शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जटिल भूगोल चिरेर विकास गर्दै तमानखोला

जटिल भूगोल चिरेर विकास गर्दै तमानखोला


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

बागलुङ/ गाउँपालिका बन्नुअघि तमानखोलामा योजनाहरु लैजान कठिन थियो । बर्षमा एकदुइ वटा योजना पनि पुग्थेनन् । स्थानीयले सदरमुकाम धाएर योजना पार्न पनि सकेका थिएनन् । तर जब यो स्थान छुट्टै गाउँपालिकामा समावेश भयो, त्यसपछि तमानमा विकासको लहर भित्रिन थालेको छ ।

सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा साह्रै कमजोर तमानखोलाले जिल्लामै आफ्नो अब्बल स्थान जमाइसकेको छ । अहिले एकदुई नम्बरमा गनिने गाउँपालिकाले विकासमा फड्को मार्दै छ । सदरमुकामदेखि १ सय ५ किमी पश्चिमको बोङगादोभानमा तमानको केन्द्र छ । तर गाउँपालिकको सबै छेउछेउ पुग्न १ सय ३० किमीसम्म यात्रा गर्नुपर्छ । आफ्नै बजेटमा विकास निर्माण गर्न पाएपछि तमानबासी खुसी छन् । दुइ दशकअघिका नगरपालिकाभन्दा अब्बल बन्दै तमानखोलाले आफ्नो विकासको अभियानलाई तीब्रता दिएको छ ।

स्वास्थ्य चौकीको सानो भवनलाई नै पालिका केन्द्र तोकेर बसेको ५ वर्ष नपुग्दै तमानको आफ्नै भवन र कर्मचारी भैसकेका छन् । पूर्वाधारमा मात्र हैन, सडक, शिक्षा, स्वास्थ्य, सुशासन र पर्यटनमा पनि फड्को मारेको छ । अहिले सदरमुकाम छाडेर तमानखोला पुगेर काम गर्न धेरै कर्मचारीले चाहना राख्छन् । पदाधिकारी र कर्मचारी मिलेर काम गर्दा अति दुर्गम मानिएको तमानखोला अहिले सुगम र विकासको केन्द्र बनिसकेको छ । ‘सानोतिनो काममा विवाद हुने नगरपालिका र सदरमुकामभन्दा तमानमा काम गर्न धेरै कर्मचारी खुसी देखिएका छन् ।

सडक र पूर्वाधार

पलिका आउनुअघि भाडाको घरमा बसेको कार्यालय अहिले आफ्नै सुविधासम्पन्न भवनमा बसेको छ । स्वास्थ्य चौकीको भवन पनि बनेर संचालनमा आएको छ । बुर्तिवाङदेखि बोङगादोभानसम्मको १० किलोमीटर सडकमा नालीसहित ग्राभेल गरिएको छ ।

बोङगादोभानदेखि खुंखानीहँुदै नर्जाखानी सम्मको सडक स्तरीय बनेको छ । ‘बिरामी बोकेर एक दिनमा पुगिन्थो, सडक बनेपछि दुई घण्टामा बुर्तिवाङ झरिन्छ’ वडा नंं. ६ का अध्यक्ष कुलबहादुर छन्त्यालले भने, ‘सडकले गर्दा हामीलाई धेरै सुबिधा भयो ।’ तमानहुँदै लामेला जाने २५ किमी सडक संघिय सरकारको रणनीतिक योजनामा समेटिएको छ । चालु वर्षदेखिनै १६ किमी खण्ड कालोपत्रे गर्ने योजना रहेको अध्यक्ष जोकलाल बुढाले बताए । सहजै यात्रा गर्न सकिने भएपछि कर्मचारी ल्याउन पनि सजिलो भयो’ बुढाले भने, ‘विकासको पहिलो आधार सडक नै रहेछ ।’ सडक अभावमा यहाँका ग्रामीण बस्तीमा समयमा उपचार नपाएर मर्नेसमेत धेरै थिए । जनप्रतिनिधि आएपछि तमानखोला गाउँपालिकाले १ सय २९ किमी सडकको ट्रयाक खोलेर स्तरीय बनाएको छ । यहाँको भालीवाङ खोला र हुन्द्राफेदीमा दुइवटा पक्की पुल बनेपछि पालिका केन्द्रमा बाह्रैमहिना सवारी चल्न थालेका छन् ।

