बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिका का ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर लगायत नेपाली कांग्रेसका युवा कार्यकर्ताहरु मंगलवार एमालेमा प्रवेश गरेका छन् ।
वडाध्यक्ष पुनसहित नेपाली कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमालेमा प्रवेश गरेको एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष ऋतुबर्ण पौडेलले वताए।
सोही कार्यक्रममा माओवादीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्तीमगरसहित माओवादी कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरु सवैलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य तथा ढोरपाटन नगरप्रमुख देव कुमार नेपालीले खादा र टीका लगाएर एमालेमा स्वागत गरे ।
बुर्तिवाङमा आयोजित एमालेका भातृ संगठन राष्ट्रिय युवा संघको ढोरपाटन नगर अधिवेशनमा पुनसहितका युवाहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष पुनले एमालेले जनताको भावना अनुसार काम गर्ने देखेर आफुहरु पार्टीमा प्रवेश गरेको वताए । उनले थपे, मुलुकको परिवर्तनका लागि अव एमालेको विकल्प छैन ।
नवप्रवेशीलाई स्वागत गर्दै नगरप्रमुख नेपालीले जनताको भावना अनुसार एमालेले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पुरा गर्न काम गर्ने वताए । उनले नगरवासी सवैलाई एमालेको मुलधारमा सहभागी हुन आग्रह समेत गरे ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ लिएर जितेका थिए । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । पुनको प्रवेशले त्यस वडामा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको एमाले जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले वताए ।
युवा संघका ढोरपाटन नगर संयोजक अमर वुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष शिवराज कँडेलले सञ्चालन र पार्टीका नगर अध्यक्ष ऋतुबर्ण पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा पार्टी जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला सदस्य गणेश थापा र अस्मिता भण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।
युवा संघको अधिवेशनले अमर बुढाको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा मिथुन विश्वकर्मा र सचिवमा लिंकन बुढामगर लगायत रहेका छन् ।
आजै एमाले नगर कमिटीको सचिवलायको बैठक र नगरकमिटीको बैठक पनि समपन्न भएको नगर अध्यक्ष पौडेलले जानकारी दिए ।





