गीतकार प्रेमप्रकाश मल्लका शब्दमा भनिएको छ
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको पोखरा नै रैछ ..।
नेपथ्यको गीतमा भनिएको छ
मुस्ताङै बजारमा बाह्र बजे हावा सरर …।
खण्डकाव्यकार टुकनाथ रेग्मीको गीतमा भनिएको छ
कति राम्रो कुश्मा सहर रातकी राती
एकै फेर घुम्न जाऊँ न हे मेरी सान्नानी …।
‘रवि नपुगेको ठाउँमा कवि पुग्छन्’ भनेको जस्तै गण्डकी प्रदेशका ११ वटै जिल्लाका विशेषताका बारेमा लेखिएका सयौं गीतहरू छन्, जसले यहाँका प्रकृति र संस्कृति बखान गर्छन् । गीत रचना हुनका लागि पनि त विषयवस्तु चाहियो । विषयवस्तुको खानी हो गण्डकी प्रदेश । प्रदेशको सबैभन्दा उच्च विश्वको सातौं अग्लो धौलागिरि हिमालको ८ हजार १ सय ६७ मिटरको चुचुरोदेखि सबैभन्दा होचो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गण्डक नहर क्षेत्र समुद्री सतहबाट ९३ मिटरसम्म छ ।
यही विशाल उचाइ भिन्नताका कारण गण्डकी प्रदेश तराई, चुरे, मध्यपहाड, उच्च पहाड र हिमाली क्षेत्रसम्मका विविध भू–आकृति, जलवायु, जैविक विविधता र संस्कृतिले भरिपूर्ण छ । हिमालका काखमा उदाउँदै गरेको घाम, तल फेवातालको शान्त पानीमा माछापुच्छ«ेको प्रतिबिम्ब, केही दूरीमै आकाश चिर्दै उडिरहेका प्याराग्लाइडरहरू । पोखराबाट करिब डेढ घण्टाको यात्रापछि पुगिने पर्वतलाई कालीगण्डकीको गर्जनसँगै २२८ मिटरको उचाइमा रहेको विश्वकै दोस्रो अग्लो बन्जी जम्प, सुपर म्यान शैलीको जिपलाइन, अग्ला र लामा साहसिक झोलुंगे पुलले ‘साहसिक’ गन्तव्यको जिल्ला बनाएका छन् ।
गुरुङ गाउँमा घाटु नाच, थकाली भान्साको स्वाद, मुक्तिनाथमा दर्शनार्थीको भीड र गुप्तेश्वर गुफामा शिवभक्तको आस्था पनि यही प्रदेशका आकर्षण हुन् । प्रकृति, संस्कृति, धर्म र साहसिक गतिविधिको यस्तो अद्वितीय संगम विरलै भेटिन्छ । यही कारण त गण्डकी प्रदेश नेपालकै पर्यटनको केन्द्र मानिन्छ । तर प्रश्न अझै पनि छ–यति धेरै सम्भावना हुँदाहुँदै पनि गण्डकीले आफ्नो वास्तविक आर्थिक क्षमता किन उपयोग गर्न सकेको छैन् ?
