
बागलुङ\काठेखोला गाउँपालिकाको वडा नं. ५ मा अन्नबाली र फलफूल खेती बिस्तार गर्न रुख काट्ने अभियान शुरु भएको छ ।
गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णय अनुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असर पर्ने १० मीटर वरिपरिका रुख काट्न थालिएको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए ।
रुख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीय टिकाराम सापकोटाले बताए । उनको बारीमा उम्रेका अनुत्पादक रुख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरेका छन् । यहाँका किसानले बारीमा अदुवा र बेसार जातका खेतीसमेत गरेका छन् ।
यसअघि वडा नं. ६ मा अनुत्पादक रुख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन शुरु भएको थियो । यो अभियानबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं. ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रुपमा रुख काट्न थालिएको हो । ‘काठ बन्ने ठूला प्रकारका रुख काटेका छैनौं’ वडा अध्यक्ष कंडेलले भने, ‘अन्नबाली र फलफूलबाट बढी फाइदा लिन सकिने स्थानका रुख मात्रै काटेका हौं ।’ यसरी रुख काट्दा बस्तीमा बाँदरको समस्या पनि कम हुने किसानले बताए ।
रुख धेरै हुँदा घाम छेकिएर बाली उत्पादन नहुने, बाँदरको आतंक र अन्य जंगली जनावरको पनि डर हुन्थ्यो । जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारी समेत लगाउने बारीमा रुख काट्ने अभियान चलेपछि गाउँहरु रमाइलो देखिन थालेका छन् । बागलुङ नगरपालिका वडा नंं. ६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ । पहिला सदरमुकामबाट जंगल मात्रै देखिने यो गाउँका रुख काटेपछि उघारो देखिन्छ । सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यवसायिक रुपमा तरकारी खेती लगाउन थालेका छन् । ‘केही स्थानमा सुन्तला रोपियो, धेरै त तरकारी नै लगाएका छौं’ स्थानीय बिष्णुप्रसाद उपाध्यायले भने, ‘रुख फाँडेपछि उत्पादन बढेको छ ।’ यहाँका रुख काटेर दाउरा बाल्न प्रयोग भएका छन् । केही रुखको मात्रै काठ बनाउन सकिएको उनले बताए ।
मध्यपहाडी लोकमार्गको छेवैमा रहेकोले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ । घुम्तीहरुमा विपरित दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो । वडा नं. ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रुख काट्नुपर्ने अवस्था परेको स्थानीयले बताए । रुख फँडानीका लागि टोल टोलमा समिति गठन गरिएको वडा नं. ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिए । रुख कटानका लागि यहाँका किसानले मेसिन खरिद गरेर ल्याएका छन् । –प्रशिक्षार्थी





