पोखरा/ नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ । शिविरमा १५० जनालेस्वास्थ्य परीक्षण गरेको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यवाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइँमा परेका घाइतेको दयनीय अवस्था देखेर संस्था स्थापना गरेको स्मरण गरे ।
शुक्लागण्डकी नगरपालिका १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताए । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताए ।
शुक्लागण्डकी नगरपालिका १, को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका वरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए ।





