बेनी/ स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत प्राप्त हतियार फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । विगतका हरेक निर्वाचनमा प्रशासन र प्रहरीलाई लाइसेन्स प्राप्त हतियार र अवैध हतियार चुनौती थपिने भएकाले तोकिएको समय अवधिभित्र बुझाउन आह्वान गर्ने गरिन्छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले चैत्र २५ गतेभित्र प्रशासनको आग्रह नमानेमा इजाजत लिई राखिएका हतियार जफत गरी फिर्ता नगरिने बताए । जिल्लाभित्र लाइसेन्स प्राप्त हतियार भएकाहरूलाई समेत समयमा बुझाउन अनुरोध गर्दै नत्र सिधै प्रहरी पुगेर जफत गर्ने प्रशासनले चेतावनी दिएको छ ।
कानुन बमोजिम लिनुपर्ने इजाजत, नवीकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको अवैध हतियार समयमै बुझाएमा अवस्था हेरेर कानुनी कारवाही नगरिने समेत प्रशासनले जनाएको छ ।चुनावका बेला लाइसेन्स प्राप्त हतियार प्रदर्शन गरेर प्रभावमा पार्नसक्ने सम्भवना रहने भएकाले प्रशासनले निश्चित समयका लागि फिर्ता माग्ने गरेको छ ।
लाइसेन्स प्राप्त हतियार प्रयोग गरेर भएका केही घटना र लाइसेन्स लिएका केही व्यक्तिहरुको पृष्ठभूमिका बारेमा समेत प्रशासनले निगरानी राखेको छ । निर्वाचनको अवधिमा सुरक्षा निकायको पहुँच बाहिरका ग्रामिण क्षेत्रमा हतियारको त्रासमा मतदाता बस्नुपर्ने बाध्यता छ । म्याग्दीमा अवैध हतियार बाहेक जिल्लामा भएका सवै ९४ थान इजाजत प्राप्त हतियार रहेका छन् । अभिलेख अनुसार जिल्लामा ९४ थान विभिन्न कम्पनी र मोडेलका ९४ थान इजाजत प्राप्त हतियार छन ।
इजाजत भएका हतियारमध्य अन्नपूर्ण गाउँपालिकाको भित्रका साविक गाविस अन्र्तगतका दोवा, दाना, नारच्याङ र राम्चेमागरी १५ थान हतियार छन ।त्यस्तै रघुगंगा गाउँपालिका भित्र साविक गाविस अन्र्तगतका पाखापानी, पिप्ले, भगवती, बेग, दग्नाममा बढी हतियार छन ।
जिल्लामा सबैभन्दा धेरै पाखापानी ठेगाना उल्लेख गरिएको एक परिवारमा २५ बोर राइफल, २२ बोर राइफल, २ नाले १२ बोर बिर्ज लोडिङ, १ नाले १२ बोर बिर्ज लोडिङ, २२ बोर राइफलगरी ५ थान हतियार रहेको अभिलेख छ । त्यस्तै, बेनी नगरपालिका भित्र २६ थान
हतियार छन ।मंगलामा ९ थान, मालिकामा १४ थान र धवलागिरीमा ७ थान इजाजत प्राप्त हतियार छन । जातिगत रुपमा सर्वाधिक धेरै थकाली जातिसँग हतियार छन । जसमध्ये ११ जना महिलाको नाममा हतियार भएको प्रशासनसँग तथ्यांक छ ।
म्याग्दीमा चुनावमा लाइसेन्स प्राप्त हतियारको चुनौतीको सुरक्षा निकायबाट समेत जोखिमको चर्चा हुने गरेको छ । जिल्लाका धेरै मतदान केन्द्रमा मतदानको केहीदिन अगाडी बाहेक सुरक्षा निकायको पहुँच नहुने भएकाले चुनावी प्रचारप्रसार सहितका अभियानमा हातहतियारको प्रयोग हुने गरेको छ ।
विगतमा बेनी नगरपालिकाभित्र नै हतियार खोसाखोस भएको घटनाले समेत सुरक्षा निकायलाई सचेत बनाएको छ । इजाजत लिएर राखिएका हतियारका बारेमा विभिन्न माध्यमबाट सम्पर्क समेत भइसकेको छ । ग्रामीण क्षेत्रमा वन्यजन्तु मार्न प्रयोग हुने अवैध हतियार समेत चुनावमा चुनौतीको रुपमा देखिएको छ । सुरक्षा निकायका प्रतिनिधिले चुनावी माहोलमा हतियारलाई त्रास र प्रभाव पार्ने माध्यम बनाउन सक्ने भएकाले अवैध हतियारको सूचना समेत प्राप्त हुने गरेको बताउँछन् ।





