बागलुङ/ कठिन भुगोल, सिमिति स्रोत साधान र सिमित जनशक्तिबाट सुरु भएको गाउँपालिका हो काठेखोला गाउँपालिका । आठ वडामा विभाजन भएको गाउँपालिका कृषि उत्पादन, कला संस्कृति, खेलकुद र साना उद्योगहरु सञ्चालनमा रहेको गाउँपालिकाको रुपमा परिचय बनाउन सफल भएको छ । शुन्यबाट सुरु भएको काठेखोला गाउँपालिकाको विकास निर्माण अहिले आधारभुत तहमा पुगेको छ । देशभरमै सूचना प्रबिधिको प्रयोगमा अब्बल रहेको काठेखोला विकासको गति तिव्र बनाएको गाउँपालिका हो । निर्वाचित भएको पाँच वर्ष समायवधीमा आफ्ना प्रयास र भएका कामहरुको विषयमा गाउँपालिका अध्यक्ष अमर थापाको बुझाई ।

गाउँपालिका स्थापनापछि गाउँसभामार्फत गाउँमैत्री एवम् जनमैत्री विकासका योजनाहरु र जनपक्षिय ऐन कानुनहरु निर्माण गरि कार्यान्वयनमा ल्याइसकेका छौं । हिजो हामीेले जनतालाई दिएको आस्वासन, उनीहरुको बिचमा गरिएका प्रतिवद्धता, जनताका घर घरमा पुगेर मत माग्दै गर्दा जनताका बिचमा गरिएका बाचा कवुलहरु र हाम्रा घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताहरुको एक एक गरि बुँदागत रुपमा हामीले छलफल र कार्यान्वयन गरेका छौं ।
हामीलाई जनताले पाँच वर्षका लागि अनुमोदित गरेका थिए । यो विचमा हामीले निर्वाचनका बेलामा आम नागरिकहरुका विचमा गरेका वाचा पुरा गर्न सकेका छौ कि छ्रैनौ ? हामी समिक्षा गरेका छौं । हामीले गरेका र गर्न नसकेका कुराहरु जनतालाई एकएक गरि बुझाउनु पर्दछ ।
समुन्नत नेपालको नविनतम अवधारणासहित समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै सिंगो देश समृद्धि र रुपान्तरणको अभियानमा निरन्तर यात्रारत छ । देशका प्रायः सबै राजनैतिक दलहरु आ–आफ्नो पार्टीको अधिवेशन, महाधिवेशन गरि अझ बढि लोकतान्त्रिक, अझ बढि प्रजातान्त्रिक बन्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा र यसको संस्थागत विकासमा दृढ संकल्पका साथ लागि परिरहेका छन् । जनताबाट निर्वाचित हामी जनप्रतिनिधिहरु पनि जनताको सेवा, परामर्श र विकासलाई प्राथमिकताको पहिलो सुचिमा राखी आ–आफ्नो गाउँपालिकाको विकास र समृद्धिको अभियानमा जुटिरहेका छौ । आम जनताहरु पनि कहिँ न कतै विकासको काममा व्यस्त देखिन्छन् ।
कहिँ सडक निर्माण हुँदै गरेका दृश्यहरु, कहिँ सडक पिच हुँदै गरेका दृश्यहरु, कहिँ खानेपानीका धाराहरु निर्माण हुँदै गरेका दृश्यहरु, कहिँ विद्यालय, स्वास्थ्य संस्था र अन्य सामुदायिक भवन निर्माण गर्न लागेका जमघटहरु, पत्याउनै नसकिने ठाउँहरुमा बिच्छाइएका लामा लामा झोलुङ्गे पुलहरु, गाउँघरका खोलाहरुमा निर्माण भएका मोटरेवल पुलहरु, ठुलाठुला बारीका पाटाहरुमा निर्माण गरिएका आकर्षक टनेलहरु, कृषि उत्पादनका मनमोहक बगैचाहरु, कृषि, फलफूललगायत अन्य उत्पादनका पकेट क्षेत्रहरु, व्यवसायिक पशुपालन गर्दै गरेका परिश्रमी दृश्यहरु सुखी नेपाली, समृद्ध नेपालको पहिलो आधारशिला हो । यस्ता काम हाम्रो पालिकामा भएका छन् ।
हाम्रो कार्यकालको पहिलो वर्ष अर्थात् २०७४ जेष्ठ १४ गते संघिय गणतान्त्रिक व्यवस्थाअन्र्तगत पहिलो स्थानीय सरकारको संस्थापक अध्यक्षको रुपमा पदभार ग्रहण गरेसंगै लगत्तै आफ्नै श्रोत व्यवस्थापनमा विभिन्न वडा कार्यालयहरु व्यवस्थापन गरि हाम्रा वडा अध्यक्ष ज्युहरुलाई पदभार ग्रहण गराउँदै सोही दिनदेखि जनताको सेवामय कामको थालनी गर्यौ । जनप्रतिनिधिबिहिन लामो रिक्तता, नयाँ व्यवस्था, नयाँ संरचना, सिमित श्रोत र असिमित जनआकांक्षाहरुको बिचमा सेवा र सुशासन प्रवाह गर्दै तिब्र विकासको कार्यलाई अगाडि बढाउनु साँच्चिकै चुनौतीको बिषय थियो । जनताका थुप्रै चाहनाहरु थिए ।
अनेकौ समस्याका चाङहरु थिए । जनताका ति सबै चाहानाहरुलाई पुरा गर्नु हाम्रो पहिलो कर्तब्य थियो । तर पनि राज्यको सिमित बजेटबाट जनताको असिमित समस्याहरु पुरा गर्न खोज्नु निकै चुनौतिको बिषय थियो र पनि हामी जनताको आधारभुत समस्याहरुको पहिचान गरि सडक, शिक्षा, खानेपानी र आयआर्जन बृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रमहरुलाई प्राथमिकता दिँदै त्यसतर्फ अधिकतम बजेट विनियोजन गरि सकेसम्म जनताको आकांक्षा पुरा गर्नु हाम्रो प्रमुख दायित्व थियो । तर सिमित बजेट र प्राप्त मात्रामा भौतिक व्यवस्थापनको कमी र दक्ष जनशक्तिको अभावमा जनचाहना अनुरुप काम गर्नु साँच्चिकै चुनौतीको विषय थियो । तर पनि हामी कत्ति पनि बिचलित भएनौ ।
