बागलुङ/ काठेखोला गाउँपालिकाको ठूलो वडा हो रेश । पानीका स्रोतहरु प्रशस्त रहेको रेशमा कृषि उत्पादन, पशुपालन र पर्यटनका माध्यामबाट आयआर्जन गर्न सकिन्छ । साविकको गाउँ विकास समिति रहँदा जिल्लाका ५९ गाउँ विकास समितिमध्येमा चर्चामा आउने रेश अहिले काठेखोला गाउँपालिकाको वडा नं. ७ बनेपछि पनि चर्चामा छ । रेशमा समथर फाँटदेखि उच्च पहाडी हावापानी पाईने लेकसमेत पर्छ । रेशमा जनप्रतिनिधि आएपछि पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य कृषि, पर्यटन र खेलकुदका क्षेत्रमा धेरै काम भएका छन् ।
रेशले पहिलोपटक कालोपत्रे सडकको थालनी गरेको छ । मध्यपहाडी लोकमार्गले गरेको कालोपत्रेबाहेक आठ वडामध्ये कालोपत्रे सडकको सुरुवात गर्ने रेश पहिलो वडा हो । सबै टोलमा पुगेका कच्चि सडक रेशको पाँच वर्षमा गरेका कामको प्रगतिको उदाहरण हो । कच्चि सडकमा बनेका नाली पनि वडाका काम हुन् । रेश नुन्थला मावि र अन्य विद्यालयमा भएको शैक्षिक सुधार, शिक्षक मिलान, प्रविधिमैत्री विद्यालय, पूर्वाधार सम्पन्न विद्यालय रेशले शिक्षा क्षेत्रमा गरेका प्रगति हुन् ।

रेश गाविस रहँदाका हरेक वडामा खेल मैदान बनेका छन् । खेलाडी प्रोत्साहन र प्रशिक्षणमा वडाले लगानी गरेको छ । काठेखोला गाउँपालिकाको एकमात्रै उद्योग ग्राम रेशमा बन्दैछ । यहाँको व्यवसाय प्रबद्र्धन, उद्योग स्थापना तथा रोजगारी सिर्जनामा रेशले चालेका कदम सर्वसाधारणमैत्री छन् भन्छन् वडा अध्यक्ष प्रेम लामिछाने । पाँच वर्षको अवधिमा झण्डै पाँच किलोमिटर सिंचाई कुलोहरु बनेका छन् । रेशलाई हराभरा बनाउने ती नहर वडाका अधिकांश किसानको खेतबारीमा पुग्छन् । किसानलाई उत्पादनमा अनुदान, पशुपालनमा अनुदान दिएर वडाले प्रोत्साहन गरेको छ । बौरामा लगाईएका चियाका बिरुवाले मुना हाल्दा रेशको प्रगति झल्किन्छ । झण्डै ३५ हजार चियाका बिरुवाबाट उत्पादन लिने चरणमा रहेको वडाले प्रसोधनसमेत आँफैले गर्ने तयारी थालेको छ ।

रेश स्वास्थ्य चौकीको भवनमा थेरापी, ल्याव सञ्चालन गर्ने महत्वपूर्ण काम वडाले गरेको छ । यहीं वडामा १५ शैयाको अस्पताल बन्दैछ । जग्गा प्राप्ती गरेर बसेको वडाले अस्पताल निर्माणका लागि पहल गरिरहेको छ ।
मदनभण्डारी स्मृति पार्क होस् वा पदमार्ग निर्माण रेशले पर्यटनका क्षेत्रमा गरेको लगानी देखिने ठाउँ हुन् । मौरीभीर झरनाको प्रचार प्रसार र एउटै वडामा तीन तीन वटा घरबास सञ्चालन रेशले पर्यटनको क्षेत्रमा गरेको लगानीको प्रतिफल हुन् ।
पाँचवर्षे कामका विषयमा वडाध्यक्ष प्रेम लामिछानेको बुझाई