स्वास्थ्य

घर घरमै सुत्केरी हुने चलन घटेर ९० प्रतिशत स्वास्थ्य संस्थामा जान थालेका छन् । बोङगादोभान स्वास्थ्य चौकीसहित सबै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि घर घरमै सुत्केरी हुने चलन हटेको छ । ‘अहिले त घरमा सुत्केरी हुनेहरु नगन्ने छन्’ खुंखानी स्वास्थ्यचौकीकी प्रमुख गरिमा हर्मेलले भनिन्, ‘एकादुई बाहेक सबै स्वास्थ्य संस्थामै आउने गरेका छन् ।’ गाउँपालिकाले सबै स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरका लागि चाहिने पूर्वाधार बनाएपछि यो सहजता भएको हो ।

वडाभित्रै स्वास्थ्य चौकीभन्दा टाढाका बस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा नंं. १ को स्याउला, वडा नंं. ४ को लामेला, वडा नंं. ५ को ठास्पुरी, वडा नंं. ६ को भित्रिवन र पात्लेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । कम्तिमा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी दिएर गाउँपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था मिलाएको हो । नियमित गर्भ जाँच गर्नेलाई यातायात खर्च समेत दिएर पालिकाले सुरक्षित सुत्केरी सेवामा आर्कषण गराएको हो । ‘स्वास्थ्य जाँच गर्दा जटिल हुने अवस्था देखियो भने समयमै सुरक्षित स्थानमा रिफर गरिन्छ’ सामाजिक विकास शाखाकी प्रमुख मुना बिकले भनिन्, ‘जटिलता भएर ज्यान जाने अवस्था आजकल रोकिएको छ ।’ यसअघि जटिल समस्या भएपछि हेलिकोप्टर खोजेर सहर जानुपर्ने बाध्यता थियो । लाखौं खर्च हुँदा ग्रामीण बासिन्दाले घरखेत बेच्नुपर्ने बाध्यता अहिले हटेको उनले बताइन् ।

शिक्षा योजना र गुणस्तर

तमानखोला गाउँपालिकाले आफ्नै दिर्घकालिन शिक्षा योजना बनाएको छ । आधारभूत तहमा कम्प्युटर र माध्यामिक तहमा अंग्रेजी शिक्षकको व्यवस्था गरेर शिक्षाको गुणस्तर विकास काम पनि थालेको छ । नियमित तलबभत्ता दिएर राखिएका शिक्षकबाट आधारभूत तहका बालबालिकाले कम्प्युटर पढ्न पाएका छन् । ‘पालिकाले यहाँका २३ विद्यालयमा ५ देखि १५ वटासम्म कम्प्युटर दिएको छ, कम्प्युटर पढाउन शिक्षकको पनि व्यवस्था गरेको छ’ गाउँ शिक्षा अधिकारी पुर्णबहादुर घर्तीले भने, ‘पाँचबर्षे दिर्घकालिन शिक्षा योजनाले काम गर्ने बाटो देखाएको छ ।’ शिक्षामा पछाडि तमानलाई सदरमुकाम वा सहरी क्षेत्रको गुणस्तरमा लैजाने लक्ष बनाएर काम शुरु भएको घर्ती बताउँछन् । शाखाले बनाएको एप्सबाट सबै बिद्यालयमा एकैपटक सूचना प्रवाह गरिन थालिएको छ ।

बालविवाहविरुद्ध अभियान

विद्यालय उमेरमै विवाह हुँदा शिक्षा र स्वास्थ्य अवस्था खस्केको देखेपछि गाउँपालिकाले बाल विवाहविरुद्ध अभियान चलायो । पछिल्लो तीन बर्षमा १८ वटा बिबाह नै रद्द गराएपछि अभिभावक सचेत बन्न थालेका छन् । ‘छिटफुट विवाह त भएकै छ, तर खुलेआम बालविवाह गर्न सकेका छैनन्’ उपाध्यक्ष मानसरी शेरचनले भनिन्, ‘अभिभावक सचेतना अभियान पनि चलाएर बालविवाह रोक्ने अभ्यास भएको हो ।’ बालविवाह रोकिंदा सामाजिक स्तर उकासिएको उनले बताइन् । उच्च अदालतको बार एसोसिएसनले पनि यहाँ कानूनी साक्षरता चलाएको छ ।

खरको छाना विस्थापित

तमानखोलामा अब खरका छाना छैनन् । गाउँपालिका भरका झण्डै ३ सयबढी खरका छानामा जस्तापाता लगाइएको छ । गाउँपालिकाले ५० हजार रुपैयाँ लगानी गरेपछि उपभोक्ताले श्रमदान गरेर घरका छाना फेरिएका हुन् । ‘आगोलागीका घटना अहिले न्युनिकरण भएका छन्’ वडा नं. २ का अध्यक्ष मिनबहादुर घर्तीले भने, ‘जस्ताले छाएको घरमा बस्नेले सम्मान भएको महसुस पनि गरेका छन् ।’ गोठमा अस्थायी बसेका स्थानमा मात्रै खरका छाना बाँकी रहेको उनले बताए । यहाँका अधिकांस बस्तीमा जाडो छल्न बेसी झर्ने र गर्मीयाममा लेकमा पशु चराउन जाने चलन छ ।