विविध बाधा, व्यवधान र चुनौतीहरुको सामना गर्दै जनताको साथ, न्यानो माया, विकासप्रतिको मोह, परिवर्तनप्रतिको लहर र रुपान्तरणप्रतिको अतृप्त चाहना र जनताहरुकै न्यानो साथ र सहयोग बटुल्दै हाम्रो यात्रालाई निरन्तरता दिँदै गयौ । बस्ती बस्तीबाट उपभोक्ता समितिहरु गठन भई जनता स्वयम् विकासको कार्यमा अग्रसर भए । हाम्रा प्राविधिक साथीहरुलाई लागत स्टीमेट गर्न भ्याइनभ्याई थियो । योजना सम्झौता र फरकफारक गर्न जनताको ताँती नै लाग्थ्यो ।
हरेक जनता केही न केही उपभोक्ता समितिमा आवद्ध थिए । जनता कोही सडक निर्माण गर्न व्यस्त देखिन्थे त कोही खानेपानीको पाइप गाड्न, कोही विद्यालय भवन निर्माण गर्न, कोही व्यवसायिक तरकारी खेती गर्न, कोही सुन्तला रोप्न, कोही चिस्यान केन्द्र निर्माण गर्न, कोही पशुपालन गर्न त कोही सिचाईँ कुलो खन्न व्यस्त देखिन्थे । हामी जनप्रतिनिधिहरुलाई जनताका तिनै कामको मुल्याङ्कन र अनुगमन गर्न भ्याइनभ्याई थियो । प्रमुख प्रशासकीय अधिकृतलगायत समग्र कर्मचारीहरु जनतालाई कसरी सुशासन र सेवा प्रवाह गर्न सकिन्छ ? जनताको काम कसरी सहज रुपमा छिटो र छरिटो गर्न सकिन्छ भनेर उनीहरुकै सेवा प्रवाहमा व्यस्त देखिन्थ्यो ।
विकासको गति एउटा यस्तो रफ्तारमा अगाडि बढिरहेको थियो कि हामी कुनै विकास र समृद्धिको प्रतियोगिता सञ्चालन गरिरहेका छौं । विडम्वनाः विकासको गतिले यस्तै तिव्रता पाईरहेको अवस्थामा मानव सभ्यता र मानव जातीमाथि नै अकल्पनिय संकट पुग्ने गरि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९)को संक्रमणको बज्रपात भोग्नुपर्यो । यसबाट हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन ।
यसले हाम्रो विकासको गतिलाई यति नराम्ररी प्रभावित गर्यो कि हाम्रा कैयौ विनियोजित योजनाहरु कार्यान्वयन हुन पाएनन् । त्यतिबेला विकासभन्दा जनताको ज्यान बचाउनु हाम्रो पहिलो कर्तब्य भयो । संघिय सरकारले सिंगो देश लकडाउन गर्यो । यातायातका सम्पुर्ण साधनहरु एकाएक बन्द भए । हरेक मान्छेहरु घरभित्रै बस्नुपर्ने भयो । विद्यालय, सरकारी कार्यालयहरु, पसल, होटल सबै बन्द भए । भारतलगायत तेश्रो मुलुकबाट हाम्रा नागरिकहरुलाई फिर्ता गरिदियो । आफ्नो घर फर्कने हाम्रा नागरिकहरुलाई काठमाण्डौं, सुनौली, काँकडभित्ता लगायतका नाकाहरुबाट हाम्रो गाउँपालिकासम्म ल्याउन हामीले सहजीकरण गर्नुपर्यो ।
संक्रमण फैलिने डरले उनीहरुलाई क्वारेन्टाईनमा राख्नुपर्ने भयो । हरेक वार्डमा क्वारेन्टाईन निर्माण गर्नुपर्यो । उनीहरुलाई खान, बस्नलगायत सम्पुर्ण व्यवस्थापन गर्नुपर्ने भयो । गाउँपालिकाको बजेटले मात्र नपुगेर जनतासंगै बिभिन्न संघ संस्थाहरुसंग सहयोगको लागि मागसमेत गर्नुपर्यो । क्वारेन्टाईनमा राखेर सुरक्षा र सावधानी अपनाउँदा अपनाउँदै संक्रमणले हाम्रा जनतालाई पनि बाँकी राखेन । अवस्था झन्भन्दा झन् जटिल बन्दै गयो । कोभिड १९ का बिरामीहरु एकपछि अर्को गर्दै थपिदै गए । उनीहरुलाई आइसोलेशन व्यवस्थापन गरि उपचार गर्नु हामीमा अर्को कर्तब्य थपियो । आइसोलेनले मात्र थेग्न सकेन ।
अस्थायी कोभिड अस्पतालसमेत निर्माण गर्नुपर्यो । यसले मात्र नभएर धौलागिरी अस्पतालसंग सहकार्य गरेर हाम्रा संक्रमित बिरामीहरुलाई त्यहाँ उपचार गर्ने व्यवस्थापनसमेत गर्नुपर्यो । यति गर्दागर्दै पनि १८ जनाले ज्यान गुमाउनु पर्यो । सयौं जना यो रोगको संक्रमणले बिरामी हुनुपर्यो । तर पनि हामी रक्तिभर बिचलित नभएर हाम्रा सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकमीहरु यो माहामारीका विरुद्ध अनवरत रुपमा लागि पर्यौ । हाम्रा जनतालाई बचाउन सिंगो गाँउपालिका आफनो सम्पुर्ण क्षमता, स्रोत र साधनका साथ जुट्यो । जसले गर्दा थप अरु क्षति हुन सकेन ।

यसरी हाम्रा जनतालाई यो संक्रमणबाट जोगाउनु र विकासको कामलाई निरन्तरता दिनु साँच्चिकै चुनौतीको बिषय थियो । यति हुँदा–हुँदै पनि कोभिड १९ बाट प्रभावित गाँउपालिकाबासीको जीवनरक्षा र यसले हाम्रो अर्थतन्त्रमा पारेको असरलाई चलायमान गराउने मुल लक्ष्य लिएर विकासको कार्यलाई पुनः निरन्तरता दिदै अपुरा कार्यहरुलाई पुर्णता दिन अझ बढि सक्रियता र अझ बढि जागरुक भएर हाम्रो सम्पुर्ण टिम समृद्ध काठेखोला गाउँपालिका निर्माणको अभियानमा जुट्यो । जसको कारण हामीले प्रक्षेपण गरेको लक्षको नजिक नजिक छौं भन्दा त्यति अत्युुक्ति नहोला । धेरैले सिकाई वर्षको रुपमा लिईएको हाम्रो पाँच वर्षे कार्यकाललाई हामी भने समृद्धि र रुपान्तरणको इतिहास रच्ने आधार वर्षको रुपमा लियौ ।
