शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलाको आफ्नै ताकत

ताराखोलाको आफ्नै ताकत


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

बागलुङ/ निर्वाचनअघि ताराखोला विकासको दृष्टीले धेरै पछाडि थियो । गाउँपालिकाभित्रका मानिस धेरै मेहेनती थिए । तरपनि उनीहरुले मेहेनत अनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफ्नै क्षेत्रका धेरै उत्पादन भएपनि पहिचान दिन सकेका थिएनन् । जब संघियताको रेखा कोरियो, ताराखोलाले आफ्नो पहिचान बढाउन थाल्यो । उत्पादनलाई बजारमा जोड्न थाल्यो । त्यसको सारथी गाउँपालिका आँफै भयो ।

निर्वाचन जितेर आएपछि जनप्रतिनिधिले गाउँपालिकाको विकास गुरुयोजना बनाए । सोहीअनुसार काम पनि थाले । कृषि, शिक्षा, स्वास्थ्य, प्रशासन, पूर्वाधार, उद्योग, खानी तथा पर्यटनजस्ता क्षेत्रमा उनीहरुले पर्याप्त लगानीको अवसर खोजे । स्थानीय पालिकाको लगानीमा मात्र उनीहरु चित्त बुझाएर बसेनन् । प्रदेश र संघिय सरकारको बजेट ल्याउने काममा कुटनीटिक, राजनीतिक र सामाजिक पहल गर्न छाडेनन् । गाउँपालिका अध्यक्ष प्रकाश घर्ती त यो मामिलामा धेरै अगाडि बढे । उनले हरेक सरकार, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालयदेखि सबै सरोकारवाला निकायमा ध्यान पु¥याउँदा अहिले ताराखोला अब्बल गाउँपालिकामा गनिएको छ ।

विकास निर्माणको अनुभव साट्न ताराखोलाले तनहुँको बन्दिपुर र गुल्मीको धुरकोट गाउँपालिकासँग मितेरी साइनोसमेत लगायो । यो मितेरीले अनुभव आदानप्रदान, विकासमा साझेदार निकाय खोज्ने तथा श्रोतको सदुपयोगमा धेरै सफलता मिलेको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाले उद्यम विकासमा पनि सरोकारवालाको लगानी भित्राएको छ । कृषिमा त आत्मनिर्भर बन्ने अवस्था आइसकेको छ ।

ताराखोलाको आफ्नै पहिचान पनि छ । यहाँ रसायनिक मल प्रयोग नगर्ने, जस्तापाताभन्दा आफ्नै गाउँको ढुंगा प्रयोग गर्ने र निजी क्षेत्रका शिक्षण संस्थाभन्दा सामुदायिकलाई प्रवद्र्धन गर्ने मुख्य नीति छ । सोही अनुसारका धेरै क्रियाकलाप पनि भएका छन् ।

प्रशासकीय भवन र कर्मचारी आवास

ताराखोला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । गाउँपालिका स्थापना हुँदा वडा नं. २ को वडा भवन रहेको भातखाने डाँडामा कार्यालय राखियो । कर्मचारी बस्ने ठाउँसमेत नभएर आफ्नै डेरामा बसेर काम गर्नुपर्ने बाध्यता अहिले हेटेको छ । गाउँपालिकाले आफ्नै प्रशासकीय भवन, कर्मचारी आवास र विषयगत कार्यालयको पनि छुट्टै भवनहरु बनाइसकेको छ । सदरमुकाम बस्ने कर्मचारी डेरा खोज्नमा व्यस्त भैरहेको बेला ताराखोला जाने कर्मचारी आवासमा बस्न पाउँछ । ग्रामीण क्षेत्र भएकोले तलममा केही प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था छ । यसले कर्मचारीको मनोबल बढेको एक कर्मचारीले बताए ।