एक घर एक धारा

तमानका अधिकांस गाउँमा खोलाखोल्सीको पानी खाने चलन हटेको छ । दुर्गम गाउँ भएपनि एक घर एक धारा अभियान चलाएर शुद्ध पानी खुवाउने योजना चलेको हो । जनप्रतिनिधि आएपछि तमानमा १ हजार २ सय घरमा धारा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए । ‘शुद्ध पानी वितरण हुँदा रोग लागेर अस्पताल भर्ना हुनेको दर समेत घटेको छ’ लम्सालले भने, ‘सबै विद्यालयमा पानी शुद्धिकरणको व्यवस्थापन समेत भएको छ ।’ गाउँपालिकाको केही बजेटमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी, ब्रिटिस वेयलफेयर जस्ता गैरसरकारी संस्थाले पनि लगानी गरेका छन् । ‘ग्रामीण बस्तीमा ग्राबिटी ल्फोबाट पानी खुवाएका छौं, एकादुइ गाउँमा लिफ्ट पनि बनेका छन्’ नेवाका क्षेत्रीय प्रबन्धक कुमार सिलवालले भने, ‘तमानका अधिकांस गाउँ अब स्वास्थ्य तथा सरसफाईतर्फ पनि लागेका छन् ।’ वडा नंं. ३ को तमान गाउँबाट पूर्ण सरसफाई वडा घोषणाको तयारी भएको बुढाले जानकारी दिए ।

पुनस्थापना

बाढी पहिरोले घर गुमाएकालाई गाउँपालिकाले २ लाख ५० हजार अनुदान दिएर घर बनाउन सहयोग गरेको छ । यो अनुदानबाट तमानखोलाका ४ घर बनिसके । अन्य केहीले निवेदन दिएका छन् । घर बगेका वा बस्नै नमिल्ने भएकालाई उक्त रकम दिएर नयाँ घर बनाउन लगाइएको लम्सालले जानकारी दिए । यसरी घर बनाउँदा सुरक्षित घडेरी खोज्न लगाइएको थियो । आफ्नै जग्गामा नभए खरिद गर्नका लागि थप ५० हजारसम्म गाउँपालिकाले सहयोग गरेको थियो ।

तमानखोलामा भएको विकासलाई राजनीतिक प्रतिपक्ष र सामाजिक अगुवाले पनि सकारात्मक मानेका छन् । ‘बालविवाहले मानवअधिकारको रक्षा पनि गरेको छ’ इन्सेक प्रतिनिधि सिर्जना पन्तले भनिन्, ‘नबुझेर विवाह गर्ने चलनपछि आमा स्वास्थ्यको अवस्था सुधार भएको छ ।’ इन्सेकले पनि बालविवाहविरुद्ध अभियानमा साथ दिएको थियो । तमानखोलाले थालेको विकास र आन्तरिक लोकतन्त्रको अभ्यासले धेरैलाई पाठ सिकाएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘आन्तरिक लोकतन्त्रमा अध्यक्ष जोकलाल बुढाले थालेको अभ्यास हामीले पनि सिक्दैछौं’ घर्तीले भने, ‘कठिन भूगोलमा पनि विकास निर्माणले गति लिएको छ ।’ नेतृत्वको सकारात्मक सोचले विकास सफल भएको उनले बताए । बुढाले पर्यटन क्षेत्रमा भने सोचेजस्तो काम गर्न नसकेको बताए । ‘केही स्थान तोकेर काम थालेपनि बजेट अभावले पुरा हुन सकेनन्’ बुढाले भने, ‘बराहताल, नौडल्ले जस्ता क्षेत्रमा सडक लैजान सकिएको छैन ।’

आफ्नै पाठ्यक्रम

संघियताको मर्मअनुसार हरेक पालिकाले आफ्नै पाठ्यक्रम बनाउन सक्ने प्रावधान छ । उक्त प्रावधानमा टेकेर तमानखोलाले आफ्नै पाठ्यक्रम बनाइसकेको छ । जिल्लामै पहिलोपटक ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनेर कार्यान्वयनमा आएको हो । पाठ्यक्रम चालु शैक्षिक शत्रमा लागू भैसकेको छ । ‘पाठ्यक्रम बनिसकेको छ, पाठ्यपुस्तक छपाइ पनि भयो’ घर्तीले भने, ‘यो बर्ष कक्षा १ मा लागू भएको पाठ्यक्रम अब कक्षा २ र ३ तथा ४ र ५ मा लागू गरिनेछ ।’ पाठ्यक्रम लागू भएपछि पालिकाभित्रका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रबारे बालबालिकाले बुझ्न पाएको अध्यक्ष जोकलाल बुढाले बताए ।
उच्च शिक्षा पढेकाहरु भने गाउँमा छैनन् । तमान गाउँस्थित धनगौ ज्योती माबिसहितका अधिकांस विद्यालयमा विज्ञान, गणित र सामाजिकका शिक्षक तराई र सहरी क्षेत्रका छन् । गाउँकै शिक्षक करारमा राख्न खोज्दा पनि नभेटिने समस्या छ । मावि तहको शिक्षा सकेपछि विदेशिने संस्कृतिले तमानमा जशक्ति भेट्न कठिन छ ।