धेरैले देखिने खालका मुर्त योजनाको खोजी गरिरहँदा हामी भने तिनै योजनाहरुमा जनता र समाजको परिवर्तन र रुपान्तरण खोज्यौ । हामीले जहिले पनि हाम्रो सेवामा सरल र सहजता खोज्यौ । स्थानीय सरकार र जनता बिचको सामिप्यता खोज्यौ । आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका खुल्ला बाटो खोज्यौ । अनि जनताको ओठमा मुस्कान र गाउँको विकासमा पुर्णता खोज्यौ । समग्रमा यो पाँच वर्षे हाम्रो कार्यकाललाई मैले चूनौती भित्रको सफलताको रुपमा लिएको छु । भनिन्छ समस्या, अफठ्यारो र चुनौतीहरुको बिचमै सफलताको पराग लुकेको हुन्छ ।
यति बिघ्न चुनौतीहरुको बीचबाट पनि हामीले थुप्रै अपार सफलताहरु प्राप्त गरेका छौं । यहाँहरुलाई अवगत नै छ कि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा स्थानीय तहको सुचना प्रविधि र क्षमताको लेखाजोखा गरि तयार गरिएको मुल्यांकन प्रतिवेदन अनुसार बागलुङ जिल्लाको दशवटा स्थानीय तहमध्ये सुचना र प्रविधिको क्षेत्रमा हाम्रो काठेखोला गाउँपालिका पहिलो हुन सफल भएको छ । त्यसैगरी कैयौं पटक सबैभन्दा कम बेरुजु निस्किने गाउँपालिकाको रुपमा पनि हामी उत्तिकै परिचित छौ । त्यस्तै हामीले हाम्रो गाउँपालिकालाई डिजिटलाईज गाउँपालिकाको रुपमा घोषणा गर्यौ जसले गर्दा जिल्लामा सबैभन्दा पहिलोपटक डिजिटलाईज गाउँपालिका घोषणा गर्ने गाउँपालिकाको रुपमा पनि हाम्रो गाउँपालिका नै पहिलो हुन सफल भयो । बिभिन्न घटना दर्ता एवम पञ्जिकरणका कामहरु गाउँपालिकाको सम्पुर्ण वडामा अनलाइनमार्फत गर्ने सम्भवत नेपालकै पहिलो गाउँपालिका पनि हाम्रो गाउँपालिका हो ।
आधिकारीक रुपमा प्राप्त जानाकारी नभएपनि सम्भवत पञ्जिकरणका कामहरु अनलाइनमार्फत गरिने देशकै पहिलो गाउँपालिका हो काठेखोला । त्यस्तै राजस्व संकलन पनि अनलाइनमार्फत गरिने जिल्लाका दशवटा गाउँपालिकामध्ये एकमात्र गाउँपालिका र सम्भवतः नेपालकै पहिलो गाउँपालिका पनि हाम्रै काठेखोला गाउँपालिका हो । त्यसैगरी गाउँपालिकाभरि सम्पुर्ण वडामा सामाजिक सुरक्षाभत्ता बैंंकमार्फत वितरण गरिने जिल्लामा पहिलो र एकमात्र गाउँपालिका हाम्रै गाउँपालिका हो, यो कार्य गर्ने सम्भवत नेपालमै पहिलो गाउँपालिका पनि हाम्रै गाउँपालिका हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत समयमा नै तत्थ्याङ्क पठाएबापत उपहार स्वरुप थप रकम प्रदान गर्नु साँच्चिकै यो हामी सबैको लागि खुसी र गौरवको कुरा हो ।
काठेखोला गाउँपालिकाको सबै वडाहरुमा रहेको मोटरबाटोको तात्कालिन समस्यालाई ध्यानमा राखी ‘हरेक वडा स्तरिय सडक’को नाराका साथ अगाडि बढाइएको सडक स्तरोन्नति कार्यलाई पाँचै वर्ष दिईयो । केही सडकहरु पिच हुने कार्यको थालनी समेत भएको छ । सबै वडाहरुको मुख्य सडकहरुको डिपिआर भएको र प्रदेश तथा संघिय सरकारसंग कालोपत्रेका लागि आवस्यक परामर्शसमेत भएको जानाकारी गराउँदछु ।
गतवर्ष नै निर्माण कार्य सम्पन्न गर्ने गरि लामाबगर घाटमा र रेशको एक्लेखेतमा निर्माण गर्न लागिएको मोटरेवल पुल सम्पन्न हुने चरणमा छ । हालसम्म वडा नं. १ मा ३२० मी, वडा नं. २ मा ७०० मी, वडा नं. ३ मा १९१ मी, वडा नं. ४ मा १२५ मी, वडा नं. ७ मा ९० मी र वडा नं. ८ मा १७० मीटर गरि १५९६ मीटर ढलान गरिएको छ भने संघिय सरकार र गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरि १५०० मीटर कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ र हामी पालिकाबाट बिदा हुने बेलासम्म थप ५ कि.मि. सडक कालोपत्रे पुरा हुनेछ । साथै, गाउँपालिकाको कार्यालय जोड्ने गरि एकपाता, दोभिल्ला, सुल्डाँडाहँुदै अक्षेत्ते जोड्ने सडकलाई आवस्यक पहल कदम गरिएको छ ।
