महिलाविरुद्धको हिंसा र अपराधमा हरेकपटक समाज विभाजित भएको देखिन्छ । कोही आरोपीको पक्षमा कोही पीडितको पक्षमा । प्रायः घटनामा अभियुक्तका परिवार तथा आफन्तहरुले आरोपको निश्पक्ष छानविन गर्न नदिन सक्दो बल प्रयोग गर्ने देखिन्छ । यस्तो अवस्थाले के देखाउछ भने, आरोपित व्यक्ति तथा उसको परिवारलाई राज्यले गर्ने अनुसन्धानप्रति अविश्वास हुनुपर्छ । अर्कोकुरा,आरोपित व्यक्ति तथा परिवारले पैसा र पावरको दुरुपयोग गर्ने । अधिकांश घटनाहरुमा शक्तिको आडमा निश्पक्ष छानविन हुन नदिने अवस्था देखिएको छ । चाहे त्यो शक्ति पद, पैसा, राजनीति, मनसाय, संचार र भिडलगायत नै किन नहोस ! यस खालको अवस्थाले अपराधकर्म बेवारिसे हुने गरेको छ । अपराधी को हो भनेर छुट्टयाउन नसक्दा महिला र वालबालिकाविरुद्धका अपराध हुने गरेको तथ्यले देखाउँछ । सबैभन्दा चर्चित र दुखद घटना कंचनपुरकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरिएको हो । उक्त घटनामा प्रहरीले शंका गरेको ब्यक्ति माथी अनुसन्धान हुन पाएन । नियोजित रुपमा मिडियाबाटैप्रहरीको अनुसन्धान प्रक्रियामाथिआशंका उत्पन्न गराइयो ।नजिकै रहेको अपराधी छोडेर अमूर्त व्यक्तिलाई अपराधी बनाउन खोजियो । परिवार समाजले जहिलेसम्म अपराधी लुकाइ राख्छन् तबसम्म घटनाहरु श्रृंखलाबद्ध रुपमा नै भइरहन्छन् । महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य आपराधिक घटनामा समाज विभाजित हुनुहुँदैन । परिवार तथा समाजले निश्पक्ष छानबिन गर्न दिनुपर्छ । तव मात्र महिला तथा बालबालिकाविरुद्ध हुने यौनहिंसा तथा अपराध न्यूनीकरण गर्न सकिन्छ । तर, हामीकहाँ आफन्तले अपराध गरे लुकाउने चलन बसेको छ । यसरी घर–परिवार तथा आफन्तले अभियुक्त लुकाइ राख्दा अपराधकर्मले मलजल पाउँछ । सचेत र शिक्षित समुदायले पनि आफ्नो स्वार्थका लागि अपराधीको पक्षमा अभियान चलाएको देखिन्छ ।आफूलाई महिला अधिकारकर्मीभन्नेहरुले पनि अभियुक्तको सामाजिक, आर्थिक, राजनैतिकलगायतका हैसियत हेरेर पक्षधरता देखाएको पाइन्छ ।
कुनैबेला महिला वा बालबालिकाविरुद्धको हिंसा वा अपराधमा चर्को विरोध गरेर आफ्नो गन्तव्यमा पुगेका महिलाहरु पनि अर्को महिला वा बालबालिकाप्रतिको हिंसा वा अपराधमा अभियुक्तको सामाजिक, आर्थिक राजनीतिकलगायतका हैसियत हेरेर अभियुक्त कै पक्षमा बोल्ने गरेका देखियो । नेपालमा महिला र बालबालिकाविरुद्ध हुने गरेका श्रृंखलाबद्ध अपराधका घटनाहरु यस्तै पक्षधर देखाउने गरेका कारण दण्डहीनताको अवस्था श्रृजना भएको छ । नायक पल शाह एक किशोरी गायिका बलात्कारको आरोपमा अनुसन्धानका लागि हिरासतमा छन् ।प्रहरीको अनुसन्धानबाट न्याय निरुपण हुने नै छ । तर, अहिले कलाकारहरुको ठूलो भिड युट्युवरको भिडले उनको पक्षमा अभियान चलाइरहेको छ । यतिसम्म कि केही पत्रकार महिलाले पनि यो बेलामा जवरजस्ती करणीसम्बन्धीकानूनको पुनरावलोकन गर्नुपर्छ भनेरमिडियाबाट विषय उठाउनु भनेको पीडकको समर्थन गर्नु हो । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा तथा अपराध दिनहँु हुने गरेका छन् । १८ महिनाको शिशुसम्म भनिँदैन । ८० वर्षीया बृद्ध महिला भनिँदैन । यौन पिपासुहरुले बलात्कार गरेर हत्या गरेको घटना ताजै छ । मोरङको सुन्दर हरैचामा २८ फागुनमा दाजुभाइ मिलेर वयस्क पुरुषले १८ महिने शिशुलाई हत्या गरेको घटनाले अपराधीलाई फाँसी दिनुपर्ने आवाज उठेको छ । सजाय घटाउने होइन, कानूनको कार्यान्वयनझनै कठोर बनाउनु पर्ने भएको छ । सिंगो समाज नै स्तब्ध र लज्जित बनाउने यस्ता घटनामा अपराधकर्म गर्नेहरुले सत्ता, पैसा मिडियालगायतको आड लिने गरेको देखिन्छ । जसले अनुसन्धान र न्यायप्रभावित हुन जान्छ । समाजमा अराजकता बढ्छ र राज्यप्रतिको अविश्वास पनि बढ्छ । अहिले त्यस्तै अवस्था सृजना भएको छ । एउटा कुनै घटना हुन्छ, त्यहाँ पक्ष वा विपक्षमा मानिसहरु खडा हुन्छन्, अराजक अवस्थाले अर्को अपराध जन्माउँछ । लेटाङको घटना पनि ठ्याक्कै त्यस्तै भएको हो । शिक्षकले छात्रालाई यौन दुव्र्यवहारको आरोप लागे पछि उब्जिएको घटना हो । मिलोमतो र सहमतिमा मिलाउन खोजियो । आरोपको पक्ष र विपक्षमा जम्मा भएका अराजक र आक्रोशित भिडबाट महिला प्रहरीमाथि छुरा प्रहार भयो । नागरिकको सुरक्षादेखि अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी आफै असुरक्षित देखियो । जुन दुखदायी घटना हुन पुग्यो । यस्ता घटनाहरु पटकपटक हुने गरेका छन् । यस्तो अवस्था रहेमा समाजमा अराजकता फैलिन्छ । कानूनको शासन कायम गर्न सक्नु पर्छ । राज्यले गर्ने अपराध अनुसन्धानप्रति नागरिकको विश्वास उठ्नु हँुदैन । अपराधको अनुसन्धान गर्दा तथ्य र प्रमाण निश्पक्ष ढंगबाट जुटाउनु पर्छ ताकि सत्ता, शक्ति पैसाबाट प्रभावित भएमा दुष्परिणाम निम्त्याउँछ । त्यसको असर सोझा सिधालाई पर्न जान्छ । कानूनको सिद्दान्त अनुसार बरु नौ जना अपराधी छुटोस तर एक जना निरापराधले सजाय नपाओस भन्ने हो । नागरिकको विश्वास जित्ने काम गर्न सक्नुपर्छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका बैतडीकी की १७ वर्षीया किशोरी, बिराटनगरकी १७वर्षीया किशोरीलगायतलाई बलात्कार गरी हत्या गरिका घटनामा प्रहरीले अभियुक्तको खोजी गर्न नसकेको कारण पुनः यस्ता घटना दोहोरिँदै गएका छन् । यी घटनाले महिला, बालबालिकाहरुको असुरक्षा बढ्दै गएको छ । तर पनि राज्य र हाम्रो समाज पटक्कै संवेदनशील देखिँदैन । अझैं पनि हाम्रो समाजले पीडितभन्दा पीडकको समर्थनमा आवाज उठाएको देखिन्छ । अपराधलाई राजनीतिकरण गर्ने र कसैको कमाउ खेती गर्ने माध्यम बन्न नदिन पनि प्रहरीले अनुसन्धानमा कुनै कमजोरी नहोस् भनेर सचेतना अपनाउनु जरुरी छ । यस्ता आपराधिक घटना हुनै नदिन महिलाको सुरक्षामा विशेष ध्यान देऊ, परमादेशी सरकार !