हरिया डाँडा, बसेको फाँट, आफ्नै रहनसहन मिलेको समुदाय रहेको काठेखोला गाउँपालिका–७ रेश उत्साहित जनता भएको वडा हो । पहिले गाउँ विकास समिति हुने बेला पनि यहाँका जनता सधैं एकै ठाउँ र एकै मत भएर बसे, काम गरे । बहुदल प्राप्ति पछिको विकासमा रेशका सर्वसाधारण कहिलै विभाजन भएनन् । एक मन एकताका साथ यहाँका जनताले आफ्नो कर्म गरिरहेका छन् । जनजाती बस्ती धेरै भएको एरिया हो रेश । यहाँ त्यहिं हिसाबको रहनसहन र रितीरिवाज तथा काम गर्ने शैली, तरिका छन् ।

यहीं विशेषताका बीचमा हामी वडामा आएको पनि पाँच वर्ष बितेको छ । हामीले पहिल्यै भनेका थियौं ठुला स्किमका काम हामी गर्न सक्दैनौं, हाम्रो स्रोतले पुग्दैन् तर स–साना कामबाट पनि हामी जनतालाई सुविधा दिनेछौं । त्यहीं अनुसार हामीले काम थाल्यौं ।
अहिले रेशले गाउँ गाउँमा सडक कालोपत्रे हुँदोरहेछ, सडक ढलान हुँदोरहेछ भन्ने सन्देश दिएको छ । सडक ग्राभेल गर्ने, नाली बनाउने काम गर्न वडाले पनि सक्दो रहेछ भन्ने प्रमाण हामीले गरेका काम हुन् । जस्तो हामीले गाउँपालिका कार्यालय बिहुँ जलजलादेखि खोलासम्म आउने सडक कालोपत्रे गरेका छौं । खोलादेखि अहिले हाम्रो काफलबोटसम्म पक्कि सडक बन्ने काम चलेको छ । सडकले निकै दुःख पाएको रेशले अब सडककै कारण दुःख झेल्नु पर्दैन ।
प्रत्येक घरबाट दश मिनेटको पैदल दुरीमा सडक छ । कच्चि सडक हाम्रो वडामा ४६ किलोमिटर रहेको छ । हामीले ती सडकको सुधार गरेका छौं । सडककै कुरा गर्ने हो भने सिगाना, लेखानी, गाजाका दहहुँदै शान्तिपुर जाने सडकको काम हाम्रोमा पनि भएको छ । रिङरोडको कल्पना धेरै पहिला भएको हो । तर काम हामी आएपछि पञ्चकोट, सिगाना, लेखानीहुँदै बलेवा पुग्ने रिङरोड हाम्रो पालामा थालनी भएको छ । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको यो क्षेत्रको वैकल्पिक सडकका रुपमा विकास भएको रिङरोड हाम्रो वडाको लागि महत्वपूर्ण सडक हो ।
पूर्वाधार सडकका क्षेत्रमा हामिले आधारभुत तहको सडक विस्तार गरिसकेका छौं । खेलकुदको क्षेत्रमा हेर्ने हो भने साविकका सबै वडामा खेल मैदान बनेका छन् । खेल गतिबिधिमा वडाको सहभागितादेखि खेलकुदको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्ने काम संघ र प्रदेश सरकारसँ मिलेर गरेका छौं । प्रशिक्षण चलेका छन् ।