लेखानी र कादेश जोड्ने काठेखोला गाउँपालिकाको एकमात्र आकासे पुल निर्माण सम्पन्न भएको छ । यसले त्यहाँका स्थानीयहरुलाई आवतजावतमा सहजतासंगै पयर्टन प्रर्वद्धनमा समेत सहयोग पुग्ने मैले आशा गरेको छु । आफ्नै कार्यालयद्धारा सेवा सञ्चालन गर्ने गरि वडा नं. ६ को वडा कार्यालय निर्माण भई कार्य प्रराम्भ भइसकेको छ भने वडा नं. ४ र वडा नं. ५ को वडा कार्यालय भवन पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

विगत दुई वर्ष पहिलेदेखि नै सञ्चालनमा ल्याइएको ‘एक घर, एक धारा’को कार्यक्रमले हालसम्म ४८२ धारा र २५ वटा ट्याङ्की निर्माण भइसकेको छन् । निकै लोकप्रिय कार्यक्रमको रुपमा रहेको जनता आवास कार्यक्रमअन्र्तगत (खरको छाना हटाऔ, टिनको छाना लगाऔं) अभियानमार्फत हालसम्म हाम्रो पालिकामा ६३० खरको छानो मुक्त भएका छन् । अल्ली फरक र नयाँ कार्यक्रमअन्र्तगत काठेखोला गाउँपालिका भित्रका कृषक एवम् उद्यमीहरुको उत्पादनलाई लक्षित गरि निर्माण गरिएको हाट बजारको लागि भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।
निकै आकर्षक र हाम्रो गाउँपालिकाको पहिचानको रुपमा स्थापित काठेखोला–६ को सुन्तला बगानलाई थप ब्यवस्थित गर्न सुन्तला पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको पहिचानको कार्यक्रमअन्र्तगत वडा नं. ३ धम्जामा सञ्चालन गरिएको आलु पकेट विस्तार कार्यक्रमअन्र्तगत आलु भण्डारणका लागि कोल्ड स्टोर निर्माण भइसकेको छ । वडा नं. ४ तंग्रामको पाहुना घर निर्माण भइसकेको र जनजाति संग्राहलय पनि निर्माण भएको छ । काठेखोला गाउँपालिकाको खेलकुद केन्द्रको रुपमा वडा नं. ७ रेशमा आकर्षक खेलमैदान निर्माण भएको छ । वडा नं. ८ लेखानीमा रहेको बौद्ध स्तुपा निर्माण भएको छ ।
कृषि तथा पशुपालन काठेखोला गाउँपालिकाको अर्थतन्त्रको एउटा दरिलो मेरुदण्डको रुपमा रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्यामध्ये ७१.३ प्रतिशत जनसंख्याको मुख्य पेशा कृषि तथा पशुपालन नै हो । गाउँपालिकाको कुल जमिनको ४१.८८ प्रतिशत कृषिले ओगटेको छ । अब कृषि तथा पशुपालन व्यवसायको माध्यमबाट हाम्रा जनतालाई उत्पादनसंग जोड्नु जरुरी छ । कृषि प्रणालीलाई सहजता बनाउनका लागि वडा नं. ७, ८ र २ मा करिब ६ कि.मी. पक्की कुलोहरु र केहि स्थानमा पाईप वितरण गरिएको छ । उन्नत जातका भैसी अनुदान कार्यक्रम, नश्ल सुधार कार्यक्रम, तरकारी खेती पकेट प्याकेज कार्यक्रम संचालनमा ल्याइएको छ । यस आ.व. देखि कृषि ज्ञान केन्द्रको सहयोगमा धम्जा र फापरखेतमा आलु पकेट कार्यक्रम संचालनमा ल्याइनेछ ।
यिनै कुराहरुलाई दृष्टिगत गरि यस वर्षदेखि चार वर्ष सम्मका लागि हामीले हेफर प्रोजेक्ट संगको सहकार्य र विवाइसी बागलुङको ब्यवस्थापनमा साझेदारितामा आधारित काठेखोला गाउँपालिकाको आठ वटै वडामा सञ्चालन हुने गरि ३ करोड ८७ लाख रुपैयाँ बराबरको बजेटसहित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालनमा ल्याइएको छ भने हाम्रो कार्यकालको सुरु वर्षदेखि नै वडा नं. ७ मा मुख्यमन्त्री वातावरणमैत्री कृषि कार्यक्रम संचालन रहेको छ । साथै हाम्रो कृषि प्रणालीलाई पनि प्रविधीमैत्री बनाउन र कृषकलाई व्यवसायमा आवद्धता गराउन, सहज ढंगबाट औषधी उपचार गर्न र आफ्नो उत्पादन सरल ढंगबाट बजारसम्म पुराउनका लागि जियो कृषि एप संचालनमा ल्याई तथ्यांक संकलन गर्ने कार्य सकिएको छ ।
शिक्षा क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणको संवाहको रुपमा विकास गर्नका खातिर हालसम्म सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरुले यहाँको दक्ष शैक्षिक जनशक्ति उत्पादन र शैक्षिक गुणस्तर वृद्धिमा निकै नै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । संघिय सरकारको साझेदारीमा यस गाउँपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत भवन निर्माण, साइन्स ल्याब, आइसिटी, पुस्ताकालय व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्वि जस्ता कार्यक्रम संचालनमा ल्याइएको छ भने गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा इन्टरनेटको व्यवस्थासमेत गरिएको छ ।
