पोखरा/ गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र नेपालबीच ११ क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्नेगरी सम्झौता भएको छ ।
विभिन्न ११ क्षेत्रमा अनुसन्धान काम गर्नेगरी विश्वविद्यालय र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । सम्झौता अनुसार कृषि,वन,शिक्षा, स्वास्थ्य,पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र अन्य नयाँ क्षेत्रमा समेत अनुसन्धान गर्नेछ । सम्झौताले गण्डकी विश्वविद्यालयको अनुसन्धानको क्षेत्रमा ठूलो भुमिका खेल्ने विश्वास गरिएको छ ।
सो अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले गण्डकी विश्वविद्यालयसंग जोडिन पाउँदा ठीकै लागेको प्रतिक्रिया दिए । उनले विश्वविद्यालयले नयाँ कोर्ष स्थापना गरेकाले यसको यात्रा निकै लामो रहेको बताए । आफ्नो विद्यार्थी समयमा इन्जिनियरिङ र मेडिकल कलेज नभएको सुनाउँदै उनले अहिले भने कलेज खोल्ने उपक्रमलाई फेसनको संज्ञा दिए । ‘अहिले कलेजहरु धेरै खुले फेसनजस्तै भएको छ । मेरो समयमा धेरै कलेज नै थिएनन्’,उनले भने,‘विश्वविद्यालयहरु भिन्न किसिमका हुनुप¥यो । तर,त्यस्तो कसरी बनाउने हो, मलाई आइडिया छैन ।’
उनले निजी क्षेत्रमा धेरै कलेज खुल्ने गरे पनि त्यहाँबाट दीक्षित भएका विद्यार्थीहरु भने कामविहीन भएको उनले सुनाए । उनले विश्वविद्यालयलाई चलाउन ठूलो रकमको आवश्यक रहेको सुनाउँदै उत्पादन भएका विद्यार्थीलाई उब्जाउ किसिमको बनाउनुपर्नेमा जोड दिए । राज्यले अनुसन्धानको क्षेत्रमा बजेट छुट्याउन नसक्नु लज्जाको विषय रहेको उनले सुनाए । राज्यले पूँजीगत विकास खर्चको एक प्रतिशत मात्रै भएपनि अनुसन्धान तथा आविष्कारको क्षेत्रमा लगानी गर्नुपर्नेमा उनको जोड थियो ‘हाम्रो देशमा एक प्रतिशत बजेट पनि आविष्कारको क्षेत्रमा छैन् । हामी चाहन्छौँ कम्तिमा एक प्रतिशत बजेट यो क्षेत्रमा छुट्टियोस् ।’
आविष्कार केन्द्रका ८८ परियोजनामध्ये ५५ परियोजना फेल खाइसकेको सुनाउँदै उनले नेपालीले फेल खान्छ भनेर लगानी नै गर्न नखोजेको बताए । गण्डकी विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा सोही विश्वविद्यालयका लागिमात्र नभइ अन्य विद्यार्थीका लागि पनि खुल्ला गर्नुपर्ने उनले सुझाए ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशले आफ्नै प्रदेशभित्र विद्यार्थीहरुलाई वैज्ञानिक, पाइलट, इन्जिनियर, डाक्टर तथा विज्ञ बनाउने लक्ष्यका साथ विद्यालयस्तरमा स्ट्याण्ड ल्याब बनाउने तयारी गरिरहेको बताए । प्रदेश सरकारले शिक्षालाई साक्षरताको रुपमा मात्र नभइ व्यवसायिक र व्यवहारिक शिक्षालाई विषेश जोड दिने बताए ।
गण्डकी विश्वविद्यालयले कोदोलाई ब्रान्डको रुपमा समेत विकास गर्नेगरी अनुसन्धान अघि सारिरहेको छ । पोखरा विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले विश्वविद्यालयले कोष पढाउने भवन नबनाउँदै आविष्कार गर्ने भवन बनाउनुले गण्डकी प्रदेशले अब अनुसन्धानलाई महत्व दिएको बताए । ‘गण्डकी विश्वविद्यालयले कोर्षलाईभन्दा पहिला इन्भेन्सनलाई महत्वमा राखेर भवन बनायो । यस्को मतलब हो यो निकै महत्वपूर्ण छ’, उनले भने ।
सम्झौताले विश्वविद्यालयलाई शिक्षण एवम् अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र व्यवहारिक विज्ञान तथा प्रविधिको क्षेत्रमा देशको आवश्यकता अनुसार अनुसन्धान गरी देश विकासमा टेवा पु¥याउने लक्ष्य तथा विश्वविद्यालयले स्थापना गर्ने अुनसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रलाई आर्थिक, प्राविधिक, प्राज्ञिक र अन्य सहयोग राष्ट्रिय आविष्कार केन्द्रलाई गर्ने उदेश्य रहेको छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले हेर्दा सामान्य तर दैनिक उपयोगकालागि निकै गहन वस्तुको आविष्कार अब विश्वविद्यालयले गर्ने बताए । उनले विश्वविद्यालयले उत्पादन गरेका वस्तुहरु किन्ने क्षेत्रसमेत हुनुपर्ने बताए ।