जिल्लाकै ठूलो सभाहल

ताराखोलामा बागलुङकै ठूलो सभाहल छ । गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख ८२ हजार र गाउँपालिकाको १ करोड १२ लाख ५४ हजार गरी कुल २ करोड ८१ लख ३६ हजार लगानीमा सभाहल निर्माण भएको हो । सभाहलमा कार्यक्रम गर्ने हल, शौचालय, कार्यालयसहित कोरोनाको संक्रमण हुँदा राख्ने बेड, कन्ट्रोल रुमसमेत बनाइएको छ । जिल्ला सदरमुकाममा बन्न नसकेको हल गाउँपालिकाले चासो र अगुवाइ गर्दा दुर्गम गाउँमा सुविधासम्पन्न भवन बन्न सकेको हो । सभाहलसँगै गाउँपालिकाले ताराखोला संग्राहलय पनि बनाएको छ । निर्माणाधिन भवन सकिएपछि ऐतिहासिक, धार्मिक, भाषा तथा मगर संस्कृतिका सामाग्रीहरु यहाँ संग्रह गरेर राखिने योजना छ । आधुनिक र आर्कषक कलाले भरिएको संग्राहलय अन्यत्र कतै बनेको छैन ।

सहिद मार्ग

पूर्वाधारमा ताराखोला पनि अगाडि बढेको छ । मध्यपहाडी लोकमार्गको रिजालचोकदेखि ताराखोलाको सिपसम्म ४५ किमी सडक कालोपत्रे गर्न काम शुरु भएको छ । तत्कालिन द्वन्द्वमा श्रम शिविर लगाएर खनिएको यो सडक चौडा पारेर स्तरीयको काम भैरहेको हो । यो सडक कालोपत्रेका लागि समेत टेन्डरमा गएको अध्यक्ष प्रकश घर्तीले बताए । सहिद मार्गको रुपमा चिनिएको यो सडक कालोपत्रे हुँदा म्याग्दीको रुम गाउँ जोड्ने सडक समेत स्तरीय बन्नेछ ।

चक्रपथको रेखांकन र स्तरोन्नती


ताराखोला गाउँपालिकाले चक्रपथको अवधारणा ल्याएको छ । सोहीअनुसार सडक संजाल बनिसकेको छ । अब भने स्तरीय बनाएर कालोपत्रे गर्ने काम मात्रै हो । गलकोटको हरिचौरदेखि ताराखोला, अर्गल, अमरभूमीहुँदै पुन हरिचौर जोड्ने सडक चक्रपथमा सूचिकृत छ । त्यसका लागि गण्डकी प्रदेश सरकार, संघिय सरकार र आन्तरिकसमेत गरी २ अर्व बढी रकम खर्चने योजना छ । केही खण्डमा काम शुरु भैसकेको हो । यो सडक बनिसकेपछि ताराखोलाको चक्रपथमा मात्र सिमित नभई स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने बताइएको छ ।

ताराखोलामा उत्पादन हुने दुध, दहीले तत्काल बजार पाउने स्थानीय प्रमानन्द गौतमले बताए । सडक अप्ठ्यारो भएकोले किसानले दूधजन्य वस्तु बजार पठाउन सकेका थिएनन् । सडक स्तरीय भएमा डेढ घण्टामा सदरमुकाम पुग्न सकिने अवस्था हुनेछ ।

अलैचीको व्यवसायिकीकरण

ताराखोला गाउँपालिका २ अर्गलका हर्कबहादुर रोकाको बारीमा कोदो र मकै मात्र उत्पादन हुन्थ्यो । खोला र जंगलको छेउमा भएकोले उनको बारीमा लगाएको अन्नसमेत बाँदरले खाएर नष्ट पार्दा हैरानी खेपेका थिए । केही समय उनले खेत बाँझै राखे । विगत ५ वर्षदेखि उनले बारीमा अलैची लगाएका छन् । २० रोपनी जमिनमा लगाएको अलैचीबाट उनले मकैको तुलनामा १० गुणा बढी कमाई गर्न थालेको बताए ।

गाउँपालिकाले अलैची किसानलाई अनुदान दिएको छ । मेहेनत गर्ने र बजार खोज्न सकियो भने अहिलेको तुलनामा तीनगुणा कमाई गर्न सकिने किसानले बताए । अलैचीबाट यहाँका तीन सय बढी घर किसानले कमाइ थालिसकेका हुन् । वडा नं. १, २ र ३ का अधिकांस स्थानमा अलैची खेती सुरु भैसकेको छ । वडा नं. ४ र ५ मा पनि विस्तार गर्न बिरुवा बितरण, प्राविधिकहरु ल्याएर मल र औषधीको सिफारिस गर्ने कामसमेत भएको हो । संखुवासभाबाट आएका विज्ञले ताराखोलाको अलैची परीक्षण गरेर गुणस्तर पाएपछि किसानहरु अलैचीमा आर्कषित भएका हुन् ।