त्यसैगरी गाउँपालिका स्तरमै विषयविज्ञ प्रशिक्षक तयार गरि उनीहरुबाटै तालिम सञ्चालन गर्ने परम्पराको थालनी गरिएको छ । त्यसैगरी अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयहरु (युकेजी सञ्चालन भएका विद्यालयहरु)लाई गाउँपालिकाबाट अनुदानको व्यवस्थासमेत गरिएको छ, जस्ले गर्दा शैक्षिक स्तर बृढि गर्नमा सहयोग पुग्ने मैले अपेक्षा गरेको छु । विद्यार्थीहरुलाई पठन सिप विकास होस भनेर वडागत र पालिका स्तरमा कक्षा १–३ का विद्यार्थीहरुका बिचमा पढाइ प्रतिस्प्रर्धा गराई कार्यक्रम सञ्चालन गरिएको छ । साथै प्राथमिक स्तरको भाषागत क्षमता बृद्वि होस् भन्नका खातिर भाषा मापन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
परिवर्तित युगको मागअनुसार हाम्रा विद्यालयहरुलाई थप प्रविधिमैत्री बनाउदै दशवटै माध्यमिक विद्यालयहरुमा ई हाजिरी व्यवस्था गरी सञ्चालन एवम् प्रयोगमा ल्याइएको छ । त्यसैगरी दशवटै माध्यमिक विद्यालयहरुमा स्मार्ट टिभीको व्यवस्था गरि सञ्चालनमा ल्याइएको छ । केही वर्ष पहिलेदेखि नै बाल विकास केन्द्रहरुमा सञ्चालनमा ल्याइएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै हाल प्रावि तहका सम्पुर्ण विद्यालयहरुमा दिवा खाजा सञ्चालनमा ल्याइएको छ । गाउँ शिक्षा समितिको बैठक एवम प्रधानाध्यापकहरुको बैठकलाई नियमितता र थप प्रभाकारिता बनाउँदै ती बैठक एवम् छलफलहरुबाट काठेखोलाको शैक्षिक अवस्थालाई माथी उठाउन निकै महत्वपुर्ण भुमिका निर्वाह भइरहेको छ ।
निकै प्रभावकारी देखिएको शैक्षिक संस्थाहरुको सघन अनुगमन, शिक्षक विद्यार्थी सिकाइ तालिम, पेशागत सहयोग, क्षमता विकास, अन्तरक्रिया कार्यक्रमहरुबाट पनि यहाँको शैक्षिक गुणस्तर बृद्धिमा अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको मैले महसुस गरेको छु । साथै बद्लिदो परिवेशमा प्रविधिको उच्चतम प्रयोग गर्दै शैक्षिक सिकाई र अभिभावकहरुलाई शैक्षिक जागरण बृद्धि गर्न अभिभावकहरुले घरमै बसी आफ्ना छोराछोरीहरुको शैक्षिक अवस्था बुझ्न सक्ने गरि काठेखोलाको १० वटै विद्यालयहरुमा स्मार्ट स्कुल कार्यक्रम सञ्चालन भएको छ । बिभिन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्थापन, सामुदायिक विद्यालयको लेखा व्यवस्थापनलाई चुस्त पार्नका लागि लेखा व्यवस्थापन तालिम संचालन गरिसकिएको छ भने प्रविधीमैत्री बनाउनका लागि विद्यालय कम्प्युटर अपरेटरहरुलाई कम्प्युटर तालीमको कार्यक्रमका साथै मन्टेश्वरी तथा लेखन शिप तालिम र विषयगत शिक्षक तालिम लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिसकिएको छ । साथै, शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि भी.एस.ओ नेपालको सहयोगमा ४ वर्षका लागि सिकाई परियोजना संचालनमा ल्याइएको छ । काठेखोला गाउ‘पालिकाले सहज रुपमा शिक्षक दरवन्दी मिलान कार्य गरिसकेको र दरबन्दी मिलानमा गाउँ शिक्षा समिति, कार्यदललगायत सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छ । साथै, एकिकृत पाठ्यक्रमलाई लागु गर्नुको साथै शैक्षिक योजना निर्माणको अन्तिम चरणमा रहेको छ ।
स्वस्थ र निरोगी जीवनयापनका लागि स्वास्थ्य र सरसफाईको अवस्थामा सुधार ल्याउन भैरहेका स्वास्थ्य चौकीहरुलाई थप सुविधा सम्पन्न बनाउदै व्यक्तिगत घरायसी तथा वातावरणिय सरसफाईको अवस्थामा सुधार ल्याउन बाल मृत्यु दर कम गर्ने, पोषण खोप, सुत्केरी महिलाहरुमा सहज अवस्था सिर्जना गर्न पनि उत्तिकै ध्यान पुराइएको छ । हालसम्म हामीले रेश सामुदायिक स्वास्थ्य चौकीमा र लेखानी सामुदायिक स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा ल्याएका छौं । त्यसैगरी वडा नं. ३ धम्जा र वडा नं. ७ रेशमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरि स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौ भने वडा नं. ४ तंग्रामको फापरखेत र वडा नं. ५ बिहुँमा स्वास्थ्य इकाई स्थापना गरि तत्काल संचालनमा ल्याइने छ । संघिय सरकारको विशेष अनुदानमा संचालित भिमापोखरा स्वास्थ्य चौकी भवनको निर्माण कार्य भइरहेको र बैशाख सम्ममा सम्पन्न गर्नेगरी काम अगाडी बढिसकेको जानाकारी गराउँदछु । हामीले सुरुवाती वर्षदेखि नै सञ्चालनमा ल्याइएको र निकै प्रभावकारी देखिएको आमा सुरक्षा कार्यक्रमअन्र्तगत गर्भवती महिलाहरुलाई वितरण गरिने अन्डा लगायतका पोषणयुक्त सामग्री वितरण कार्यक्रम पनि हालसम्म सञ्चालन भइरहेका छन् ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि मोबाइल कार्यक्रम पनि निकै प्रभावकारिताका साथ सञ्चालनमा छ । पालिका भित्रका जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याइने छ भने ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य विमा साथै जेष्ठ नागरिक परिचय पत्र वितरण अभियानकै रुपमा गरिनेछ । साथै, हाम्रा स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्न नियमित तालिम, गोष्ठी, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि उत्तिकै प्रथामिकताका साथ सञ्चालन गरिएको छ । कोभिड–१९ कोरोना भाइरसको जोखिमको डर अहिले पनि उत्तिकै छ । कोभिडका नयाँ नयाँ भेरियन्टहरु अहिले पनि देखिरहेको छ । हामी त्यतातिर पनि उत्तिकै सजक छौ । कोभिड नियन्त्रणका लागि अस्थायी अस्पतालको निर्माण, क्वारेन्टाइनको व्यवस्थापन, आइसोलेसनको व्यवस्थापनसंगै कोभिडलाई नियन्त्रण गर्न संघिय सरकार संगको समन्वयमा खोप कार्यक्रमलाई पनि बिशेष प्राथमिकता दिई बिभिन्न उमेर समूहकालाई खोप कार्यक्रम सञ्चालन गरिरहेका छौं । कोभिडका मृत्यु भएका परिवारलाई प्रतिपरिवार २० हजारका दरले राहत वितरण भैसकेको जानाकारी गराउँदछु । साथै, स्वास्थ्य चौकी र स्वाथ्य इकाईहरुलाई थप व्यवस्थित वनाउनका लागि फेयर मेड फाउण्डेशनको सहयोगमा यस पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा कार्यक्रम संचालनमा ल्याईएको छ ।

हाम्रो गाउँपालिका सुचना, प्रविधिको क्षेत्रमा पहिलो हुन सफल भएको हो । विभिन्न घटना दर्तासंगै पञ्जिकरणका सम्पुर्ण कामहरु, राज्वस्व संकलन लगायतका कामहरु समेत अनलाइनमार्फत गर्दै आएका छौं । सामाजिक सुरक्षाभत्तालाई बैकिङ कारोबारमार्फत वितरण गर्दै आएका छौं । यसलाई हरेक वडामा पुगेर जनताको घर घरमै बाँड्ने गरि व्यवस्था मिलाउन विभिन्न बैंकहरुसंग शाखारहित बैकिंङ सेवा संचालनमा आवस्यक परामर्श समेत भइरहेको सभासमक्ष जानकारी गराउँदछु । वडा नं. ७ रेश र वडा नं. २ भिमापोखरामा यसको सुरुवातसमेत भइसकेको छ ।
काठेखोला गाउँपालिका क्षेत्रभित्रका खेलाडी एवम् कलाकारहरुको क्षमता विकास, प्रतिभाहरुको पहिचान र समग्र खेलकुद, कला, साहित्य र संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्ने अभिप्रायले ऐतिहासिक प्रथम अध्यक्ष कप भलिबल एवम सांगीतिक प्रतियोगिता सञ्चालन गरिएको जानकारी गराउँदै गत बर्ष कोभिड–१९ को कारण दोश्रो अध्यक्ष कप हुन नसके पनि यस वर्ष उत्तिकै प्राथमिकता साथ अझ थप व्यवस्थित र परिमार्जनसहित ऐतिहासिक दोश्रो अध्यक्ष कप भलिबल एवम् सांगीतिक प्रतियोगिता–२०७८ सञ्चालन गरिने छ । यसको तयारी र समग्र व्यवस्थापनका लागि गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिलाई निर्देशन गरिसकिएको छ । युवा उद्यमशिलता प्रवर्धन, युवा प्रतिभा प्रवर्धन जस्ता कार्यक्रम संचालन गरिनेछ । यसैगरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट खेलाडि छनौट गरि जिल्लामा पठाउने काम गरिएको थियो ।
यहाँको निकै पुरानो संस्कृतिको रुपमा रहेको पञ्चेबाजा समुहलाई व्यवस्थित एवम् संरक्षण गर्न काठेखोलाका आठबटै पञ्चेबाजा समुहलाई पञ्चेबाजाको सम्पुर्ण बाजागाजाहरु वितरण गरिसकिएको छ भने केही समूहहरुलाई पोशाकको समेत व्यवस्था गरिएको छ । लक्षित समुदायअन्र्तगत दलित समुदायहरुको सशक्तिकरण कार्यक्रमलाई जोड दिदै उनीहरुको पुख्र्यौली पेशा संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने खालका सीपमुलक कार्यक्रमहरु पनि सञ्चालन गरिदै आईएको जानाकारी गराउँदछु । विभिन्न लक्षित समुदायहरुको सशक्तिकरण र उनीहरुको हितमा हुने कार्यक्रमहरु सञ्चालनका लागि काठेखोला गाउँपालिका स्तरीय विभिन्न सञ्जालहरु गठन गरि कार्यान्यनमा ल्याईएको छ । सोही सञ्जालमार्फत दलित समुदायहरुका लागि सिपमुलक तालिम, सशक्तिकरण कार्यक्रम, आयआर्जन बृद्धि हुने खालका बाख्रा वितरणलगायत अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं ।
