दै गएपछि आफूले दाई भनेर सम्बोधन गरेको व्यक्ति अरु कोही नभएको र उनैसँग केही वर्ष अघि बिहे भएको कुरा अरुले उनलाई सुनाउँथे । सुरुमा त उनलाई यी सब सपना झैं लाग्थे । सानामा साथीहरुसँग नक्कली दुलहादुलही बन्ने र बिहे गर्ने रमाइलो खेल खेल्थिन् । अरुले भनिरहेका यी यावत् कुराहरु त्यस्तै खेलका घटनाहरु र श्रीमान भनिएका मान्छे पनि
क्षणिक पात्र पो थिए कि ? उनलाई लाग्थ्यो । तर समयसँगै उनले यर्थाथ बुझ्दै गइन् अनि स्वीकार्दै गइन् सबथोक ।

छोरी बनेर आफ्नै घरको आँगनमा उनले न धीतमरुन्जेल खेल्न पाइन, न बा आमाको प्रेमिल काखमा रहेर मन लागुन्जेल सिक्न र पढ्न पाइन् । ११ वर्ष हुँदा आमा पनि बिरामी भएर यतै पुम्दीकोटमा बितिन् । ७ वर्षमा बा बितेको ठ्याक्कै सम्झना नभएपनि आमा बितेको भने झल्झल्ती सम्झिन्छन् उनी । जन्म दिने बाआमा बिते, अन्जान श्रीमान बेपत्ता भएको वर्षौ भइसकेको थियो, संसारमा बाँकी को नै थिए र उनका लागि ? सारा संसार बिरानो लाग्यो उनलाई ।

आमा शरीर ढलेसँगै जीवनको बाँकी आडभरोसा पनि ढल्यो, उनी बिगत फर्किन्छिन्, ‘ठुलो जहान परिवारको घर हाम्रो । नौ जना देउरानी जेठानी र पाँच देवर जेठाजु थिए घरमा । उमेरले घरकै सबैभन्दा सानी थिए म । उनीहरुको लहैलहैमा सुरमा सुर मिलाएर हिँड्न र काम गर्न न मेरो उमेर नै भएको थियो न थिए साथ दिने हातहरु नै । उनीहरुसँगै घोटिन नसक्दा घरकाले नानाथरी कुराहरु काट्थे । यता श्रीमानले घर छाडेर जानुमा दोष मलाई नै दिन्थे । धेरै टोकसी खानुपथ्र्यो तर जाने कहाँ ? पीडा बिसाउने कहाँ ? न पीडा सुनाउनलाई कोही थिए न सुन्ने नै कोही । भाग्यमै यस्तो लेखिएको रहेछ भन्दै मनमनै पीडा दबाएर बस्थे म ।’

तिनताका घरघरमा धारा थिएनन् । पानी लिन गाग्री बोकेर घण्टौ पर हिड्नुपथ्र्यो । बुहारी जति सबै कुरुवा पानी लिन कुवामा रातभर पालो कुर्थे । एकदिन हैन, हप्ता दिन हैन, वर्षौ उनले पनि रातहरु पानी कुर्नमै कुवामा बिताएकी थिइन । अनि बिहान मात्र गाग्रीभरि सकीनसकी पानी बोकेर फर्किन्थिन् । अनि घरधन्दामा खटिन्थिन् ।

ठुलो परिवार । बसीबसी खान पुग्ने त कुरै थिएन तर जति उनले घरको कामधन्दा गर्थिन्, न उनले गरेको कामको जस पाउँथिन् न उनलाई साथ दिने नै कोही हुन्थे । न फतक्कै गलेका हात खुट्टाहरु बिसाउने ठाउँ हुन्थ्यो, न मन बिसाउने चौतारी नै ।
उनका श्रीमान भारततिर पसे भन्ने अड्कल बाजी धेरैले लगाउँथे तर यकिन कसैलाई थाहा थिएन । सास कि लास बारे थाहा पाउन पाए, मन बुझाउने आधार हुन्थ्यो । पर्खाइमा दिन, हप्ता, महिना अनि वर्षहरु बिते । यामहरु बदलिए, समय बदलियो । सबथोक बदलियो तर उनको आश बदलिएन । एकदिन पक्कै श्रीमान जीवितै फर्केर आउँछन् भन्नेमा आशावादी थिइन् ।

