शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिचान बचाउँदै गलकोट नगर

पहिचान बचाउँदै गलकोट नगर


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७९, बिहिबार

बागलुङ/ गलकोट ऐतिहासिक र साँस्कृतिक भूगोल हो । यहाँका बासिन्दाले गलकोटलाई आफ्नो पुरानो भूगोलमै समेटेर नगरपालिका बनाए । नगरपालिका बन्नुअघि र अहिले पनि गलकोटको आफ्नो पहिचान छ ।
संघियता कार्यान्वयनको सवालमा गलकोटले आफ्नो पहिचान नमेटिने गरी रेखांकन मात्र गरेन, गलकोटले ५ वर्षमा १० वटा आर्कषक विकास गरेर पनि देखाएको छ । गौरवका आयोजना संचालन गरेर होस् वा पर्यटन प्रवद्र्धनका कार्यक्रम जोडेर, सुशासन र पूर्वाधार निर्माणमा सक्रियता र अगुवाई गरेको छ ।

कानूनमा स्नातक गरेका नगरप्रमुख र उपप्रमुखका कारण नीति निर्माणमा पनि उनीहरु सचेत र सक्रिय भए । अधिकांस विकासमा उनीहरुले विवाद नआउने ढंग पु¥याए । त्यसैले अहिले पनि गलकोट आफ्नै लयमा अगाडि बढीरहेको छ । तत्कालिन राज्य हुँदादेखि गलकोटमा देखिएको एकताको भावना निर्वाचनमा फरक फरक दलमा मतदान गरेर पनि सामुहिक भावनामा भने अडिग छ । यो गलकोटको सबल पक्ष हो । फरक राजनीतिक क्षेत्रमा क्रियाशिल भएर पनि गलकोटको विकास गर्ने काममा धेरै नेता, कार्यकर्ता र जनप्रतिनिधिले एक भएर काम गरेका छन् ।

गलकोटलाई पर्यटकीय रुपमा चिनाउने नगरबासी, जनप्रतिनिधि र राजनीतिक दलको मुख्य ध्येय भएको पाइन्छ । उनीहरुले गलकोटभित्रका दर्जन बढी क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा जोडेका छन् । ती क्षेत्रमा कुनै न कुनै पूर्वाधार बनेको छ । कतिपय स्थानमा पर्यटक घुम्न जाने अवस्था बनेको छ । ऐतिहासिक र धार्मिक क्षेत्रहरुको संरक्षण भएको छ । ती क्षेत्रमा पुग्न सडक संजाल जोडिएका छन् । कतिपय स्थानमा पदमार्ग बनेका छन् । मौलिक कला जोगाउने काममा ध्वंस गरिएको छैन । बरु स्थानीय कला, संस्कृतिलाई पनि जगेर्ना गर्ने काममा नगरले लगानी गरेको छ ।

नगर गौरवका आयोजना संचालन छन् । केही आयोजना पुरा भएका छन् भने केहीमा लगानी अभाव भएको छ । तर पनि कामले निरन्तरता पाएको स्थानीयले बताए । सरसफाइ र सुशासन कायम गर्न पनि नगरले धेरै प्रयन्त गरेको छ । सरसफाइका लागि फोहोर व्यवस्थापनको काम सुरु भैसकेको छ । खानेपानीको अभाव टार्न सबै वडामा योजनाहरु पुगेका छन् । केही स्थानमा गैरसरकारी संस्थाको लगानी भित्राउने काम भैरहेको छ ।
नगरपालिकाले आफ्नो सबै वडा जोड्ने गरी चक्रपथको अवधारणा अगाडि सारेको छ । यो अवधारणा अनुसार केही खण्डमा सवारी साधन चलिसकेका छन् भने केही स्थान निर्माणाधिन छ । सबै शाखा सडहकरु स्तरीय बनाउने अभियान पुरा हुँदा चक्रपथ पनि स्वभाविक रुपमा पुरा हुने नगरप्रमुख भरत शर्मा गैरे बताउँछन् ।

नगर सभाहल निर्माण

गलकोट नगरपालिकाले आफ्नो गौरवको योजनाभित्र समावेश गरेर सभाहल बनाएको छ । वडा नंं २ स्थित नरेठाँटीमा बनेको सभाहलमा नगर परिषददेखि बहुउद्धेश्यीय काम हुने गरेको छ । नगरपालिकाले ६५ लाख मात्रै लगानी गर्दा यो हल बनेको हो । पहिला बनेको वडा कार्यालयलाई नै तला थपेपछि सभाहल बनाइएको हो । यहाँ वडा स्तरीयदेखि नगर र जिल्ला स्तरका कार्यक्रमसमेत हुने गरेका छन् । सभाहल अभावमा सदरमुकाममा समेत हुन नसकेका कार्यक्रम गलकोटमा सजिलै हुन थालेका छन् ।