अपांगता भएका ब्यक्तिहरुका लागि हामीले नियमित रुपमा उनीहरुलाई सहज हुने खालका व्यवसायका लागि अनुदान, सहयोग र सामाग्री वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छांै । साथै, उनीहरुलाई अपांगता परिचयपत्र वितरण जस्ता कार्यहरुमा सेवा प्रदान गर्दै आएका छौं । आधाभन्दा बढिको संख्यामा रहेका महिलाहरुको सशक्तिकरणमा पनि उत्तिकै जोड दिदै आएका छौं । महिलाहरुलाई प्रशिक्षित गर्ने, ऐन कानुनको बारेमा सूसुचित गर्ने, किशोरीहरुलाई उद्घोषण सम्बन्धी प्रशिक्षण दिने, दुब्र्यसनी सम्बन्धी जनचेतना फैलाउने, नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गर्ने, एकल महिलाहरुलाई राहत वितरण गर्ने लगायतका कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन भइरहेको यहाँहरु समक्ष जानाकारी गराउँदछु । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ८ वटै वडामा संचालन भैरहेको छ ।
यस कार्यक्रमबाट ४० जना उद्यमीको स्तरोन्नती हुने छ भने ८० जना नयॉ उद्यमी सृजना भई हाल उनीहरु विभिन्न सीप विकासका तालिमहरुमा सहभागी भइरहेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ८०४ जना वेरोजारमा सुचिकृत भएकोमा गत आ.व.मा २७५ जनाले रोजगारी प्राप्त गरेका छन् । वैदेशिक रोजगारिमा रहेका काठेखोला गाउँपालिका नागरिकको प्रोफाइल बनाउने कार्य संचालनमा ल्याई तथ्यांक संकलन गर्ने कार्यसमेत अगाडि बढाईएको समेत जानाकारी गराउँदछु ।

हामी अहिले हाम्रो कार्यकालको पाँच वर्षको यात्रा पुरा गर्ने चरणमा छौं । यो बीचमा हामी सबैको प्रयासले हामीले संचालन गरेका योजनाहरुले आकार ग्रहण गर्न थालेका छन भने केही योजनाहरुले प्रतिफल दिनसमेत थालिसकेका छन् । अझै यसलाई व्यवस्थित र प्रभावकारी बनाउनतर्फ हाम्रो ध्यान जान जरुरी रहेको छ । पूर्वाधार त्यसमा पनि ग्रामिण सडकका हिसाबले हाम्रो गाउँपालिकालाई हेर्ने हो भने वडा कार्यालय जोड्ने पक्की सडक करिब २÷३ वर्ष भित्रमा कालोपत्रे हुने अवस्थामा रहेका छन् । यसको ज्वलन्त उदारहण वडा नं. ७ रेश, र वडा नं. ८ लेखानी रहेको छ । हामीले १, २, ३ र ४ वडाको कार्यालयसम्म र वडा नं. ५ र ६ को सुल्डाँडा किम्बोट धरमदासहुँदै इनारपानी हटियादेखि थामनेटा, गाजा दहदेखि घोडाबाँधे लेखानी र गाउँपालिका भित्रका महत्वपुर्ण स्थान जोडने सडकको म्एच् तयार भैसकेको छ । संघ र प्रदेश सरकारसंग आवस्यक पहल पनि गरिदै आएको छ ।

यसका अलवा प्रत्येक वर्ष हामीले विनियोजन गरेका योजनाको सुष्म ढंगबाट स्वमूल्यांकन, आत्मसमिक्षा गर्न जरुरी छ । हाम्रो संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी संघीय, प्रादेशिक र स्थानीय सबै सरकारको दायित्व हो भने संघीयताको सफल कायान्वयन गर्दै स्थानीय तहबाट नै आर्थिक तथा सामाजिक रुपान्तरणको जग बसाउनु पर्ने आवश्यकता पनि हो । हामीहरुले स्थानीय तहमा कुशल नेतृत्वको विकास गर्दै सफल राजनैतिक जीवनको सिढी उक्लन पनि यो कोशेढुंगा हुने हेक्का राख्नु पर्ने हुन्छ ।
अर्कातिर लोकतन्त्रप्रति जनआस्था बढाउने, अहिलेको राजनैतिक पद्धतिको विकल्प सोच्नु नपर्ने गरि नेपाली जनताले विद्यामान संघीय लोकतान्त्रीक प्रणालीलाई बलियो बनाउने एवं सबैले यसमा नै आफ्नो समृद्धिको आधार देख्न सक्ने तुल्याउने जिम्मेवारी अब स्थानीय सरकार संचालकहरुकै हातमा छ । सदाचार, पारदर्शिता र कुशलताको जगमा स्थानीय विकासको नेतृत्व गर्न सक्दा मात्र देश र हामी स्थानीय नेताको भविष्य सुनिश्चित हुने कुरा विदितै छ । त्यसैले स्थानीय सरकार संचालन गर्ने जिम्मेवारी पाएका हामीहरुका लागि यो अवसर परीक्षणको घडि पनि हो । दैनिक जसो मिडियाबाट आउने खबरले हामीलाई पनि अछुतो राखेको छैन । पारदर्शिताको नाममा अनेकौ बहानाबाजी गरेको केही उदाहरण पनि रहेका छन् । त्यसकारण अबको केही समयपछि पुनः जनता सामु जानु पर्दा र्निधक्क भएर जान र सम्मान पाउने हिसाब लाग्नका लागि सबै जनप्रतिनिधि र कर्मचारी मित्रहरुलाई अनुरोध गर्दछु ।
यो बीचमा हामीले काम गर्दै गर्दा विविध खालका कानुनी अड्चनहरु आइलागेका छन् । बेलैमा संघिय सरकार र प्रदेश सरकारले कानुन निर्माण गरिदिएको भए त्यसका आधारमा हामी गाउँपालिकाले आफुलाई चाहिने ऐन कानुन निर्माण गर्न सकिन्थ्यो तर पनि हामीले गाउँपालिकाबाट दिने सेवा कहिँकतै सेवाग्राहीलाई नअल्मलाइकन सेवा प्रदान गर्न सकेका छौं । गाउँपालिकाको आफनै आम्दानीको श्रोत कमजोर रहनु संघिय र प्रदेश सरकारको अनुदानमा संचालन गर्नुपर्ने बाध्यता हामीमा छ जसका कारण चाहेका योजना संचालन गर्न सकिरहेका छैनौं । आगामी दिनमा गाउँपालिकाको श्रोत पहिचानतर्फ ध्यान दिनु जरुरी रहन्छ । संगै, हामीले अगाडि सारेका पहिचानका योजनामार्फत आम नागरिकहरुलाई स्वरोजगार बनाई उत्पादनसंग जोडनु हाम्रो प्राथमिकता रहनेछ ।