हाम्रोमा आउने मुख्य सडकको मोटरेवल पुलको समस्या थियो । उक्लेफाँटमा बन्दै गरेको मोटरेवल पुलको निर्माणका लागि प्रदेश सरकारले हामीलाई साथ दियो । अहिले काम धमाधम भैरहेको छ । रेशको समृद्धिमा यो पुलले सघाउँछ । हामीले हाम्रो गाउँसँग जोड्ने मध्यपहाडी लोकमार्गबाट कुँवरथर जोड्ने झोलुंगे पुलको डिपिआर गरिरहेका छौं । ओदानडाँडादेखि खर्वाङ, कादेशदेखी देउरालीलगायतका पुलको परियोजना प्रस्ताव तयार भएको छ । काठेखोलाको औधोगिक ग्राम नै हाम्रो वडामा बन्दैछ । यो महत्वपूर्ण योजना हो । व्यवसाय र रोजगारीका क्षेत्रमा यसले सहयोग गर्नेछ । बहुबर्षे कार्यक्रम भएकाले हामीले हाम्रै पालामा पुरा गर्न त सकेका छैनौं तर यो योजना महत्वपूर्ण योजना हो ।
शिक्षा क्षेत्रमा हेर्ने हो भने रेश नुन्थला माविको शैक्षिक सुधारका लागि शैक्षिक महत्व जस्तो महत्वपूर्ण काम हामीले गरेका छौं । त्यो महोत्सवपछि रेश नुन्थला माविको फेरीएको स्वरुप हाम्रो पालाको उपलव्धी हो । यो रचनात्मक काम थियो । जनकल्याण, कालिकालगायतका विद्यालय सुधारका कामले बन्द हुन थालेका विद्यालय आज मोडेल विद्यालय बनेका छन् । भवन सुधार, बालविकास सुधार, प्रत्येक विद्यालयमा एक शिक्षक एक ल्यापटप, एक कक्षा कोठा एक प्रोजेक्टर जस्ता अभियान सञ्चालन गरेर विद्यालयहरु प्रविधिमैत्री बनाएका छौं । हरेक विद्यालयमा कम्प्युटर, फोटोकपी मेसिन, इन्टरनेट लगायतका काम गरेका छौं ।

सामाजिक र आर्थिक विकासका क्षेत्रमा पनि हामी अघि छौं । स्वास्थ्य चौकीका लागि जग्गा व्यवस्थापन, सामाजिक स्वास्थ्य इकाई, रेश स्वास्थ्य चौकीमा थेरापी सेवा अन्य उपकरणको जोहो गर्ने सम्मका काम हामीले गरेका छौं । अस्पताल बनाउन जग्गा प्राप्त भएको छ । अस्पताल भवनको डिपिआरको काम भैरहेको छ ।
आर्थिक हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा धेरै चिया खेती गर्ने वडा हो हाम्रो । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम हामीले चलाएका छौं । चियाका बिरुवा हुर्किँदा हाम्रो उपलव्धी फुलिरहेको छ । रेश साना किसान सहकारीले यहाँ काम गरेको छ । चिया पर्यटन, आर्थिक उपार्जनका हिसाबले हामीले फाईदा गर्ने चरणमा छौं । यो नमुना कार्यक्रम हो । हामीले चिया प्रशोधन उद्योग सञ्चालन गर्ने योजना पनि बनाएका छौं । रेश साना किसानले चियाको काम गरेको छ । साना किसानमा साविक वडाका सबै सहभागि भएका छन् । चियाको नर्सरी राखेर, प्रशोधन गरेर काम गर्ने चरणमा छौं ।