विश्व प्रसिद्ध अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमशृंखला, पोखराका तालहरू, मुस्ताङको मरुभूमि, कालीगण्डकीको गहिरो खोंच, पर्वतका अग्ला झोलुंगे पुल, म्याग्दीका छहरा, तनहुँका ऐतिहासिक सम्पदा, गोरखाको इतिहास र स्याङ्जाका हरियाली गाउँहरू एउटै प्रदेशमा छन् । पर्यटक हरेक कुरा अनुभव गर्न चाहन्छन् । साहसिक खेल, ग्रामीण जीवन, जैविक विविधता, धार्मिक आस्था, सांस्कृतिक विविधता र स्थानीय खानाको मौलिक स्वादको अनुभव गण्डकीमै सम्भव छ ।
आजभोलिका पर्यटकीय यात्राहरू तस्बिर खिच्नका लागि मात्रै नभएर स्थानीयसँग बस्ने, उनीहरूको संस्कृति बुझ्ने, परम्परागत खाना खाने र प्राकृतिक जीवनशैली अनुभव गर्ने शैलीका छन् । प्रदेशका हरेक जिल्लामा विविधता भए पनि गण्डकी प्रदेशको पर्यटनको सबैभन्दा ठूलो चुनौती भनेकै विकेन्द्रीकरण हो । विश्वका पर्यटकको रोजाइको केन्द्र पोखरा बने पनि पोखराका आसपासका जिल्लामा रहेका पर्यटकीय केन्द्रमा पोखरा आएका निकै कममात्रै पर्यटक पुग्ने गरेका छन् ।
पोखरा विश्वको प्रसिद्ध गन्तव्य बने पनि पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा वा नवलपुरका धेरै उत्कृष्ट गन्तव्य अझै पर्याप्त प्रचारमा आउन सकेका छैनन् । पोखराबाट बाहिर निस्किएको पर्यटन मुस्ताङमा भने अनुभव गर्न पाइन्छ । पोखरामा आएर महिनौंसम्म बस्ने पर्यटकहरु पर्वतको बन्जी, गुप्तेश्वर गुफा, विश्वकै अग्लामध्येका झोलुंगे पुल, म्याग्दीको घोडेपानी र गलेश्वर, बागलुङको कालिका भगती मन्दिर र पञ्चकोट, मुस्ताङका बिभिन्न पर्यटकीय क्षेत्र, गोरखाका सम्पदा र इतिहास, लमजुङको घले गाउँ, तनहुँको बन्दीपुरमा पनि प्रशस्तै पुग्नुपर्ने हो । पोखराबाट सडक मार्ग हुँदै मुस्ताङ पुग्दा पर्वतको रिसोर्ट, बन्जी र जिपलाइनको आँगन हुँदै जानुपरे पनि ती पर्यटक कुश्मामा हम्मेसि रोकिँदैनन् ।

लेखक
मुस्ताङबाट फिर्ती यात्रा तय गरेकाहरूको एक्सप्रेस यात्रा पोखरा नै बन्छ । पर्यटक पोखरा पुगेर फर्किन्छन्, तर प्रदेशका अन्य जिल्लामा बसाइ लम्बिँदैन । यसले पर्यटनबाट प्राप्त हुन सक्ने आर्थिक लाभ सीमित बनाइदिएको छ । पछिल्ला वर्षमा गण्डकीमा निजी क्षेत्रबाट होटेल, रिसोर्ट, केबलकार, एडभेन्चर पार्क, क्याफे, होमस्टे र पर्यटकीय पूर्वाधारमा ठूलो लगानी भएको छ । यिनीहरूलाई चलायमान बनाउने महŒवपूर्ण सेतु पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो ।
गण्डकीको प्रमुख सम्भावनाको क्षेत्र पर्यटनलाई केन्द्रित गरी भएका लगानी अनुसारको प्रतिफल आउन भने सकेको छैन । यसका मुख्य कारणमा अन्तर्राष्ट्रिय उडानको सीमित सञ्चालन, कमजोर अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, पर्यटनको मौसमी निर्भरता, सेवा गुणस्तरमा असमानता, डिजिटल प्रचारको कमी र प्रदेशभर समन्वित पर्यटन योजना अभाव लगायत छन् । त्यसैले अब नयाँ सोच आवश्यक देखिन्छ । पर्यटन व्यवसायीहरू सडक, भवन र गेट बनाएरमात्रै पर्यटन विकास नहुने बताउँछन् ।