१. हरेक वडामा एउटा पहिचानको कार्यक्रम
हरेक वडामा एउटा पहिचानको कार्यक्रम गर्ने योजना अगाडि सारेको गाउँपालिकाले अहिले प्रत्येक वडामा पहिचानका कार्यक्रम पूरा भएको जनाएको छ । वडा नम्बर १ मा हाटबजार तथा कृषि संकलन केन्द्र निर्माण गरेर सञ्चालनको तयारीमा छ । वडा नम्बर २ मा पर्यटन र बेमौसमी तरकारी खेतीका लागि बजेट विनियोजन भएको छ । पर्यटन पर्यटनका हिसाबले माथि धुरीमा पिकनिक स्पट तथा बेलढुंगादेखि थाप्लेको धुरीसम्म झाँडी फाँडेर पदमार्ग निर्माण गरेको पालिकाले जनाएको छ । पुरानो ऐतिहासिक भिमा दरबारलाई जिर्णोद्वार गरिएको छ । गाउँपालिकाले वडा नम्बर ३ धम्जालाई आलुको पकेट क्षेत्रको रुपमा विकास गरेको छ भने वडा नम्बर ४ तंग्राम बहुसंख्यक जनजाति मगर समुदायको बसोबास रहेको क्षेत्र भएकाले जनजाति संग्राहलय निर्माणको काम भएको छ ।
वडा नम्बर ५ को त्रिपुरेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनको विकासका लागि एक करोड बढि लगानी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ६ तल्लो बिहुँ सुन्तला खेतीका लागि लगानि गरिएको छ । त्यसलाई सुन्तला जोनको रुपमा तोकेर सुन्तला खेतीलाई नै पहिचानको योजना बनाइएको छ । काठेखोलाले पालिका स्तरीय कार्यक्रमहरुलाई वडा नम्बर ७ रेशमा केन्द्रित गर्नेगरी योजना बनाएको छ । रेशमा गाउँपालिका स्तरीय कार्यक्रम गर्नका लागि खेल मैदान तयार गरिएको छ । वडा नम्बर ८ मा बौद्ध स्तुपा बनाउने कार्य यसैवर्ष पूरा हुने भएको छ ।

२. मोटरवाटो निर्माण तथा स्तरोन्नती
पालिकाले मोटरबाटो निर्माण तथा सुधारलाई पनि प्राथमिकतामा राखको छ । प्रत्येक वडा कार्यालय र पालिकाको केन्द्रसम्मको सडक बाह्रै महिना सञ्चालनका लागि रेश र तंग्रामको खोलाले समस्या सिर्जना भएकाले दुई ठाउँमा पुल निर्माण गरेपछि सबै वडाको केन्द्र र पालिका केन्द्रमा नियमित सवारी सञ्चालन हुने अपेक्षा गरिएको छ । गाउँपालिकाकै पहिलो कालोपत्रेका रुपमा गाउँपालिका केन्द्रदेखि रेश वडा कार्यालय पुग्ने बाटो कालोपत्रे भएको छ ।
३. आमा सुरक्षा तथा जनता आवास कार्यक्रम
हरेक वडामा रहेका खरका छाना बिस्तापित गरी गाउँपालिकालाई खरको छानोरहित गाउँपालिका बनाउनका लागि यो कार्याक्रम संचालन गरिएको थियो । खरको छानो रहेका नागरिकलाई जस्तापाता अनुदानमा दिई खरको छानो हटाएर जस्तापाताको छानो छाउनका लागि प्रत्येक वडामा कार्यक्रम संचालन गरिएको थियो । यसलाई हरेक वडामा प्रभावकारी रुपमा संचालन गरिएकाले हाल धेरै जसो खरका छाना बिस्थापित भईसकेको र बाँकी रहेकालाई पनि विस्थापित गर्ने योजना रहेको छ । संगै, आमा सुरक्षा कार्यक्रमअन्र्तगत सुत्केरी आमाहरुको पोषणका लागि अण्डा तथा पोषिलो खाना वितरण गरिएको थियो ।
४. पर्यटन र शिक्षा
|पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले रेशमा पार्क निर्माण, झरना व्यवस्थापन, दारेगौडामा नयाँ संचरना निर्माण र शिवधुरीमा पनि योजना अगाडि बढेको छ । केही होम स्टेहरु समेत सञ्चालनमा रहेका छन् । शैक्षिक क्षेत्रको व्यवस्थापनका लागि विद्यालय मर्जर, लेखा प्रणाली व्यवस्थापन लगायतका पक्षमा सुधार गरेको पालिकाले जनाएको छ । क्वालिटी एजुकेसनमा जोड दिएको पालिकाले निरन्तर अनुगमन गरेर विद्यालयको प्रशासनिक र लेखा सुधारमा पर्याप्त ध्यान दिएकोे छ । शिक्षामा निरन्तर नलागेसम्म नतिजा नआउने भएकाले पालिकाले शैक्षिक विकास र उन्नयनमा बजेट विनियोजन गरि काम अगाडि बढाएको छ ।
५. स्वास्थ्य तथा अन्य कार्यक्रम
गाउँपालिकाले प्रत्येक स्वास्थ्यचौकी र स्वास्थ्य इकाईबाट समेत बर्थिङ सेन्टरको सेवा दिने छ । भवन नभएका स्वास्थ्यचौकीको भवन निर्माणको काम थालिएको छ । प्रत्येक वडा र गाउँपालिकाको सेवा अनलाइन माध्यमबाट गर्न थालिएको छभने अहिले वडाको रसिदसमेत अनलाइनबाट काट्न शुरु भएको छ । गाउँपालिकाले यो क्षेत्रमै पहिलोपटक डिजीटल प्रोफाईल बनाएर प्रयोगमा ल्याईसकेको छ । कर्मचारी व्यवस्थापन सहज नहुँदा प्रशासनिक कार्य सञ्चालनमा पनि समस्या हुने गरेको भएपनि जनतासंग निर्वाचन गरेका बाचा अनुसार ९० प्रतिशत काम सम्पन्न गर्न सकेको पालिकाले दाबी गरेको छ ।