सबै वडा भवन निर्माण

शुन्यताबाट शुरु गरेर पनि गलकोट नगरपालिकाले सबै वडामा भवन निर्माण गरेको छ । एकै डिजाइनमा ती भवन बनेका हुन् । भवनमा एकै प्रकारका रंगसमेत लगाइएको छ । हरेक भवन ८० लाखदेखि १ करोडभित्रैमा तयार भएका हुन् । वडा भवन बनेपछि वडा स्तरका अन्य संस्था र समितिले पनि कार्यालय स्थापना गर्न सकेको स्थानीयले बताए । ‘वडा भवनमा वाडा स्तरीय मेलमिलाप समिति, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन लगायतका धेरै बैठक बस्न पाएका छौं’ वडा नंं ६ का अध्यक्ष नरबहादुर खत्री भन्छन, ‘सिंहदरवार भन्थ्यौं, अहिले वडा भवन पनि गज्जवको बनेको छ ।’ वडाबाटै धेरै काम गर्न सकिने र वडा वडामा पनि सभाहल बनाइएको उनले बताए ।

सहश्रधारा

साहसिक खेल क्यानोइङका लागि उपयोगी सहश्रधाराको विकास भएको छ । अनकन्टार झाडी र खोंचमा रहेको सहश्रधारालाई पूर्वाधार विकासमा मात्रै जोडिएको छैन, यहाँ क्यानोइङ मेलासमेत गरिएको छ । यस्तो मेलाले एकैपटक सयौं पर्यटक र स्थानीयलाई पु¥याएको वडा नं. ३ का अध्यक्ष बीरजंग भण्डारीले बताए । पर्यटक पुग्दा यहाँको पहिचान बढेको छ । व्यवसायिक खेलाडीले क्यानोइङ गरेर नगरलाई कर तिर्ने वातावरणसमेत बन्दै छ ।
ग्ण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पनि सहश्रधारालाई पर्यटन क्षेत्रमा सूचिकृत गरेर लगानी पनि गरेको छ । वडाले यहाँसम्म पुग्ने सडक बनाएको छ । नगरपालिकाले पनि पूर्वाधारमा लगानी गरेको हो । भलिबलको राष्ट्रिय खेलाडी सरस्वती चौधरी सहितका खेलाडी र केही कलाकारले यहाँ पुगेर फोटो सेसन पनि गरेका थिए । अझै यहाँ केही पूर्वाधार निर्माणाधिन छन् । वडाले व्यवसायिक क्यानोइङ गराउन यहाँ पहल गरिरहेको छ ।

कोतघर व्यवस्थापन

गलकोट क्षेत्र पुरानो राज्यरजौटासमेत हो । शुरुवातमा राज्यको हातहतियार थन्क्याउने स्थल भएकोले कोतघर भनिने स्थान अझै पनि कोतमैदान र कोतघरले प्रख्यात छ । कोतमैदानबाट श्रद्धाखेतहुँदै हालको हरिचौरस्थित दरवारमा गलकोटे राजा सरेका थिए । तत्कालिन राजा भरतबम मल्लले २०१५ सालको संसद जितेर राजारजौटा हटाउने प्रस्ताव संसदमा पेश गरेको इतिहास छ ।
कोतघरमा ऐतिहासिक हतियार पनि छन् । ती हतियारको संरक्षण गर्दै पर्यटक लैजाने योजना नगरपालिकलो बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । त्यसका लागि कोतघरसम्म पुग्ने सडक बनिसकेको छ । स्तरीय सडकमा ट्याक्सी लिएर जाने अवस्था बनाउन नगरपालिकाले लगानी गरेको छ । यो स्थानबाट गलकोट उपत्यका समेत देखिन्छ ।

प्रशासकीय भवन

गलकोट नगरपालिका भाडाको घरमा संचालित छ । शुन्यताबाट स्थापित नगरले ५ वर्षमा आफ्नै भवन बनाउने काम थालेको छ । ७ रोपनी जमिन खरिद गरेर भवन बनाउन लागेको हो । वडा नं. ६ मा जग्गा किनेर नगरले भवन शिलान्यास गरिसकेको हो । २५ करोड लागतमा पहिलो भवन बन्नेछ । थप १० करोडमा अन्य संरचना र गेटसमेत बनाइने लक्ष छ । त्यसका लागि गण्डकी प्रदेश सरकार, नगरपालिका समेतबाट लगानी हुनेछ । ३५ करोडको लागत स्टिमेट तयार भैसकेको र सोही अनुसार काम थालनी भएको हो ।
प्रशासकीय भवन नहुँदा नगरपालिकाले वार्षिक २० लाखबन्दा बढी घरभाडामा खर्चनु परेको छ । साथै गलकोटमा रहेको क्षेत्रगत विवाद अन्त्य गरेर हाल नगरपालिका बसेकै स्थान आसपासमा भवन बनाउने काममा नगरप्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरु सफल भएको स्थानीय बीरबहादुर बोहराले बताए ।