पुम्दीकोट भन्दा पर कहिल्यै नपुगेकी उनी, भारत कति टाढा छ बुझ्ने उनको खुबीको कुरै थिएन । भारतको सिलोङमा गाई फार्म गरेर बसेका छन् भन्ने गाइगुइ चाहिँ सुनिन्थ्यो । परिवारका अन्य सदस्यहरु पनि महिनौं लगाएर खोज्न जान्थे । उनले पनि मान्छेहरु नपठाएका
हैनन् तर रित्तो हात फर्किन पथ्र्यो । वर्षौपछि भने उनका जेठाजुहरुले उनलाई सिलोङमा भेटेछन् । अनि बल्लतल्ल नेपाल फर्काए । त्यो पनि सत्र वर्षपछि ।

श्रीमान घर फर्कदा उनी उमेरले २३ पुगेकी थिइन् । यतिका वर्ष किन त्यसरी हराउनुभयो भनेर न उनले श्रीमानलाई सोध्न सकिन्, न श्रीमानले नै सबथोक भन्न जरुरी ठाने । सानी बालिकासँग बिहे गराइदिएको झोकमा घरबाट झोक्किएर निस्केको भन्ने उनले अरुका मुखबाट सुन्थिन । न दोष उनको थियो, न उनको श्रीमानको । दोष त दुवै परिवारका थिए, यति सानै उमेरमा बिहे गराइदिनुमा ।

श्रीमान नेपाल फर्केको केही समयमा उनको गर्भमा नयाँ सन्तान हुर्किन थाले । सत्र वर्ष एक्लैले भोगेका दुःख पीडा र कठिन समयलाई उनले भएको नभई जसरी बिर्सिदै अघि बढ्दै गइन । समय फेरि राम्ररी चलेन । एक्कासि श्रीमान बिरामी भए । जति उपचार गर्दा पनि निको भएन । अन्ततः नयाँ सन्तानले बुबाको मुख हेर्न नपाई सन्तानका बुबा संसारबाट बिदा भए ।

केही दिनमा घरमा लक्ष्मी भित्रिइन् । अर्थात छोरी जन्मिइन् । न उल्लाहस मनाउने उनीसँग कोही थिए न खुसी साट्ने कोही नै । उनकै कारणले श्रीमानले संसार छोडेको टोकसी उनले खाइरहन्थिन् । सहनुबाहेकको विकल्प थिएन उनीसँग । भर्खर जन्मिएको छोरी बोकेर कहाँ जाने ? जाने कुनै ठाउँ थिएनन् उनका लागि । अनेक दुःखकष्ट, झरी, वर्षा र घामपानी झेलेर उनले छोरीलाई हुर्काइन् र बढाइन् । छोरीका लागि बाटो फुकाइदिन पाए ? उनलाई लाग्थ्यो । १६ वर्षको उमेरमा छोरीलाई बैदाममा बिहे गरिदिइन् । एक्लै घरमा मन अडिएन । अनि उनी पनि शहर झरिन् । अनि सुरु भयो शहरको संघर्ष ।

शहरको संघर्ष :

पुम्दीकोटमा ओत लाग्ने आफ्नै घर थियो । गरि खानलाई खेतबारीहरु र वनपाखाहरु थिए तर मन मरेको घरमा उनको मन अडिएन । बिरानो शहरमा उनको अर्को संघर्षको अध्याय सुरु भयो । दुई छाक हात मुख जोड्नलाई केही त गर्नै पर्यो । दश वर्ष उनले पोखरामा अवस्थित फिस्टेल होटलमा बगैँचाको स्याहारसुसार गर्ने र दुबो गोडमेल गर्ने काम गरिन् । अनि दश वर्ष काम गरिन् पालिखे कारखाना र पाल्पाली कारखानामा । दिनभर काम गर्दा हातखुट्टा फतक्कै गल्थे । ज्यान थाकेर लखतरन हुँदो हो तर उनले मन थाक्न दिइनन् । जाँगर चलाइरहिन् । उनी यति सजिलै हार खानेवाला थिइनन् ।

