मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नयाँ बर्षमा परमादेशी सरकारको उपहार !

नयाँ बर्षमा परमादेशी सरकारको उपहार !


  • दुर्गा भण्डारी
  • बैशाख २ २०७९, शुक्रबार

नेपालीहरुले मान्दै आएको क्यालेण्डर आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै विक्रम संवतको मानिँदै आएको छ । नेपाली पात्रो अनुसार २०७९ सुरु भएको छ । हामी नेपालीहरुले बिक्रम संंवत् २०७८ साललाई बिदाइ गरी नयाँ वर्ष २०७९ मा प्रवेश गरेका छौं । वर्षको सुरुवातमा राम्रो होस्, शुभ रहोस्, शुभ समाचार सुन्न पाइयोस् भन्ने कामना गर्दै सन्देश प्रवाह गर्ने प्रचलन रही आएको छ । वास्तवमा विगतलाई फर्केर हेर्ने हो भने २०७८ साल र अग्रेजी नयाँ वर्ष २०२१ र २०२२ पनि त्यति शुभ रहेन । यद्यपि, कोरोनाको प्रकोप कम भइसकेको छ । मुलुक नियमित कर्मतर्फ अघि बढेको छ । तर, नेपालजस्ता विकासोन्मख मुलुकहरुमा कोरोना महामारीले दूरगामी प्रभाव छाडेको छ । अघिल्लो सरकारले कोरोना नियन्त्रणमा गरेका प्रयासहरुका कारण धेरै मानवीय क्षति हुन पाएन । अहिले कोरोनाविरुद्धको खोप धेरै जसोमा पुगेको र धेरै नेपालीहरुले खोप पनि लगाइ सकेको अवस्था छ । यद्यपि, कोरोना महामारीबाट बाँचेकाहरुको जीवन भने कष्टकर बन्दै गएको छ । नेपालीहरुले रोगलाई ठूलो शत्रु मान्ने गरेका छन् । वास्तवमा स्वास्थ्य सबै भन्दा ठूलो धन हो । स्वस्थ जीवन रहेमा सुख, समृद्धि र खुसी हुन पाइन्छ । संसार देख्न पाइन्छ । तर, यतिबेला रोगले भन्दा भोकले मर्ने अवस्था देखिएको छ । नयाँ वर्षको प्रारम्भमा हामी नेपालीहरुले स्वस्थ,सुखी जीवनको कामना गर्छाँै ।

कामना गर्नु राम्रो पक्ष हो । तर, कामना र मनोकांक्षाले मात्रै सुख समृद्धि र खुशी प्राप्त गर्न सकिँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । मनोकांक्षा पूरा गर्न धृढ निश्चयका साथ लाग्नु पर्दछ । प्रत्येक नेपालीको मुहारमा खुसी देख्न, स्वस्थ्य सुखी र समृद्ध जीवन हुनुपर्छ । समृद्ध नेपाल र सुखी नेपाली भएको देख्नका लागि प्रत्येक नेपालीहरु उद्यमशील बन्नु पर्ने हुन्छ । सबै नेपालीहरु उद्यमी बन्न नसके पनि रोजगारीका अवसरहरु प्राप्त गर्न वा आयआर्जन गर्न सक्ने हुनुपर्छ । विशेष गरी कृषि उत्पादनको क्षेत्रमा नेपालीहरु लाग्नुपर्ने देखिन्छ । धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भएका छन् । उत्पादनको काम गर्न खोज्नेहरुले आफ्नै देशमा लगानी गर्न पाइरहेका छैनन । सरकारले उद्यमशीलता र उत्पादनको क्षेत्रमा काम गर्ने उद्योगी व्यवसायीहरुलाई आकर्षण गर्न नसकेको यथार्थ त छँदै छ, त्यसका बाबजुत नेपाल मै केही गर्छु भन्नेहरुलाई पनि हतोत्साही गरेका कारण विदेश पलायन हुन बाध्य भएका छन् । लगानीको बाताबरण बन्न नदिनु, उद्यमी बन्न खोज्ने युवाहरुले प्रशासनिक झण्झट झेल्नु परेका कारण अहिले निर्यात भन्दा आयात बढेको छ ।

