पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेका हुन् ।
आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको आयोजनाको लागत अनुमान ११ करोड ६७ लाख रहे पनि ७ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । कालीखोलाबाट मोटरले पानी तानेर १÷१ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र ५ हजार ४ सय ३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सिल्टेसनका साथै निर्मलीकरण गरिएको भएको यसबाट वितरित पानी धाराबाट सिधै खान मिल्ने हुन्छ ।





