मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अनि रित्तियो गाउँ…

अनि रित्तियो गाउँ…


  • दिवस गुरुङ
  • बैशाख १३ २०७९, मंगलबार

साल २०३९ । चन्द्र गुरुङ उमेरले भर्खर १८ लागेका थिए । बेलायतका तत्कालीन राजकुमार चाल्र्स र उनको सयौंसंख्याको जम्बो टोली रोयल यात्रामा स्याक्लुङकोट आउने खबर उनको कानसम्म आइपुुग्यो । आफ्नो गाउँठाउँमा बेलायतका राजकुमारजस्तो उच्च स्तरीय व्यक्तिको सवार हुने खबरले को खुसी नहोला ?खुसी उनको मनमा पनि छायो । विजयपुरबाट सुरु भएको रोयल पदयात्रा दोस्रो दिन उनको गाउँसम्म आइपुगेको थियो ।

‘विश्वकै शक्तिशाली देशको राजकुमार पो हो त ! चानचुने मान्छेको सवार थियो र ?’, उनी विगतमा यसरी फर्कन्छन्, ‘दिउँसोतिर होला, राजकुमारको टोली हाम्रो गाउँमा प्रवेश गरेको । लाग्थ्यो,जताततै चाडपर्व वा उत्सव छाएको थियो । राजकुमारको स्वागत र सत्कारमा कुनै कमी नहोस् भनेर नै विभिन्न समिति र उप–समिति बनाएर हरेक पक्षलाई चुस्त बनाइएको थियो । सबैलाई आ–आफ्नो जिम्मेवारी तोकिएको थियो । अनि सबैजना आतुर थिए– राजकुमारको स्वागतमा । बाजा गाजासहितको राजकीय स्वागत । मैले पनि राजकुमारलाई फूलको गुच्छाले स्वागत गर्ने सौभाग्य पाएको थियो ।’

हो, यही स्याकलुङकोटको डाँडामा दोस्रो रात बिताएका थिए, राजपरिवारको टोलीले । रंगीचंगी टेन्टहरु डाँडाभरि छपक्कै थिए ।मान्छेहरुको भीडभाड र चहलपहल बाक्लै थियो । टोलीले तेस्रो दिन रुपाकोटको चिसापानीमा र चौथो दिन बेगनास तालको जंगलमा रात बितायो । अनि अर्को दिन काठमाडौं फर्केको थियो, टोली । चाल्र्स फर्केसँगै उनले पदयात्रा गरेको मार्गलाई रोयल ट्रेकका रुपमा ब्रान्ड बन्यो । केही समय पर्यटकको चलायमान राम्रै थियो । तर, पछि द्वन्द्वकाल र विभिन्न काल खण्डमा फेरि यहाँको पर्यटन सुस्तायो । पछिल्लो समय त यहाँको पर्यटन लगभग ठप्प नै छ ।
सम्झना छ उनलाई, कुनै समयको त्योभरिभराउ गाउँ । गाउँभर मान्छे नै मान्छे । पूराका पूरा ७० घर धुरी थिए गाउँमा । त्यसताका छुट्टै उत्सव नै छाएको आभास हुन्थ्यो हरेक दिन । पछि लाहुर पस्ने ट्रेन्डले यो गाउँ समेत अछुतो हुन सकेन
।

एकाएक गल्लावालहरु घरघर आइपुगे । लाहुरे बन्ने सपना बुनेर गाउँका भए भरका युवाहरु नौतुनासम्म छाती नाप्न पुगे । गएकाहरुमध्ये धेरै लाहुरे बने । कुनै घरको त तिन भाई नै लाहुरे बने । कति ब्रिटिसका त कति इन्डियन ।
लाहुर पसेकाहरु फर्केनन् । उनीहरुसँगै उनीहरुको परिवार समेत विदेशिए । विदेश भरियो, गाउँ रित्तियो । खै उनीहरुको मनमा गाउँप्रतिको माया रित्तियो कि रित्तिएन, त्यो भने उनीहरुले नै जानून् ।७० घरधुरी रहेको गाउँ अहिले १५ घरमा सीमित बनेको छ । अहिले स्याक्लुङवासीहरु बेलायत, हङकङ, बर्मा त कति अमेरिकामा भेटिन्छन् । बाँकी काठमाडौं अनि पोखरा सहरमा । गाउँ कुर्ने त उहीँ बूढापाका अनि लाहुरे नभएकाहरु । उनीहरु पनि कुन बेला सहर पस्ने हो, थाहा पत्तो छैन ।

