पोखरा/ गठबन्धनको विरोधमा रहेका कास्की कांग्रेसका नेताहरुले पार्टी नेतृत्व गुहारे । गठबन्धन गरिए पनि मेयर कांग्रेसले पाउनुपर्ने माग बोकेर काठमाडौं पुगेका नेताहरुले उल्टै सभापति शेरबहादुर देउवाको गाली खाए । अन्ततः पार्टी केन्द्रीय नेतृत्वले नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई मेयर पदमा उठाउने निर्णय ग¥यो । कास्की कांग्रेसीहरुले त्यसमा चित्त बुझाएनन् । कास्कीमा गठबन्धन टुटेको घोषणा गरे । तर, निर्णय नसच्याउने केन्द्रको निर्णयको अगाडि कास्की कांग्रेस नेतृत्व निरीह देखियो । त्यसपछि कार्यकर्ताको पालो आयो । उनीहरुले गठबन्धनको विरुद्धमा पार्टी कार्यालयमा ताल्चा लगाउनेदेखि कास्की कार्यसमितिलाई थुन्नसम्म भ्याए ।
पोखरा महानगरपालिकाको मेयरमा २८ जनाले उम्मेवदारी दर्ता गराएका छन् । ती २८ मध्ये विमलबहादुर कार्की, नन्द न्यौपाने र ऋषिराम सापकोटा कांग्रेसका नेता हुन् ।उनीहरुले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले बागी उम्मेदवारलाई अनुशासनको कडा कारवाही गर्ने घोषण गरिसकेको छ । तर, अहिलेसम्म उनीहरु टसमस भएका छैनन् । चारतारे भण्डाप्रतिको मोह कायमै रहेका कार्यकर्ताले बागीहरुलाई हौस्याइरहेका छन् । गर्ने बताईरहँदा समेत उनीहरुले उम्मेदवारी दिएका हुन् ।
रुख बाहेक अन्य चिन्हमा मतदान गर्न नसक्ने भन्दै कांग्रेसको झण्डालाई शिरोपर गर्दै स्वतन्त्र उम्मेदवार दिएको बताउने ऋषिराम सापकोटाले आफू नेताको गलत प्रवित्तिको लागि लडेको बताए । ‘मेरो मेयरमा उठ्नुको कारण नै कांग्रेस हो । मैले रुखबाहेक अन्यत्र मत दिन सक्दिन । चारतारेको परिचय बनाएको मैले कसरी कलममा मत हालु ?’, उनले भने,‘हामी चारतारेका कार्यकर्ता हौ नेताको दास होइनाँै ।’
अन्य बागी उम्मेदवारहरुको भनाइ पनि उस्तै छ । यसले गर्दा कांग्रेसको मत विभाजित हुने र त्यसले गठबन्धनमा गडबड गराउने सम्भावना पनि बढेको छ ।वैशाख १६ गतेसम्म मनोनयन फिर्ता लिने समय छ । उनीहरुले मनोनयन फिर्ता नगर्दा पार्टीले कारवाही गर्ला तर कारवाही भोगेरै पनि उम्मेदवारी कायम रहयो भने त्यसले केही मत तलमाथि पार्ने कांग्रेसी नेताहरु नै बताउँछन् ।
‘उहाँहरुले अटेरी गरे पार्टीले कारवाही गर्छ’,कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल भन्छन्,‘केन्द्रले गरेको निर्णय मान्नु हाम्रो कर्तव्य हो ।’
पोखरा नगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेलाई उपमेयरको उम्मेदवार बनाइयो भन्ने हल्लापछि कोपिला रानाभाटलाई टिकट दिइएको, रुपा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले सिफारिस गरेका आनन्द सुवेदीलाई एकाएक हटाएर गिमाया गुरुङलाई अध्यक्षका लागि मनोनयन गराउँदा पनि केही कांग्रेसीहरु रुष्ट बनेका छन् ।