पर्यटकलाई चाहिने सहज सूचना, सुरक्षित यात्रा, सफा वातावरण, गुणस्तरीय सेवा, डिजिटल सुविधा र फरक अनुभव हो । यसका लागि केही आधारभूत काम गर्नुपर्ने उनीहरूको सुझाव छ । प्रदेश स्तरको एकीकृत पर्यटन ब्रान्ड निर्माण, सबै जिल्लालाई समेट्ने पर्यटन सर्किट विकास, स्थानीय संस्कृति र खानालाई पर्यटनसँग जोड्ने अभियान, डिजिटल बुकिङ, स्मार्ट सूचना प्रणाली र बहुभाषिक पर्यटन एप सञ्चालन, प्रत्येक पालिकाले आफ्नो विशिष्ट पर्यटन उत्पादन पहिचान गर्ने, निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीच सहकार्य बढाउने, युवालाई गाइड, एडभेन्चर खेल, डिजिटल प्रचार र पर्यटन उद्यममा आकर्षित गर्ने लगायतका काम गर्नुपर्ने पोखराका पर्यटन व्यवसायीहरू बताउँछन् ।
केही वर्ष पहिलेसम्म विकसित ठाउँ अवलोकनमा रमाउनेहरू आजभोलि कुना, कन्दरामा लुकेका जीवनशैलीप्रति आकर्षित हुन थालेका छन् । पर्यटक होऊन् वा कन्टेन्ट क्रिएटरहरू, उनीहरूको खोजीमा ग्रामीण र लुकेर बसेका जीवनशैली र कला पर्न थालेका छन् ।
यसले विश्व पर्यटनको नयाँ प्रवृत्ति ग्रामीण अनुभवतर्फ केन्द्रित हुँदै गएको स्पष्ट पार्छ । गण्डकीका फरक जिल्लाका फरक विशेषताका रूपमा गुरुङ, मगर, थकाली, कुमाल, नेवार लगायतका समुदायको मौलिक संस्कृति, परम्परागत घर, स्थानीय खाना, कृषि प्रणाली, लोकनृत्य र प्राकृतिक जीवनशैली विदेशी पर्यटकका लागि अत्यन्त आकर्षक बन्न सक्छन् । यसका लागि होमस्टेलाई गुणस्तरीय बनाउने, स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने र गाउँलाई पर्यटनसँग जोड्ने रणनीति आवश्यक छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले गण्डकीका ११ जिल्लाका ११ वटा प्रमुख आकर्षणहरूको प्रचारप्रसार गरी पोखरा भित्रिएका पर्यटकलाई अन्य जिल्लामा पनि जाने वातावरण बनाउन आफूहरू लागिरहेको बताए ।
‘पर्यटन भनेकै डिमान्ड बेस हो । हाम्रो चाहना त घुम्न आएको मानिस ७७ वटै जिल्लामा घुमिदिए हुन्थ्यो भन्ने लागे पनि पर्यटक आफ्नो डिमान्ड र रहर अनुसार नै डुल्ने हो । अरू प्रदेशको तुलनामा हामी बलिया नै छौं । गण्डकीभित्रका ११ वटै जिल्ला पर्यटनको हिसाबले पोटेन्सियल छन् । पोखरा, मुस्ताङ जस्ता ठाउँ पर्यटनको विकास भएकै बेलादेखि चिनिएका ठाउँ भएकाले पर्यटकहरूको बढी आकर्षण त हुने नै भयो’, उनले भने, ‘पोखरा त नेपालका प्रमुख ट्रेकिङ रुटहरू सुरु हुने ठाउँ पनि हो भनेर ५०÷६० वर्षदेखि परिचित छ । पछिल्लो मुभमेन्टको अवस्था हेर्दा पोखरामा आएका भारतीय पर्यटकहरु बागलुङ हुँदै मुस्ताङ गएको देखिएको छ । यो क्रममा उनीहरू कुश्मा र म्याग्दी त पुग्नुपर्ने हुन्छ । भारतीय बाहेकका पर्यटक पर्वतमा रहेका बन्जी, झोलुंगे पुल लगायतका साहसिक पर्यटनमा रमाउन पुगेको देखिन्छ ।’
भारतीय पर्यटकलाई पोखरा छिर्नुभन्दा अगाडि नै स्याङ्जामा नवग्रह मन्दिरमा छिर्नुपर्ने भन्ने धारणाको विकास गरिएको भन्दै लामिछानेले पोखराबाट काठमाडौं फर्किँदा तनहुँको बन्दीपुरमा पर्यटकहरु पुगेका, लमजुङ र मनाङमा भारतीय भन्दा पनि अरू विदेशी र युरोपियनको आकर्षण रहेको, गोरखकाली र मनकामना मन्दिरको प्रचार भारतीय क्षेत्रहरूमा भइरहेको तथा नवलपुरमा चितवन राष्ट्रिय निकुञ्जदेखि थारु संस्कृतिले पनि पर्यटक तानिरहेको बताए । उनले थपे, ‘११ जिल्लाका ११ प्रकृतिका आकर्षणलाई हामीले मुख्य रूपमा प्रचार गरिरहेका छौं । मेरा लागि त पोखरा मात्रै होइन ११ वटै जिल्लाहरूको पोटेन्सियल बाहिर आउनुपर्छ भन्ने नै हो । सुरुमा पोखरा भनेर आए पनि आइसकेपछि अन्यत्र पनि जानुपर्ने रहेछ भनेर पर्यटकलाई थाहा दिनुपर्छ । अहिले चलायमान भइरहेको अवस्था छ ।’