आध्यात्मिक यात्रा :

जब मनका कुनाका केही रहर, चाहना अनि आकांक्षाहरु पूरा हुन्छन् वा भनौं जीवनमा आफूले निभाउनुपर्ने कर्तव्यहरु पूरा भएको बोध हुन्छ, तब मानिसले आध्यात्मिक बाटो रोज्छ । धन, सम्पति, सुख मोह सबथोक त्यागेर जो कोही कहाँ उन्मुक्तिको बाटो पछ्याउँछ सक्छ र ? जीवनमा उनले जति दुःख, कष्ट र अफ्ट्यारा बाटाहरु छोट्याउँदै यहाँसम्म आइपुगिन्, उनलाई ती सब बिर्साउनु थियो । अनि उनलाई जीवनको बाटोले दोहो¥यायो देवघाटसम्म ।

देवघाटमा उनी विभिन्न पूजापाठ, धार्मिक कार्यक्रमहरुमा सरिक हुन्थिन् । केही न केही गरिरहन्थिन् । कहिले मठमन्दिर सरसफाईमा व्यस्त राख्थिन् त कहिले धागो काँढेर बत्ती बनाउथिन् । बासको चोयाबाट डोको, धुन्से, ढकिया आदि तयार पार्थिन् । कैयौं लाखबत्ती काँढेर
बेचेको पैसाले उनले नेपाल र भारतका कैयौं तीर्थयात्राहरु गरिन् । कहाँ कहाँ पुगिनन् उनी, भारतका चार धामहरु पुुगिनन् कि न नेपालका मुक्तिनाथ, दुधपोखरी, स्वर्गद्धारी, लुम्बिनी देखि तिब्बतको मानसरोवरसम्म ।
देवघाट हुँदाताका लडेर उनी अशक्त बनिन् । अनि दस वर्ष देवघाट बिताएर उनी पोखरा वृद्धाश्रम आइपुगिन् । वृद्धाश्रममा बसेको पनि वर्षले १७ लागिसके । उमेरले ८७ लागिसकिन् उनी । दम, सुगर, प्रेसर र हाडजोर्नी दुखाइको औषधी नियमित सेवन गरिाख्नु पर्छ ।
एउटी मात्र छोरीका पनि छोराछोरीहरु भइसकेर पखेटा लागेर कोही देश विदेशमा छन् । नाति नातिना पनाति पनातिनाहरु भइसके । कहिले छोरीको परिवार भेट्न उनी बैदामसम्म पुग्छिन् त कहिले छोरी नै वृद्धाश्रमसम्म आउँछिन् । नाति नातिनासँग फोनमै कुरा गर्न पाउँदा आनन्द महसुस गर्छिन् उनी ।

बिहानै सबेरै उठेर पुजापाठ गर्छिन् । दुई घण्टा एकाग्र भएर ध्यान गर्दा शरीर मात्र हैन, मन पनि चंगा हुन्छ । सन्तुष्टि भन्ने कुरा अरुबाट वा कुनै चिजबाट खोज्नु जतिको भ्रम केही पनि हुँदैन । सन्तुष्टि त स्वयं आफैंमा भेट्न सक्नुपर्छ, उनको जीवनले सिकाउँछ । उनलाई लाग्छ, अब धेरै बाच्दिन । धेरै बाच्ने रहर पनि छैन उनमा । अन्तिम सास कसैलाई दुःख नदिई आनन्दले यहीँ वृद्धाश्रममा फेर्न मन छ उनको ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->