रेश सामुदायिक वनहरुमा सम्पन्न वडा हो । अब हामीले प्रत्येक सामुदायिक वनमा फलफुल खेती गर्ने भनेर योजना बनाएका छौं । केही सुरुवात भएको छ । जंगलमा जापानिज नास्पती, एभोगाडो, टिमुर, अलैची लगाएका छौं । विद्यालयहरुलाई समेत आर्थिक उपार्जन हुने गरी काममा लगाउने भनेका छौं । विद्यालय आर्थिक उपार्जन हुने काम हाम्रो वडामा मात्रै ७० वटा कृषि फार्म ४९ वटा पसल दर्ता भएर सञ्चालनमा छन् । उद्योग १२ वटा दर्ता भएका छन् ।
रोजगारी सिर्जना गर्ने र प्रत्येक युवालाई गाउँ फर्किने वातावरण बनाउँदै छौं । सबैलाई रोजगारी दिन त वडाले मात्रै सक्दैन् । सरकारले गर्नुपर्छ तर हामीले केही न केहीमा सहभागि गराएर गाउँमै बस्ने वातावरण बनाएका छौं । बाख्रापालन होस् वा ढुंगा–माटोको काममा स्थानीय युवाको परिचालन वडाले गरेका प्रयास हुन् ।
आलु पकेटक्षेत्र, धान पकेटक्षेत्र बनाएर हामीले आर्थिक उपार्जनका काम गरेका छौं । सामाजिक विकासका काममा हामीले बैंकसँग समन्वय गरेर काम गरेका छौं । सस्तो ऋण, सबै नागरिकको खाता, बैंकिङ कारोवार गर्न प्रेरित गर्ने काम गरेका छौं । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुन्छ । हाम्रोमा दुईवटा बैंकका शाखा ल्याएका छौं । सामाजिक आर्थिक हिसाबले मजबुद हुनका लागि हामीले चार वटा घरबास चलाएका छौं । पर्यटनका क्षेत्रमा काम भएका छन् । तामिल, गोष्ठीमार्फत सशक्तिकरणका काम भएका छन् । युवा, महिला, दलित जनजाति, अपांगता भएका व्यक्ति र सबै सामाजिक सुविधा पाउनु हामीले आवश्यक सबै काम गरेका छौं ।

पाँच वर्षमा हामीले गर्छु भनेका धेरै काम भए । कतिपय नसोचेका काम हामीले गरेका छौं । केही काम कानुन र प्रक्रियाका कारण रोकिएका छन् । संघ, प्रदेशका कानुन नबन्दा हामीले समस्या भोग्नुपर्यो । बोलेभन्दा धेरै काम हामीले गरेका छौं । सिंचाईंको कुरा गर्दा हामीले दुई तीन सय मिटर पाईप दिँदा हुन्छ भनेका थियौं तर पाँच किलोमिटर सिंचाई कुलो बनाएका छौं । ढोटा, देउराली, दामगाडे सिंचाई आयोजना लगायतका आयोजना हामीले कल्पना गरेभन्दा बाहिर गर्न सकेका काम हुन् । वडाको स्रोत पालिकाको स्रोतले मात्रै त के हुन्थ्यो र हामीले समन्वय र सहकार्य धेरै तीर गर्न सकेकाले नै यी कामहरु भएका हुन् ।

विद्युतका पोलहरु काठका पोलहरु बिस्थापित गरेका छौं । खरका छाना बिस्थापित गर्ने काम सुरु गरेका हौं । यो त राष्ट्रिय कार्यक्रम नै बन्यो । हामीले घर नभएका विपन्नको घर बनाएका छौं । भुकम्प पीडितका घर निर्माणमा सहयोग गरेका छौं । हाम्रोमा कोही कसैको घरमा खानेपानीको समस्या छैन् । घर घरमा धारा पु¥याएका छौं । समस्या भएका क्षेत्रमा हामीले लिफ्टिङ गरेर पनि पानी पु¥याएका छौं ।
पानीका पोखरीहरु बनाएका छौं । महिला, बालबालिका, जेष्ठ नागरिकका, अपांगता भएकाहरुका लागि पनि हामीले धेरै काम गरेका छौं । सामुदायीक भवनहरु बनाउने, शिविरहरु चलाउने, क्षमता विकासका कार्यक्रम चलाउने काम हामीले गरेका छौं । सुत्केरी बोक्न हाम्रो वडामा हेलिप्याड बनेका छन् । पाँच वर्ष गरेका काम यो छोटो विवरणमा बताएर कहाँ सकिन्छ र । प्रतिनिधिमुलक हिसाबले हेर्ने हो भनेपनि धेरै काम हामीले गरेका छौं । हामी हाम्रा कामबाट सन्तुष्ट छौं । गरेका काम महत्वपूर्ण छन् ।
मानव जाती हो सन्तुष्टि जती प्राप्त भयो उती तीव्र इच्छाहरु हुन्छन् । हामीले कुनै एक पार्टीबाट चुनाव जितेका हौं तर विकासको मामलामा रेश एकै ठाउँमा छ । सबै पार्टी एकै ठाउँमा भएकाले हामीलाई समस्या छैन् । त्यसैले गाउँ विकास र समाज रुपमान्तरणमा सहयोग पुग्यो ।

