मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गठबन्धनमा चुनाव जित्ने भ्रम

गठबन्धनमा चुनाव जित्ने भ्रम


  • दुर्गा भण्डारी
  • बैशाख ८ २०७९, बिहिबार

स्थानीय तहको निर्वाचनको मितिजति नजिकिँदैछ त्यति नै माहोल तातिँदै गएको छ । एकातिर नेकपा एमाले एक्लै छ । अर्कोतर्फ एमालेविरुद्ध वडासम्म गठबन्धन र तालमेल गरेर जाने सत्ता गठबन्धनको रणनीति देखिएको छ । एमालेको शक्ति देखेर पांच दलीय गठबन्धन बनेको छ । यो गठजोड देश निर्माणका लागि भने अवश्य पनि होइन । ‘काले काले मिलेर खाऊँ भाले ’कालागि हो । अहिले सत्तारुढ गठबन्धनलाई न देश विकासको चिन्ता, न आफ्ना कार्यकर्ताको पर्वाह नै छ । केवल कसरी सत्ता हत्याउएर कसरी बाँढीचुँडी खान पाइन्छ भन्नेमात्रै ध्याउन्न छ । सिद्धान्तविनाको नेताहरुको गठजोडस्वार्थको अप्राकृतिक सम्बन्ध हो । जसले मुलुकलाई ओरालो लगाउनेमात्रै काम गरेको छ÷देखिएको छ । त्यही गठबन्धनमा रहेका दलहरुको नेताहरु बीचको सम्बन्धलाई कार्यकर्ताहरुले नमानेका कारण उनीहरुको निर्णय कार्यान्वयनमा जटिलता देखिन थालेको छ।सत्ताको नेतृत्व गरेकोे कांग्रेसको आन्तरिक झगडाले गठबन्धनको निर्णय पूरै कार्यान्वयन नहुने देखिन्छ । गठबन्धनको नाममा केन्द्रका नेताहरुले, वर्षौँदेखि पार्टीकालागि समर्पण गरेर दुःख गरेका कार्यकर्ताहरुलाई पन्छ्याउने काम गरेका छन् । नेताहरुको स्वार्थको लागि अर्को कुनै अमुक पार्टीका कार्यकर्तालाई कांग्रेसजनले ठाउँ छोड्नु परेकोमात्रै होइन,धेरै मत खन्याएर जिताउनुपर्ने बाध्यता रहेको छ ।खासगरी पोखरा महानगरपालिकाको हकमा नेकपा समाजवादी पार्टीलाई मेयर पद छोड्नु परेकोमा कांग्रेसीहरु असन्तुष्ट देखिएका छन् । कास्की कांग्रेसका कार्यकर्ताहरु केही दिनअघिसभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष डेलिगेसन लिएर गएका थिए तर देउवाले उनीहरुका कुरा नै नसुनी फर्काइदिएका थिए । पार्टी बनाउने तलका कार्यकर्ता हो तर केन्द्रका नेताहरुले सत्ता बचाउनका लागि भए पनि गठबन्धन जोगाइराख्न चाहेको देखिन्छ । त्यसका लागि नेताहरुले कार्यर्ताको भावना कुल्चिरहेका छन् ।सबै पाटीभित्र यस्तै प्रवृत्ति हावी भएको छ । चुनाव जित्ने नाउँमा टिकट दिनका लागि अलोकप्रिय व्यक्ति, नवधनाढ्य र बिचौलियाहरुप्रति सबै पार्टीहरुको मोह देखिन्छ । यस्तो अवस्था रहेमा मतदाताको मतदान गर्ने रुचि हराउँदै जानेछ । मतदाता एउटै खालका अलोकप्रिय व्यक्तिहरुमध्येबाट आफ्नो नेता छान्नुपर्ने बाध्यता आउनेछ ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो पकड क्षेत्र मानेर महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा गरिरहेका छन् । तर ती दलहरूको आँकडा पत्याउने खालको छैन ।२०७४ सालको चुनावी आँकडा लिएर अहिलेको अवस्थामा आएको फेरबदल नबुझेर ठूलो र सानो भन्ने गरिएको छ।स्थानीय आवश्यकताभन्दा शीर्ष नेताहरूको स्वार्थलाई प्राथमिकता दिन थालिएको छ। जनताका तहमाभन्दा स्वार्थ समूहको विचार सुनेर चल्ने शैलीले गठबन्धनमा सकस परेको हो ।कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय आवश्यकता नबुझी सहमति गरेपछि कार्यकर्तामा उकुसमुकुस देखिएको छ।चितवनका कांग्रेसको असन्तुष्टि छतछुल्ल पोखिएको छ। कतिपय जिल्ला समितिहरुले तालमेल र गठबन्धन नगर्ने निर्णय गरेका छन् ।माओवादी केन्द्र ,जनता समाजवादीका तल्ला कमिटीले गठबन्धनको विरुद्धमा निर्णय गरेर निहुँ खोज्ने काम गरेका छन । पर्सा जिल्लामा कांग्रेस र जसपाले तालमेल नगर्ने सहमति गरेका छन् । ती दुई दलले जिल्लाभित्रका महानगरपालिका ,नगरपालिका र गाउँपालिकामा गठबन्धन र तालमेल नगर्ने निर्णय सार्वजनिक भएको छ।कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच नै प्रतिस्पर्धा हुनसक्ने बताएका छन् । एमालेले चुनाव हार्नेतर सत्तारुढ गठबन्धन दलहरूबीच भने आफैले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ।गठबन्धनप्रति असन्तुष्ट मत एमालेलाई जाने देखेर मित्रपूर्ण प्रतिस्पर्धा भन्ने थालिएको छ। फरक–फरक मोडलमा स्वार्थको गठजोड बन्न लागेको छ ।

