बागलुङ/ घुमीफिरी नेपाली क्यालेन्डरमा नयाँ वर्ष आएको छ । २०७८ साल बिदाइ भएर २०७९ साल लागेको छ । २०७८ सालले बागलुङमा धेरै निराशा, समस्या र आर्थिक बोझ थोपारेर गएको छ । तर केही आशाका किरण पनि देखिएका छन् ।
वर्षको पहिलो महिनाको पहिलो साता बलेवा क्षेत्रमा कोभिडका बिरामी देखिए । विद्यालयबाट देखिएको कोभिड गाउँभरि फैलियो । बैशाख ४ गतेबाटै विद्यालयहरु बन्द गर्नुपर्ने बाध्यता भयो । बागलुङमा कोभिड छिर्ने क्रम बलेवामा मात्र सीमित भएन । पश्चिम बागलुङ झनै प्रभावित भयो । पहिलो वर्षको कोरोना कालमा गरिएको कडा लकडाउनले बिरामीको फैलावट थोरै थियो । तरपनि बेल्जियमदेखि बागलुङमा कोरोना आइपुगेको थियो ।
दोस्रो लहर भने भारतबाट आएको अनुमान थियो । पहिलोको तुलनामा दोस्रो डेल्टा भेरियन्ट धेरै कडा भएर आयो । जसको कारण धेरै मानवीय क्षति व्यहोर्नुप¥यो । श्वासप्रश्वासको समस्याले धेरै मानिस पीडित भए । अस्पतालमा अक्सिजन अभाव भयो । आइसोलेसनहरु भरिए, तर अक्सिजन अभावमा धेरै बिरामीले मृत्युवरण गर्नुप¥यो । धौलागिरि अस्पतालमा दैनिक सयौं बिरामी आउन थाले । अक्सिजन नपाएर कतिलाई पोखरा र हेलिकोप्टरबाट काठमाण्डौं पठाउनुपर्ने अवस्था आयो ।
यो अवस्था धेरै कहालीलाग्दो थियो । हरेक दिन स्वास्थ्यकर्मीले पठाउने सूचना हेरेर बस्नुपर्ने बाध्यता आइलाग्यो । सडकमा निषेधाज्ञाले सुनसान हुनुपर्नेमा हरेक दिन दर्जनौ पटक एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका गाडी गुडेको देखिए । कोरोना लागेपछि परै बस्ने संस्कृतिमा केही परिवर्तन आयो ।
तर, सामान्य भेटघाटपछि पनि संक्रमण हुने अवस्थाले भने धेरैलाई पिरोल्यो । एकै घरका ४ जनासहित बागलुङमा ७२ जनाले ज्यान गुमाए । बागलुङ घर भई अन्यत्र पेशा व्यवसायमा बसेका र कोरोना संक्रमणले मृत्यु भएकाहरुको भने यो तथ्यांकमा गणना भएको छैन ।
कोरोनाले शिक्षा क्षेत्रमा धेरै समस्या ल्यायो । बालबालिकाको पढाइ पुरै ठप्प भयो । तर निजी क्षेत्रका विद्यालयले भने प्रविधिको उपयोग गरे । अनलाइन कक्षाबाट पनि पढाउन सकिन्छ भन्ने देखाए । सरकारी विद्यालयमा त्यो सम्भव थिएन । सरकारी विद्यालयमा अधिकांश मजदुर, विपन्नका छोराछोरीहरु पढ्थे । त्यसैले उनीहरुले ल्यापटप र मोवाइलमार्फत अनलाइन पढ्ने अवसर गुमाए । तर, पनि प्रविधिमा केही फड्को ल्याउने काम भने कोरोना संक्रमण र निषेधाज्ञाले सिकायो ।
कोरोना कालमा सबैभन्दा बढी सार्वजनिक यातायात र होटल प्रभावित भए । लामो समयसम्म सार्वजनिक यातायात गुड्न दिइएन । होटलमा पाउना बसाल्न दिइएन । त्यतिमात्र हैन यातायात नचलेकै कारण पर्यटक र पाहुना राखेर कमाइ गर्नुपर्ने होटलहरु धरासायी भए । कतिपयले होटल पेशा छाडेर पलायन भए । गाडीमा लगानी गरेकाहरु डुबे ।
यी यावत समस्या भएर पनि कोरोनाले केही क्षेत्रमा चेतना फैलाउने काम गरेको थियो । हरेक पालिका वा संघीय सरकारलाई पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउन प्रेरित गरेको देखियो । पालिका तहमा कोरोना अस्पताल स्थापना, हरेक स्थानमा आइसोलेसन बनाउने, खोप लगाउने अभियानसमेत सुरु भए ।
यसरी खोप लगाएकै कारण तेस्रो लहर केही कमजोर भएकोले मृत्युदर कम भयो । संक्रमण दर चारगुणा भएपनि मृत्युदर कम भएको र अधिकांसले खोप लगाएकोले निशेधाज्ञा नगरी नागरिकले नियमित काम गर्ने अवसर मिल्यो । केही समय विद्यालयहरु बन्द भएपनि अन्य पेशा र व्यवसाय भने बन्द भएन ।
कोरोना संक्रमणकै कारण अस्पतालहरुमा अक्सिजन प्लान्टहरु जोडिएका छन् । कतिपय स्थानमा अझै जोडिने क्रम छ । पूर्वाधारहरु थपिएका छन् । हरेक अस्पतालमा आइसियु बेड बन्ने र थपिने क्रम चल्यो । सुस्ताएको पर्यटन क्षेत्र छोटो समयमा फस्टाएको छ । केही समयमै होटलहरु खचाखच भरिन थालेका छन् । आन्तरिक पर्यटनको लागि घुम्ने क्रम बढेको छ । चैतेदशैंमा लागेको मेलादेखि खेलकुद गतिविधि, गाउँ गाउँमा हुने मेला महोत्सवले पनि घुम्ने संस्कृति फेरि ब्युँताएको देखिन्छ ।
पर्यटन प्रवद्र्धन जस्तै कृषि क्षेत्रमा पनि लगानी गर्ने र ग्रामीण क्षेत्रका जमिन सदुपयोग गर्ने चलन बसेको छ । तर सोचेजस्तो भएको छैन । पालिका तहमा पनि तयारीका समिति बनाउने, केही जगेडाकोष राख्ने काम भएका छन् । अहिले हरेक पालिकामा ५ देखि १५ बेडका नगर अस्पताल बनेका छन् ।
ती अस्पतालमा अक्सिजनको जोहो गर्ने चलन बस्दा सामान्य बिरामीहरु सदरमुकाम र सहरी क्षेत्रमा पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । ‘कोरोनाले हामीलाई दुःख पनि दियो केही संभावनाका ढोका पनि खोलिदियो,’ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने, ‘स्वास्थ्यप्रति ख्याल गर्ने र सरसफाइमा ध्यान दिने बनाएको छ ।’ बालबालिकादेखि बुढाबुढीसम्म मास्क लगाउने संस्कृति बढेको, खाना खानुअघि र पछि हात धुने, कोरोना परीक्षण, र खोप लगाउने क्रम बढेको उनले बताए ।




