आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कार्यकारी पद आँक्दै एमालेको तर्फबाट पोखराको मेयरका उम्मेदवार कृष्ण थापा

कार्यकारी पद आँक्दै एमालेको तर्फबाट पोखराको मेयरका उम्मेदवार कृष्ण थापा


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७९, सोमबार

पोखरा/ २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपािलकाको मेयर बने । कांग्रेसका प्रत्यासी नरेशशंकर पालिखेलाई २ हजारभन्दा बढी मतले पराजीत गरेका थापाले पोखराको विकासको लागि केही योजनाहरु अगाडि सारे । २०५८ सालतिर उनले पोखराको विकासको लागि गुरुयोजना सार्वजनिक गरे । उनले सार्वजनिक गरेको गुरुयोजना २०३१ सालतिर तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले बनाएको योजनाको जगमा उभिएको थियो । तर, कार्यकालको अन्त्यमा आएको सो गुरुयोजना कार्यान्वयनमा आएन । उनी अक्सर आफूले तयार पारेको गुरुयोजना अनुरुप पोखराको विकास नगरिएकोमा गुनासो गर्थे । कतिसम्म भने लामो समयपछि आफ्नै पार्टीका नेता मानबहादुर जिसीले महानगरको जिम्मेवारी सम्हाल्दा पनि उनी सन्तुष्ट थिएनन् ।

‘मानबहादुर जिसीको कार्यकालमा कृष्ण कमरेड झण्डै प्रतिपक्षको भूमिकामा रहनुभयो’,एक एमाले नेता भन्छन्,‘ उहाँको कार्यकालमा भर्ना गरिएका एमाले निकट कर्मचारीहरुलाई परिचालित गर्नुभयो र सहयोगभन्दा असहयोगी भूीमका देखाउनुभयो ।’ हो, थापासँग गुनासाहरु थिए । जापानको कोमागाने नगरसँग भगिनी सम्बन्ध गाँसेका उनी त्यही नाममा फेवाताल किनारमा स्थापना गरिएको कोमागाने पार्क संरक्षण नभएकोमा चिन्तित देखिन्थे । आफ्नै ठाउँ बाटुलेचौरमा बनेको कोमागाने मातृशिशु अस्पतालप्रति ध्यान नदिइएको आरोप लगाउँथे । गण्डकी प्रदेश सांसदको भूमिकामा रहेका थापा आफूलाई ‘माननीय’ भन्दा ‘मेयर’ भनेर बोलाउँदा खुसी हुन्थे । संयोग कस्तो भने, उनको पालामा उपमेयर रहेका क्याप्टेन मानबहादुर गुरुङकी छोरी मञ्जुदेवी पोखराकी उपमेयर थिइन् । तर, कृष्ण थापाले गुनासो गर्न छाडेनन् । प्रदेश सांसदभन्दा कार्यकारी भूमिका भएको महानगरको मेयर ताकिरहे ।

संयोग कस्तो भने, मेयरमा सिफारिस गरिएका समकक्षी दीपक पौडेलको टिकट खोसिएसँगै अहिले एमालेबाट पोखरा महागनरको मेयरको उम्मेदवार कृष्ण थापा नै बनेका छन् । पोखरामा एमाले बलियो छ । पुरानो छवि तथा पछिल्लो समय संगठित देखिएको क्षेत्री समाजका सदस्यको रुपमा उनी स्वयं पनि कमजोर छैनन् । भला, उनीमाथि जातीय विभेदको संगीन आरोप लागकै किन नहोस् !

चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए ९कम्युनिटी मेडिकल असिस्टेन्ट०पढाइ पूरा गरेका तथा शिक्षाका स्नातक गरेका थापा बोल्नमा माहिर छन् । २०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा जन्मेका थापासँग राजकीय पदका विभिन्न अनुभव छन् ।

२०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उदाएका उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति थिए । संयोग कस्तो भने, उनी स्ववियू सदस्य रहेको क्याम्पसबाटै राजनीति थालेका र कुनै समय एउटै पार्टीमा रहेका एकीकृत समाजवादीका नेता धनराज आचार्यसँग मेयरमा प्रतिष्पर्धा गर्ने ठाउँमा उनी आइपुगेका छन् ।

२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा लिएर सोमनाथ प्यासीको प्रचारमा खटिएका थापासँग २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल बसेको विरासत पनि छ । हाल एमाले केन्द्रीय सदस्य रहेका थापा २०६५ सालमा एमाले कास्कीको सचिव, २०७० सालमा एमाले कास्की अध्यक्षसमेत भएका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २(क)बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए । उनी मन्त्री बन्ने चर्चा थियो । तर, एमाले नेता पृथ्वीसुब्बा गुरुङको गण्डकी मन्त्रिमण्डलमा उनले ठाउँ पाएनन् । काम गर्न कार्यकारी पद चाहिन्छ भन्ने मान्यता बोक्ने थापा त्यही लालसाले पुनः कार्यकारी पदमा आउने धुनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->