स्याकलुङको डिठ्ठा गाउँ । डिठ्ठा अर्थात मुखियाको गाउँ । सम्झना छ उनलाई । उनका हजुरबाले बाल्यकालमा सुनाएका किस्साहरु । हजुरबाका– बाको पालासम्म गाउँमा मुखिया प्रचलित थियो । हजुरबाका बासमेत मुखिया थिए गाउँका । अञ्चालधीश सरहको अधिकार हुन्थ्यो रे,मुखियासँग ! न्याय निसाफ खोज्न टाढा टाढाबाट यहाँसम्म आइपुग्थे मानिसहरु । कुनै छिनोफानो हुन नसकेका विषयहरु यहीँ सुल्झिन्थे । त्यसैले त यो गाउँ डिठ्ठा गाउँ अर्थात मुखियाका गाउँको उपनामले टाढाटाढासम्म चिनिन्थ्यो ।

समय फेरियो, चलन फेरियो । देशमा संघीयता लागू भयो । गाउँगाउँमा सिंहदरवार नारा बोकेको संघीयता कति सफल भयो जनताहरुले नै निर्णय गरुन् । तर, पञ्चायत कालबाट नै उनी राजनीतिमा होमिएका थिए । गाउँ ठाउँमा शिक्षा, स्वास्थ्य मजबुद हुनुपर्छ, उनी चाहन्थे । लामो समय गाउँकै रामकोट माविको व्यवस्थापन समितिमा रहेर उनले काम गरे । आजको दिनमा पनि समाजसेवामा उनको सक्रियतामा कुनै कमी आएको छैन ।

लाहुरे चलनले नै हो गाउँ एक्लिएको,उजाडिएको । उनलाई लाग्छ । हुन पनि हो । त्यो तीतो यथार्थसबैले स्वीकार्नै पर्छ । अर्काकोदेशका लागि बन्दुक उठाएर ज्यानको बाजी थापेर लडेर के को बहादुरी ? के को वीर गोर्खाली हुनुको गर्व गर्ने ? सक्छौं भने मिचिएको देशको सीमानाका लागि बन्दुक उठाउनु, उनलाई लाग्छ । कालापानी र लिम्पियाधुराका विषयमा खै चुइक्क बोलेको ती बहादुरहरु ?‘विशेष गरी गुरुङ, मगर जातिमा जुन लाहुर जाने चलन छ, त्यो वास्तवमै विकृति बनेको छ आजकल । अर्काका लागि लडेर के को खोक्रो राष्ट्रियता ? देशका हरेक उच्च सरकारी ओहोदामा जनजाति नहुनु पछिको मुख्य कारण लाहुरे चलनले नै हो । जबसम्म लाहुरे चलन रोकिदैन, तबसम्म गुरुङ, मगर जातिहरु यसरी

नै विदेश भासिँदै जानेछन् । अनि यसरी नै रित्तिँदै जानेछन् थुप्रै स्याक्लुङ गाउँहरु । यस्तै स्याकलुङकोट, आगामी दिनमा कैयौं गाउँहरु बन्न सक्छन् ।’

बिहानै मिर्मिरे उज्यालोमा हामी उनीसँग गाउँ घुम्न निस्क्यौं । गाउँबाट दश मिनेट पैदलमा उक्लिए स्याकलुङकोटको डाँडा पुगिन्छ । त्यहाँ बाइसे चौबिसे राज्य ताकाको भग्नावशेष कोट अझै बाँकी छन् । इतिहास अझै पढ्न सकिन्छ यहाँ । बनेको भ्यु टावरबाट जुन प्यानारोमिक दृश्य देखिन्छ, त्यो वास्तवमै लोभलाग्दो देखिएको थियो । तलतल बादल तैरिरहेको, अनि माथिमाथि डाँडाका थुम्काहरु । अर्को अर्थमा स्वर्गीय आनन्द यहीँ त हैन भन्ने आभाष भएको थियो मनमा । रुपा र बेगनास ताल छिनछिनमा बादलसँग लुकामारी खेलिरहेका थिए । छिनमै हिमालहरु खुल्थे, त छिनमै बादलभित्र हराइजान्थे । प्रकृतिको यो अनुपमकलात्मक सुन्दरतामा जो कोही मन्त्रमुग्ध भइजान्छन् । यो यस्तो कोट हो जहाँबाट कास्कीका कुनाकन्दराहरु त देखिन्छन् नै, सँगै देखिन्छन् आठ वटा जिल्लाहरु । धौलागिरीदेखि मनास्लुसम्मको रेन्ज धीतमरुन्जेल नियाल्न पाइन्छ । उहिलेका बुढापाकाहरुले त यहाँबाट काठमाडौंको धरहरा पनि देखिन्छ भनेर गफ लडाउँथे । खैर, वास्तवमै यो ठाउँ प्राकृतिक सुन्दरता चियाउने आँखीझ्याल बन्नेमा कुनै शंका नै छैन ।