फोहोरको व्यवस्थापन

गलकोट नगरमा बढ्दो सहरीकरणले फोहोरमैला समेत थुप्रिन थालेको थियो । उचित व्यवस्थापन गर्ने स्थान नपाएर लामो समय अलपत्र योजना अहिले सुरु भएको छ । वडा नं. ८ को काँडेवासमा फोहोर व्यवस्थापनको जग्गा खोजेर दैनिक फोहोर उठाउन थालिसकिएको छ । बजारभित्र फोहोर संकलन गर्ने ड्रम वितरण गरेपछि उपभोक्ताले नियमित फोहोर संकलन गर्छन् । उनीहरुले संकलन गरेको फोहोर नियमित ट्रयाक्टरमा संकलन गरेर फाल्ने गरिएको हो । ‘कुहिने फोहोर कम्प्पोट मल बनाउने, नकुहिनेलाई प्लाष्टिकको डल्ला बनाएर बेच्ने काम शुरु भएको छ’ वडा नंं ३ का सदस्य झरसिंह खत्रीले भने, ‘अहिले बजार क्षेत्र सफा देखिन थालेको छ ।’

भित्री सडक ढलान

गलकोट नगरपालिकलो मुख्य मुख्य बजार क्षेत्रमा सडक ढलान गरेको छ । कांडेवास, हटिया, हरिचौर, नरेठाँटी, बास्खोला जस्ता बजारमा अहिले सडक पुरै ढलान भएको हो । ‘बर्षातमा हिलो हुने, हिउँदमा धुलो हुँदा सास्ती थियो, अहिले आर्कषक भएको छ’ वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारी भन्छन्, ‘सरसफाइ अभियानमा पनि बजार ढलान उपयोगी देखिएको छ ।’ गलकोटले ग्रामीण सडकका महत्वपूर्ण घुम्तीमा पनि ढलानको काम गरेको छ । बर्षात्मा रोकिने सडक ढलानपछि नियमित चल्न थालेका छन् ।

टेउवा मुर्तिकला

वडा नं. ५ को टेउवामा आयोजित बृहत मुर्तिकला कार्यशालापछि निर्माण भएका विश्वविख्यात मुर्तिहरुलाई व्यवस्थापन गरेर राखिएको छ । यसरी राख्दा पर्यटन प्रवद्र्धनमा विकास भएको हो । विभिन्न ११ देशका १५ जना कलाकारले बनाएका ढुंगाका मुर्तीको व्यवस्थापन गरेपछि टेउवामा सयौं पर्यटक पुग्न थालेका हुन् । अन्तराष्ट्रिय स्तरको मुर्तिकला बागलुङमै पहिलोपटक भएको थियो । नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरेर मुर्तिकलाको व्यवथापनमा साथ दिएको स्थानीय झंकबहादुर बस्नेतले बताए । गलकोट क्षेत्रकै अग्लो घुम्टेलाई पर्यटनको केन्द्र बनाउन मुर्तीकला झनै उपयोगी बनेको स्थानीयको बुझाइ छ ।

वडा कार्यालयमा कालोपत्रे

गलकोट नगरपालिलको मध्यपहाडी लोकमार्गको डाँडाखेतदेखि वडा नंं ४ को कार्यालय पुग्ने सडक कालोपत्रे गरेको छ । यो सडक नगर गौरवको आयोजनासमेत हो । ६० लाख खर्चेर पहिलो वर्ष थालिएको कालोपत्रे हरेक वर्ष रकम थपेर वडामा पुगेको हो । साथै वडा नं. ५, वडा नं. ९ तथा वडा नं. २ मा पनि वडासम्म स्तरीय बाटो पुगेको छ । अन्य वडामा पनि सहज आउजाउ हुने गरी काम भैरहेका छन् । कतिपय वडामा पुग्ने सडक कालोपत्रे गर्न नाली निर्माण भैसकेका हुन् ।

बौद्ध गुम्बा निर्माण

वडा नं. ११ को रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष छ । त्यसैको लागि यहाँको गुम्बा व्यवस्थापन गरिएको छ । गुम्बा पुग्ने पदमार्ग निर्माण भएको छ । पछिल्लो समय बौद्ध गुम्बा घुम्न पुग्ने धेरै छन् । रिघा जाने सडक स्तरीय बनाउने नगरको योजना पुरा भएमा गुम्बा मात्र नभई बडिगाड गाउँपालिकाको सिसाखानी र रणसिंकिटेनी पुग्नेले पनि सहज यात्रा गर्न पाउने वडा अध्यक्ष डम्बरबहादुर श्रीषले बताए । गलकोटकै टेउवा, धुस्तुङ, राम्चेढुंगा र रिघाबाट प्याराग्लाईडिङको परीक्षणसमेत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->