ताराखोलाको आलु

कृषिमा अब्बल ताराखोला आलु जोनमा पनि समावेश छ । ताराखोले आलुले अहिले धवलागिरि क्षेत्रमै नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने, बालबालिका पढाउने कमाइ गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकोले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला गाउँपालिका–५ का हर्कबहादुर रोका बताउँछन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।

स्वास्थ्यमा फड्को

ताराखोलाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मारेको छ । हरेक वर्ष वृहत स्वास्थ्य शिविर राखेर ताराखोलाले आम नागरिकलाई स्वास्थ्यप्रति चनाखो बनाएको छ । रोग लागेपछि उपचार गर्ने स्वास्थ्य चौकी र सबै चौकीमा बर्थिङ सेन्टर पनि बनेका छन् । ताराखोला कोभिड अस्पताल, ताराखोला अस्पतालदेखि हरेक वडामा पनि स्वास्थ्यका पूर्वाधार बनेका छन् ।
ताराखोलाको आफ्नै एम्बुलेन्स छ । जोखिम भएका तथा आकस्मिक घटना हुँदा उपचारमा लैजान सहज बनाउन पालिकाले आफ्नै स्वामित्वमा एम्बुलेन्स राखेको हो । कोभिडको बेला अन्यत्र निको नभएका बिरामीसमेत ताराखोला पुगेर निको भएका छन् । लाखौं खर्चेर उपचार गर्दा बाँच्दैन भन्ने बिरामी ताराखोला पुगेर अर्गानिक खाना र नियमित व्यायामले निको भएर घर फर्कन सकेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए ।

खानीको विकास र बजारीकरण

ताराखोलाले गाउँपालिकामै खानी दर्ता गरेर चलाउन पाउने व्यवस्था गरेको छ । यद्यमी खानी तथा भूगर्भ विभागले साना उद्योगलाई पनि ठूलो उद्योग सरह दर्ता गर्नुपर्ने प्रावधान बनाएकोले प्रशासनले बेला बेला अबरोध गर्ने गरेको व्यवसायीले गुनासो गरे । तर ताराखोलाको ढुंगा भनेपछि गण्डकी प्रदेश र लुम्बिनीमा बढी आर्कषण छ । सहरी क्षेत्रका घरमा टाँस्ने टायलदेखि धार्मिक र पुरातात्विक महत्वका क्षेत्रमा बिच्छाइएका ढुंगा ताराखोलाका हुन् । किसानले आफ्नै खरबारीमा खनेर ती ढुंगा निकालेपछि बजारमा पठाएका हुन् ।

घर घरै उद्यमी योजना

ताराखोलाले घर घरै उद्यमी योजना ल्याएको छ । ढाका, भाँङग्रो, उनीसल, सिलाईबुनाई लगायतका व्यवसायमार्फत महिलालाई घर घरमा उद्यमी बनाउने योजना रहेको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । ताराखोलामा अल्लोको उत्पादन छ । अल्लोका सामान उत्पादनमा पनि केही महिला जोडिएका छन् । हाते कागज उद्योग, माछापालन, ताजा तरकारीजस्ता उत्पादनमा पनि लगानी भएको हो । उद्यमीलाई तालिम, बजारीकरण, कोल्डस्टोर निर्माण तथा अध्ययन भ्रमणसमेत गराएर ताराखोलाले उद्यम क्षेत्रमा आर्कषण पनि बढाएको हो ।

बाँझो जमिन उपयोग योजना

ताराखोला गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने नीति बनाएर काम थालेको छ । बसाइसराइले बाँझीएका जमिनमा खेती गरेर आत्मनिर्भर बनाउने पालिकाको अभियान शुरु भएको हो । केही जमिन गाउँपालिकाले भाडामा लिएर कामसमेत थालेको अध्यक्ष प्रकाश घर्तीले बताए । पालिकाले आफ्नै कृषि उत्पादन केन्द्र बनाउन ५ सय रोपनी जग्गामा कृषि व्यवसाय गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->