जसका कारण ब्यापार घाटा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गएको साउनदेखि फागुनसम्ममा वैदेशिक व्यापारमा ११ खर्ब ६१ अर्ब रुपैयाँ घाटा भएको छ । गएको वर्ष यही अवधिको तुलनामा ३४ दशमलव पाँच प्रतिशत थियो । फागुनसम्ममा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ५८ करोड डलरमा सीमित भएको छ । यो सञ्चितिले ६ महिनाभन्दा केही बढी समयको वस्तु र सेवाको आयात गर्न पुग्छ । नेपालमा अर्थतन्त्रका सूचकहरू दिन प्रतिदिन नकारात्मक बन्दैएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बिवरण अनुसार गएको साउनदेखि फागुनसम्ममा सात दशमलव १४ प्रतिशतले मूल्यबृद्धि भएको छ । सर्वसाधारणका अति आवश्यक बस्तुहरु बढेकाबढ्यै छन् । सबैभन्दा धेरै घिउ–तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११ दशमलव तीन प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १० दशमलव तीन प्रतिशतले बढेको छ । यस्तै साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु निर्यात गरेकोमा १३ खर्ब नौ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । आर्थिक वर्षको पहिलो आठ महिनामा गएको वर्षको तुलनामा एक दशमलव सात प्रतिशत थोरै अर्थात् ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालीहरुले यो नर्या वर्षमा सरकारबाट मूल्यबृद्धिको उपहार पाएका छन् । कालोबजारी, अभावजस्ता उपहार पाएका छन् । यस्तो भयाभह अवस्था हुँदा पनि पाँच दलीय गठबन्धनको परमादेशी सरकारले भागबण्डा मिलाएर खानेबाहेक केही सोचेको देखिँदैन । स्थानीय तहको निर्वाचन पनि संघारमा छ । पाँच दलिय गठबन्धनको सरकारले मोर्चा कसिलो बनाउने र हालीमुहाली गर्ने दाउमा छ । यो परमादेशी सरकारले चुनाव खर्चका लागि ल्याइएको कालोधनको पोल खुल्छ भनेर राष्ट्रबैकका गर्भनरलाई समेत निलम्बन गरेको छ । पृथ्वीबहादुर शाहका नाममा अमेरिकाबाट आएको स्रोत नखुलेको बाह््य लाख अमेरिकी डलर राष्ट्रबैंकले रोक्का गरिदिएको थियो । सो रकमबारे सम्पत्ति सुद्धीकरण विभागले छानबिन गरिरहेको थियो । अर्थ मन्त्री जर्नादन शर्माले शाहको रोक्का रहेको खाता फुकुवा गर्न निक्कै दवाब दिईरहेका थिए । सम्पत्ति सुद्धीकरण विभागले छानविन गरिरहेको अवस्थामा राष्ट्रबैंकका गर्भनरलाई प्रतिशोध स्वरुप संवेदनशील सूचना चुहाएको र आफ्नो दायित्व प्रभावकारी रुपमा ननिभाएको आरोपमा निलम्बन गरिएको छ । अर्थतन्त्र ओरालो लागेका बेला नेपालको केन्द्रीय बैंक अहिले नेतृत्वविहीन अवस्थामा छ ।

अर्थतन्त्र उकास्नेबारे नीति निमार्ण गर्नु पर्ने बेलामा राष्ट्रबैंक जस्तो स्वायत्त संस्थामाथि परमादेशी सरकारको हस्तक्षेप बढेको छ । आफ्नो कर्तुत छोप्न एकपछि अर्कोगर्दै गल्ती गरिरहेको छ, परमादेशी सरकारले । फेरि पनि बेथिति, भद्रगोल जनविरोधी र भागबण्डाको राजनीति गरेर खानका लागि एमालेविरुद्धको मोर्चा कसेका छन् । पाँचदलीय गठबन्धनले चुनाव जित्न जतिसुकै प्रयत्न गरे पनि नेपाली जनताले परिणामबाटै देखाइदिने छन् । राजनैतिक स्थिरता विकास र समृद्धिको नारा बोकेर बनेको अघिल्लो केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका कामहरुको सुरुवात गरेको थियो केही लोभलादा कामहरुलाई टु·ोमा पु¥याएको थियो । सत्ताको लोभले गर्दा पार्टी फुटाएर नेपाली जनताको समृद्धिको सपनालाई चकनाचुर पार्ने तत्वहरु, विकास विरोधी, राष्ट्रघात गर्ने र मुलुकलाई धराशायी बनाउनेहरुको गठबन्धन निर्वाचनमा उठेको छ । यस्ता जनविरोधी, मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने, चर्को मूल्यबृद्धि गर्नेहरुलाई नेपाली जनताले निर्वाचनका बेला चिन्नुपर्छ । विकास र समृद्धि भएमात्रै नेपाली सुखी र खुसी बन्न सक्छन् । तव मात्र नयाँ वर्षले मुहारमा खुशी ल्याउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->