गठबन्धन दलले कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको कांग्रेस प्रवक्ताले स्पष्ट पारे पनि काग्रेस कार्यकर्ताहरु भित्रभित्रै रुष्ट छन् । अन्तिम अवस्थासम्म पनि यस्तै स्वार्थका कारण छोड्नुपर्ने अवस्था आएमा बागी उम्मेदवार उठ्न सक्ने देखिन्छ । कुनै ठाउँमा गठबन्धन दलहरूबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने कांग्रेस नेताहरुको अभिव्यक्तिले दुबै लड्ढु आफ्नै हातमा परोस भन्ने योजना बनाइएको देखिन्छ ।

केन्द्रीय तहमा भएको सहमतिले स्थानीय आवश्यकता नबुभ्mनेदेखिका कारण त्यो निर्णय उल्लंघन हुनसक्ने अवस्था आउन सक्ने देखिन्छ । महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयरबाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरूकै गठबन्धनले तय गर्ने छन्।त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन स्थानीय गठबन्धन दलहरूलाई सचेत गराएका छन्।् । कांग्रेसको निर्णय भन्दा नेतालाई के लाग्छ त्यही निर्णय हुने गरेको छ।जुन गठबन्धनको भावनाविपरीत भएकोले उनीहरुबीच नै अन्तरविरोध उत्पन्न भएको छ । कास्की कांग्रेसबाट पनि गठबन्धनमा रहेको समाजवादीका प्रस्तावित पोखरामहानगरका मेयर पदका उम्मेदवारविरुद्ध कास्की कांग्रेस डेलिगेसन नै गएपछि सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेलमा सकस परेको थियो ।पाँच दलबीच कुन पालिका कुन दलले लिने भन्नेबारे देशैभरि अहिले छलफल भइरहेको छ । गठबन्धन हुने भएपछि चुनाव सहजै जितिन्छ भन्ने भ्रम कांग्रेस र नेकपा एसका नेताहरु धेरैले गरेका छन् । सबै जनता कार्यकर्ता होइनन् ,कार्यकर्ताबीचमा नै अन्तरबिरोध देखिएको छ । चिन्दै नचिनेको अर्कोपार्टीका कार्यकर्तालाई किन भोट हाल्ने? किन प्रचार गर्ने ?भन्नेजस्ता प्रश्न उब्जिएको छ । न विचार न सिद्धान्त न कार्यशैली मिल्ने ! केवल मिल्छ त, स्वार्थमात्रै। त्यो पनि नेताहरुकोमात्रै । त्यसो भए अर्को पार्टीका नेतालाई जिताउन किन कार्यकर्ता मरिमेटेर लाग्ने भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । फेरि जनताले कुनै नामै नसुनेको पार्टीलाई किन भोट हाल्छन र ?गठबन्धन हुँदैमा निर्वाचन जितिन्छ भन्ने भ्रममा नपर्नु नै बेस हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->