सराङकोटबाट हुने प्याराग्लाइडिङ, पोखरा र कुश्माको बन्जी, जिपलाइन, कालीगण्डकी नदीमा हुने राफ्टिङ, मुस्ताङ र मनाङका लामा दूरीका पदमार्ग, अल्ट्रा ट्रेल, माउन्टेन बाइकिङ, क्यानोनिङ र रक क्लाइम्बिङका लागि गण्डकी धनी छ । कतिपय निर्माण भएका छन् त केही निर्माणका लागि प्रशस्त ठाउँ छन् । पोखराको फेवातालमा मात्रै हुने ‘बोट रेस’मा सहभागी हुन आउने चिनिया पर्यटकलाई कालीगण्डकी जोड्नु छ । कालीगण्डकीको गल्छीमा बन्जी गर्न आउनेहरूलाई फेवातालमा तैराउनु छ । यिनै गतिविधिलाई अन्तर्राष्ट्रिय प्रतियोगिता, खेल पर्यटन र साहसिक उत्सवसँग जोड्न सके गण्डकीले विश्व बजारमा नयाँ पहिचान बनाउन सक्छ ।
पर्यटन विस्तारसँगै वातावरण संरक्षणमा चुनौती पनि थपिएको छ । प्लास्टिकजन्य फोहोर, अव्यवस्थित निर्माण, नदी र ताल प्रदूषण, वन विनाश तथा अनियन्त्रित भीडले पर्यटनको दीर्घकालीन भविष्यलाई असर गरिरहेको छ । अब दिगो पर्यटनलाई विकासको आधार बनाउनु अपरिहार्य छ । प्रत्येक पर्यटकीय गन्तव्यको क्षमता निर्धारण, फोहोर व्यवस्थापन, हरित पूर्वाधार र स्थानीय समुदायको सक्रिय सहभागिता चाहिने पर्वतमा बन्जी जम्प सहितका साहसिक पर्यटन सञ्चालन गरिरहेको ‘द क्लिफ’का सञ्चालनमध्ये एक राजु कार्की बताउँछन् ।
गण्डकी प्रदेशले आगामी दशकलाई पर्यटन दशकका रूपमा रूपान्तरण गर्न चाहे निम्न चरणबद्ध रणनीति अपनाउन सक्छ । पर्यटन सम्पदाको वैज्ञानिक अभिलेखीकरण, डिजिटल नक्सा, प्रदेशस्तरीय ब्रान्डिङ, पर्यटन सूचना केन्द्र, गाइड तालिम तथा आधारभूत पूर्वाधारमा सुधार आवश्यक छ । पर्यटन सर्किट सञ्चालन, निजी लगानी विस्तार, अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रचार, स्मार्ट पर्यटन प्रणाली, ग्रामीण पर्यटन र साहसिक गतिविधिको विस्तार बढाउनुपर्ने छ । गण्डकीलाई दक्षिण एसियाको अग्रणी साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन र खेल पर्यटन भित्र्याउने, पर्यटनबाट हजारौँ रोजगारी सिर्जना गर्ने तथा प्रदेशको अर्थतन्त्रको प्रमुख आधार पर्यटनलाई बनाउने अबको बेला हो ।
गण्डकी प्रदेशसँग सम्भावनाको कमी छैन बरु चुनौती ती सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने नेतृत्व, नीति र कार्यान्वयनको छ । प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण, स्थानीय सरकारले प्रभावकारी व्यवस्थापन, निजी क्षेत्रले गुणस्तरीय लगानी, समुदायले स्वामित्व र नागरिकले संरक्षणको संस्कार अपनाए भने गण्डकी प्रदेश नेपालको पर्यटन केन्द्रका रूपमा मात्रै नरहेर दक्षिण एसियाकै उत्कृष्ट प्रकृति, संस्कृति र साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ ।