पर्यटनमा विकास

पर्यटन प्रवद्र्धनका लागि तमानखोलाले बराहताल र सोलेडाँडाको डिपिआर बनाएको छ । सोलेमा सहिदपार्क र भ्यू टावरको कामको तयारी छ । सहिदका शालिक बनिसकेका छन् । आर्कषक पार्क पनि निर्माणाधिन छ । बराह ताल धार्मिक महत्वको पनि छ । त्यसैले ताल संरक्षणसहित सिद्धबराह मन्दिर, वनभोज स्थल, खानेपानी धारा र सार्वजनिक शौचालयसमेत बन्दै छ । यो पूर्वाधार बनेपछि बराहताल पुगेर फर्कने पर्यटक बढ्ने स्थानीय चुडामणी छन्त्यालको मत छ ।

आफ्नै भवन र कर्मचारी

एक जना सचिवको झोलामा काम हुने तमानमा अहिले आफ्नै भवन र दर्जनौं कर्मचारी छन् । दरबन्दीबाहेक पालिकाले स्थानीय श्रोतसाधनबाट कर्मचारी व्यवस्थापन गरेर चुस्त प्रशासन चलाएको छ । ‘मिलेर काम गर्दा धेरै सहज भएको छ’ प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले भने, ‘भूगोलले दुर्गम भएपनि कामले सहज भएको छ ।’

‘आलोकाँचो भन्थे’ : जेकलाल बुढा, अध्यक्ष, तमानखोला गाउँपालिका

निर्वाचन जित्दा म ३० वर्षको मात्रै थिएँ । धेरैले मलाई आलोकाँचो केटा भनेर काम गर्न सक्दैनसमेत भने । केही काम गरेर देखाउनु पर्छ भन्ने चाहना त मलाई थियो । बिशेष क्षेत्रको पालिका भएकोले अन्य पालिका जस्तै काम गरेर पुग्दैन भन्ने लाग्यो । त्यसैले मैले अध्यक्ष भएपछि पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र नागरिक सचेतनाको कामलाई प्राथमिकता दिएँ ।

शिक्षाको गुणस्तर सुधार्न धेरै गाह्रो थियो । भर्ना नहुने, भर्ना भएका पनि कक्षा छाड्ने र गुणस्तरीय शिक्षाको अभावले तमानखोला जकडिएको थियो । त्यसैले हरेक विद्यालयमा अंग्रेजी शिक्षक र कम्प्युटर शिक्षक नियुक्त गरियो । विद्यालयमा कम्प्युटरको व्यवस्थापन गरियो । हरेक वडामा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनाएर महिला स्वास्थ्य सुधार्ने काम भयो । सबै स्वास्थ्य संस्थामा गाडी चढेर जान सक्ने बनायौं ।

पर्यटनको विकास र खानेपानीको व्यवस्था गर्न धेरै पटक दाता खोज्यौं । आन्तरिक लोकतन्त्र बलियो बनाउन निर्णय प्रक्रियामा सबैको सहभागितामा जोड दियौं । हरेक बिषय र एजेण्डामा रहेकले बसह, छलफल गर्न पाउने व्यवस्था छ । त्यो व्यवस्थाले आफ्नो काम, आफ्नो एजेण्डा र आफ्नो पालिका भन्ने भावनाको विकास भयो । अहिले पूर्वाधार र सामाजिक विकासको गोरेटो कोरिएको छ । यो गोरेटोलाई अब राजमार्गको रुपमा विकास गर्न सकेमा तमानखोलाले पहिचान बनाउन सक्छ ।

बिशेष क्षेत्र भनेर पालिका गठन गरेपनि राज्यको साधन श्रोतमा प्राथमिकता भएन । आफ्नै प्रयासमा भएका कामलाई संस्थागत गरेर राज्यको ध्यानाकर्षण गर्ने प्रयास भएको छ । विकास खर्च बढाउन सकेमा आगामी ५ वर्षमा अन्य पालिका सरह विकासको दाँजोमा लैजान सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->