२०७४ सालको स्थानिय निर्वाचन पछि भएका महत्वपूर्ण कामहरु :
१. ४०० मिटर सडक कालोपत्रे (बिहुँ सुल्डाँडादेखी एक्लेखेत)
२. चार किलोमिटर सडक कालोपत्रेको प्रक्रियामा
३. गाजाहुँदै शान्तिपुर नाका–नयाँ ट्याक खोल्ने काम भएको छ
४. आरिम्पाटा सिगाना नयाँ ट्याक खुलाईएको
५. कुँवरचोक मुनी नयाँ ट्रयाक खुलाईएको
६. रिङरोड जमिनडाँडा पिडाल्ना डोटा देउराली
७. वडाका मुख्य र शाखा बाटोहरुको स्तरोन्नती भएको
८. खेलकुद मैदान निर्माण
९. मोटरेवल पुल निर्माण अन्तिम चरणमा
१०. झोलुङगे पुल ३ वटा डिपिआर भएको
११. औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु
१२. शैक्षिक महोत्सव रेश नुन्थला माविको सुधार
१३. विद्यालय सुधार कार्यक्रम प्रत्येक विद्यालयमा कम्प्युटर सिसी क्यामेरा, एक शिक्षक एक ल्यावटप कार्यक्रम सञ्चालनमा ल्याईएको
१४. वडा कार्यालय भवन तला थप तथा कार्यालय व्यवस्थापन
१५. स्वास्थ्यचौकी जग्गा व्यवस्थापन १२ रोपनी
१६. ल्याब, स्वास्थ्य इकाई स्थापना
१७. वन वातावरण कृषि मुख्यमन्त्री, वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन
१८. ७० कृषि फार्म तथा समुह दर्ता, ४९ पसल दर्ता, १२ उद्योग दर्ता
१९. रेश साना किसान सहकारी स्थापना तथा विकास
२०. विदुर पुरुष, एकल पुरुष सामान वितरण कार्यक्रम
२१. धान पकेटक्षेत्र, आलु पकेटक्षेत्र, चिया खेती बगान विस्तार
२२. सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकाभरि पहिलो माछापुच्छ्रे बंैकबाट सेवा शाखारहित बैंक स्थापना
२३. पर्यटन, होमस्टेमा–४२ घर संलग्न, मदन मार्ग निर्माण, माहुरी झरना, मदन पार्क, कोट घर, भैवर मन्दिर ओदानडाँडा मन्दिर सत्यवती मन्दिर पुननिर्माण तथा प्रचार प्रसार, सामुदायिक वनमा फलफुल खेती विस्तार, विपन्न घर बनाउने तथा छाना लगाउने, जनता आवास कार्यक्रम, एक घर एक धारा कार्यक्रम, विद्युत ट्रान्सफर्मर, काठको पुल व्यवस्थापन, पोखरी संसक्षण, सत्यवती, वौर, झाँक्रीस्थान, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय समन्वय, वडा कार्यालयबाट दिने सेवा अन्लाइनबाट भएको ।
२४. घर तथा खेतीयोग्य जमिनको रुख कटानको सुरुवात, जिविकोपार्जन तथा उद्यमशिलता कार्यक्रममा सहयोग, ओदानडाँडा हेली प्याड तयार, ८ समुदायीक वन उद्यम कार्यक्रम जस्तैः फलफुल खेती गरिएको, पुननिर्माण कार्यक्रम, घर निर्माणमा सहयोग गरिएको । समन्वय र सहकार्यका कयौं काम भएका छन् ।