हामी एक फन्को गाउँ समेत घुम्ने भयौं । मान्छेको हिँडडुल कम भएर होला, बाटाघाटामा जताततै झारहरु कै साम्राज्य खडा थियो । घरका भित्ताहरु लेउले रंगिएका थिए । अनि चुहिएका थिए घरका छानाहरु ।काठका दलिनहरुमा धमिराले घर बनाएका थिए । मक्किएका थिए पिढीँका काठहरु । यता खेतबारीमा बनमाराको राज थियो । कुनै समय मानिसहरु भरिएको गाउँ खण्डहर बनेको देख्दा चन्द्र गुरुङ भक्कानिए । अनि खसाए दुई थोपा आँशु ।

त्यहीँ आँशु खसाएको ठाउँमा भने पानीको सधैं हाहाकार नै रह्यो । पिउने पानीको समस्या आजको थिएन, उनको पुर्खौको पालादेखि नै । गाउँको फेदबाट घण्टौं लगाएर पानी बोकेको विगत उनले बिर्सेका छैनन् । राजकुमार चाल्र्र्सको रोयल यात्राका क्रममा उनले यस समस्या राजकुमारलाई सुनाउने प्रयास नगरेका हैनन् । तर, सबैले उनलाई खिस्याए । उडाए । त्यसताका राजकुमारलाई सुनाएको भए केही पहल पो भइहाल्थ्यो कि उनलाई अझै लाग्छ । विभिन्न समयमा विभिन्न संघसंस्थाले पहल नगरेका हैनन्, तर विफल भए सबै प्रयासहरु । स्थानीय सरकार लागू भएको पनि वर्षौँ भइसक्दा पनि समस्या जस्ताकोतस्तै । पछि भने विभिन्न संस्थाको पहलमा सोलार लिफ्टिङ विधि प्रयोग गरेर गाउँसम्म पानी आयो । केही हदसम्म पानीको समस्या सुल्झेको छ । घाम नलाग्दा र सुख्खा याममा भने पानी अभाव भइनै रहन्छ ।

गाउँलेहरु प्राय लाहुर पसे । पैसा कमाए, घर बसाए विदेशमै । तर कहिल्यै गाउँ सम्झेनन् । फर्केरसमेत हेर्न जरुरत ठानेनन् । विदेशी सुखसयलमा गाउँवस्ती बिर्सिए । गाउँलेका दुःखमा मलमपट्टी गरिदिन्छन् कि उनीजस्तै बाँकी गाउँलेलाई आश नलागेको हैन । तर, सबै सपनामै सीमित भए । गाउँलेका लागि पानीको पहल गरेनन्,उनीहरुले । यसमा भने उनको मन नमज्जाले रुन्छ ।
कुनै समय पर्यटकको ओइरो लाग्ने ठाउँ आजकल सुनसान छ । एक त नयाँ नयाँ नामी पदयात्राका गन्तव्यहरुले यो ठाउँ ओझेलमा प¥यो, र अर्कोतिर बसाइँसराइँले यो ठाउँ नमज्जाले पिरोल्यो । कुनै समय पर्यटकले खचाखच हुने गाउँ

आजकल पर्यटक शून्य छ । गाउँलेहरु नै नभएको ठाउँमा के को बाहिरी पर्यटक ?उनी यथार्थ स्वीकार्छन् ।
गाउँमा चन्द्र गुरुङ र उनको टोलीले होमस्टे सञ्चालन गर्ने पहल नगरेका हैनन् । तर, न्युनतम नै १२–१५ घरधुरी आवद्द हुने पनि प्रावधान रहेको छ । त्यति टोली पु¥याउनै हम्मेहम्मे छ गाउँमा । त्यसैले गाउँमा पर्यटन उकास्ने सपना पनि त्यसै तुहिएको छ ।

पिरलो एउटै छ उनमा, बाँकी मानिसहरु पनि बसाइँ सरेर बजार झरे गाउँको हालत के होला ? कुनै समय आफ्नो छुट्टै पहिचान बोकेको डिठ्ठा गाउँको इतिहास मेटिने त हैन, उनलाई यी यावत प्रश्नहरुले नराम्ररी चिमोट्छ ।यो त केवल एक उदाहरण मात्र हो, यसरी नै खण्डहर बन्ने गाउँहरुको लिस्ट लामै छ । यसरी नै सबै गाउँहरु रित्तिदै गए गाउँको अस्तित्व मेटिन्छ नै । भविष्यमा यसको नराम्रो मूल्य चुकाउनु पर्नेछ, हामीले ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->